केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापित गर्ने क्रममा संसद्मा भएका चर्का छलफलमा प्रधानमन्त्री पदका तत्कालीन दाबेदार पुष्पकमल दाहालले भने– ‘राष्ट्रवादको समयसापेक्ष परिभाषाको आवश्यकता देखियो।’ निश्चय नै दाहालले सही कुराको उठान सही समयमा गरे । यसको लागि उनलाई धन्यवाद ! नेपालमा एकजना राजज्योतिष थिए– महेश्वर पोखरेल । उनले भनेका थिए– बिग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय बताउँछ । दाहालले पनि कम्तीमा एउटा त सही कुरा गरे ! जनयुद्धको बलले नेपालमा स्थापित लोकतन्त्रको नाममा अपमानित हुनुपरेका सहिदहरूको श्राप र पुरस्कृत भएका लुच्चा लफंगाहरूको आतंकबाट नेपालीले मुक्ति चाहिरहेको बेला राष्ट्रवादबारे छलफल गर्न औपचारिक थलोको रूपमा दाहालले संसद्लाई चुन्नु प्रशंसनीय कार्य हो । संसद्सम्म पुग्ने सौभाग्य सबैले प्राप्त गर्ने कुरा भएन। सांसदहरूबाहेक जति नेपाली छन् ती सबैको साझा संसद् भनेको ‘मिडिया’ नै हो । तसर्थ, नागरिक दैनिकमार्फत् ‘राष्ट्रवाद’बारे छलफल गर्ने घृष्टता यहाँ गरिएको छ ।
आफ्नो देशको चौतर्फी हितको रक्षा गर्नु राष्ट्रप्रेम वा राष्ट्रवाद हो । जानेर वा नजानेर पनि यदि कसैबाट राष्ट्रको अहित हुने काम हुन्छ भने त्यो राष्ट्रघात हो । राष्ट्रवादलाई संकुचित दृष्टिले हेरिने अभ्यासकै कारण विश्वइतिहासमा अनगिन्ती युद्ध एवं अनेकौँ महायुद्ध लडिएका छन्, जसमा करौडौँकरोड निमुखाको हत्या भए । द्वापरयुगको महाभारत युद्धलगायत आधुनिक युगका दुई पटकका विश्वयुद्ध मानवताको रक्षाको निम्ति भएका थिए भनिए पनि वस्तुतः ती युद्ध नितान्त राज्यको भूगोलको विस्तार एवं तिनकै रक्षार्थ लडिएका थिए । तर, बीसौँ शताब्दीको उत्तराद्र्धबाट एक्काइसौँ शताब्दीको आजको मितिसम्म आइपुग्दा भूगोलका निम्ति लडिने गरिएको युद्धको मनोविज्ञानका अतिरिक्त नयाँ आयाम पनि थपिएका छन् । तीमध्ये एकथरी अझ बढी कठोर हुँदै धर्म, जातजाति र वर्णको भावनालाई उत्तेजित पारी आफ्नो कुत्सित स्वार्थ पूरा गर्न युद्ध एवं आतंकको बोझ आफ्नै जनतामाथि थोपर्न किञ्चित पनि संकोच नगरिरहेको अवस्था छ । अर्कोतर्फ युद्ध र आतंकलाई टार्न वसुधैव कुटुंवकम् र मानवतावादी अभियानलाई जबर्जस्तरूपमा अघि बढाइरहेका पनि छन् । यिनै उहापोहबीच आतंककारी एवं आततायीहरूलाई एक्ल्याउने सार्थक एवं सफल अभियान फलिभूत भएको यदाकदा नदेखिएका पनि होइनन् । केही अपवादलाई नजरअन्दाज गर्ने हो भने समकालीन विश्व अपेक्षाकृत शान्त, समृद्ध र प्रगतिपथमा अघि बढिरहेकै छ।
राष्ट्रवाद र राष्ट्रघातबारे नेपालमा कुनै स्मरणयोग्य बहस र छलफल भएको मैले देखेको–सुनेको छैन। नेपालमा मूलतः दुईथरि राजनीतिक धारा जबर्जस्तरूपले क्रियाशील छन् । ती हुन्– नेपाली कांग्रेस र बामपन्थीहरू । हिजोआज मधेसवादीहरू पनि जुर्मुराएका छन् । नेपाली कांग्रेसमा ‘राष्ट्रवाद’ जस्तो गहनतम विषयमा छलफल गर्न सक्ने ल्याकतका नेताहरू अब बाँकी छैनन् । बीपी कोइराला, सुवर्ण शमशेर एवं गणेशमान सिंहले परम्परादेखि मानिँदै आएको राष्ट्रवादलाई समयको मागबमोजिम