विचार

भिड, मनोविज्ञान र नेतृत्व

ओशो राजनिसका दुईवटा पुस्तक ‘मै मृत्यु सिकाता हुँ’ र ‘युद्ध और शान्ति’ रत्न पुस्तक भण्डार, माइतीघर मण्डलाबाट किनेर ल्याएको थिएँ। किताब पूरै पढ्न पाइन। थाहा नपाइकन किताबको खुट्टा लाग्यो। ओशोको प्रवचन सुन्दा र पुस्तक पढ्दा अत्याधिक मात्रामा बोधकथा सुन्न र पढ्न पाइन्छ। संभवत ‘मै मृत्यु सिकाता हुँ’ मै हुनुपर्छ। त्यसबेला पढेको बोध कथा अहिलेसम्म संझना छ। भनौँ, मनमा राज नै गरेको छ।

सम्झेअनुसार उक्त कथामा एउटा सानो राज्य हुन्छ। त्यस राज्यमा मानिसले पानी खाने दुईवटा मात्र कुवा हुन्छ। एउटा कुवा सर्वसाधारण प्रजाका लागि र अर्को कुवा राजाको प्रयोगको लागि थियो। एकदिन एउटा जादूगर त्यस राज्यमा आउँछ। सर्वसाधारणले चलन गर्ने गरेको कुवामा जादू गरिदिन्छ। त्यसको प्रभाव, त्यो पानी खाने जति सबै बौलाउने हुन्छन्। राजाको दरबारमा यसको सूचना नपुग्ने कुरो थिएन। पुग्यो। राजा ढुक्क भए। जादूगरबाट आफ्नो कुवा जोगिएको छ भनेर। राजाले सोचे जस्तो भएन। जादूगरले जादू गरिदिएको कुवाको पानी खाएका सर्वसाधारण सबै राजाका दरबार घेर्न आउँछन्। कराउन थाल्छन् हाम्रो राजा बौलाहा-बौलाहा भन्दै। राजा आपत्मा पर्छन्। सल्लाहका लागि आफ्नो मन्त्रीलाई बोलाउछन्। उनी आउँछन्। उनले राजालाई सल्लाह दिन्छन्। सर्वसाधारणले खाने कुवाको पानी खाएर आउनू भनेर। जान्छन्, पानी खाएर आउँछन्। त्यसपछि राजाका प्रजा खुसी भएर भन्न थाल्छन्-‘हाम्रो राजा कस्तो ठीक।’ भिड मनोविज्ञानलाई बुझ्न यो कथा उपयुक्त छ भन्ने लाग्छ।

बुद्धको जीवनमा घटित घटना पनि सान्दर्भिक छ। बुद्धका विरोधीहरूले एकजना युवतीलाई प्रभावमा पार्छन्। बुद्धले आफूलाई गर्भवती बनाएको छ भनेर भन्न लगाउँछन्। युवती त्यसो भन्दै हिँड्छिन्। त्यसपछि सर्वसाधारणसहित युवती बुद्धलाई घेर्न जान्छन्। अपशब्द बोल्न थाल्छन्। ढुङ्गामुढा गर्न थाल्छन्। बुद्धत्व प्राप्त गरेका बुद्धलाई त्यसले के फरक पथ्र्यो र ? पारेन। शान्त स्वरमा युवतीलाई प्रश्न गर्छन्-‘भन छोरी तिमीलाई के भयो?’ युवती लज्जित बन्छिन्। पानी पानी हुन्छिन्। त्यसपछि युवतीको साथमा गएको भिड बुद्धबाट युवतीतर्फ फर्कन्छ। युवतीलाई ढुङ्गा हान्न थाल्छ। अन्ततः बुद्धले नै ती युवतीको संरक्षण गर्छन्। बचाउँछन्।

त्यसैले भिडको विभिन्न विशेषतामध्ये अत्यन्त अस्थिर वा तरल हुनु पनि एक हो। सधैं एउटै पक्षको हुन्छ भन्ने हुँदैन। सामाजिक समूहहरूमध्येमा सबैभन्दा अनित्य र अस्थिरमा भिड पर्दछ। तत्कालीन परिस्थितिको उपज हुन्छ। त्यो परिस्थिति तथा कारण समाप्त हुनासाथ भिडको अन्त्य हुन्छ। त्यस्तै असंगठित हुन्छ। कावुमा हुँदैन। नेतृत्वविहीन भएकाले नियन्त्रण बाहिर हुन्छ। संवेग, आवेग, क्रोध, घृणा, उल्लास, उत्साह हुन्छ। आवेगको बाहुल्यता हुनाले विवेक, तर्क, प्रश्न, भइराख्दैन। तत्कालीन परिस्थितिको उपज हुनाले सत्य र सही कुराको खोजमा लाग्दैन। प्रतिक्रियात्मक हुन्छ। विवेक गुमाउन पनि सक्छ।

