विचार

सही निर्णयको जादु र जालझेल

'हिजोको अवसर भोलिको ट्रेन्डले विस्थापित गरिदिन्छ। कुनै कम्पनीले कुनै गल्ती गरिरहनुपर्दैन। उसको प्रतिस्पर्धीले गरेको एउटै सही निर्णयले उसलाई गलत सावित गरिदिन्छ।' स्मार्टफोन र आइफोनसँगको बजारिया होडमा नोकिया मोबाइल टिक्न नसकेको सन्दर्भमा जियाद जिवाब्राले गरेको यो टिप्पणी व्यापारिक कम्पनीको उत्थान र पतनको हकमा मात्र नभई राजनीतिक दलको उत्कर्षता र गुमाउनेे सन्दर्भमा पनि लागु हुन्छ। बिपी कोइरालाले लिएको एउटै सही निर्णयले २०१५ सालको चुनावमा उनका जोरीपारीलाई ठेगान लगाउन सघाउ पुर्‍याएको थियो। राजनीतिमा  योग्यता, प्रतिभा, इमान र लगावको बलमा उठेकाप्रति कमजोरले आरिस गर्छन्। नेपाली कांग्रेसको स्थापना र विस्तारमा, २००७ सालको परिवर्तनको पृष्ठभूमि तयार पार्न, जनआन्दोलनको सफल परिचालनलगायतका पहलमा बिपी कोइरालाको देन विशिष्ट रहे पनि कांग्रेसभित्र र बाहिरका कमजोर तन्तुले उनलाई घेराबन्दीमा पार्दैरहे। २००८ सालमा गृह मन्त्रीबाट हटाइएपछि २०१५ सालको चुनावमा जनता जनार्दनले न्याय नगर्दासम्म दरबारका भाट र भारतका भरियाहरुले उनको सिंहदबार प्रवेशमा छेकबार तेर्स्याइरहे। प्रधान मन्त्रीको कुर्सीमा आसिन रहँदा होस् वा जेल पर्दा होस्, बिपी राष्ट्रिय राजनीतिको मियो बने। जीवन जिइरहँदामात्र नभई शेषपछि पनि उनी असत्यमाथि उभिएको सत्ता र शक्तिको शिरमाथि नांगो खुकुरी बने। प्रतिकूलताको बेला खरो उत्रिएर बिपीले इतिहास रचिरहँदा उनका प्रतिद्वन्द्वीहरुले भने आफँैलाई न्याय गर्न सकेनन्। उनीहरुले आफ्नै अनुहार कोतरे र जननेता भनेर सिउरिएका नक्कली पखेटा फ्याँकेर असली अनुहारमा आए। प्रतिकूलताको बेला राजनीतिक रंग बचाउन नसक्ने जति प्रधान मन्त्री, मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, राज सभा सदस्य र राजदूतलगायतका अवसरका पछि कुदे। राजनीतिक हरियो घाँसमा लोभिएर प्रतिगमन र पञ्चायतविरुद्धको संघर्षबाट भाग्ने क्रममा डिल्लीरमण रेग्मी, मात्रिकाप्रसाद कोइराला, डा.केआई सिंहहरु हराए। बिपीलाई जस्तै कम्युनिस्ट पार्टीभित्र पुष्पलाल श्रेष्ठलाई घेर्ने जतिको पनि यो वा त्यो प्रकारले हरिबिजोग भएको छ। अहिले एमालेविरुद्ध माओवादी र कांग्रेसको गठजोड र ओलीविरुद्ध एमालेभित्र र बाहिरका हस्तीहरुको यो वा त्यो प्रकारको घोषित वा अघोषित साँठगाँठ र मोर्चाबन्दी पनि बिपी र पुष्पलालविरुद्धको घेराबन्दीकै पछिल्लो संस्करण हो।

कस्तूरी मृग आफूसँग भएको मासुका कारणले मात्र नभई बिनाका कारणले अन्य मृगभन्दा बढी खतरामा रहेजस्तै देश र जनताको पक्षमा दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको आपूर्ति गरेकै कारण एमाले संगठकहरु अहिले नेपालको अस्तित्व र समृद्धि नचाहने जतिको निशानामा छन्।्

