विचार

कांग्रेसी चलखेल र एमाले तलतल

एमालेको पिठ्युँमा जति पटक पछाडिबाट छुरी धसिन्छ, फर्केर हेर्दा त्यहाँ कांगे्रस हुने गरेको लामो शृंखला छ। जसले राजनीतिलाई जनजीविकासँग जोड्न खोज्छ, जो आफ्ना खुसी मेटाएर जनताको खुसीका लागि लड्छ, जसले आफ्ना निजी सपना थाती राखेर जनताका सपना जगाउन खोज्छ, कांग्रेस त्यही शक्तिकेन्द्र सिध्याउन उद्यत रहन्छ। किनकि कांग्रेस त्यस प्रकारका जमिनदार तथा मध्यम वर्गका सन्तानहरुको जमात हो जसको मक्सत सारमा मेहनतकस जनताको खुसी र सपना खोस्नु हो।

 २००८ सालमा कांगे्रसले भारतीय सेना झिकाएर भीमदत्त पन्तको हत्या गराएको थियो। 'कि जोत हलो, कि छोड थलो, होइन भने छैन भलो' भन्ने गर्जनका साथ पन्तले सामन्तको सातो उडाएका थिए। सामन्तको विपक्षमा, जनताको पक्षमा राजनीति गर्ने महानायक पन्तको विरासत रक्षा गर्दै राजनीतिलाई जनजीविकासँग जोड्ने सत्प्रयास जसले गर्छ कांग्रेस त्यसैको विरुद्धमा केन्द्रित हुन्छ। मनमोहन अधिकारी र मदन भण्डारीले २०४७ सालमा एमालेलाई बलियो जगमा उभ्याएपछि कांग्रेसको होसले ठाउँ छाडिसकेको छ। २०५२ सालमा कांग्रेसले राजावादीको साथ लिएर मनमोहन अधिकारीलाई सदाका लागि सिंहदरवारबाट गलहत्याएको थियो। दुई दशकपछि माओवादीको सहयोगमा कांग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेको छ। यसरी कांग्रेसले एमालेको आरिसले बारम्बार जनताको खुसी खोस्ने र सपना बिथोल्ने दुष्कर्म गर्दै आएको छ।

आजको कांग्रेस कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यममात्र बनेको छ।

वायुयान, बस र पानीजहाजको सवारीमा जस्तै राजनीतिमा पनि एउटा गल्ती गर्नु भनेको अस्तित्वबाट राजीनामा गर्नु हो। राजतन्त्रको अन्त्य र २०७० सालमा माओवादीले भोग्नुपरेको प्रलय, राजनीतिमा एउटा गल्ती कति महँगो सावित हुन्छ भन्ने सच्याइका दृष्टान्त हुन्। अब जनताको कोपको शिकार हुने पालो कांगे्रस पर्खिरहेको छ। पृथ्वीनारायण शाहका वंशज भन्दैमा जनताको अदालतले बारम्बार धोका दिने राजालाई माफ दिएन। कोइराला बन्धुहरु, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधीको दीर्घ साधनालाई भजाउँदैमा अब कांग्रेस छुट पाउने छैन। इतिहासको थाप्लोमा आफ्नो नालायकी र अहंकारबाट सिर्जित बेरुजु थोपर्नेलाई जनताले दण्डित गर्नेछन्। कांग्रेस र केन्द्रले जनसमुदायलाई क्रुद्ध पार्ने परावलम्बी राजनीति पस्केका छन्। जनताको कोपभन्दा बढी भयंकर अन्य कुनै कोप छैन। सत्तारुढ गठबन्धनले जनताको शक्ति र कोप दुवैलाई टेरेको छैन। भारत भन्ने देश वेलायतको पैतालामा विलिन रहेका बेला वेलायतसँग दौत्य सम्बन्ध कायम गर्ने एशियाकै सबैभन्दा जेठो राष्ट्र नेपाल हो। यस्तो गौरवशाली देशको परराष्ट्र नीतिको ठेक्का कनिष्ट देशलाई सुम्पिने दाहाल देउवा गुटको प्रपंच राष्ट्रिय आवाज होइन। यस्तो गद्धारी गरेर कांग्रेस र केन्द्रले जनतारूपी पहरोसँग कुहिनो जोडेर निहुँ खोजेका छन्। 

