विचार

राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता

पुस १६ केवल विपी कोइराला प्रवासबाट नेपाल फर्किएको दिनका रूपमा मात्र सम्झना गर्ने दिन होइन। नेपालीले यो रूपमा मात्र बुझ्ने हो भने विपी कोइरालाको राजनीतिक दूरदर्शिता र राष्ट्रिय स्वतन्त्रताप्रति समर्पणको भावना र कृत्यप्रति अन्याय हुन्छ। यस दिनलाई सम्झनुपर्ने सान्दर्भिकता पनि रहँदैन। यो दिन विपी कोइराला ८ वर्ष लामो निर्वासन तथा प्रजातन्त्र  पुनर्स्थापना सशस्त्र क्रान्तिको विचारलाई त्यागेर पञ्चायतको कठोर जेल र सम्भावित मृत्युदण्डको सामना गर्न नेपाल आए। कतिपय मानिस विशेषतः नेपाली कांग्रेसकै नेताहरू कोठे गफमा भन्छन्-विपी भावनामा बगेर मृत्युवरण गर्न तयार भएर नेपाल आए। यसमा आंशिक सत्यता होला किनकि राष्ट्रियता पनि भावनात्मक विषय हो। तर यो पूर्ण सत्य होइन। विपीले तत्कालीन भूराजनीतिक घटनाको गहिरो अध्ययन गरेका थिए। आफू भारतमा निर्वासनमा बस्दा नेपालको राष्ट्रिय स्वतन्त्रता गुम्न सक्ने खतरा उत्पन्न भएको देखे। नेपालमा आउँदा मृत्युदण्ड दिइएमा पनि राजा सुरक्षित नरहने साथै नेपालको राजनीतिक अस्तित्व मेटिन सक्ने विश्लेषण गरेर नेपाल आएका थिए।

त्यस समयमा दक्षिण एसियामा राजनीतिक उथलपुथल थियो। पाकिस्तानी सेनाले आम निर्वाचनबाट बहुमत प्राप्त सेख मुजिबुर रहमानलाई सत्ता हस्तान्तरण नगरी गिरफ्तार गरेपछि २६ मार्च १९७१ मा पूर्वी पाकिस्तानले स्वतन्त्र बंगलादेशको घोषणा गर्‍यो। अगस्त १९७१ मा रुस र भारतका बीचमा शान्ति सन्धिको नाममा रणनीतिक साझेदारीको सन्धि भयो। बंगलादेश स्वतन्त्र भयो। सेख मुजिबुर रहमान प्रधानमन्त्री बने तर भारत सरकारको पपेट प्रधानमन्त्री बन्दै गए र १९७५ मा विरोधी राजनीतिक दललाई प्रतिबन्ध लगाउँदै मौलिक अधिकारमाथि बन्देज लगाए । अप्रिल १९७५ मा भारतीय सेनाले सिक्किम कब्जा गर्‍यो र कथित जनमतसंग्रहमार्फत भारतमा विलय भयो। १९७३ देखि अफगानिस्तानमा अस्थिरता हुनुका साथै शक्ति राष्ट्रहरूको छद्म युद्धको सुरुवात भयो। भियतनाम युद्धबाट बाहिरिन खोजेको अमेरिकाका राष्ट्रपति निक्सनको चीन भ्रमणपछि अमेरिका र चीनको सम्बन्धमा सुधार आउन थाल्यो र चीन–अमेरिका धुरी विकसित भयो। यी राजनीतिक घटनाक्रम विपी बनारसमा निर्वासनमा रहँदा ४–५ वर्षका बीचमा भएका थिए। यही समय जुन १९७५ मा महŒवाकांक्षी प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल घोषणा गरिन्।

यी सबै घटनाक्रम एसियामा भएका थिए। शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा गर्ने क्षेत्र दक्षिण एसिया बनेको थियो। राजनीतिक रूपले दक्षिण एसिया अस्थिर बनेको थियो। अफगानिस्तानमा प्रत्यक्ष हस्तक्षेप गर्न सोभियत रुसले जमिन तयार गर्दै थियो। यसलाई ठम्याउन विपी कोइराला जस्तो तीक्ष्ण दृष्टि, सम्यक बौद्धिकता र दूरदर्शिता भएको नेतालाई गाह्रो थिएन। राजाले फेब्रुअरी १९७५ मा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव गरेका थिए। नेपाल पनि सुगौली सन्धिपछिको इतिहासकै संकटापन्न अवस्थामा रहेको विपीले देखेका थिए।

