धनुषाको बटेश्वरमा घरायसी काम धन्दा आफैँ गर्ने, तीर्थ व्रत, कीर्तन भजनमा सक्रिय तल्लाघरे काकीलाई मनग्य कमाउन थालेपछि छोराले काठमाडौँ ल्यायो। गाउँ छाड्दा निकै रुवाबासी गरिन् काकीले। मातालाई गाउँमा दुःख भयो भनी काठमाडौँमा सुसारेसहित कोठाबाट निस्कनै नपर्ने व्यवस्था मिलाए पुत्रले। रुघाखोकी लाग्न नपाउँदै ओखती इलाजको प्रबन्ध पनि गरे उनले। तमाम भौतिक सुविधासहित हेरचाहको व्यवस्था गर्दा पनि आमा मानसिक तथा शारीरिक दुवै हिसाबले शिथिल बन्दै गइन्। सहर बसाइको केही समयपछि नै डाक्टरी रेखदेख र अस्पताल धाउँदा धाउँदै पनि ३ वर्षभित्रै ओछ्यानमा परिन् काकी अनि त्यसको केही केही समयपछि नै बितिन्।
अब बाग्लुङको गल्कोटका जिम्दार बाको कथा हेरौँ। श्रीमतीको मृत्यु भएपछि विक्षिप्त भए उनी। छोराछोरी विदेश पलाएन भएकाले आर्थिकरूपले सम्पन्न उनमा सहर पस्ने सोच आयो। सानो ठाउँमा मन लागेको खाना खान नपाउने तथा स्वास्थ्य उपचारमा सम्झौता गर्नुपर्ने भएकाले काठमाडौँमा बासको प्रबन्ध गरे। अन्त्यमा राजधानी बसाइ सरे जिम्दार बाजे। पढेलेखेका अनि धनसंपत्ति प्रशस्त भएका जिम्दारले सन्तुलित आहार अनि आवधिक स्वास्थ्य परीक्षणलाई कार्यसूचीमा राखे। गल्कोटमा साथीसँग गफिने बूढाबाको दैनिकी फेरियो। टेलिभिजनको सहारामा गाउँको तलतल मेट्न थाले राजधानीमा। गाउँको भन्दा असल खानेकुरा खाए पनि थलिँदै गए। चिकित्सकले कुनै स्वास्थ्य समस्या नदेखे पनि जिम्दार बाले आफूलाई स्वस्थ महसुस गरेनन्। मानसिकरूपले सधैँ शिथिल देखिन्थे उनी। पुरानो मित्र बितेको खबर आएपछि परिवारलाई सान्त्वना दिन उनी गल्कोट पुगे। गाउँमा पुगी साथीभाइसँग गफिँदा अनि इष्टमित्रसँगको भलाकुसारी सुरु भयो। त्यसको केही दिनपछि नै जिम्दार बाले आफूलाई शारीरिकरूपले फुर्तिलो अनि चंगा महसुस गरे। सहरमा बस्दा स्वस्थ होइन, बरु झन बिरामी परेको हो कि भन्ने शंका लाग्यो उनलाई। एक दुई पल्ट काठमाडौँ आवतजावत गरेपछि उनको सोच यथार्थमा बदलियो। अनि काठमाडौँ छाडेर गल्कोट सरे। दीर्घजीवन व्यतीत गरी भर्खरै बिते जिम्दार बा।
नमुनाका रूपमा प्रस्तुत गरिएको बटेश्वरकी काकीको कथा र गल्कोटका जिम्दार बाको व्यथा जस्ता देशमा धेरै उदाहरण छन्। गाउँमै बसेको भए पनि तल्लाघरे काकीको मरण त्यस्तै नै हुन्थ्यो अनि गाउँ नफर्किएकै भए पनि जिम्दार बाको अवस्था फेरिने थिएन भन्ने भाग्यवादीहरूले सोच्नु अन्यथा होइन। के भाग्यमा विश्वास गर्नेले सोच्ने अनि आयुर्विज्ञानको अनुसन्धानले देखेको यथार्थ एकै हो त ? भन्ने सुसूचन यो लेखको उद्देश्य हो।
बच्चा, वयस्क अनि उमेर ढल्किएका आमा बुबाको रोगको एकै हिसाबमा इलाज गर्न सकिन्न। शरीरको बायोलोजी र दिमागको सोच्ने तरिका फरक फरक हुने भएकाले प्रत्येक उमेर समूहको उपचार गर्ने चिकित्सकको दक्षता र पढाइ पृथक हुनु अन्यथा होइन। हजुरबुबा पुस्ताको इलाज गर्ने विज्ञानलाई जेरियाट्रिक मेडिसिन भनिन्छ। वृद्ध उमेरको व्यक्तिलाई पेट दुख्दा आफ्नो साथीले रातो ट्याबले खाएर सन्चो भएको भन्यो भने त्यही रासायनिक तत्व भएको सेतो गोटी खाँदा उसलाई ठीक हुँदैन बरु असंबन्धित केमिकल भएको तर रातै रंगको गोली सेवनले तन्दुरुस्ती दिन्छ। ओखती किन त्यस्तो हुन्छ त ? भन्ने प्रश्को उत्तर आधुनिक विज्ञानसँग छैन। उक्त अनौठो शारीरिक प्रक्रियालाई प्लेसिबो इफेक्ट भन्छन् अन्वेषणकर्ताहरू। सरल भाषामा भन्नुपर्दा रोगीको दिमागले ठीक हुन्छ भन्ने सोचेकाले व्यक्तिलाई सन्चो भयो भन्ने हो प्लेसिबो इफेक्ट भनेको।
सोच्ने र सम्झने दायित्व मस्तिष्कको हो। दिमागदेखि बाहेक शरीरका अन्य कुनै पनि अन्य अंगले सन्देशलाई प्रशोधन गर्न सक्दैन। मृत्यु जस्ता ठूला दुर्घटनाका खबर एक्कासि सुन्दा हर्ट अट्याक भएका खबर नौलो होइनन्। कोरोना महामारीका समय भाइरसबाट त्रसित भइ बसेका व्यक्तिले आफूलाई कोभिड–१९ लागेको थाहा पाउनेबित्तिकै प्राण त्यागेका खबर धेरै पढियो। आखिर किन त्यसो हुन्छ त ?
