विचार

च्याटजिपिटीमा के गलत छ?

मानिसले लेखेझैँ प्राकृतिक भाषाको कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स–एआइ) को प्रोग्राम ओपनएआइ जिपिटी सार्वजनिक गरेपछि माइक्रोसफ्ट दंग देखिएको छ। पछिल्लो दशकमा यस प्रकारको प्रविधि निर्माण गर्न सजिलै वित्तीय सहयोग प्राप्त भएकाले कैयन् कम्पनी र भेन्चर क्यापिटल फन्ड्सहरूले एआइमा अर्बाैँ खर्च गरेका छन् र यही कारण मानिसले गर्ने कैयन् काम यो प्रविधिले प्रतिस्थापन गर्न सक्ने भएको छ। तर यसले कामदारहरूका लागि मात्र होइन, उपभोक्ता र लगानीकर्ताहरूका लागि समेत विपत्ति निम्त्याउन सक्छ।

कामदारहरूलाई आउन सक्ने समस्या प्रष्ट छ। प्रभावकारी सञ्चार सिप आवश्यक पर्ने जागिरहरूको माग घट्नेछ र यो क्षेत्रमा राम्रो तलव दिने निश्चित पद मात्र बाँकी रहनेछन्। सफाइकर्मी, ड्राइभर र अन्य शारीरिक श्रम गर्ने कामदारको जागिर त जोगिनेछ तर हरेक कामदार यो प्रविधिको विकाससँग तर्सने देखिएको छ।

उदाहरणका लागि उपभोक्ता सेवालाई लिउँ। उपभोक्तासँग अन्तरक्रिया गर्नुपर्ने सेवाका लागि कम्पनीहरूले च्याटजिपिटीमार्फत त्यो सेवा दिनेछन्। कहिलेकाहीँ झोक्किएर कुरा गर्ने उपभोक्तासँग च्याटजिपिटीले बुद्धिमतापूर्वक र शान्त स्वरमा कुरा गर्नेछ। जागिरको सुरुको चरणमा थोरै अवसर हँुदा क्यारियर सुरु गर्ने अवसर पनि सीमित हुनेछन्। यसरी यसअघि डिजिटल प्रविधिले सिर्जना गरेको प्रवृत्तिको पुनरावृत्ति हुनेछ।

उता, उपभोक्ता पनि समस्यामा पर्नेछन्। च्याटबट्सले उपभोक्ताका नियमित प्रश्नमात्र होइन, अन्य प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। भुइँतलामा पानीको पाइप फुटेर जलाम्य हुने अवस्था तथा एयरलाइन्स सेवा अवरुद्ध भएको अवस्थामा योग्य तथा सहानुभूतिपूर्वक काम गर्न सक्ने व्यावसायिक जनशक्तिले मात्र आवश्यक संसाधन परिचालनमार्फत उचित समाधान निकाल्न सक्छन्। त्यतिबेला हामीले घण्टौँसम्म च्याटवटको समाधान कुरेर बस्न सक्ने स्थिति हुँदैन र तत्काल वार्तालाप सुरु गर्ने च्याटबट त्यतिबेला प्रयोगविहीन बन्नेछ।

हो, त्यतिबेला पनि नयाँ नयाँ कम्पनीले विकसित प्रविधिमा आधारित उपभोक्ता सेवा दिन र सिर्जित अवसरलाई आत्मसात गर्ने उपाय निस्कने अपेक्षा गर्न सकिन्छ तर वास्तविक दुनियामा नयाँ फर्महरूको बजार प्रवेश र सेवा विस्तार त्यति छिटो हुन कठिन हुन्छ। हामीले स्थानीय बेकरी, मित्रवत् व्यवहार गर्ने हवाईसेवाका प्रतिनिधि अथवा निश्चित डाक्टरलाई मन पराउँला तर नयाँ बेकरी खोल्न, नयाँ हवाईसेवा सुरु गर्न तथा नयाँ अस्पताल निर्माण गर्न त्यति सजिलो छैन। हाल भैरहेका कम्पनीलाई तुलनात्मक फाइदा छ। बजारको शक्ति रहने हुँदा आवश्यक प्रविधि आत्मसात गरेर अनुकूलित हुन उनीहरूलाई सहज हुनेछ।

यसैगरी नयाँ कम्पनीले वस्तु र सेवा दिँदा डिजिटल संसाधनसहितका नयाँ प्रविधिको आवश्यकता हुन्छ जसका कारण कामदारले उपभोक्तालाई प्रभावकारीरूपमा सेवा दिन सक्छन्। तर एआइमा लगानीले अटोमेसनलाई जोड दिएको हुन्छ र यसप्रकारको सेवाका लागि उपयुक्त उपकरणको विकास गरिएको हुँदैन।

यसैगरी सार्वजनिक कारोबार गर्ने कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई पनि घाटा हुनेछ। यस्ता कम्पनीले नयाँ प्रविधिमा लगानी गरेर आफ्नो सेवाको गुणस्तर बढाउन र आफ्ना जनशक्तिलाई विभिन्न तालिम दिएर काम गर्न सक्षम र सिपयुक्त पार्नुपर्ने हुन्छ। तर उनीहरूले त्यसो गरेका छैनन्। अधिकांश कम्पनीका प्रमुखहरू तलबमान बढाउन अनिच्छुक छन्। कामदार कटौती गरेर यथास्थिति कायम राखेर आफैँ हार्ने रणनीति अख्तियार गर्न उनीहरूले रुचाएका देखिन्छ।

