विचार

शिक्षक, शिक्षण र शिक्षार्थी

'शिक्ष्' आधार पद र 'अक' परसर्गको योग भएर 'शिक्षक' शब्द बनेको हो। यसलाई स्थान र तहअनुसार शिक्षक, प्राचार्य, गुरु, प्राध्यापक एवम् स्त्री वाचनमा गुरुआमा र शिक्षिका भन्ने गरिएको छ। अङ्ग्रेजीमा टिचर र प्रोफेसर भनिए पनि मिस, म्याडम र सर विद्यार्थीका ओठमा रत्तिएका अतिप्रिय तथा निकटका सम्बोधनीय शब्द हुन्।

कुनै विषयमा आफूले औपचारिक या अनौपचारिक शैलीमा अध्ययन, अनुसन्धान, गवेषण, प्रयोग र परीक्षणद्वारा आर्जन गरेको मानवयोगी तथा समाजोपयोगी ज्ञान वा शिक्षालाई सरल र सहज तरिकाबाट शिक्षार्थीको मनमस्तिष्कमा सम्प्रेषण गर्ने व्यक्ति नै शिक्षक हो। विगतका ज्ञानगङ्गाबाट वर्तमानमा उपयोगी हुने र वर्तमान शिक्षा सागरबाट भविष्यमा जीवनपद्धति सुसंस्कृत हुने, समाज सुललित हुने अनि राष्ट्र र विश्वले अधिकतम लाभ लिन सक्ने शिक्षा सामयिक यथार्थ हो भन्ने कुरा शिक्षकले मनन गर्नु सही सावित हुन्छ। मौजुदा सभ्यता, संस्कृति, प्रविधि, चलन र चिन्तनलाई भावी पुस्ताका लागि धरोहरस्वरूप थाँती राख्न सक्नु आजका शिक्षकको स्तुत्य कार्य हो। यो पवित्र र स्वच्छ कार्यका लागि शिक्षार्थीलार्ई नै जीवन्त संवाहक बनाउनुपर्छ भन्ने विषयमा कसैको पनि द्विविधात्मक मनस्थिति रहँदैन।

पूर्वीय परम्परामा गुरुकूल, विद्याश्रम र पाठशाला आदि शिक्षालयले परापूर्वकालदेखि नै  शैक्षिक अवदान गर्दै आएको तथ्य प्रातःस्मरणीय छ। गुरुकूलीय परम्पराले दीक्षित र शिक्षित महानुभावहरुमा अनुशासन, मर्यादा, त्याग र मानवताको महिमाशाली गाथा भेटिन्छ। पूजनीय गुरुबाट प्रत्यक्ष/अप्रत्यक्षरूपमा ग्रहण गरेको भावगत् शिक्षाले नै विवेकशील, धैर्यशील र कर्मशील बन्ने आधा ऊर्जा प्राप्त हुन्छ। श्रध्दाको पुष्पार्पण गरेपछि चेलाहरुको कीर्ति तिनै पुष्पहरुको सोैरभझैं देश/विदेशमा फैलियोस् भन्ने चाहनाका साथ प्राध्यापन गराउनुहुने तत्कालीन गुरुहरु अमरकोश, हितोपदेश, लघुसिध्दान्त कौमुदी, चण्डी र वेद आदिका सिलोक, सूत्र र भावकण्ठ गराउनुहुन्थ्यो। आजभोलि त्यस्तो सत्प्रयासको अभाव खट्किएको छ।

पश्चिमा समाजमा पनि सर्वप्रथम गुरुकूलीय शिक्षा प्रणाली नै विकास भएको पाइन्छ। सुकरात, प्लेटो र अरस्तुका दार्शनिक छलफलले पाश्चात्य शिक्षण पध्दतिको प्रारम्भिक उन्नयनलाई दर्साउँछ। पश्चिमा राष्ट्रले प्रविधिको विकास गर्दै जाँदा प्रायोगिक र व्यावहारिक शिक्षालाई उचाइ दिने काम भयो। रोजगारमुखी शिक्षामा उनीहरु अब्बल रहे। पूर्वीय साहित्य र शिक्षामा अत्याधुनिक प्रविधिको खास अन्तरसमन्वय हुन नसक्दा यथास्थितिबाट एक–दुई कदमबाहेक माथि उठ्न नसकेको तीतो यथार्थ अहिले हामी भोग्दै छौं।

भानुभक्तीय रामायण, दुर्गाभक्ति तरङ्गिणी, कृष्णचरित्र र स्वस्थानीलाई मौलिक नेपाली चलचित्रको गुरु शृङ्खला बनाएर २०–२५ वर्षअघि नै राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न सकेको भए हाम्रो सिनेमा जगत्ले यतिबेला लाखौं किशोरकिशोरीलाई रोजगारी दिन सक्थ्यो। विदेशी कथा र निर्माताले प्राकृतिक सौन्दर्यको धनी देश नेपाललाई व्यस्त छायांकनस्थल बनाउँथे। शिक्षा र प्रविधिको व्यावहारिक अन्तर्घुलनले यस्ता अनेक माध्यमबाट मुलुकलाई आर्थिकरूपमा समृद्ध पार्छ। उल्लिखित पश्चातापलाई शैक्षिक क्षेत्रमा आबद्ध सम्पूर्ण व्यक्ति र निकायले हृदयदेखि नै गहन समीक्षा गरी हिजोआजका बाठा विद्यार्थीलाई विज्ञानसम्मत वस्तुनिष्ठ जीवनवादको शिक्षा दिन कन्जुस्याइँ नगरौं।