दिमागले अति नै महत्वका दर्जनौँ रासायनिक पदार्थ पैदा गर्छन्। दिमागमा उत्पादन हुने दर्जनौँ रासायनिक तत्वले कसरी सकारात्मक अथवा नकारात्मक भूमिका खेल्छ भन्ने कुराको अध्ययन भएको धेरै भए तापनि त्यसको पूर्ण मार्गचित्र बन्न सकेको छैन। तथापि दिमागमा उत्पादन हुने केमिकलले धेरै किसिमका शारीरिक प्रक्रियालाई नियन्त्रण गर्छ भन्ने कुरा पक्का छ। उदाहरणका लागि अकास्मात दुःखद खबर सुन्दा मानसिक शान्तिका लागि शरीरले ठूलो मात्रामा एडरिनल र नोरएडरिनल हर्मोनहरू पैदा गर्छ। एडरिनल हर्मोन मुटुका कोस (सेल) मा टाँसिदा क्याल्सियम हार्टका सेलमा पस्छन्। कोसमा अत्यधिक क्याल्सियम जम्मा भएपछि हार्टलाई रगत पम्प गर्न मुस्किल पर्छ। त्यसका अतिरिक्त एडरिनलको मात्रा उकासिँदा हर्टका कोसलाई रगत पुर्याउने नली पनि एक्कासि साँघुरिन्छ। यसरी रक्त नली संकुचित हुँदा मुटुले पर्याप्त रगत पाउँदैन। व्यक्ति हर्ट अट्याकको सिकार हुन्छ। मानिस मर्न पनि सक्छ।
जसरी दुःखद खबर सुन्ने बित्तिकै एडरिनल हर्मोनको उत्पादन भइ व्यक्ति हर्ट फेलियरका कारण मर्न सक्छ, त्यसैगरी सकारात्मक खबर वा सोचका कारण पैदा हुने रासायनिक पदार्थहरूले हामीलाई मानसिक तथा शारीरिक स्वस्थता कायम गर्छ। प्लेसिबो इफेक्ट सकारात्मक सोचले कसरी निरोगी हुन मद्दत गर्छ भन्ने एउटा उदाहरण हो। यद्यपि मस्तिष्कमा पैदा हुने दर्जनौँ केमिकलले पार्न सक्ने दीर्घकालीन असरको पूर्ण भेद पाउन विज्ञानले अझै धेरै लगानी गर्न आवश्यक छ। पर्याप्त उत्खनन हुन नसकी आयुर्विज्ञानले पिन प्वाइन्ट गर्न नसकेको उपलब्धिमा विश्वास नगर्नु ठीक होइन नै।
वृद्धावस्थामा कसरी स्याहार गर्ने भन्ने संबन्धमा अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका जेरियट्रिक मेडिसिन विभागका प्रमुख डा. आर्देसियर हसमीको एक अनुभव स्मरणयोग्य छ। उनको क्लिनिकको इमर्जेन्सी विभागमा एक ९० वर्ष काटेकी महिला बिरामी परेर आउँथिन। तर अस्पताल आउने बित्तिकै कुनै पनि औषधिबिना नै सन्चो भएर घर जान्थिन् उनी। आमै घरमा बिरामी हुने अनि हस्पिटल पुगी केही दिन बस्ने बित्तिकै औषधिमूलोबिना नै सन्चो हुने शृंखलाको चक्र धेरैपटक चल्यो। अस्पताल भर्ना हुने बित्तिकै आखिर बूढीआमै ओखती बिनै किन ठीक भइन त भनी उत्खनन गर्दा अनौठो दृश्य देखियो।
आमै घरमा एक्लै बस्थिन। अस्पतालबाट घरको एकान्तबासमा पुग्ने बित्तिकै उनी बिरामी हुन्थिन। अस्वस्थताले थलिएपछि चिकित्सालय पुग्थिन उनी। हस्पिटलमा बिरामी भएर बस्दा उनलाई भेट्न नर्स तथा डाक्टर आइरहन्थे। एक्लै बस्नुपर्दैन थियो हजुरआमालाई। मानिसको बीचमा बस्दा हजुरआमाको मस्तिष्कमा एक किसिमको केमिकल उत्पादन हुन्थ्यो। उक्त रासायनिक पदार्थले उनको रोग हरण गथ्यो, सञ्चो पाथ्र्यो। जब सञ्चो भएर आमै घर जान्थिन उनको दैनिकी एकांकीपनमा बित्थ्यो। एक्लिँदो दैनिकीले बूढीआमाको मस्तिष्कमा उक्त सकारात्मक शक्ति भएको केमिकल उत्पादन बन्द हुन्थ्यो। परिणामस्वरूप बूढी आमा बिरामी पर्थिन।