वर्ग संघर्षको अपरिहार्य देखाउन मार्क्सलेले पूँजीवादले आफ्नो विनासको बीज आफै सिर्जना गर्छ भनेका छन्। माक्र्सको सिद्धान्तको सफलता असफलता आफ्नो ठाउँमा छ तर दमनकारी सत्ताले आफ्नो अवसानको बाटो आफै फराकिलो बनाउँदै लैजान्छ। कहिलेकाहीं स्थिति यस्तो बन्छ कि दमनकारी सत्ताले आफ्नो साथमा जाति, समुदाय तथा राष्ट्रलाई नै खतरापूर्ण अवस्थामा पुर्‍याइदिन्छ। पाकिस्तानको विभाजन पंजाबी सत्ताको दमनको परिणाम थियो। नेपाली राष्ट्रिय स्वतन्त्रताप्रतिको आसन्न संकट पनि पञ्चायतको दमनको परिणाम थियो। जसका नाइके राजा थिए। राजा राष्ट्रिय स्वतन्त्रतामा उपस्थित खतराप्रति सचेत त थिए तर त्यो खतरा समाप्त गर्नका लागि आवश्यक राष्ट्रिय एकताको अग्रसरता लिन तयार थिएनन्। राजामा रहेको सामन्ती अहंकार राष्ट्रिय एकताको पहल गर्न बाधक थियो।

विपीमा रत्तिभर अहंकार थिएन। उनी जनता पक्षको प्रतिनिधि पात्र थिए। आफ्नासामु उपस्थित चुनौतीप्रति विपी सचेत थिए। जनताका नेता भएकाले त्यसको जिम्मेवारी बोध पनि उनमा थियो। नेतृत्वले आवश्यक पर्दा जस्तो सुकै खतराको पनि साहसपूर्वक सामना गर्नुपर्छ भन्ने उदाहरण २००७ सालको क्रान्तिको दौरान र तत्पश्चात् पनि पटक पटक देखाएका थिए। त्यस समयमा दक्षिण एसियामा घटित घटनाहरूले फेरि एउटा ऐतिहासिक तथा जोखिमपूर्ण जिम्मेवारी उनीमाथि थपिदिएको थियो। यो जिम्मेवारी बोधका साथ उनी नेपाल आएको कुरा १६ पुस २०३३ मा देशवासीमा गरेको अपिलमा उल्लेख भएको छ। विदेशी मित्रहरूले उनलाई नेपाल फर्किंदा आइपर्ने खतराप्रति इंगित गर्दा उनले उनीहरूलाई भन्छन्, ‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नु पर्दछ।’ 

हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वका सामु नगण्य भन्ठानेर नै हामीले ऐतिहासिक निर्णय लिएका छौं ।’ नेपाल आउनासाथ पुनः विपी र गणेशमानलाई सुन्दरी जेलमा लगियो। १२ जनवरी १९७७ को जेल डायरीमा विपी नेपाललाई जहाजसँग तुलना गर्दै लेख्छन्, ‘हामीले विश्लेषण गरेको र सबैले देखेकै कुरा हो। यो जहाज डुब्दै छ। हामी यसलाई बचाउन कुदेर आएका हौं। यदि यो डुब्यो भने सुरक्षाका लागि हाम्रो भाग्ने ठाउँ हुने छैन। हामी यसैसँग डुब्ने छौं। यदि अर्को पक्ष हाम्रो विश्लेषण मान्दैन भने एउटा राज्य र राष्ट्रका रूपमा नेपाल नक्साबाट मेटिने छ र यो राष्ट्रिय लोपसँगै हामी देशभक्तहरू पनि बिलाएर जाने छौं।’

२०१७ साल पुस १ को शाही महत्त्वाकांक्षाले जन्माएको घटनाको परिणामस्वरूप यो राष्ट्रिय संकट उपस्थित भएको थियो। यो संकटबाट देशलाई जोगाउन विपी एउटा अधिनायकको पोल्टामा स्वयम्लाई सुम्पन नेपाल आउने निर्णय गरेका थिए। यो उनको स्वनिर्णय थियो। यसलाई गणेशमानजीले साथ दिए। विपीमाथि मृत्युदण्ड दिने विभिन्न अभियोग लगाइएका थिए तर गणेशमानको विश्लेषण थियो-उनलाई मृत्युदण्ड दिएर नेपालको संकट समाधान हुँदैन।

