विचार

माओवादीको बाटो

यतिबेला संसद्मा कुनै पनि दलको बहुमत छैन । मिलिजुली सरकार गठन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। फलस्वरूप संसद्मा दोस्रो ठूलो दल एमालेको नेतृत्वमा क्रमशः तेस्रो, चौथो र पाँचौ गरी अन्य थुप्रै ससाना दलको सहमतिमा ओली नेतृत्वमा सरकारको गठन भएको स्पष्ट नै छ। राजनीतिक दलहरुका आआफ्नै दृष्टिकोण, सिद्धान्त भए पनि सहमतीय सरकारमा बसिसकेपछि त्यसका पनि केही मूल्य/मान्यता हुन्छन् भन्ने हेक्का राख्दासम्म सरकार चल्छ भने राख्न नसके ढल्छ । यो सामान्य कुरा हो । तर विवाद र असहमति भन्ने कुरा सरकार सञ्चालनमा देखिनुपर्छ । राष्ट्र र जनताका लागि काम गर्ने दौरानमा कुन दलले के कुरामा असहमति राखेको हो, जनताले जान्न पाउनुपर्छ । सहमतीय सरकार गठन र विघटनमा सहमति र असहमतिका कुरा पारदर्शी हुनुपर्छ । यो सहमतीय सरकारको विशेषताभित्र पर्ने सामान्य कुरा हो।

तर विडम्बना, आठ घण्टाअघिसम्म सरकारले राम्रा काम गरेकोे छ भन्दै संसद्मा बोलेको दलबाटै भोलिपल्ट अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने कुरा राजनीतिको कुन मूल्य र मान्यताभित्र पर्छ ? कांग्रेस र माओवादी विपरीत ध्रुवका शक्ति हुन् । यिनलाई प्रभुले बाहेक अरुले एक ठाउँमा ल्याउनै सक्दैन । जुन पार्टीको सरसल्लाहमा सरकारले नीति तथा कार्यक्रम ल्यायो त्यही पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरालाई हल्कारूपमा लिनुहँुदैन । अनि सरकार ढल्दा नेपाली जनता शोकमा पर्छन्, दिल्ली दरवारमा भने दीपावली हुन्छ । जनताले यसलाई कसरी बुझ्ने ? तथापि जसरी र जुन सन्दर्भका साथ ओली सरकार ढालियो त्यो नेपाली निर्णय थिएन भन्ने प्रष्ट हुन्छ । ओलीको बहिर्गमनपछि जे÷जस्तो प्रतिक्रिया भारतीय पक्षबाट आइरहेको छ यसले त्यही कुरा पुष्टि गर्छ । राजनीतिमा विचार, दृष्टिकोण र नैतिकता नै समाप्त भइसकेको माओवादी केन्द्र कसैको गोटी बन्दासम्म अब एकपछि अर्को गरेर राष्ट्रघातका शृङ्खला थपिँदै जानेछन् ।

केपी ओली नेतृत्वमा सरकार बनेको देख्न नचाहनेहरु सुरुदेखि नै रोक्न सकेसम्मको बल लगाएका थिए तर पनि असफल भए । उनको यात्रा अगाडि बढ्यो । नेपाल र नेपालीको माया हुने सबै तह र क्षेत्रका नागरिकको न्यानो माया पाइरहे । फलतः उनको यात्रालाई नाकाबन्दीले रोक्न सकेन, मधेसी मोर्चाको आन्दोलनको नाटक फिक्का बन्दै गयो । तर पनि यताको भन्दा उताको नूनपानी खाएकाहरु सलबलाउन छाडेनन् । ओली सरकार ढालेरै छाडे । माओवादी जो भारतीय भूमिमा जन्मियो उसैको संरक्षणमा हुर्कियो, बढ्यो अनि भारतको अहित हुने काम कहिल्यै नगर्ने तमसुक लेख्यो । फलतः ओली सरकार फालेर जसको रापतापमा हुर्केको थियो त्यसैको गुन तिर्न पाउनु उसका लागि गौरवको विषय बन्यो । दिल्लीको उक्साहटमा आन्दोलनको नौटङ्कीमा रहेका मधेसी नेताहरु ओलीविरुद्ध सुशील कोइरालालाई भोट दिन लगायो, उनीहरु सगौरव संसद्मा आएर भोट हाले । अहिले ओलीका विरुद्ध भोट हाल्न भनियो । आज्ञा शीरोधार्य गर्दै संसद्मा टसका मस नभई बसे । खुसीका साथ संसद्मा आएर ओलीविरुद्ध भोट हाल्न पाउँदा सारा कुरा पूरा भएको जसरी उत्साहित भए ।

