विचार

सधैँ अपरिपक्व राजनीति

सक्रिय राजतन्त्र विस्थापित गरेर नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको २७ वर्ष भएछ। राजतन्त्र उन्मूलन गरेको पनि एक दशक नाघिसक्यो। यो देशमा २०४६ सालमा भएको पहिलो जनआन्दोलनले स्थापित गरेको प्रजातन्त्रपछि जन्मिएका नेपालका सन्तानले विभिन्न विषयमा विद्यावारिधि गरी देश/विदेशमा नाममात्र कमाएका छैनन्, तिनले गर्वाेन्नत नेपालको प्रतिष्ठालाई उच्चतम विन्दुसम्म पुर्‍याउन सफल भएका अनेकौ उदाहरण छन्। तर यो अवधिमा देशभित्रै बसेर सत्तामा रजगज गरेका राजनीतिक नेताहरुचाहिँ एक पाइलामात्र पनि अघि बढ्न सकिरहेका छैनन्। नेताहरु अघि बढ्न नसक्दा जनता जति दुःखी छन् त्योभन्दा बढी चिन्तित यस कारण छन् कि राजनीति भनेको लुच्चा, लफङ्गा एवं अनैतिक जमातको बपौती हो भन्ने मान्यता स्थापित हुन थालेकोे छ। समाजको भद्र सदस्य, पढालिखा युवा र भरोसायोग्य व्यक्तिले राजनीतिमा पदार्पण गर्न सय पटक सोच्न थालेका छन्। एक समय थियो जुनबेला राजनीति भनेको राम्रा व्यक्तिहरुको मात्र क्षेत्र हो भनिन्थ्यो। हुन पनि तिनताकाका राजनीतिज्ञहरु निष्पट अन्धकारमा हामफालेर देश र जनताको सेवाका निम्ति सहादत हुन प्रतिस्पर्धा गर्थे। आजका राजनीतिज्ञहरुले देश, जनता र प्रजातन्त्रका निम्ति सिन्को भाँचेको देखेको छ कसैले? भन्न त उनीहरु अनेकौं आन्दोलन र क्रान्तिको नेतृत्व गर्‍यौँ भन्छन् तर गौर गरेर हेरौं त, ती आन्दोलन र क्रान्तिले यी नेता भनाउँदाहरुको एउटा रौं बराबरको नोक्सानी गरेकोे देखेको छ कसैले? हिजोका हात्तीछाप चप्पलवाला नेताहरु यो एक चौथाई शताव्दीभित्र 'गोल्डेन बुट' वाला बनेको अनुभव सबैले गरेका छन्। कस्तो विडम्बना! कति अभागी हामी नेपाली!

 आजको विश्वमा जति विकसित राष्ट्र छन्, तीमध्ये अधिकांश राष्ट्र प्रजातान्त्रिक व्यवस्था अंगालेका छन्। प्रजातन्त्र संवर्धित भएकै हुँदा अनैतिक क्रियाकलाप सामान्यतः देख्न पाइन्न, त्यहाँ कसै कसैको भनाई छ– राजनीतिज्ञहरुमा अन्तर्निहित उच्च नैतिकताकै कारण त्यहाँ प्रजातन्त्र संवर्धित भएको हो। हुन पनि हो, प्रजातन्त्र र नैतिकता एकापसमा अन्तर्निर्भर हुन्छन्। प्रजातन्त्र अभावमा नैतिकता र नैतिकताको अनुपस्थितिमा प्रजातन्त्र प्रवर्धित हुनै सक्तैन। यो शास्वत सत्य हो। त्यहाँका राजनीतिज्ञहरु राजनीतिलाई पेसा बन्न कदापि दिँदैनन्। हो, सत्ताका लागि त्यहाँ पनि प्रतिस्पर्धा हुन्छ। यदाकदा छिनाझपटी भएको नदेखिने पनि होइन। तर सत्तालाई पेसाका रूपमा प्रयोग गरेको उदाहरण विरलै पाइन्छ विकसित राष्ट्रहरुमा। सत्ताभोगको अवधि समाप्त हुनासाथ सत्ता हस्तान्तरणका निम्ति त्यहाँ प्रतीक्षारत रहन्छन् राजनीतिज्ञहरु। हाम्रा जस्तो १७ पटक पराजयको स्वाद चाखिसक्दा पनि राजनीतिमै र्‍याल चुहाउँदै निर्लिप्त रहने सौख्य कसैको हँुदैन त्यहाँ। राजनीतिक नेताले आफ्नो कार्यकाल सकेपछि वा निर्वाचनमा परास्त भएपछि आफ्नो बाटो लाग्छन् र अलग पेसा गरेर जीवन यापन गर्छन्। राजनीतिलाई जीवन/मरण बनाएका नेता त्यहाँ बत्ति बालेर खोज्दा पनि पाउन मुस्किल छ तर हामीकहाँ हेर्नुहोस् त! यो आलेखमा मूलतः नेपाली राजनीतिज्ञले परिपक्वता हासिल गर्नतर्फ प्रवृत्त हुन नसकेकामा दुःख लागेको कुरा भन्न बस्दा भावनावस् केही कुरा भूमिकाका रूपमा प्रस्तुत गरियो। यसै सन्दर्भ जोड्दै निवर्तमान प्रधान मन्त्री केपी शर्मा ओलीको राजीनामा प्रसंगलाई उनको अपरिपक्व व्यक्तित्वतर्फ ध्यान केन्द्रित गरौं : 