संकट थप जटिल बन्नेछ र नेपाल राष्ट्रिय लोपतर्फ जान्छ। जुन शक्तिले विपी निर्वासनमा बस्दा नेपालको अस्तित्व समाप्त गर्न तयारी गर्दै थियो र नेपाल फर्केपछि विपीलाई मृत्युदण्ड दिलाउन दबाब दिँदै थियो, मृत्युदण्डपश्चात् त्यही शक्तिले त्यसको उपयोग गर्दै नेपालको स्वतन्त्रता हरण गर्ने अवश्यंभावी थियो। राजासँग केबल दुई विकल्प थिए-विपीलाई मृत्युदण्ड दिई देश समाप्त पार्ने वा जनतासँग मेलमिलाप गर्ने। अन्ततः जनमत संग्रहको घोषणामार्फत राजाले मेलमिलापको विपीको प्रस्ताव स्वीकार गरे। यद्यपि अन्तर्राष्ट्रिय परिस्थिति बदलिँदै जाँदा राजाले पछि कपट गरे। विपीले चाहेजस्तो मेलमिलापको बाटोमा नहिँडी फरक बाटो हिँड्न लागे। देश त जोगियो तर राजाले गरेको कपटको परिणाम राजतन्त्र समाप्त भयो।

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो। नेपाली कांग्रेसले यो दिनलाई सम्झना गर्न छाडिसकेको छ। नेपाली कांग्रेसले सम्झना नगर्दैमा के यो दिनको महत्त्व कम हुन्छ? यदि कम हुन्छ भने राष्ट्रियता र राष्ट्रिय एकताको आजको राजनीतिक परिवेशमा कुनै अर्थ छैन भनेर मान्नुपर्ने हुन्छ। देशप्रेम र देशभक्ति कोरा आदर्श मात्र हुन्। यथार्थवादी राजनीतिमा तिनको कुनै स्थान छैन भनी स्वीकार्नुपर्ने हुन्छ। यो स्वीकार गर्न सकिँदैन। लोकतन्त्र स्थापित भएको छ। राष्ट्रिय परिवेश फरक छ। अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको छ, तर नेपालका समस्या यथावत् छन्।

अहिले राष्ट्रिय स्वतन्त्रतामाथि प्रत्यक्ष खतरा उपस्थित छैन तर नेपालको निर्णय क्षमतामा प्रभाव पार्ने अनेक घटना निरन्तर भइरहेका छन्। हामी नेपाल बलियो भएको देख्न चाहन्छौं। आम नेपाली बलियो नभईकन नेपाल बलियो हुनै सक्दैन। आर्थिक रूपमा नेपालीको ठूलो हिस्सा विपन्नावस्थामा छ। नेपाली नागरिकलाई विपन्न राखेर नेपाल बलियो बन्दैन। नेपालको आर्थिक, सांस्कृतिक, राजनीतिक विकास नेपालीले नै स्वतन्त्र निर्णय गर्ने क्षमता वृद्धि नगरीकन सम्भव नै छैन। नेपाल युरोपको बीचमा छैन, जहाँ सहयोग र सहउन्नतिको संस्कार छ। युक्रेन युद्ध समाप्तिपछि स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको पुनर्निर्माण र विकासका लागि पाँच वर्षभन्दा बढी लाग्ने छैन। हाम्रो छिमेक त्यस्तो छैन। हाम्रो विकासका लागि हामी नेपालीबीच राष्ट्रका प्रमुख र ज्वलन्त समस्याहरूमा राष्ट्रिय एकताको भावनासहित मेलमिलाप गर्नु अपरिहार्य छ।

नेपालसँग विकासका लागि आवश्यक पर्ने प्राकृतिक स्रोतको अभाव छैन। स्रोतमा प्रचुरता छ। विद्युतीय ऊर्जा, सिँचाइका लागि जल, खाद्यान्नका लागि उर्वर भूमि, फलफूल, जडीबुटी, मसलालगायत जल, जंगल, जमिन अनेक क्षेत्रमा आफ्नो आवश्यकता पूर्ति गरी निर्यात गर्न सक्ने स्रोतबाट प्रकृतिले नेपाललाई धनी बनाएको छ। तर हामी नेपालीले वर्षमा १६ खर्ब बढीको आयात गर्दा निर्यात दुई खर्ब पनि पुग्दैन।

नेपालका राजनीतिक पार्टीहरू सत्ताबाहेक केही देख्दैनन्। सत्ताका लागि जोसँग जस्तो सुकै सम्झौता गर्न हच्कँदैनन्। भर्खरैको आम निर्वाचनमा प्रतिगमनविरुद्ध भनी गठबन्धन गरी चुनाव लडेको गठबन्धनका घटक प्रधानमन्त्री पदका लागि आफै प्रतिगमनकारी भनेकासँग नै गठबन्धन गर्न प्रतिस्पर्धा गरे। विगतमा अरूण तेस्रो निर्माणमा सत्ता प्राप्तिका लागि विदेशीको बुई चढी आयोजना नै तुहाइ दिए। एमसिसीमा राजनीति गरे, गर्दै छन्। बुढी गण्डकीमा गरिएको राजनीतिले अहिलेसम्म आयोजना अघि बढ्न सकेको छैन। नागरिकताजस्तो संवेदनशील विषयमा राजनीति गरिरहेकै छन्। सीमा समस्यामा जुटेको राष्ट्रिय सहमतिलाई पनि विदेशीसँग मोलमोलाइ गर्ने हतियार बनाए। नेपालका राजनीतिक दलले सत्ताका लागि हतियार नबनाएको कुनै क्षेत्र बाँकी छैन।