कम्पनीका विश्लेषक, परामर्शदाता, वित्त प्राध्यापक तथा अन्य कार्यकारीको सुझावमा प्रमुखहरू कामदार कटौती गर्न उद्यत देखिन्छन्। वालस्ट्रिटमा कामदार जति कटौती गर्न सक्यो कम्पनीको परफरमेन्स झन् बढ्ने तर्क गर्ने गरेका छन्। एआइले निजी क्षेत्रको स्व–पुँजी (प्राइभेट इक्विटी) का नकारात्मक सामाजिक प्रभावलाई झन बढाउन सक्नेछ। यसअघि नै स–साना कम्पनी किनेर ठूलो सम्पत्ति कमाउने तर निजी कम्पनीमा रूपान्तरण हुँदा ऋणको भार झन् थप्ने र नयाँ मालिकले कम्पनी हस्तान्तरण गर्नुअघि नै ठूलो मात्रामा जागिर कटौती गर्ने प्रवृत्ति देखिएको छ। च्याटजिपिटी र एआइ प्रविधीले कम्पनीहरूलाई जनशक्ति झन् घटाउन प्रेरित गर्नेछ। जनशक्ति निगरानी, कार्यसम्पादनमा कडा सर्तको व्यवस्था, जिरो आवर कन्ट्रयाक्ट लगायतका व्यवस्था गर्न उनीहरू उद्यत हुने देखिन्छ।

यो प्रवृत्तिले अमेरिकाको अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा लिइएको सर्वसाधारणको खर्च गर्ने क्षमतामा ह्रास आउनेछ। तर हामीले लेखेको पुस्तक ‘पाओर एन्ड प्रोग्रेस–आओर थाउजेन्ड एयर स्ट्रगल ओभर टेक्नोलोजी एन्ड प्रोस्परिटी’ मा भनिएझै स्पटरिङ आर्थिक इन्जिनले भविष्यमा ढाँट्न सक्दैन। जे/जसो भए पनि यसअघि भएका प्राविधिक विकासले पनि विभिन्न प्रभाव तथा असर पारेकै हुन।

एक शताब्दीअघि नयाँ इलेक्ट्रिकल मेसिनरी र प्रभावकारी एसेम्ब्ली लाइनको प्रयोगमार्फत हेनरी फोर्डले कार उत्पादनमा क्रान्ति गरेका थिए। हो, नयाँ प्रविधिले मेसिनका क्षमता बढाएर केही मात्रा अटोमेसनलाई बढाउँछ। तर कार उत्पादक कम्पनीको पुनर्संरचना गर्दा कामदारहरूलाई नयाँ अवसर सिर्जना भएको र तलवमानसमेत अभिवृद्धि भएको तथ्यलाई हामीले बिर्सन हुँदैन।

मानवको सहयोग परिपुरक रहेको अवस्थामा व्यवसायलाई सघाउ हुने तथ्यलाई फोर्डले प्रमाणित गरेका हुन।अहिले, एआइले त्यस्तै अवसर सिर्जना गरेको छ। एआइद्वारा सञ्चालित डिजिटल टुल्सहरूले नर्स, शिक्षक र उपभोक्ता सेवा प्रतिनिधिलाई सहयोग गर्न सक्छ। यसबाट उनीहरूले दिने सेवा झन प्रभावकारी हुन सक्छ। त्यसैले अल्गोरिथम्सको आकलन गर्न सक्ने क्षमताको प्रभावले मानिसलाई प्रतिस्थापन होइन, सहयोग पुग्नेछ।  

एआइले गर्ने सिफारिसले मानिसकै स्वार्थ सिद्ध हुन सक्ने भएकाले यो मानवीय सिप हुन सक्छ। यसैगरी एआइको प्रयोगले एयरबिनबी तथा राइडसेयर जस्ता अवसर सिर्जना हुने भएकाले नयाँ बजार सिर्जना हुन सक्छ। तर दुर्भाग्यवस, हामीले यस्ता अवसर उपेक्षा गरेका छौँ। किनभने अधिकांश अमेरिकी टेक कम्पनीले यसअघि मानिसले नै राम्रोसँग कार्यसम्पादन गरिरहेका क्षेत्रमा सफ्टवेयर निर्माण गर्न ठूलो धनराशी खर्च गरेका छन्।

यी कम्पनी कर्पोरेसनहरूलाई आफ्ना उत्पादन तत्काल बेचेर यसबाट कमाइ गर्ने ध्याउन्नमा देखिन्छन् र टनल भिजन भएका कर्पाेरेसनलाई उनीहरूले सजिलै यो व्यापार गरेका छन्। अहिले हरेक व्यक्ति एआइको प्रयोगमार्फत श्रमशक्ति र मूल्य घटाउन केन्द्रित छन् तर उनीहरूले यसले तत्काल उपभोक्ताका अनुभव र अमेरिकीहरूको खर्च गर्ने क्षमतामा कति प्रभाव पार्छ भन्ने विषयमा यथोचित ध्यान दिएका देखिँदैन। फोर्डले के बुझेका थिए भने ठूलो संख्यामा कार निर्माण गरेर मात्रै हुँदैन, उपभोक्ताको क्रयशक्ति पनि उत्तिकै महत्त्वपूर्ण पक्ष हो। हालका कर्पाेरेट टाइटनहरूको बुझाइ भने यसको विपरित छ। उनीहरूले हाम्रो सामूहिक भविष्यलाई प्रभाव पार्ने हिसाबमा नयाँ प्रविधि आत्मसात गरेका छन्।

(डेरोन एसमोग्लु एमआइटीका अर्थशास्त्रका प्राध्यापक हुन। साइमोन जोन्सन अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख अर्थशास्त्री हुन। प्रोजेक्ट सिन्डिकेट)

प्रकाशित: ९ फाल्गुन २०७९ ००:०४ मंगलबार

प्राकृतिक भाषाको कृतिम बौद्धिकता