क्लिभल्यान्ड क्लिनिकको अन्वेषणले बिरामी भएर अस्पताल आउने बूढाबूढीलाई ओखतीको आवश्यकता छ/छैन पहिल्याउ है भन्छ। अनि हजुर पुस्तालाई औषधिको प्रेस्क्रिप्सनभन्दासोसियल पे्रस्क्रिप्सनको बढी जरुरी देख्छ। बूढाबूढीलाई एक्लै घरमा बस्नुपर्ने अवस्था आए स्वाभाविक स्वास्थ्य समस्या आउने भएकाले उनीहरूलाई एकान्तबासको अवस्था आउनु हुँदैन भन्छ जेरियट्रिक मेडिसिनले। गाउँमा साथीसंगी रम्ने अनि सामाजिक कार्यमा बाँधिएका बटेश्वरकी तल्लाघरे काकी र गल्कोटका जिम्दारबाको काठमाडौँको बसाइ रोगको कारक किन बन्यो त भन्ने प्रश्नको उत्तर दियो डा. हसमीको अनुसन्धानले।
स्वस्थ जीवन व्यतीत गर्न सन्तुलित आहार, शारीरिक व्यायाम र आवश्यकताअनुरूप ओखतीमूलोको व्यवस्था आवश्यक हुन्छ। तर बच्चादेखि अधबैंसे उमेर समूहका लागि स्वस्थ जिन्दगी बिताउने अत्यावश्यक तीन सूत्र ब्यालेन्स डाएट, एक्सरसाइज र मेडिसिन वृद्धावस्थामा पछिल्लो बेन्चमा बस्छ भनेसोसियल पे्रस्क्रिप्सन सर्वाधिक महत्वको मन्त्र बन्न पुग्छ। तसर्थ, हजुर पुस्ताका लागि साथीभाइ तथा परिवार नाताकुटुम्बसँगको सामाजिक क्रियाकलाप सर्वाधिक महत्वको विषय हो।
सबैको घरमा पाका पुस्ता हुन्छन् र आजको युवा भोलिको वृद्ध पिँढी हो भन्ने यथार्थलाई स्मरण गर्दै हजरबा आमालाई कसरी मानसिक तथा शारीरिकरूपले स्वस्थ जीवन व्यतित गर्न मद्दत गर्ने भन्ने संबन्धमा विज्ञको राय सान्दर्भिक देखियो। पुरानो पुस्तालाई तपार्इँले अब गर्न सक्नुहुन्न भनेर पन्छाउनुको बदला शारीरिक हानि नपुग्ने गरी ज्ञान र सिप उपभोगको अवसर दिने। हजुरआमाले खाना पकाउन खोज्नुभयो भने तपाईँले पकाउन सक्नुहुन्न अथवा आगोले पोल्छ भन्नुको बदला आफ्नो निगरानीमा उहाँले इच्छाएको काम गर्न दिने। त्यस्तै वृद्धहरूलाई सहयोग चाहिएमा मद्दत गर्ने तर उहाँहरूलाई जबर्जस्ती हेल्प गर्ने प्रयत्न नगर्ने। इफ यु डन्ट युज यु विल लुज इट भन्ने सिद्धान्त पाका पुस्तामा लागु हुने भएकाले उहाँहरूलाई इच्छाउन्जेल काम गर्ने अवसर प्रदान गर्ने। वृद्धाबस्था स्वाभाविकैले गन्गने उमेर भएकाले त्यसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिने। हजुरबा-आमा जे-जस्तो भए पनि मानसम्मानको प्रतीक हो भन्ने यथार्थ बुझ्न जरुरी छ। महावैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफ्नो पुत्रलाई शिक्षा दिएको भाकामा भन्नुपर्दा जीवन साइकल जस्तो भएकाले जिन्दगीलाई सन्तुलनमा राख्न निरन्तर क्रियाशीलताको जरुरी पर्छ भन्ने यथार्थ सबै उमेर समूहले बुझ्न आवश्यक छ। आमा-बालाई सुख दिने हेतुले जन्मे/हुर्केको ठाउँबाट स्थानान्तरण गर्नुअघि पाका पुस्ताको हित केमा छ भन्ने यथार्थको विश्लेषण जरुरी छ।
प्रकाशित: २४ माघ २०७९ ००:२१ मंगलबार