हरेक ओहदाधारीले राष्ट्रको बृहत् हित, आकांक्षा र जनताको आवाजलाई ठीक ढंगले सम्बोधन गर्न सक्दैनन्। किनकि राष्ट्रिय हितको सम्बोधन र कुर्सीको व्यवस्थापकीय पदपूर्ति एउटै विषय होइन। उदाहरणका लागि पृथ्वीनाराण शाहको मृत्युपछि प्रतापसिंह शाह राजा त भए तर पिताको जति राष्ट्रका लागि योजना, सपना, अभियान, आवाजको आपूर्ति गर्न तथा जनताको संगठन, एकता र गतिशीलताको रक्तसञ्चार गर्न सकेनन्। नायकको महत्वाकांक्षाले राष्ट्रको बृहत्तर हितसँग गति पवि्र्कन सकेमात्र राष्ट्र उभो लाग्न सक्छ। अन्यथा राजनीतिक शक्तिले राष्ट्रलाई राजनीतिक बेरुजु बोकाउने गर्छन्। अर्थशास्त्रको बेरुजु फर्छ्याैट गर्न सकिन्छ तर राजनीतिशास्त्रको बेरुजु फर्छ्याैट गर्न इतिहासले इन्कार गर्छ।

पृथ्वीनारायण शाहको मृत्युपछि नेपालले गुमाएको गतिको परिणामस्वरूप देश सुरा, सुन्दरी, सम्पत्ति, शक्ति र सत्ताका लागि षड्यन्त्रको सहारा लिनेको दुष्चक्रमा फस्यो। बहादुर शाह, दामोदर पाण्डे, भीमसेन थापा, रणजंग पाण्डे, माथवरसिंह थापा, गगनसिंह खवास, जंग खलकदेखि मदन भण्डारीसम्मको हत्या शृंखला, सपरिवार राजा वीरेन्द्रको हत्या, दाहाल र देउवाको अगुवाइमा भएको १८ हजार सहदेशबासीको नरमेध यज्ञ जस्ता सबै काण्ड यो वा त्यो प्रकारका भित्री षड्यन्त्र र बाह्य चलखेलका उपज थिए। यसरी राजतन्त्रले मात्र नभई बिपी, गणेशमान र कृष्णप्रसादको पञ्जाबाट फुत्किएको नेपाली काग्रेसले पनि देश, जनता र युवा पुस्ताका निम्ति निष्ठा राजनीति आपूर्ति गरी देशमा थिति बसाउन सकेन। मदन भण्डारी र मनमोहन अधिकारीको अगुवाइकालदेखि केपी ओलीको आगमनपूर्वका दुई दशकमा एमाले पनि राष्ट्रको आकांक्षा, आवाज र गतिमा साधक बन्न सकेन। जब कुनै राजनीतिक शक्तिले सबैले अनुभूति गर्ने गरी देश र जनताको पक्षमा अग्रगामी, जनमुखी एवं लोककल्याणकारी कार्य गर्दैनन् र आफ्नै कमजोरी, स्वार्थ, ऐश आराम र आग्रह/पूर्वाग्रहको साँघुरो दायरामा रहेर समय र शक्ति बर्बाद पार्छन्, तब थाहा पाउनुपर्छ कि इतिहासको थाप्लोमा राजनीतिले बेरुजु थोपर्दैछ।

सिंहदरबारबाट ओलीको बहिर्गमन, पुष्पकमल दाहालको पुनरागमन र देउवाको आगमनका लागि खुलेको ढोका पृथ्वीनारायण शाहको ठाउँमा प्रतापसिंह शाहको थपनाको पुनरावृत्ति मात्र हो। केही थान मन्त्री सांसद र पार्टीका केन्द्रीय निकायमा पुगेका महत्वाकांक्षाका व्यापारीहरुका लागि दाहाल र देउवा उचाल्ने क्रेन जतिसुकै बने पनि, जयगान र भजनकीर्तन जतिसुकै गरे पनि कांग्रेस र माओवादीको औचित्यता जनताको अदालतबाट खारेजीमा पर्दैछ। मातृभूमिलाई घात गरी मोदी प्रशासनको तावेदार हुने सत्तारुढ गठबन्धनको गल्तीलाई इतिहासले लेखाजोखा राख्नेछ र जनताले हिसाबकिताब माग्नेछन्।