ओलीको राष्ट्रवाद

 २०४६ सालको जनआन्दोलनले पुनःस्थापित गरेको प्रजातन्त्रपछि नेपालको राजनीतिमा आएको खुलापनमा केपी शर्मा ओली नामधारी राजनीतिक प्राणी प्रभावशालीरूपमा आमजनतासमक्ष सार्वजनिक भएका हुन्। प्रजातन्त्र पुनःस्थापनायता ओलीलाई प्रायः सबैले भारतको मित्रका रूपमा चिन्थे। करिब ३ वर्षअघि प्रकाशित बहुचर्चित पुस्तक प्रयोगशालाको प्रथम अध्यायको प्रथम पृष्ठमै भारतको जासुसी संस्था 'रअ' प्रमुखसँग कुममा कुम जोडेर होटेल एभरेस्टमा गौरवका साथ छलफल गरिरहेको र त्यस छलफलबाट निःसृत निष्कर्षलाई संविधान सभामार्फत कार्यान्वयन गराउन हतारो गर्दै गरेको प्रष्ट हुने बान्की मिलाउँदै अत्यन्त सफलताका साथ लेखकले बयान प्रस्तुत गरेका छन्। तर यी घटनाको तीन वर्ष बित्न नपाउँदै ओलीको भारतसँगको सम्बन्धमा अकल्पनीय तिक्तता देखा पर्‍यो। त्यसपछि भारतसँगको तिक्तताको भडास नेपाली मधेसीमाथि थोपर्न ओलीले कुनै कसर बाँकी राखेनन्। नेपालका मधेसीलाई ओलीले अराष्ट्रिय तत्वका रूपमा देख्न थाले। मधेसी मुद्दाको प्रसंग उठ्नासाथ अनायासै यिनमा राष्ट्रिय भाव जाग्न थाल्थ्यो र भन्थे– नेपालको सार्वभौमिकताको रक्षा गरिनेछ। देश टुक्राउन खोज्नेको सपना साकार हुन दिइने छैन। देशको सार्वभौमिकताको रक्षा गर्ने र पृथकतावादीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने जिम्मेवारी र कर्तव्य निःसन्देश प्रधान मन्त्रीकै हो।

तर ओलीले कहीँ कतै त्यस्ता राष्ट्रद्रोहीमाथि कारबाही गरेको वा तिनीहरुको सार्वजनिकीकरण गरेको कहीँ कतै देखिएको छैन। बरु उनको यो गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले एकातर्फ मधेसीको राष्ट्रवादी भावना बिच्क्याउने काम गर्‍यो भने अर्कोतर्फ भारतसँग नेपालको हँुदाखाँदाको सम्बन्ध धमिलिन पुग्यो जसको परिणाम भारतले नेपालमाथि लगाएको नाकाबन्दीले नेपालीलाई गरिबीको रेखाभन्दा अझ तल धकेलिदियो। राजनीतिको उच्चतम ओहदामा आसिन व्यक्तित्वले कूटनीतिको मर्यादाभन्दा तल ओर्लिएर चाहिनेभन्दा बढी बकबक गरिरहँदा देशकै नोक्सानी हुन्छ भन्ने कुरा बुझ्न नसक्नु अपरिपक्वताको प्रमाण हो। भारतको मिचाहा प्रवृत्ति र दादागिरी नेपालीका निम्ति नौलो कुरा होइन। अप्ठेरो भूगोलमा हुर्कन बाध्य नेपालीले यस्तै यथार्थ र वास्तविकताकै बीच आफ्नो मुलुकलाई नोक्सान नपुर्‍याइकनै प्रगतिपथतर्फ डोर्‍याउन सक्नुमा नेपाली राजनीतिज्ञहरुको सफलता निर्भर गर्छ। यस सन्दर्भमा ओली पूर्णतः असफल भएकै हुन्।