विपीले सत्तामा रहँदा वा नरहँदा पनि विदेश नीतिलाई कहिल्यै सत्ता राजनीतिसँग जोडेनन्। उनले नेपालको समस्या नेपाली आफैले समाधान गर्नुपर्छ, वैदेशिक हस्तक्षेप निम्त्याउनु हुँदैन भने। देशभित्रका राष्ट्रिय शक्तिहरूमा आपसी विश्वास र मेलमिलाप हुनुपर्छ भने। २०१७ साल पुस १ गतेको घटनाको बिपीलाई पूर्वाभास थियो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदा अमेरिकी राष्ट्रपति आइजन हावरले त्यसको संकेत गरेका थिए। उनले त्यो घटनामा वैदेशिक सहयोग चाहेको भए रोकिन सक्थ्यो तर उनले चाहेनन्।

राजा महेन्द्रलाई नै कन्भिन्स गर्ने प्रयत्न गरे। निर्वासनमा रहँदा भारतीयहरूले तपाईं स्वीकृति दिनुहोस् हामी नेपालमा जनतन्त्र स्थापना गरी तपाईंलाई प्रधानमन्त्री बनाउँछौं भनेका थिए। विपीले म नेपालको प्रधानमन्त्री बन्ने हो, भारतको होइन भनी अस्वीकार गरे। अहिले निर्वाचनको परिणाम नआउँदै नेपालका प्रधानमन्त्रीको आवासमा विदेशी राजदूतले मन्त्रणा गर्छन्। मन्त्रणाको विषय जनताको जानकारीमा आउँदैन। सरकार निर्माणको मुखमा प्रमुख राजनीतिक दलका नेताका निवासमा उत्तर, दक्षिण, पश्चिमका राजदूतहरूको गोप्य भेटघाट तीव्र हुन्छ। यो नेपाली नेताहरूले अवान्छित वैदेशिक चासोलाई अभिपोषण गरेको परिणाम हो। नेपालीलाई यो व्यवहार सामान्य जस्तै लाग्न थाल्यो। छिमेकी राष्ट्रका जासुसी अंगका प्रमुख प्रधानमन्त्रीसँग मध्य रातमा भेट्छन् र सौदाबाजी गर्छन्। नेपालका लागि योभन्दा लाजमर्दो विषय अरू के होला? नेपालका नेता स्वयम् स्खलित छन् नै नेपालको स्वाभिमान र इज्जतलाई पनि स्खलन गराएका छन्।

पुस १६ को सान्दर्भिकता झन् बढेर गएको छ। जनताको प्रतिनिधित्व गर्दै राजा र जनता मिल्नुपर्छ भन्दा आठ वर्ष जेलमा बन्द गर्ने, तत्पश्चात् निर्वासनमा जान बाध्य पार्ने राजासँग पनि पूर्वाग्रह तथा प्रतिशोध नराखी राष्ट्रिय स्वतन्त्रताको रक्षाका लागि मेलमिलाप गर्न चाहने विपी हामीसँग छैनन्। म जनताभन्दा अलग तत्त्व हुँ, जनता र मेरा बीचमा समानता हुन सक्दैन भन्ने अहंकारी राजतन्त्र पनि हाम्राबीच छैन।

राजतन्त्र हट्दा पनि हाम्रा समस्या समाधानोन्मुख छैनन्। राष्ट्रिय स्वार्थलाई राजनीतिको विषय बनाउँदासम्म समस्या समाधान हुने छैन। नेपालले विपीजस्तो राजनेताको अहिले अपेक्षा गर्नु अस्वाभाविक हुन्छ तर विपीका अनुयायी हुँ भन्नेहरूले आजको दिनको महत्त्व बुझेर स्वयम्लाइ सुधार गर्ने हो भने थोरै भए पनि प्रायश्चित गरेको मानिने छ। भाद्र २४ गते विपीले भौतिक रूपमा धरामा पदार्पण गरेको दिन हो। पौष १६ गते विपीले राष्ट्रका लागि गरेको समर्पणको पराकाष्ठाको सीमाभन्दा पनि टाढा पुगी जीवित अवस्थामा नै अमरत्व प्राप्त गरेको दिन हो। विपीको बलिदानी भावना नेपाली मनभित्र अमर रहोस्।

प्रकाशित: १६ पुस २०७९ ००:४५ शनिबार

हाम्रा समस्या समाधानोन्मुख छैनन् राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता