विचार

द्रव्यपिशाचको जुलुस

‘ग्लोबल पिस इन्डेक्स’ अनुसार सिंगापुर एसियाकै शान्त, समृद्ध र खुसीमय मानिन्छ। जापान, मलेसिया, मंगोलिया, दक्षिण कोरिया र चीनको अवस्था राम्रो रहेको क्यानाडाकी पत्रकार जुली जर्मान्स्कीले लामो अध्ययनपछि लेखेकी छिन्। सीमित व्यक्ति मात्र खुसी, धनी र शिक्षित भएर पुग्दैन, धेरैजसो जनताको मुहार उज्यालो हुन्छ भने मात्र त्यो राष्ट्र उन्नत मानिन्छ भनेकी छिन् उनले।

बितेको वर्ष (सन् २०२२) मा पनि नेपालको मानव विकास सूचकांक १४३ नम्बरमा देखियो। झण्डै दुई सय राष्ट्रमा हामी ‘पछिल्लो’ भित्रै परेका छौँ। जगजाहेर छ, राजनीतिक अस्थिरता, विकासप्रतिको उपेक्षा र लापर्बाही, जनहितमा देखिएको उदास प्रवृत्ति, अनुत्तरदायी चरित्र आदि मात्र होइन, चरम भ्रष्टाचार पनि हामी पछौटे हुनुको प्रमुख कारण हो भन्ने विकासविद्हरूको तर्क छ।

बुर्किनाफासो, मोजाम्बिक, माली, दक्षिण सुडान, बुरुन्डी, नाइजर, सेन्ट्रल अफ्रिकन रिपब्लिक आदिकै नियति भोग्ने हो भने नेपालमा जे भइरहेको छ, त्यो पर्याप्त छ। होइन, हामीले राष्ट्र र जनताको ‘तरक्की’ खोजिरहेका छौँ भने जंगी, निजामती, प्रहरीदेखि लिएर कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत राज्य संयन्त्रमा ठूलो सुधारको आवश्यकता छ।

मन्त्री हुनका लागि अयोग्य सांसद नै चाहिने कि सम्बन्धित विषयको विज्ञ? राजदूत हुन दलको भागबन्डा नै मापदण्ड हुने कि कूटनीतिका ज्ञाता? कुनै संस्थान वा कम्पनीको नेतृत्व लिन अनुभवी हुनुपर्ने कि दलको कार्यकर्ता भए पुग्ने? चुनाव जित्नेको क्षेत्रमा पर्याप्त बजेट पठाउने र मतदानसँग विकास साट्ने कि सबैलाई आफ्नो ठानेर काम गर्ने? जात, धर्म र क्षेत्रका नाममा कचिंगल गरेर बस्ने कि राष्ट्र सर्वोपरि हुन्छ भन्ने उदात्त चिन्तनको भावधारामा ‘हाम्रो नेपाल, हामी नेपाली’ भनेर सोच्ने? यस्ता प्रश्नको उत्तर दिन दलहरू तयार नहोलान् तर उत्तर खोज्दैछन्, सजीव जनताले।

संयुक्त अरब इमिरेट्स (युएइ) मा खुसी मन्त्रालय स्थापना भयो, सन् २०१६ मा। जनताको खुसी बढाउन, खुसीका स्रोत र आधारहरू खोज्न, सन्तान–दरसन्तानको मुहार हँसाउन के/कस्ता कार्यक्रम ल्याउने भनेर विश्वका ज्ञातासँग पनि छलफल गरियो। उनीहरूको राय थियो, सकारात्मक सोच र खुसी अन्योन्याश्रित भएकाले सबै जनतालाई त्यसबारे उत्प्रेरणा दिनुपर्छ। खुसीविद्हरू बोले, सरकारी कार्यालय, सार्वजनिक ठाउँ, होटल, पर्यटन, सुपरमार्केट, अस्पताल लगायत सबैतिर ‘म अरूलाई खुुसी बाँड्छु र म पनि प्रसन्न रहन्छु’ भन्ने शिक्षा दिनुपर्छ।