५० को दशकमा जस्तो लाग्छ। काठमाडौँ उपत्यका ऋतिक रोशन प्रकरणले नराम्रोसँग प्रभावित भयो। जनआक्रोशका कारण काठमाडौँको न्युरोडले बढी क्षति बेहोर्नुपरेको थियो। जनजीवन र यातायात अस्तव्यस्त भयो। त्यस्तै ५० कै दशकमा हुनुपर्छ। संभवत कमलादीका गणेशले दूध खाएको कुरा आयो। गणेशलाई दूध ख्वाउन भिड त्यता आकर्षित भयो। त्यतापट्टि दौडियो। ६० को दशकमा पूर्वकी एकजना अनुजा बानिया नामकी नानीले लगभग १ करोड नजिकको हुनुपर्छ (यति नै रकम भन्ने सम्झेको छुइन) रकम र हिराको हार भएको झोला आफूले बसमा फेला पारेको र सम्बन्धित धनी पत्ता लगाइ फिर्ता दिएको भनिन्। उनको इमानदारिताको राष्ट्रिय प्रशंसा भयो। उनको कार्यको उच्च मूल्यांकन भयो। अहिलेको शब्दमा भन्ने हो भने उनी एकाएक भाइरल भइन्। फिर्ता पाएको मालिक को थियो? भन्नेतर्फ ध्यान गएन। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उनलाई बधाई र धन्यवाद दिएको कुरा समेत सुन्नमा आयो। पछि त्यो सत्य ठहरिएन।

त्यो बेलाको भन्दा अहिले परिस्थिति धेरै बदलिएको छ। प्रविधि र सूचनाको क्षेत्रमा अद्भूत विकास भएको छ। हात-हातमा सूचना छ। अत्यन्त संवेदनशील क्षण लाग्छ अहिले। राम्रो कुराको भन्दा नराम्रो कुराको विस्तार र प्रभाव समाजमा छिटो पर्छ। सामाजिक सजगता र सतकर्ताको खाँचो हिजोभन्दा आज र आजभन्दा भोलि बढी पर्छ जस्तो लाग्छ।

राजनीतिक नेतृत्वलाई आफ्नो पक्षमा कसरी जनमतलाई आकर्षित र प्रभावमा पार्ने भन्ने हुन्छ। अझ भनौँ, हिरोइज्मको मानसिकता हावी भएको हुन्छ। तत्काल के भन्दा जनआकर्षण बढ्छ भन्ने ध्याउन्नमा कहिलेकाहीँ विवेक गुमाएको पनि पाइन्छ तर अपवादबाहेक सधैँ एकाकै पक्षमा जनमत हुन्छ भन्ने हुँदैन। जनमत अस्थिर प्रकृतिको हुन्छ। दिगो र स्थायी हुन्छ भन्ने हुँदैन।

अझ भनौँ, लोकप्रिय बन्नुभन्दा टिकाउन धेरै गाह्रो हुन्छ। कुनैबेला जनपक्षीय उम्मेदवार पद्यरत्न तुलाधरको जनसभामा काठमाडौँ नै उर्लिन्छ कि जस्तो हुन्थ्यो। ‘हामी जनता’ भनेर संवोधन गरेको ‘क्यासेट’ घरघरमा बज्थ्यो। त्यसबेलाको काठमाडौँ तुलाधरमय नै भएको थियो। अत्यधिक मतले विजयी भएका तुलाधरको पछिल्ला निर्वाचनमा भने जमानत पनि जोगिएन।

त्यस्तै कुनैबेला निर्वाचनकी रानीजस्तै भएकी थिइन् नानीमैया दाहाल। घरघरमा उनी र उनको घडी चिह्नको चर्चा हुन्थ्यो। राष्ट्रिय पञ्चायतको निर्वाचनमा अत्यधिक मतले विजयी भइन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाइन्। बिबिसी, भ्वाइस अफ अमेरिका जस्ता मिडियाले कभर गर्‍यो। त्यति मात्र होइन, न्युजविक, टाइम्स जस्ता मिडियाले पनि नेपालमा प्रजातन्त्रको उदय भनेर सम्पादकीय टिप्पणी प्रकाशित गरेका थिए। (लुइँटेल, पुण्यप्रसाद, नेपालमा नारी जागरण अवस्था)। भारतबाट प्रकाशित हुने दिनमानले आफ्नो कभर पृष्ठमा नेपालको नक्सा बनाएर सूर्य उदाइरहेको दृश्य देखाएर सूर्यको अनुहारचाहिँ नानीमैया दाहालको अनुहार बनाएको थियो (ऐ. लुइँटेल) भनिन्छ।

