विचार

तीजको समाजशास्त्र

मानव समाजको इतिहासदेखि नै मानव जीवन कुनै न कुनै सांस्कृतिक धरातलमा रहेको हुन्छ। चाडवाड, रीतिरिवाज, खानपान, रहनसहन, विवाह, व्रतबन्ध, लवाई, धर्म इत्यादि वा मानव जीवनसँग सम्बन्धित कुनै पनि पक्षका संगठित नाम संस्कृति हो। चाडपर्व सांस्कृतिक पाटो हो। सभ्यताअनुसार संस्कृति फरक फरक हुनु स्वाभाविक हुन्छ। समरियन, इजिप्ट, ग्रिस, रोम आदि सभ्यतादेखि नै चाडपर्व मनाउँदै आएको परम्परा भएजस्तै संसारकै पुरानो धर्म मानिने हिन्दु धर्मले पनि विभिन्न सांस्कृतिक गोरेटोमा विविध चाडपर्व अंगाल्दै आएको कुरा पौराणिक कथाहरु साक्षी छन्। जो सामाजिक सांस्कृतिक मान्यताका रूपमा स्थापित हुँदै आएका छन्। तिनै चाडपर्वमध्येको एक महत्वपूर्ण हिन्दु नारी पर्व हो– हरितालिका तीज।

सकारात्मक पक्ष

तीजमा लिइने व्रत उपवासको सकारात्मक पक्षलाई दुई ढंगले लिन सकिन्छ– वैज्ञानिक र मनोवैज्ञानिक। वैज्ञानिक पक्षमा मान्छे शारीरिक र मानसिकरूपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ। वेलाबेलामा उपवास बस्नुले शरीरको स्वास्थ्यमा राम्रो सुधार ल्याउँछ। मेडिटेसनपूर्वक उपवास बस्दा मानसिक स्वच्छता प्रदान गर्छ। मनोवैज्ञानिकरूपमा पर्ने प्रभावमा ध्यानपूर्वको परिश्रम गरेर धैर्यधारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त हुँदोरहेछ भन्ने हो। यसको मानव जातिले गर्ने जुनसकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ। त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनका रूपमा लिन सकिन्छ। देव शक्तिको भक्ति गर्ने पक्षले आफूलाई अनुशासनमा राख्न अर्को सकारात्मक भूमिका निर्वाह गर्छ।

यसबाहेक तीज वर्षमा धूमधामका साथ एक पटक मनाइन्छ। यस अवसरमा हाम्रो समाजमा गरिब, धनी सबैले मान्ने चलनमुताविक टाढा टाढा विवाह गरेर गएका चेलिबेटी जसरी पनि माइत ल्याउने र जाने गरिन्छ। यसले घर–माइतको सम्बन्धलाई नवीकरण गर्छ र सम्बन्ध झन् प्रगााढ बनाउँछ। मनका धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्छ। सरसफाइ, नुहाइधुवाई गरी राम्रा र चोखा कपडा लगाउँदा त्यसले राम्रै प्रभाव पार्छ।

तीजलाई चुनौती

जब जब समाज आधुनिकीकरणतर्फ गइरहेको हुन्छ, जतिजति विज्ञान र प्रविधिको विकासले नयाँ नयाँ स्रोत, साधन र उपकरणहरुको आविष्कार हुन्छ। त्यति नै बढी विकृति र विसंगति समानान्तररूपमा हुर्कदै र बढ्दै सँगसँगै गइरहेको हुन्छ। नारीहरुको महान चाड तीजलाई पनि विकृति र विसंगतिका शक्तिशाली तत्वहरुले चुनौती दिइरहेको पाइन्छ। हिजोअस्तिका पुस्ताले मनाउने तीज र आजको पुस्ताले मनाउने तीजका तौरतरिका, शैलीहरुमा आकाश–जमिन फरक छन्। तीजलगायतका चाडपर्वलाई पैसासँग  गाँसिएको छ। सहरीकरण र औद्योगिकीकरणको विकासको प्रभाव सांस्कृतिक विनासका रूपमा पर्दै गइरहेको छ। यहाँनिर जर्मन दार्शनिक र समाजशास्त्री थेअडर अडर्नो र म्याक्स हर्खिमरलको …संस्कृति अहिले औद्योगिकीकरणमा विकास भएको छ' भन्ने भनाइ सान्दर्भिक लाग्छ। संस्कृतिका सादा तत्वहरुमा औद्योगिकीकरण लागु भइसकेको छ। यसको मतलब मुनाफाको प्रयोजनले व्यापारिक चरित्र हावी भएको छ। बजार भाउ, मार्केटिङ, बिक्री वितरण, विज्ञापन औद्योगिकीकरणका रूपमा छन्। त्यही भएको छ आजको तीज संस्कार।

आफ्नो वास्तविक संस्कृतिअनुरूप मनका व्यथा, गाथा, वेदना, समाजका वास्तविक चित्रण, घर-माइतका परिवेशलाई नेपाली लोक संस्कारका बाजागाजाका साथ गाउने गाउँबस्तीका भाका र मौलिकतालाई चटक्कै छाडेर कुसंस्कृति भण्डारण गरी भिडिओ र अडियो चक्काहरुका बासी गीत/संगीतहरुद्वारा नाचगान गरिने गरिन्छ। ठीक समयमा ठीक ढंगले मनाए पो त त्यो चाडवाडको मूल्यमान्यता कायम हुन्छ, महिनौं पहिलेदेखि यान्त्रिक ढंगले मनाउने गरेपछि त्यसको के अर्थ? आजका महिला बुझेर भन्दा पनि लहलहै र यान्त्रिक ढंगले व्रत बस्ने र पर्व मनाउने गर्छन्। भौतिक लाभ कामनाको व्रत उनीहरुको ध्येय भएको छ।

प्रकाशित: २० भाद्र २०७३ ०३:३४ सोमबार

तीजको समाजशास्त्र