विचार

लौहपुरुषको खोजीमा देश

विचार

नेपालको राजनीतिक इतिहास हेर्दा सत्ता प्राप्तिका लागि सामदामदेखि शस्त्रअस्त्र उठाउने परम्परा रहिआएको छ। चाहे भीससेन थापाको उदय र पतन, चाहे जङ्गबहादुर राणादेखि मोहन शमशेर नै किन नहोस्, यही प्रक्रिया नै चलिरहेछ। प्रजातन्त्रपश्चात् पनि कोइराला परिवारमा मनमुटाव, राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरण तथा जननिर्वाचित सरकार विघटन, गिरिजाबाबु र शेरबहादुरद्वारा पार्टी विभाजन होस् या नेकपामा आएका विभाजन हुन्, सबै शक्ति र सत्ताकै लागि थिए भन्न कत्ति पनि दुविधा हुँदैन। हालै आएर बनेका आठ दलीय गठबन्धनको निर्माण र विघटन, सातदलीय गठबन्धन र विघटन, पुनः आठ दलीय गठबन्धन पुनर्जीवित हुनु सबै सत्तास्वार्थका परिणतिका रूपमा लिइएका छन्।

सत्तास्वार्थले थिलथिलो भएको हालको राजनैतिक परिवेशमा गणेशमान, बिपी कोइराला तथा कृष्णप्रसाद भट्टराईको सामीप्यमा रहेका विद्वान् घनेन्द्रपुरुष ढकालद्वारा लिखित ‘लौहपुरुष ः विश्लेषणात्मक जीवनगाथा’ भन्ने पुस्तक प्राप्त भयो र पढ्ने उत्सुकता जाग्यो। आफू पनि गणेशमानको सामीप्य प्राप्त व्यक्ति भएकाले उहाँका बारेमा थोरबहुत ज्ञान त थियो नै तर पनि गणेशमानकै सान्निध्यप्राप्त गरेका व्यक्तिद्वारा गहन अध्ययन गरेर लेखिएको पुस्तक पढ्न पाउनु अहोभाग्य नै हो। जसबाट लौहपुरुषका सम्बन्धमा असङ्ख्य गुप्तपक्ष जानकारी प्राप्त भयो।

सत्ताका लागि जे पनि गर्न पछि नपर्ने, चुनावताकाका प्रतिबद्धता, जनताप्रतिको उत्तरदायित्व, लगनशीलता, नैतिक चरित्र, परोपकार, देशप्रेमको खडेरी परेको अहिलेको सन्दर्भमा गणेशमानको आदर्श, त्याग, समर्पण, भविष्य दर्शन र प्रतिबद्धता उजागर गर्नु समयको मागका रूपमा लिएको छु। राणाकालका जागिरे जिजुबाजे जितमान सिंह श्रेष्ठ, बाजे हरिमान सिंह श्रेष्ठ र बाबु सुब्बा ज्ञानमान सिंह श्रेष्ठ तथा आमा सुभद्रा कुमारीका छोरा गणेशमान सिंह सहिदत्रय गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमा तथा जननायक बिपी कोइरालालाई चार गुरु मानेर राजनीतिमा होमिएका थिए।

 गंगालालको अन्तिम वाक्य ‘मेरो रगतलाई नबिर्स’ लाई सम्झँदा शिथिल शरीरमा पनि ऊर्जाको स्रोत प्राप्त हुन्थ्यो। उहाँलाई न त राणाशाहीको कठोर यातनाले गाल्न सक्यो, नत राजाको जेलनेल र काराबासले नै। त्यसैले उहाँलाई लौहपुरुष भनिएको हो। राणा र शाहजस्ता निरंकुश शासकबाट नहारेका त्यागका प्रतिमूर्ति गणेशमान आफ्नै पार्टीबाट अपहेलित भएको महसुस गर्नुपरेको थियो।  

२००१ सालमा जेलको पर्खाल नाघेर जेलबाट मुक्त भएका र २००७ सालको क्रान्तिमा रक्सौल मोर्चाका कमान्डर सिप सम्हालेका गणेशमान २०१५ सालको संविधानको मस्यौदाको धारा ५५ खारेज गर्नुपर्छ भन्ने अडान र २०३७ सालको जनमत संग्रहमा राजाले गर्न सक्ने धाँदलीको भविष्यवाणी उल्लेखनीय छ। १५ सालमा गणेशमानले उठाएको धारा ५५ को सबाल त्यतिबेलै बुझ्न सकेको भएर जनमत संग्रहमा राजाको छल बुझ्न सकेको भए राजशाहीका विरुद्ध त्यति लामो संघर्ष गर्नु पर्दैनथ्यो होला।