आज के देखिँदैछ भने तराईकेन्द्रित क्षेत्रीय दल, माओवादी, कांग्रेस र भारत ओली सरकार ढलेकामा हर्षबढाईं गर्दैछन् । कुन उद्देश्यका लागि यिनीहरु एक ठाउँमा आइपुगे ? सत्तामा जान पाएकोमा माओवादी र कांग्रेस खुसी भएको मान्ने हो भने पनि भारतमा दीपावली हुने कुरा योसँग कसरी जोडिन पुग्यो ? मालिकले अराएको काम फत्ते गरेकामा यता मन्त्री पद पाउन लैनचौरमा लाम लाग्दैछन् । उता दिल्ली दरवार आइएसले कोशी ब्यारेकमाथि आक्रमण गर्दैछ भन्ने सुनियोजित हल्ला फिँजाएर भारतीय सेना उतार्ने प्रपञ्च रच्दैछ । नयाँ सरकार गठन हुनुअगावै देखिएका यी हर्कतबाट ओली सरकार भारत र तिनको रापतापमा हुर्केकालाई कतिसम्म पीडा भएको रहेछ भनेर स्पष्ट हँुदैछ । अनि राष्ट्रियता नै धरापमा राखेर हर्षबढाईं गर्नेहरुलाई तिमीहरु भारतका दलाल हौ भन्दा अब कुनै अप्ठ्यारो मान्नुपर्ने छ र ?

यो देशमा साँचो अर्थको आन्दोलन आजसम्म भएको देखिएन । २००७, २०४६ र २०६३ सालको आन्दोलन जनताको बलमा भएको भए पनि त्यसको श्रेय विदेशीले लिएका कारण परिवर्तनको प्रभाव जनतामा भन्दा पहिला विदेशीकहा पुग्ने गरेको स्पष्ट भयो । त्यसैले अब नेपाल र नेपाली जनताको भलो भन्दा विदेशीलाई आफ्नो ठान्ने दलालहरुविरुद्ध आन्दोलन चलाउन आवश्यक छ । दलाली भनेको दलाली नै हो, त्यसलाई कुनै पार्टी, जाति, धर्म र रंगले संरक्षण दिनुहँुदैन । जसले आफूलाई खुलमखुला भारतको एजेन्ट भएकामा गर्व गर्छ त्यस्ताका विरुद्ध जबसम्म सिङ्गो समाज उठ्दैन तबसम्म केपी ओलीले भोगेजस्तो नियति देशका लागि केही गर्न खोज्ने अरु नेताले पनि बेहोर्नुपर्नेछ ।

माओवादीका प्रचण्डलगायतका नेताबारे वामपन्थी नेता नारायणमान बिजुक्छेले गरेका टिप्पणी दोहो¥याउनलायक छ– ‘भारतले भनेको माने देश खतरामा, भनेको नमाने ज्यान खतरामा ।’ हुन पनि केही समयअघि अस्ट्रेलिया जान लागेका प्रचण्ड त्यहीँ समातिने डरले रोकिएका थिए । समयले अब माओवादीका नेतालाई नेपाल र भारतमा सीमित गर्दैछ । ओली सरकार हटाउन माओवादीलाई भारतले उपयोग गरेको हो । सत्तामा रहेका बेला ऊबाट लिन सक्ने कुरा लिएपछि माओवादीको उपयोग र औचित्य सकिनेछ । त्यसपछिका दिनमा यिनको वास्तविक अवस्था देखिनेछ । राज्यका नियम कानुन हुन् वा अन्तर्राष्ट्रिय कानुन तिनैका आधारमा कारबाही गर्दै हेगमा लैजान कसैले रोक्न सक्ने छैन । सबै कुराबाट पतन हुँदै गएपछि एक दिन माओवादीका नेता जाने भनेकै हेग हो । समयले त्यतै डोर्याउँदैछ ।

प्रकाशित: १९ श्रावण २०७३ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App