त्यसैले भिड मनोविज्ञानमा क्षणिकतावाद हावी भएको हुन्छ। त्यो दिगो र स्थायी हुँदैन। दूरगामी सोच, चिन्तन र दृष्टिकोण भएको नेतृत्व क्षणिकतावाद र भिड मनोविज्ञानबाट प्रभावित भइराख्दैन। स्तुति र निन्दाको असर पनि पर्दैन। भिडलाई नियन्त्रण गर्न सक्ने क्षमता र सामथ्र्य पनि राख्छ। बि.पी.सर्वाधिक पढिने, लेखिने र भनिने नेता भएका छन् अहिले। उनी भिड भन्दा आफ्नो दृष्टिकोणमा स्पष्ट थिए।

२०३७ साल वैशाख २० गते भएको जनमत संग्रहको परिणामलाई पञ्चायत इतर पक्षमा रहेका राजनीतिक शक्तिले स्वीकारेनन्। बिपीले परिणामलाई स्वीकार गरे। २०१९ सालको संविधानमा दोस्रो संशोधन हुनुपूर्वसम्म स्नातकबाट राष्ट्रिय पञ्चायतमा ४ जना निर्वाचित हुने प्रावधान थियो। त्यही प्रावधानअन्तर्गत विजयी भएका रामराजाप्रसाद सिंहको चुनावी पर्चा पम्प्लेट खरिद बिक्रीसमेत हुन्थ्यो भनेर त्यसबेलाका जानकारहरू भन्ने गर्छन्। सिंहको अहिले चर्चा हुँदैन।

हामी अरूभन्दा भिन्न र फरक छौँ। परिवर्तन गर्छौँ भनेर आएका राजनीतिक दलका नेतृत्व बढी सतर्क हुनुपर्छ। जे/जति राजनीतिक शक्ति आर्जन गरेको छ, त्यसलाई जगेर्ना तथा विस्तार गर्नका लागि नेतृत्वमा संयमता हुनुपर्छ जस्तो लाग्छ। सार्वजनिक जीवन हुनेहरूप्रति नै सबैको ध्यान जाने हो, टिकाटिप्पणी, आलोचना, आरोप-प्रत्यारोपको सामना गर्नुपर्ने नै हुन्छ। महात्मा गान्धी कहाँ आलोचनाबाट मुक्त थिए? थिएनन्। ब्रह्मचर्यमा उनको प्रयोगलगायत कतिपय विषय अहिले पनि आलोचित भइराखेको छ। अहिले सञ्चार क्षेत्रप्रति जे–जस्तो टिका टिप्पणी भइराखेको छ, यस विषयमा कमजोरी मुक्त कुनै व्यक्ति संस्था वा क्षेत्र हुँदैन। यस क्षेत्रमा पनि प्रशस्तै कमजोरी होलान् तर सञ्चारलाई निषेध पनि त गर्न सकिँदैन। तत्क्षेत्रका सबैलाई एउटै डालोमा हालेर धारणा बनाउनु र मूल्यांकन गर्नु पनि न्याय संगत हुँदैन।

सञ्चार मन्त्रालयले पत्रकारलाई के–कस्तो सुविधा र आर्थिक सहयोग उपलब्ध गराउँछ यो पंक्तिकार जानकार छैन। २०६३ सालमा जब शाही सत्ता ढल्यो त्यसपछि सञ्चार मन्त्रालयले आर्थिक सहायता गरेका पत्रकारहरूको नामको सूची सञ्चार माध्यममा धाराबाहिक रूपमा प्रकाशित भएको थियो। सरकारले दिए, उनीहरूले लिए। के अपराध गरे भन्ने त्यसबेला लागेको थियो। पत्रकारको व्यथा पत्रकारले बुझ्नुपर्ने हो भन्ने लागेको थियो, त्यतिबेला पत्रकारले नै पत्रकारलाई बुझ्छ, जान्छ। चिन्छ। त्यस क्षेत्रबाट बाहिर हुनेले जवाफदेही पत्रकारिताका लागि दबाब दिने हो। त्यो भिड मनोविज्ञानबाट प्रभावित भने हुनु हुँदैन।

प्रकाशित: ७ फाल्गुन २०७९ ००:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App