 गणेशमान सिंह राणाकालमा काजीको रजगज त्यागेर आन्दोलित हुनु, घरबाट पठाएको व्यञ्जन अस्वीकार गरेर सरकारी डण्डीमा गुजारा गरी इन्द्रिय दमन गर्न सक्नु, बरु अरूका भाँडा माझेर र चुलो पोतेर थप गुजारा चलाउनु, जेलमै बौलाएका सहयोद्धा बलबहादुर पाण्डेलाई चार वर्षसम्म गुहुमुत स्याहारेर सहयोग गर्नु उहाँको कार्यकर्ताप्रतिको सेवाभाव झल्किन्छ। के अहिलेको नेतृत्व कार्यकर्ताको संरक्षणमा दत्तचित्त देखिन्छन् त?

बिपीको ‘कांग्रेससँग राजा नतर्सनु, राजासँग कांग्रेस नझस्कनु’ भन्ने भनाइमा गणेशमान असहमत हुनुहुन्थ्यो। सर्वपक्षीय मोर्चाबिना तानाशाही फाल्न सकिन्न भन्ने उहाँको ठहर थियो। कांग्रेस–कम्युनिस्ट सहकार्यका प्रणेता थिए गणेशमान। नभन्दै बिपीको देहावसानपछि कम्युनिस्टसँगको सहकार्यबाट मात्र २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्ति भयो।

राजा वीरेन्द्रले निर्वाचित सरकारको सिफारिसको अवज्ञा गरेपछि गणेशमानकै पथमा गिरिजाप्रसाद कोइराला पनि सात दलीय गठबन्धन बनाएर माओवादीसँग सहकार्य गरेर २०६२/६३ को आन्दोलन सफल बनाई गणतन्त्र स्थापना गर्न सम्भव भएको हो। अहिले पनि गणेशमानको सहकार्यको पथ आवश्यक मानिएको छ।

राणाहरूको एउटै चिहान बनाउने पार्टीको योजनाको कसैले नेतृत्व लिन डराउँदा नेतृत्व गर्न तयार हुनु, ओखलढुंगा आक्रमण गर्ने बेला समय उपयुक्त नभएको भनी अड्डी लिनु, निडरता र भविष्य द्रष्टा दुवैका रूपमा लिन सकिन्छ उहाँलाई। राणा–कांग्रेस मन्त्रीमण्डलमा आफूलाई समावेश नगरी सुन्दर राज चालिसेलाई राख्न आग्रह गर्ने र सुन्दरराजले पनि क्रान्तिनायक नभएर म हुनु हुँदैन भन्ने त्याग अविस्मरणीय छ। पञ्चायत कालमा प्रधानमन्त्रीको अफर त्याग्नु र प्रजातन्त्रपश्चात् पनि राजा वीरेन्द्रको प्रधानमन्त्रीको प्रस्ताव त्याग्नु राजनेताको उदाहरणका रूपमा लिन सकिन्छ। अहिले अलकत्रा पाए पनि नछाड्ने नेताहरूका लागि यो कुरा चोटिलो जवाफ हुन सक्छ।

गिरिजाप्रसादको निर्वाचित तानाशाही प्रवृत्तिको नियन्त्रण गर्न नसके प्रजातन्त्र त सकिन्छ देश पनि नरहन सक्छ भनेर गिरिजाको महत्वाकांक्षाप्रति ठोस संकेत गर्नु चानचुने कुरा थिएन। आखिर प्रार्टी विभाजनको पीडा कांग्रेसले बेहोर्नुपर्‍यो नै। त्यसको प्रभाव संस्थापन र इतर पक्षका रूपमा अहिलेसम्म परेकै छ। उहाँकै भनाइमा ‘प्रजातान्त्रिक व्यवस्थाबाट नैतिकता हटाइदियो भने त्यो राजनीतिक व्यवस्था अधिनायकवादी बन्न पुग्छ।’ एउटा उद्दण्ड, आवारा केटो राजनीतिमा प्रवेशको अन्तरालमा अत्यन्त विनम्र, सुसंस्कृत, सभ्य र अनुशासित रूपमा परिवर्तन हुनु ठुलै रूपान्तरण हो।

