विचार

रगतको मूल्य

‘हामी सर्वत्र रगतले  जोडिएका छौं’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको डेढ महिना नबित्दै नेपाल रेडक्रस सोसाइटीले साउन १२ गते आफ्नो स्वर्णजयन्ती मनाएको छ । बिरामीलाई चौबीसै घण्टा रगत उपलब्ध गराउने सोसाइटीले स्थापनाको ५० औँ वर्षगाँठ मनाइरहँदा यसको सेवा प्रवाहमा भने सन्तोष गर्नसक्ने अवस्था अझै छैन।

५० औं वर्ष पूरा गर्ने सिलसिलामा बीचका केही समय हामीले रगत संकलन र भण्डारणमा पूर्णतः मेल ल्याइसकेको अवस्था पनि थियो तर त्यसलाई सही व्यवस्थापन गरी थप सुधार गर्दै जानुपर्नेमा ठीक उल्टो अवस्था सिर्जना भइरहेको छ । जसका कारण रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुको सधैँ सेवाग्राहीले अभाव बेहोर्नु परिरहेको छ ।

हाम्रो देशमा रक्तदानको इतिहास हेर्ने हो भने भरिया दाजुभाइ, रिक्सा चालक, ठेलागाडा चालकलगायत विपन्न व्यक्तिहरुले नै रक्तदान गर्ने गरेको देखिन्छ । रक्तदान सुरु हुँदा केही पैसा (रकम) उपलब्ध गराउने गरिएको थियो । जसका कारण बिरामीहरुले समयमा नै रगत पाउन सकेका थिए । बिस्तारै आममानिसमा रक्तदान गर्नुपर्छ भन्ने ज्ञान फैलिँदै जाँदा स्वयंसेवक संख्या बढ्दै गयो । स्वयंसेवकले दिनरात नभनी बिरामीको ज्यान जोगाउन रक्तदान गर्न थाले । तर स्वयंसेवकका रगतको उचित व्यवस्थापन हुन नसक्दा समयमा नै रगत पाउन नसक्ने अवस्था आइरहेको छ । बिरामीका आफन्तले रगतको खोजीमा निकै भौतारिनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।

स्वयंसेवी रक्तदाताहरुको मर्म÷आवश्यक्ता, पीडितको पीडा र रगत संकलन र वितरण प्रणालीमा समन्वय तथा सम्बोधन गर्नुपर्नेमा यसप्रति चिन्ता नभएका व्यक्ति नै नेतृत्वमा रहनु यो क्षेत्रका लागि दुर्भाग्य साबित हुँदै आइरहेको छ । स्थापनाको लामो समयसम्म आइपुग्दा पनि अत्याधुनिक प्रविधिहरु भिœयाई गुणस्तरीय सेवामा छलाङ मार्न नसक्नु संस्थाका नेतृत्वकर्ताको ठूलो कमजोरी हो ।

रक्त सञ्चार सेवाजस्तो संवेदनशील क्षेत्रलाई निरन्तर उपेक्षा गरिरहनु कत्तिको उचित हो ? जुनसुकै बेलामा जो कोहीलाई पनि आवश्यक पर्नसक्ने यो क्षेत्रलाई उचित सम्बोधन गर्न राज्यस्तरबाट कहिले प्रयास हुने हो ? यो क्षेत्रमा हालसम्म भ्रष्ट मनोवृत्ति भएका व्यक्तिहरुको नेतृत्व रहेका कारण संस्थागतभन्दा पनि व्यक्तिगत स्वार्थ मात्र पुरा भएको देखिन्छ । उनीहरु सधैँ स्वयंसेवीले दान गरेको रगत र पीडितको पीडामा रमाइरहेको देखिन्छ ।

नेपालले हालै नयाँ संविधान पाएको छ । संविधानमा नेपालीहरुको स्वास्थ्यसम्बन्धी हकमा धारा ३५ (१) मा उल्लेख गरिएअनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवालाई राज्यबाट निःशुल्क प्राप्त हुने हकलाई व्यवस्था गरिएको छ । कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी किटान गरिएको छ तर रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु पाउन नसकेर हजारौं बिरामीहरु तड्पिइरहेका छन् । संविधानको सोही धाराअन्तर्गत रही राष्ट्रिय रक्तसंचार नीति–२०७३ तयार पारी सार्वजनिकसमेत गरिएको अवस्था छ । यो रक्त सञ्चार नीतिमा त झन् मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरुलाई पूर्णतः किनबेचमा प्रतिबन्ध लगाई निःशुल्क भनिएको छ । खोइ कहाँ गए यसको अक्षरसः कार्यान्वयन वा पालना ? यसरी हरेक किसिमले यो क्षेत्र सम्बन्धित निकायले उपेक्षित बनाइरहेको छ ।

रक्त सञ्चार सेवाको स्वर्ण जयन्ती केवल हिसाब मिलानको रुपमा नभई साँच्चै सेवाभावको प्रादुर्भाव हुने वर्षको रुपमा मनाउन पाए सेवाग्राहीहरु अनुगृहित हुने थिए । यद्यपि हामी स्वयंसेवीहरुले जे जति गर्न सकेका छौँ, त्यसमा गर्व छ ।

लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन् ।

प्रकाशित: १२ श्रावण २०७३ ०५:११ बुधबार

रगतको