 'आफू मरेपछि डुमै राजा' भन्ने उखानलाई यस पटक प्रधान मन्त्री ओलीले चरितार्थ पारेका छन्। ओलीले आफू संविधानको जुन धाराले प्रधान मन्त्री पदमा निर्वाचित भएका थिए त्यही धाराले अर्कोलाई निवार्चित गर्न हुन्न भन्ने जुन मान्यता स्थापित गरे, त्यो सर्वथा वचकना खेल हो। अनाहकमा बाधा अड्काउ फुकुवा गर्ने धारालाई सक्रिय बनाइदिएर ओलीले आफूपछि आउने प्रधान मन्त्रीलाई स्वेच्छाचारी बन्ने मार्ग प्रशस्त गरिदिएका छन्। मानिलिउँ, नवनियुक्त प्रधान मन्त्री प्रचण्ड भोलि छ महिनापछि अल्पमतमा परे र उनले बाधा अड्काउ फुकुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेनन् भने के गर्ने? यो कुरा ओलीले नबुझेका हुन् र? भोलि यस्तै अप्ठेरो होस् र पुनः कांग्रेस रुँदैरुँदै आफूलाई प्रधान मन्त्रीको कुर्सी चाँदीको थालमा राखेर आओस् वा त्यसो गर्दैन भने मुलुक भाँडमा जाओस् मलाई के मतलव भनेको होइन यो? यस्तो अविवेकी खेल खेल्ने खेलाडीलाई राजनीतिशास्त्रले वालिगको संज्ञा दिन सक्दैन। एउटा परिपक्व राजनीतिक नेताले देश र पुरै व्यवस्था भड्खालोमा पर्न सक्ने खेल कहिल्यै खेल्दैन। यस अर्थमा प्रधान मन्त्री केपी शर्मा ओली परिपक्व राजनीतिज्ञ होइनन् भन्न कर लाग्छ।

 गलत राजनीतिक पाइला चाल्न नहच्किने स्वभाव, रकमी अभिव्यक्ति क्षमताका धनी र लाटोले पनि बुझ्ने गरी प्रष्ट शब्दमा बोल्न सक्ने क्षमताकै कारण ओलीले केही अबुझमाझ आफूलाई स्थापित गरेको हुनुपर्छ। नेपालका राजदरवारहरु पनि यस्तै कामका लागि माहिर थिए। प्रधान मन्त्री निर्वाचित हुनुपूर्व संसद्मा प्रधान मन्त्रीका उम्मेदवारका रूपमा उभिएर कमरेड प्रचण्डले बडो तार्किक प्रश्न ओलीतर्फ तेर्साउँदै भने– प्रशान्त महासागरमा नेपाली जहाज चलाउन, देशमा मेट्रो एवं बुलेट टे्रन अनि मोनो टे्रन त्यसैगरी जनताको घरघरमा ग्यासको पाइपलाइन दिलाइदिन्छु भनी जो भन्नुभएको छ, त्यसका लागि बजेट कुन शीर्षकमा विनियोजन गर्नुभएको छ? साधारण खर्चलाई त ६० अर्बभन्दा बढी अपुग बजेट छोड्नुभएको छ भने तपार्इँको सपना केले साकार पार्ने? यस्तो झुटको खेती कमसेकम म त गर्ने छैन। ओलीले विकासको डिङ हाँक्दा त्यसलाई हावादारी भनी खिसी गर्नेहरुलाई प्रचण्डको वक्तव्यले समर्थन गरेको छ। ओलीको यस्तो केटाकेटी स्वभाव देख्ने र भोग्नेले उनलाई कसरी परिपक्व नेता मान्ने?

 जहँा सम्म ओलीले चीनसँग सम्बन्ध विस्तार गरेको भन्ने टिप्पणी यदाकदा सुनिन्छ, त्यो पनि हिजोका कीर्तिनिधि बिष्ट र मरीचमान सिंहले भन्दा बढी केही गरेकै होइनन्। दुईटा मात्र पसल भएको बजारमा प्रवेश गरेको ग्राहकले एउटा पसलमा नपाएको कुरा अर्को पसलमा लिन जानु स्वाभाविक हो, जुन यसपटक कमरेड केपी शर्मा ओलीले गरे। चीनले नेपालका शासकहरुलाई २००७ सालदेखि आजपर्यन्त भन्दै आएका छन्– 'भारतसँग सदा राम्रो सम्बन्ध राख्न नभुल्नू है।' यो मन्त्र ओलीलाई कन्ठाग्र नै थियो तर कुन्नि किन हो भारतलाई पट्याउन सकेनन्। योभन्दा बढी मूल्यांकन के नै गर्नु र ओलीबारे?  

प्रकाशित: २५ श्रावण २०७३ ०५:३७ मंगलबार

सधैँ अपरिपक्व राजनीति