सहिद गंगालाललाई राणाहरूले दिएको यातनाबाट यहाँमा विद्रोहको ज्वाला दन्केको थियो। गंगालालले राणाको भारी सभामा फर्काएको जवाफबाट डर त्रास सबै हराएर हिम्मत बढाएको थियो भने धर्मभक्तबाट प्रजापरिषद्को सदस्यता प्राप्त गरेपछि भुइँमै खुट्टा थिएन। सुभाषचन्द्र बोसको चामत्कारिक व्यक्तित्व, गान्धीको प्रसिद्धि, नेताहरूको लोकप्रियताको कथाले चुम्बकीय आकर्षण, जुलुस, हडताल, आमसभा र पत्रपत्रिकामा रमाउँदा रमाउँदै राजनीतिले तानेको थियो एउटा कर्तव्यनिष्ठ र दृढविश्वासी नेताका रूपमा।

चार वर्षको जेलले उहाँमा परिपक्वता आयो। जेलबाट भागेर राणाको पन्जाबाट देश मुक्त गर्ने हिम्मत बढ्यो र क्रान्तिकारी चरित्रको विकास भएको थियो। राणाविरुद्ध १० वर्ष, पञ्चायतविरुद्ध ३० वर्ष र आफ्नै पार्टीको निरंकुशताविरुद्ध ५ वर्ष संघर्ष गर्नुपर्‍यो। १६ वर्ष जेल, ८ वर्ष प्रवास र करिब २ वर्ष नजरबन्दमा परेका गणेशमानलाई कसले ढाल्न सक्थ्यो र। त्यसैले त संयुक्त राष्ट्र संघले मानव अधिकार र प्रजातन्त्रका निम्ति असाधारण योगदान गरेबापत भनेर मानव अधिकार पुरस्कारद्वारा सम्मानित गरेको थियो।

देश अनीति, सत्तालिप्सा, परिवारवाद, नैतिकतामा ह्रास, जिम्मेवारीबाट विमुख र राष्ट्रियतामा अनुदार नेतृत्वका साथै त्यसको आडमा भ्रष्ट नोकरशाही तन्त्रबाट गुज्रिरहेको अवस्थामा यस्ता लौहपुरुषको स्मरण हुँदोरहेछ। वलिदान, त्याग, उत्तरदायी, नैतिकवान नेतृत्वको खोजी हुँदोरहेछ। माथिकै भनाइ दोहोर्‍याएर भन्न सकिन्छ प्रजातान्त्रिक व्यवस्थाबाट नैतिकता हटाइदियो भने त्यो राजनीतिक व्यवस्था अधिनायकवादी बन्न पुग्छ।

वास्तवमा आज प्रजातन्त्र प्राप्त भयो, अझै पर गएर गणतन्त्र पनि प्राप्त भयो तर नैतिकताको खडेरी परेको छ। वलिदान मात्र ठुलो कुरा रहेनछ, लोकतन्त्रको स्थायित्व, नैतिक चरित्र, नीतिलाई व्यवहारमा परिवर्तन गर्न नसक्दा क्रान्तिकारी भनाउँदा नेताहरू पनि नातावाद र परिवारवादको भुमरीमा पर्दा रहेछन्। छोराछोरी, श्रीमती, ज्वाइँचेलाको मोहमा फस्दा रहेछन्। राम्रो नभएर हाम्राको रोजाइमा पर्दा रहेछन्। १५/१६ वर्षसम्म पनि शान्ति प्रक्रिया टुङ्ग्याउन नसक्ने तर अदालतको कामकारबाहीप्रति धावा बोल्नेजस्ता संवेदनशील कुरा दोहरिइरहेका छन्।

साच्चै देशको राजनीतिक व्यवस्था अधिनायकवादतर्फ उन्मुख हुन लागेको त होइन भन्ने प्रश्न खडा भएको छ। यस्तो जटिल परिस्थितिमा चोटिलो नेतृत्वको आवश्यकता महसुस हुँदोरहेछ। त्यस्तै लौहपुरुषको खोजी हुँदोरहेछ।

(शिक्षाशास्त्र संकाय, त्रिवि)

प्रकाशित: २७ फाल्गुन २०७९ ०२:३० शनिबार

नेपालको राजनीतिक इतिहास लौहपुरुषको खोजीमा देश