परिमार्जन गर्ने अभ्यास गरेका हुन् । बीपीले कम्युनिस्टहरूलाई कहिल्यै पनि राष्ट्रवादी शक्तिको रूपमा स्वीकार गरेनन् । उनको मत थियो– जबसम्म जनता स्वतन्त्र र सार्वभौम सम्पन्न हँुदैन तबसम्म राष्ट्रवाद परिपक्व हुँदैन। प्रजातन्त्रको अभावमा राष्ट्रवाद फस्टाउन सक्दैन । बीपीले बरु राजसंस्थालाई राष्ट्रवादको परम्परागत शक्ति माने, तर वामपन्थीलाई कहिल्यै स्वीकारेनन् । उनले भनेका छन्– राष्ट्रवादको परम्परागत धारको प्रतिनिधित्व राजसंस्थाले गर्छ भने आधुनिक राष्ट्रवाद जसमा स्वतन्त्रता र प्रजातन्त्र अनिवार्य हुन्छ त्यसको प्रतिनिधित्व नेपाली कांग्रेसले गर्छ । त्यसकारण परम्परागत विरासत बोकेको राजसंस्था र प्रजातन्त्रको संवाहक नेपाली कांग्रेसको संयोजनले मात्र पूर्ण राष्ट्रवादको प्रवद्र्धन हुनेछ ।
बीपीको परिभाषालाई परिमार्जन गर्दै नयाँ पुस्तालाई आश्चर्य लाग्ने गरी नेपालका तत्कालीन सामन्तमध्येका प्रमुख व्यक्ति जनरल सुवर्ण समशेरले भने– ‘राष्ट्रवादबारे बीपीले गर्नुभएको परिभाषा पूर्ण छैन । त्यसलाई पूर्णता दिन ‘समाजवाद’ लाई जोड्नैपर्छ । भोको पेटले राष्ट्रवादलाई धेरै दिन थेग्न सक्तैन। समाजका सदस्यले भोक, रोग र अभावबाट उन्मुक्ति पाएपछि मात्र राष्ट्रप्रति समर्पित हुन सक्छ । त्यसकारण समाजवाद राष्ट्रवादको अभिन्न अंग हो ।’ स्मरण रहोस्– नेपाली कांग्रेसले ल्याएको भूमिसुधार र राजारजौटा उन्मूलनको प्रस्ताव सुवर्ण शमशेरकै उपज थियो ।
प्रजातन्त्र आफैमा एउटा पूर्ण राष्ट्रवादी राजनीतिक व्यवस्था हो । प्रजातन्त्रप्रति समर्पित राजनेताले आफ्ना जनताको हितका लागि ‘कोक्रोदेखि कात्रोसम्म’को व्यवस्थापन गर्ने जिम्मा लिनुपर्छ । यही गुह्यलाई सम्झाउँदै गणेशमानले भने– ‘राष्ट्रले अथवा त्यस राष्ट्रको राजनीतिक व्यवस्थाले जबसम्म प्रत्येक जातजाति, धर्म, लिंग, सम्प्रदायलगायत भाषाभाषी एवं संस्कृतिको संरक्षण गर्न सक्दैन तबसम्म राष्ट्रवाद मजबुत हुँदैन ।’ गणेशमानको यो महान् विचारलाई अरुले त छोडौँ स्वयं उनकै पार्टीले समेत आत्मसात गर्न सकेन । फलतः मुलुक आज यस्तो दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रन बाध्य भयो ।
प्रजातन्त्रवादी हाँै भन्नेले बुझ्न नसकेको राष्ट्रवादको यो पहेली अरुले नबुझेकोमा आश्चर्य मान्नुपर्दैन । कम्युनिस्टहरूले राष्ट्रवादको गगनचुम्बी नारा जति उचालेका छन्, सम्भवतः अरु कसैले गर्न सकेको छैन । उनीहरूको राष्ट्रवाद नितान्त देशको भूगोलसँग तादात्म्यता राख्दछ । यसो किन गरेको होला भन्ने बडो कौतुहलता थियो, ममा ! आखिर कुनै प्रजातन्त्रवादीभन्दा कम अध्ययनशील र कम योग्य छैनन् कम्युनिस्टहरू पनि । तैपनि किन राष्ट्रवादलाई भूगोलको सानो घेराभित्र बन्दी बनाइराख्न रमाउँछन् यिनीहरू ? मेरो जिज्ञासालाई शान्त पार्ने गरी कम्युनिस्टमध्येका विद्वत् मानिने नेता डा. बाबुराम भट्टराई जो पछि प्रधानमन्त्री समेत भए, उनले एउटा पत्रिकामा भनेका छन्– ‘गरिबी, अशिक्षा, पछौटेपन र विपन्नतामा कम्युनिज्म मौलाउँछ ।’ यो सुनिसकेपछि कम्युनिस्टहरूको राष्ट्रवादबारे के बहस गर्नु ?