दिल्ली र दरवार रिझाए पुग्छ तर राजनीतिलाई देश दुनियाँसँग जोड्न आवश्यक छैन ठान्ने जडभगतहरुको भीडबाट पृथक भूमिकामा रहेर कांग्रेसलाई २००७ को दशकमै जनताको घरदैलोसम्म पुर्‍याउन बिपी कोइरालाले लिएको एउटै सही निर्णयले समकालीन अन्य दललाई गलत सावित गरिदिएको थियो। बिपीपछि एउटै सही निर्णयको बलमा जोरिपारीको सान्दर्भिकता संकटमा पार्ने राजनीतिक संगठन झापा आन्दोलन हो। रुस र चीनले दिने भ्रमण, छात्रवृत्तिको सुविधा र कांग्रेसको मुख ताक्ने जस्तो परनिर्भरताको निर्वल धरातलमा उभिएको कम्युनिस्ट पार्टीलाई आत्मनिर्भर अर्थतन्त्र, जनाधारित संगठन, भूमिगत जीवन, पूर्णकालीन कार्यकर्ताको स्वाबलम्वी मेरुदण्डमा उभ्याउने झापा आन्दोलन थियो। झापा विद्रोहको यथोचित समीक्षा र सही मूल्यांकन हुँदा केपी ओलीको आगमन रोक्न गरिएको जालसाँझी भताभुंग हुने देखेर विगतमा एमाले संस्थापनले सत्यमाथि पर्दा हाल्ने बेइमानी गरेको थियो। संविधान मान्नेछु, कानुनबमोजिम चल्नेछु भन्ने भाकाको कागजमा सही गरेर कांग्रेस र कम्युनिस्ट नेताहरु थकित/गलित भएर जेल मुक्त हुने लहर चलेका बेला झापाली क्रान्तिकारीहरुल्ो पञ्चायतको मुटुमा ढ्याङ्ग्रो ठोक्दै बलिदानी संघर्षको बिगुल फुकेका थिए। विद्रोह सैन्यवादी चिन्तन, अधिनायकवादी नेतृत्व र फौंजी संगठनात्मक स्वरूपको गलत अभ्यासतिर जाने खतरा बढेको बेला कोअर्डिनेसन केन्द्र हँुदै मुक्तिमोर्चासम्मको एकता प्रक्रियाले झापा आन्दोलनलाई सुरुदेखि नै सही लिकमा उभिन सघाउ पुर्‍यायो। कम्युनिस्ट पार्टीलाई तानाशाही, लोकतन्त्र विरोधी, हिंसा र हतियारको राजनीतिको पक्षपाती, मानव अधिकार विरोधी, आवधिक निर्वाचन, बहुलवाद, जनताको सर्वोच्चता र कानुनी राजको विरोधी करार गर्ने जतिको मुखमा भोटे ताल्चा ठोक्दैै जनताको बहुदलीय जनवाद जस्तो सुसंगठित विचार अवलम्बन गर्ने मदन भण्डारीको एउटै सही निर्णयले गर्दा नेपालको वामपन्थी आन्दोलनले विचार राजनीति, संगठन, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको क्षेत्रमा छलाङ मार्न सकेको छ। यसले गर्दा नेकपा एमालेका प्रतिद्वन्द्वीहरुको अस्तित्व संकटमा परेको छ। जवजका विरोधी, ओठेभक्त र उभयलिंगी अवसरवादीहरुको छटपटी पनि मदन भण्डारी, मनमोहन अधिकारी हँुदै केपी ओली संस्करणसम्मको सही निर्णयको शृंखलाले गर्दा उनीहरु जनताले थाहा पाउने गरी गलत सावित हुनु हो।