आर्थिक दृष्टिले बलियो हुँदैमा मानिस सुखी र खुसी हुँदैन भन्ने त नेपालका कतिपय अर्बपतिको जीवनशैली हेरे पुग्छ। उनीहरूसँग पैसाबाहेक सबै कुराको अभाव छ। मुहारमा मुस्कान छैन। शरीरमा ऊर्जा र उत्साह छैन। जनसम्पर्क छैन। परिवारसँग रमाउने रहर छैन। साथीसँग टाढिदै जाँदा ‘समाज’ छैन। पढ्ने बानी नहुँदा समसामयिक विषयको जानकारी र ज्ञान छैन। प्रफुल्ल नहुँदा ती दुःखी आत्माहरू धनका राजा (धनजुजु) मात्रै भए, मनजुजु हुन सकेनन्। एकदिन जब ती असामयिक मृत्युको शिकार बन्छन्, त्यो बेला छिमेकीले भन्छ-‘द्रव्यपिशाच मरेछ।’

हरेक मानिस खुसी खोज्छ। कुनै पनि राष्ट्रमा त्यहाँका जनताको मुहार पढेर खुसीको स्रोत पत्ता लगाउन सकिन्छ। कतिपय मानिस अभावमा पनि रमाएको पाउँछौं हामी। छानाबाट पानी चुहिएको हुन्छ। साँझमा कोदो, मकै, फापर आदि खाएर सपरिवार गीत गाउँछन्, मादलको तालमा। त्यो पनि खुसी हुने मेलो हो। सबै प्रसन्न हुन्छन्। उज्यालो भएपछि आमाबाबु खेतबारीमा काम गर्न जान्छन्, केटाकेटी मकै भटमास बोकेर दुई तीन घन्टा हिँडेर स्कुल जान्छन्, कैयन् गाउँमा। यता सहरमा सयौँ करोडको सम्पत्ति हुनेहरू ठुस्स परेर बाँचेका पनि देखिन्छ। कतिपय भोजमा त द्रव्यपिशाचको जुलुस देखिन्छ। उनीहरू दुःखी, असन्तुष्ट, रुष्ट र आहारिसे देखिन्छन्।

‘निराशावादीले हरेक अवसरलाई विपत्ति ठान्छ। आशावादीहरू हरेक विपत्तिमा सम्भावना, आशा र अवसर देख्छन्’- रबर्ट मान्सेलको कथन घतलाग्दो छ। जापानी उखान छ-“सातपल्ट पछारिएको मानिस पनि आठौँ पल्टमा उठेर लक्ष्यमा पुग्छ।” यसको अर्थ हो, जीवन भनेको साइकल यात्रा जस्तै हो। खुट्टा चलाएन भने लडिन्छ।

विभिन्न जाति, भाषा, समुदाय, धर्म र संस्कृति अटाउने साझा घर हो, राष्ट्र। ‘राष्ट्र हाम्रो हो र हामी राष्ट्रका’ भन्ने उदार चेतना भएमा त्यस्तो राष्ट्र सुदृढ बन्छ। राष्ट्रको मूलनीति, सही, फराकिलो र स्पष्ट छ भने राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था, गृहनीति, परराष्ट्र नीति लगायत सबै स्पष्ट हुन्छन्। जब राष्ट्रका बारेमा विदेशीको हुकुम चल्छ, त्यो राष्ट्र स्वतन्त्र भए पनि प्रकारान्तरले उपनिवेशवाद र साम्राज्यवादको कठपुतली बन्छ। आजको नेपाल कागजमा स्वतन्त्र छ तर सत्ता, सुख, स्वार्थ र षडयन्त्रका कारण द्रव्यपिशाचहरूको बाहुल्य छ, राज्यसत्तामा। प्रतिपक्षमा बस्न नरुचाउने प्रवृत्तिले दरिद्र मानसिकता छर्लङ्ग हुन्छ। यो निर्लज्जताको प्रमाण हो।

सत्ताको समर्थन नगर्ने, सरकारसँग नगाँसिएको, पृथक् विचार, शैली र पृष्ठभूमि भएको, संसद्मा अलग्गै परिचय देखाउने, सरकारका गलत कामको कडा विरोध गर्ने लगायतका चरित्रका कारण प्रमुख प्रतिपक्षी दलको इज्जत रहने गर्छ। सरकार बनाउँदा समर्थन गर्ने र भोलिपल्टै हामी त प्रतिपक्षी हौँ भनेर झुटो र अनैतिक शैलीमा बोल्नेहरूले जनतालाई उल्लु ठानेका छन्। पानीबाट निकालिएको माछा छट्पटाए जस्तो सत्तामै टाँसिने चरित्रका कारण ‘चिची पनि मेरो, पापा पनि मेरो’ भन्दा जगत् हाँस्छ।

नेपालको संविधानले प्रमुख प्रतिपक्षी दलको परिभाषा स्पष्ट गरेको छ। कानुन र राजनीतिशास्त्रका विद्यार्थीलाई समेत प्रहसन देखाइरहेको नेपाली कांग्रेसले पुलिंग र स्त्रीलिंग दुवै म हुँ भनिरहेको छ। सरकारलाई समर्थन गर्नेदेखि लिएर पदका लागि मरिहत्ते गर्ने सबैको चरित्र छर्लङ्ग देखिएको छ। २०४६ सालपछि चर्चित शब्दावली ‘मुसा-प्रवृत्ति’ यस वर्षमै देखिने सम्भावना टड्कारो छ। दिउँसोको संकेत बिहानीले गर्छ भनेझैँ केही सन्देश देखिएका छन्।

कम्युनिस्टले सन् १९१७ मा रसियामा सत्ता हातमा लिए। बहुमत (बोल्सेभिक) हरूले अल्पमत (मिन्सेभिक) लाई पेल्न थाले। भनिन्छ, त्यहाँ प्रतिपक्षको आवाज दबाउँदा ठूलो विद्रोह फैलिँदै गयो र ७२ वर्षपछि राष्ट्र १५ वटा टुक्रामा बाँडियो। यसको अर्थ हो, असत्यका हजार रंग-रूप होलान् तर सत्यको चित्र र चरित्र एउटै हुन्छ। जब संसद्मा प्रतिपक्षी दल नै आवश्यक छैन भन्ने ठानिन्छ र ‘भागबन्डा’ गर्नु पुरुषार्थ मानिन्छ, त्यो अवस्था सत्ता र त्यसका मतियारहरूका लागि प्रत्युत्पादक बन्छ।

भारतमा तल्लो सदन (लोकसभा) भित्र ५४३ जना चुनिएर आउँछन्। इसाइको बीउ जोगाउन राष्ट्रपतिले दुई जनालाई मनोनीत गर्ने संवैधानिक प्रावधान छ। ५४५ जनामध्ये कम्तीमा दश प्रतिशत सिट आफ्नो पक्षमा छ भन्ने प्रमाणित गर्न सक्ने दलले मात्र प्रमुख प्रतिपक्षको सम्मान पाउँछ। सत्तामा बस्ने देव र प्रतिपक्षमा बस्ने असुर होइनन्। फरक राजनीतिक सिद्धान्त, दर्शन, नीति र बाटो भएकालाई सरकार बनाउन मद्दत गर्ने र भैँसीमा जुका र किर्ना टाँसिएझैँ सत्तामै टाँसिनेहरूले आफ्नो कथित ‘पवित्र बाटो’ बिर्सेर प्रचण्डपथमा हिँडेका देखिन्छ। अर्केसँग घरजम गरेकी पत्नीको उत्ताउलो नृत्य र परस्त्रीको भइसकेको पतिको फोहोरी प्रहसन हेर्नुपरेझैँ हामी जनता आज यो कुरूप दृश्य हेरिरहेका छौँ। द्रव्यपिशाचको जुलुसको दर्शक भएका छौँ।

प्रकाशित: १३ माघ २०७९ ००:३२ शुक्रबार

नेपालको मानव विकास सूचकांक द्रव्यपिशाचको जुलुस