विदेशी संस्कृति, सभ्यता र उपजलाई प्राथमिकता दिने चलन बढिरहेको परिपे्रक्ष्यमा अन्य वर्गभन्दा शिक्षकहरु नै बढी सतर्क र सचेत रहनुपर्छ। मोबाइल, ल्यापटप, आइप्याड आदि श्रव्यदृश्य सञ्चारका यावत् साधनबाट के–कति फाइदा/बेफाइदा भइरहेका छन् भनेर मूलतः कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई व्यक्तिगतरूपमा सम्झाउनुपर्ने कुरामा शिक्षकले जोड दिनुपर्छ। आफूलाई नमुनाका रूपमा प्रस्तुत गर्न भद्र, विनयी र पारिवारिक सदस्यका रूपमा विद्यार्थीमाझ उत्रिनुपर्छ। स्नेहिलो शैक्षिक छहारी दिने कार्यमा मननशील र व्यवहारशील हुनु शिक्षकको प्रमुख दायित्व नै हो। अनुकरणीय र आदर्शवादी शिक्षण गराउनु शिक्षकको ध्येय हुनैपर्छ। अनुलेखन, भूलसुधार, बोधगम्य मौनवाचन, सुस्पष्ट सस्वरवाचन, सामूहिक छलफल, बुँदा टिपोटका कार्यमा निगमन गर्दै आगमनात्मकतालाई विशेष प्राथमिकता दिनुपर्छ। युगको परिवर्तित गतिसँगै स्तरीय शिक्षा प्रदान गरेर सबै शिक्षकले आ–आफ्ना विषयमा विद्यार्थीलाई पोख्त बनाई सामाजिक, क्षेत्रीय र जातीय सद्भाव कायम गर्ने किसिमले राष्ट्रिय उन्नतिको महल खडा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा उभ्याउनुपर्छ ।

शिक्षणविधि सहज, सरल र सरस हुनु नित्तान्त आवश्यक छ। औसत शिक्षार्थीले मनन गर्न, बु‰न र प्रयोग गर्न सक्ने शैक्षणिक पध्दति अपनाउनुपर्छ। लिखित, मौखिक, प्रायोगिक र प्रदर्शित आदि विधिबाट शिक्षण गराउने तरिकालाई प्रस्तुतिले अझै प्रभावकारी तुल्याउने हुँदा विचार र शरीरको गतिशील तादात्म्यता मिलाउन कञ्जुस्याइँ गर्नुहुँदैन। केही शिक्षार्थीको मनोविज्ञान बुझेर तदनुरूपको शैक्षणिक उपचार गर्नुपर्ने हुन्छ। अभिभावकत्वको संग्लो मायाले बाँधेर विद्यार्थीका सूक्ष्मातिसूक्ष्म भाव ग्रहण गर्न सकियो भने आफंैलाई शिक्षण गर्न साध्य हुन्छ। मप्रति गुरु–गुरुआमाको आत्मीयता प्रदर्शित भयो भन्ने आत्मानुभूति भएमा शिक्षार्थीले शिक्षण र शिक्षकलाई अन्तरमनदेखि रुचाउँछन्। त्यो रुचिपूर्ण व्यवहारले उनीहरुलाई शिक्षार्जनमा थाहै नपाई उन्मुख गराइरहेको हुन्छ।

शिक्षार्थी एकै स्वभाव र चरित्रका हुँदैनन्। तिनका भिन्न–भिन्न गुण, स्वभाव र प्रतिभागत क्षमताको मूल्यांकन गर्दैगर्दा अनुशासन र पढाइमा समतामूलक चरित्रको विकास गर्ने कार्यमा शिक्षक लाग्नुपर्छ। विद्यार्थीहरु सिर्जनशील र संस्कारयुक्त भएमा मात्र भविष्यमा दिगो विकासले स्थायी आकार ग्रहण गर्छ भन्ने कुरामा शिक्षक सचेष्ट रहनुपर्छ। शिक्षार्थीले पनि प्रतिस्पर्धी, व्यावहारिक र युगसापेक्ष भएर शिक्षकका शैक्षणिक कार्यकलापलाई स्वानुकूल बनाउने भरमग्दुर प्रयास गर्नु अपरिहार्य छ। नेपाली जनताका आधारभूत समस्या समाधान गर्ने समाजवादतर्फको प्रस्थानविन्दुलाई गन्तव्यमा पुर्‍याउने कार्य शिक्षक र शिक्षार्थीबाट नै सम्भव छ। अतः निजी, कम्पनी, संस्थागत, सामुदायिक, विद्याश्रम, मदरसा आदि जे/जति शिक्षालय छन्, ती सबैले शिक्षाको गुणस्तर वृध्दिमा यथोचित ध्यान दिइरहँदा सरकारले पनि आवश्यक नीति, वस्तु र मुद्राको सटिक इन्तिजाम गरी विश्व शैक्षिक रंगमञ्चमा नेपाली ज्ञान, विधि र रचनाको साख स्थापित गर्ने सोचलाई अविच्छिन्न कार्यरूप दिनुपर्छ।

मूर्खता, जडता, शस्त्र, द्वन्द्व र अँध्यारोबाट क्रमशः विद्वता, सजीवता, शास्त्र, मिलाप र उज्यालोतर्फ अभिमुख गराउने शिक्षाको सार्वजनीन सत्यलाई शिक्षकहरुले अध्यापनका क्रममा प्रतिपल मनन गर्नुपर्छ। शिक्षक उपलब्ध स्रोत र साधनको सफल प्रयोगका साथ सुनाइ, बोलाइ, पढाइ र लेखाइका चार आयाममा केन्द्रित रहनुपर्छ।

प्रकाशित: ९ श्रावण २०७३ ०५:३३ आइतबार

शिक्षक शिक्षण शिक्षार्थी