एमालेका कारण आफ्नो सान्दर्भिकता गुम्ने खतरा देखेपछि नेपाली कांग्रेस र माओवादीले विगतका दशकदेखि नै अनेकखाले प्रयोग र प्रयत्न गर्दै आएका छन्। उनीहरुका कदम र पहल केवल एमालेसँगको प्रतिस्पर्धा जित्नुमा सीमित छैनन्, बरु कतिपय हर्कत राष्ट्रिय स्वाधीनता, देशको सार्वभौमसत्ता, लोकतन्त्र, समृद्धि र जनजीविका विरोधी छन्। भारतको छत्रछायाँमा रहेर माओवादीले कथित जनयुद्धको सुरुवात गर्‍यो भने आफूलाई भारतको सहायकका रूपमा उभ्याउन गौरव गर्ने कांग्रेसले विद्रोह दबाउने नाममा भूगोलमा रहेका माओवादी कार्यकर्ताको कत्लेआम गर्ने काम पायो। आखिर मारिने सबै नेपाली नै थिए भने अरुका गोटी बनेको पश्चातापले कांग्रेस र माओवादीलाई किन पोल्दैन? कम्तीमा हिजोका एजेन्टहरु अनुहार त लुकाउँथे तर आज दाहाल–देउवाको 'दादे गुट' भने एजेन्टलाई डरधक र लाजसरम केही मान्नु नपर्ने गरी अभय प्रदान गरी आफू पनि उनीहरुकै पछि हाकाहाकी लतारिँदैछ। कांग्रेस र माओवादी एमालेको जनाधारदेखि जल्ने गर्थे। उनीहरुले ६० को दशकको सुरुवातमा एमालेभित्र आवश्यकताभन्दा बढी खेले। कतिपय हस्तीलाई माओवादीले एमालेभित्र गुप्तचरका रूपमा उपयोग गरेका तथ्य आज आएर उदांग हँुदैछन्। २०६३ को अन्तरिम सरकारमा उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री रहेका केपी ओलीलाई फिर्ता गर्ने माओवादी एजेन्डा एमालेको काँधमा बन्दुक पड्काएर पूरा गरिएको थियो। वयोवृद्ध एवं अस्वस्थ प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालालाई माओवादी छलछामबाट मुक्त राख्ने, एमालेलाई माओवादीको चालढालबारे सही रिपोर्टिङ गर्ने, सुरक्षा अंगलाई पंगु हुन नदिने र कूटनीतिक नियोगहरुलाई सही ढंगले परिचालन गर्ने र यसो हुँदा दाउले काम नगर्ने देखेर माओवादीले ओलीलाई सरकारबाट बाहिर पार्ने चाल चालेको थियो। यो षड्यन्त्र आफू उभिएको धरातलभन्दा एक मिटर पर हेर्न नसक्ने एमालेभित्रको ओली विरोधी सदाबहार क्लबले थाहा पाउन सकेन।

२०६४ को संविधान सभा चुनावको परिणाम सार्वजनिक भएपछि एमालेका प्रमुख हस्तीहरु विभिन्न भावभंगीमा प्रदर्शित भए। कसैले बाघले पाठो खाइदिएकामा बाघलाई नै गुनासो गर्ने बाख्रीको जस्तो निरीहता देखाउँदै मलाई किन हराइयो भनेर माओवादी नेतृत्वसामु लाचारी देखाए। कोही माओवादीले राष्ट्रपति बनाइदेला भनेर सपना सजाउँदै शृंगारपटार गरेर ठीक परे। कसैले पार्टीका कार्यकर्ताको मनोबल उठाउन भन्दा पनि माओवादी नेतृत्वलाई खुसी पार्न शब्द र समय खर्चिए। संकटका बेला स्वाभिमानको मेरुदण्ड ओलीमा मात्र देखियो। वीरहरुको रगत, पसिना र आँसुको मानसपुत्र एमालेको जीवनरूपी दियोमा तेल सकिएको थिएन। कायर सेनापतिभन्दा वीर सिपाही वेश हुन्छ। इतिहासको त्यस जटिल मोडमा काँतर र लोभी नेताहरु माओवादीका अगाडि धनुषटंकार मुद्रामा उभिए पनि एमालेका कर्मठ कार्यकर्ताले निष्ठा, कष्ट, आँट, आत्मविश्वास र स्वाभिमानसँगको अटल नाता तोडेनन्। एमालेको जीवन रेखा लामो पार्न प्रचण्डमान थैव, छविलाल कार्कीहरुले आफ्ना वीर अग्रजको विरासत थाम्दै रगत दिए। एमालेको जीवनरेखा टुङ्गिएको छैन भन्ने आँट र आशा बोकेको  कर्मठ कार्यकर्ता पंक्तिको नेतृत्व गर्नु जस्तो एउटै सही निर्णयको बलमा ओली उठेको र एमालेलाई फेरि उठाएको कसैसामु नलुकेको सत्य हो। कुण्ठामाथि निष्ठाले सुनारको सय चोटको बदलामा लोहारको एकै चोट शैलीमा बदला लिन्छ। ओलीलाई  एमाले संसदीय दलको नेता र अध्यक्षमध्ये एउटा पद पनि नदिने हस्तीहरुको घेराबन्दील्ााई कार्यकर्ताको अदालतले चकनाचुर पारिदिनु एक सुन्दर उदाहरण थियो।

एमाले प्रमुखका रूपमा सिपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, मनमोहन अधिकारी र माधवकुमार नेपालभन्दा ओलीको आगमन पृथक प्रकृतिको छ। अरुलाई पार्टी प्रमुख चयन गर्न स्याथी कमिटी वा पोलिटब्युरोको पहल नै निर्णायक थियो। ओलीको आगमन भने प्रमुख हस्तीहरुले नचाहँदा/नचाहँदै पनि कार्यकर्ताको अदालतले गर्दा सम्भव भएको हो। ओलीलाई गुटको नेता करार गर्न खुबै कोसिस भए। ९ महिने सरकार सञ्चालनको दौरानमा ओलीले लिएको राष्ट्रवादी अडान, युवा पुस्तामा ल्याएको सपना, आशा र उत्साहको अन्तरसंवाद एवं रक्तसञ्चार र युवामैत्री एवं जनमुखी बजेटले भ्रमका खेतीवाल जतिको ओठतालु सुकाइदिएको छ।

कस्तूरी मृग आफूसँग भएको मासुका कारणले मात्र नभई बिनाका कारणले अन्य मृगभन्दा बढी खतरामा रहेजस्त्ौ देश र जनताको पक्षमा दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको आपूर्ति गरेकै कारण एमाले संगठकहरु अहिले नेपालको अस्तित्व र समृद्धि नचाहने जतिको निशानामा छन्। चुनौती बाक्लिँदै गए पनि हाम्रा भगवान भनेका जीवित जनता हुन् भन्ने र जनताको जुझारुपन र चेतनालाई सराहनीय ठान्ने मदन भण्डारीले दिएको नासो एमालेलाई जनताको शक्तिशाली साथ र समर्थन रहिरहनेछ। नेपाली जातिको देशभक्त रसायनप्रतिको ओली निष्ठा अलपत्र पर्ने छैन। इशारा बुझ्ने युवा पुस्ताले राजनीतिमा काइझँै जमेर रहेको अनेक रूपरंगका बन्चरी बिँड प्रवृत्तिलाई माफी दिने छैन। राजनीतिलाई जनमैत्री बनाउन आवश्यक नदेख्ने देशविरुद्धको बन्चरी बिँड, वामपन्थी आन्दोलनविरुद्धको बन्चरी बिँड र एमालेभित्रको ओलीविरोधी बन्चरी बिँड प्रवृत्ति त्यसरी नै हराएर जानेछन् जसरी प्रतिस्पर्धीको सापेक्षतामा आफ्नो अपरेटिङ सिस्टम प्रयोगकर्तामैत्री बनाउन आवश्यक नदेख्ने नोकिया मोबाइल युनिट उठ्न नसक्ने गरी धराशायी भएको थियो। देशभक्तहरु जनताको दिलमा बस्दा गद्दारहरु भिरको डिलमा पुग्छन्। सामूहिकताको पक्षमा, 'मै लाऊँ, मै खाऊँ' वादको विपक्षमा, जनजीविकाको पक्षमा, अस्थिरताको विपक्षमा, भाइचारा सम्बन्धको पक्षमा, हस्तक्षेपको विपक्षमा ओलीले लिएको सही निणर्यले गर्दा माओवादी र कांग्रेसको सान्दर्भिकता गुम्दैछ। किनकि सत्यको विजय र अविवेकीको पतन जनराजनीतिको अभिन्न पाटो हो।

प्रकाशित: ६ भाद्र २०७३ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App