देशको एकीकरणका लागि संगठित, अनुशासित र देशभक्त सेना गठन र राष्ट्रको एकीकरण गर्दा पृथ्वीनारायण शाहको व्यक्तिगत महत्वाकांक्षाले नेपाल राष्ट्रको एकीकृत उदय र अस्तित्वको बृहत् स्वार्थलाई सघाएको थियो। राष्ट्रको एकीकरण त भयो तर योग्य, दूरदर्शी शासक, जनताको व्यापक सहभागिता र सर्वोपरि भूमिकाको अभाव, जनताको नियन्त्रणमा रहेको लोकतान्त्रिक व्यवस्था र कानुनी शासन र न्यायको राजको अभावमा भावनात्मक एकता कायम हुन सकेन। यस्तैमा लोकतन्त्रका मूलभूत मूल्य, मान्यता आदर्श र जीवनशैली आत्मसात गरेको लोकतान्त्रिक दलका रूपमा नेपाली कांग्रेसलाई जन्माउन, हुर्काउन र स्थापित गर्न बिपी कोइराला, गणेशमान सिंह कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधी, बलबहादुर राई, भीमबहादुर तामाङहरुले सिङ्गो जीवन खर्चिए। आजको कांग्रेस भने कोइराला, सिंह र निधी परिवारका वंशज र अंगीकृत उत्तराधिकारीहरुका लागि नाफा कमाउने र साख गुमाउने माध्यम बनेको छ।

 पुष्पलाल श्रेष्ठका दिन खराव सहकर्मीको दुष्चक्रबाट उठ्न नसकेरै बिते। कम्युनिस्ट नेतामध्ये खराब सहक्रर्मीको चक्रब्यूह भेदन गरेर केही गर्ने अनुकूलता पाएको र ल्याकत देखाएको भनेको मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीले मात्र हो। यति भएर पनि एमालेको आगामी यात्रा सहज छैन। देशमा राजनीतिक स्थिरताका लागि जति कांग्रेस र माओवादीको चलखेल घातक छ, त्यति नै एमाले नेताहरुको तलतल पनि साधक छ। एक स्थायी सरकार सञ्चालनका लागि दिगो र दरिलो जनमत निर्माण महत्वपूर्ण कुरा हो। बलियो जनमत निर्माण र रक्षाका लागि चाहिने दूरदर्शी रणनीति, धैर्र्य र समयको महत्व बुझ्न एमालेले सकिरहेको छैन। तत्कालिक घटना, सस्ता प्रतिवि्र्कया र अस्थिर सरकारमा केही थान मन्त्रीको जागिर सिर्जनामै समय बर्बाद हुने गरेको छ। निरन्तर सरकार गठन र विस्थापनका खेलमा एमाले नेताहरुको पदलोलुपता, अधैर्य, स्वार्थकेन्द्रित वाकपटुता र चलखेलले काम पाउने गरेको छ।

अधैर्यकै कारण एमालेले विगतमा मनमोहनलाई फेरि प्रधान मन्त्रीका रूपमा देख्न चाहने जनमत गुमाएको थियो र विभाजन भोगेको थियो। ओलीलाई दुई दशक ढिलो गरी चिनेर देश, लोकतन्त्र र आफ्नैसमेत भाग्य र भविष्यमाथि खेलबाड गरिसकेको एमाले जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड गर्ने शैलीको गुणग्राहिताको अभावबाट पूर्णरुपेण मुक्त छैन। फेरि पनि हस्तीहरुले गर्ने समीकरणको बेमौसमी खेतीले ओलीको पुनः सिंहदरवार प्रवेश चाहने देशभक्त जनमतलाई बिथोल्ने बाहिरी षड्यन्त्रलाई सघाउन सक्छ। एमालेसँग अधिकारी, भण्डारी र ओलीले जस्तो एकअर्काे सहकर्मीको मानमनितो राखेको गौरवगाथा पनि छ र वर्तमान शीर्ष चार हस्तीको बाझिएको स्वार्थका कारण २०५४ र २०६४ साल बेहारेको हण्डर/ठक्करले भरिपूर्ण इतिहास पनि छ।

 भूमिकामा आएको बढोत्तरीसँगै ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नयाँ पुस्ताको सफलता भण्डारी, अधिकारी र ओलीको जस्तो एकापसमा छलछामरहित सहकार्य गर्न सक्नुमा निर्भर छ। विगतका दुई दशकमा एमालेका चार नेताले गरेजस्त्ाो 'सोम लगायो, मंगल फाट्यो' शैलीको पिरतीले एमाले फेरि पनि पुग्ने भनेको २०५४ वा ६४ सालको घनचक्करमा हो। इतिहासबाट पाठ राम्ररी घोकेको एमालेले मात्र सत्तारुढ गठबन्धनले पस्केको मोदीकेन्द्रित राजनीतिलाई पूर्णविराम लगाएर जनताको भूमिका सर्वाेपरि भएको मातृभूमिकेन्द्रित राजनीतिलाई स्थापित गर्न सक्नेछ। इतिहासको थाप्लोमा राजनीतिक बेरुजु थमाउनेको भीडबाट भिन्न रहन सक्नुमा मात्र एमालेको अर्थ र औचित्य छ। 

प्रकाशित: २६ कार्तिक २०७३ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App