शास्त्र बचनहरूमा जन्मिएको ठाउँ वा देशलाई स्वर्गसँग दाँजिएको छ । तर, आधुनिक युगका युवा यो दर्शन मान्न तयार छैनन् । यस सन्र्दभमा उनीहरू भन्छन्– ‘भावना र वास्तविकता भिन्न कुरा हुन् । वास्तवमा जसले शिक्षादिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी दिन्छ उसप्रति नै जवाफदेही र प्रतिवद्ध हुने हो । यसो गर्दा क्रमशः उसैप्रति प्रेम र स्नेह बढ्दै जान्छ र अन्ततः उसैका निम्ति मरिमेट्ने होइन्छ । त्यसकारण राष्ट्रले आफ्नो सन्ततिको प्रेम खोज्ने हो भने उसले आफ्नो सन्तानको रक्षा गर्न पनि सक्नुपर्छ।’ यही प्रवृत्तिकै कारण समकालीन विश्वमा भौतिक सुरक्षणकै निम्ति र अवसरको खोजीमा विकसित देशतर्फ पलायन हुने अनुपात दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो प्रवृत्ति पहिले बौद्धिक पलायनको रूपमा मात्र सीमित थियो भने, हिजोआज श्रमिकको स्तर र विदेशी सेनामै भर्ती भएर विदेशीकै निम्ति रगत बगाउन लाखौँलाख नेपाली विदेशमा सेवारत छन् । यस्तो समाजशास्त्रीय बदलावले एकातर्फ राष्ट्रभावको भावना धमिलिँदै गएको छ भने अर्कोतर्फ ती पढालेखा र असल व्यक्तिको पलायनका कारण स्वदेशमा खराब व्यक्ति र संस्थाको हालिमुहाली डरलाग्दो हिसाबले बढिरहेको अवस्था छ । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने सय–पचास वर्षको अन्तरालमा आजको विश्वमा रहेका करिब दुईसय देशको सट्टा आर्थिक दृष्टिले सबल र केही निर्बल देशमा मात्र शेष रहने हुन् कि भन्ने आकलन अब राजनीतिक र समाजशास्त्रका वैज्ञानिकले गर्न थालिसकेका छन् । केन्याका नागरिकका सन्तान ओबामा अमेरिकाका राष्ट्रपति बन्ने । भारतीयमूलका व्यक्ति बेलायतमा मेयर र मन्त्री बन्ने अनि भारतकै सीतादेवी यादव नेपालको मन्त्री बनेको र देशप्रति समर्पित भएको दृष्टान्त देख्दा माथि भनिएझैँ समकालीन युवाको विश्लेषणलाई गलत मान्न सकिँदैन । यस्ता उदाहरणले राष्ट्रवादको नवीन परिभाषा र आफ्नै देशभित्र पर्याप्त अवसर सिर्जना गर्न सकिएन भने कम्युनिस्टहरूले भनेझैँ सिंगो विश्व वर्गरहित एउटै देशमा परिणत नभए पनि केही सयवर्षभित्र औँलामा गन्न सकिने केही सम्पन्न र विपन्न देशमा पूरै विश्व विभक्त हुने छैन भन्न सकिन्न ।
नेपालमा फेरि यस्तो नहोस् भन्नका लागि हामीले अब राष्ट्रवादको नवीन परिभाषा पहिल्याउनैपर्छ । एक्काइसौँ शताब्दीका आजका जनता अब राष्ट्रवादको सही परिभाषा नबुझेर बस्न सक्दैन र बस्नु हुन्न पनि। हामीले राष्ट्रवादको सही अर्थ बुझ्न जति ढिलो गर्छौं त्यत्तिकै अधिक दुभाग्र्य हामीले व्यहोर्नुपर्ने हुन सक्छ । ती स्वार्थी शासकहरूको पञ्जाबाट देश र जनतालाई मुक्त पार्न राष्ट्रवादको नवीन परिभाषाका बारेमा एउटा निष्कर्षमा पुग्नैपर्छ । यस अर्थमा दाहालले राष्ट्रवादबारे नयाँ बहस प्रारम्भ गर्न गरेको आह्वानलाई सकारात्मक मानिएको हो।
राष्ट्रको अखण्डता एवं सार्वभौमसत्ताको जगेर्ना गर्दै, जनताको प्रजातान्त्रिक अधिकारको रक्षा तथा समग्र समाजको समृद्धि एवं समुच्चा संस्कृतिको संरक्षण, सीमान्तकृत जनताको उन्नति र प्रगतिका निम्ति प्रतिवद्ध, विशेषगरी छिमेकी राष्ट्रहरूलगायत सबैसँगको सम्बन्धलाई सौहार्द्रपूर्ण एवं मजबुत बनाउँदै, गर्वोन्नत राष्ट्रको शीर सदा उच्च राख्न मरिमेट्न मन, वचन र कर्मले तयार हुनु नै मैले बुझेको राष्ट्रवाद हो । एउटा राष्ट्रवादीले आवश्यकताबमोजिम संविधानको परिमार्जनका निम्ति बहस चलाउन त सक्छ, तर संविधानको अक्षर र भावनासँग कहिल्यै खेलबाड गर्न हुन्न।
प्रकाशित: १२ आश्विन २०७३ ०३:५६ बुधबार