विचार

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

रामनारायण देव
भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए ।    अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए । तर सन् १९१९ को पञ्जाबको जलियावाला बागको विद्रोहले भारतीय स्वतन्त्रता आन्दोलनमा ठूलो महत्व राख्छ । अन्त्यमा सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनले निर्णायक भूमिका खेल्यो । भारतीय राष्ट्रिय कंग्रेसको सन् १९४२ को ८ अगस्तका दिन बम्बईमा भएको महाधिवेशनमा महात्मा गान्धीद्वारा अंग्रेज तुरुन्त भारत छोड भनी संकल्प प्रस्ताव पारित गरियो । त्यसपछि सम्पूर्ण भारतमा अंग्रेजविरुद्ध कडा आन्दोलन थालियो । भारतीय नेताहरू डा. राजेन्द्र प्रसाद, पं. जवाहरलाल नेहरु, जय प्रकाशनारायण, डा. राममोहन लोहिया जस्ता हजारौं गिरफ्तार भए । त्यही सिलसिलामा हजारीबाग जेलमा डा. राजेन्द्र प्रसादसँगै विपी कोइराला पनि थुनिए । अन्य जेलमा मातृकाप्रसाद कोइराला मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र जस्ता कैयौं नेपाली थिए । यसै क्रममा हजारीबाग जेल तोडेर जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह भागे । उनीहरू सुरुमा भारतका विभिन्न सहरमा भूमिगतरूपमा बस्दै आन्दोलन हाँक्न थाले । भारत बस्दा अंग्रेज शासकबाट पक्राउ पर्ने डर थियो । नेपाल सुरक्षित र आन्दोलन सञ्चालन गर्न अनुकूल स्थल हुनसक्छ भन्दै क्रान्तिकारी सुरजनारायण सिंह भूमिगत रुपमा नेपालको सप्तरी जिल्लामा आएर वातावरण बनाउन थाले । सप्तरीको सीमावर्ती नियोर गाउँका क्रान्तिकारी नेता अवध सिंहलाई साथ लिएर उनी पहिलो पल्ट सप्तरी जिल्लाको कोइलाडी वरसाइनस्थित रामेश्वर सिंहको घरमा आइपुगे । रामेश्वर बाबु भारतमा अध्ययनरत रहँदा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भई चेतना हासिल गरिसकेका थिए ।
    भारतका विभिन्न प्रान्तबाट भारत छोडो आन्दोलनका नेता शरण लिइरहेका थिए । तीमध्ये केन्द्रीय नेताहरू जयप्रकाशनारायण, डा. राममनोहर लोहिया, विया पटवद्र्धन, डा. वैद्यनाथ झा थिए । अरु आन्दोलनकारी कोइलाडी, विसहरिया, सकरपुरा, सखडा, वरसाइन बन्दरझुला गाउँमा भूमिगत रुपमा स्थानीय व्यक्तिका घरमा बसिरहेका थिए । सप्तरीको बरसाइनस्थित रामेश्वर बाबुको घरमा ठूला नेताको बढ्दो संख्याले मात्र राणाशासकले थाहा पाउँछन् कि भन्ने शंका थियो । त्यसैले आन्दोलनकारीलाई भूमिगत रुपमा विभिन्न ठाउँ छरेर बसाउने योजना बनाइयो । योजनाअनुसार रामेश्वर बाबुले आफ्नो जमिनदारी कामत भएका ठाउँ कोसीपारि कुशहा बक्रोटप्पुमा बस्ने व्यवस्था मिलाए ।
    सप्तरीमा भूमिगत गुरिल्ला युद्धका लागि प्रशिक्षण दिने ठाउँको खोजी गर्न थालियो । यसका लागि निर्जन र शान्तिपूर्ण स्थानको आवश्यकता थियो । कोसी किनारभन्दा सप्तरीको पश्चिमी इलाका कुशाहादेखि उत्तर चुरेपहाडको खोँचमा रहेको सुरुङ्गा जंगललाई प्रशिक्षण शिविर सञ्चालन गर्ने उपयुक्त थलो ठानियो । प्रशिक्षण निम्ति १८ जना जवान छानिए । कमान्डर आजाद हिन्द फौजबाट आएका सरदार नित्यानन्द सिंहलाई नियुक्त गरियो ।
    भूमिगतरूपमा भारतीय आन्दोलनकारीलाई महिनौंदेखि सप्तरीबासीले लुकाएर राखेका थिए । केही दिनपछि अंग्रेज सरकारको दबाबमा राणा सरकारले भूमिगत आन्दोलनकारीलाई सुराकीद्वारा पत्ता लगाई पक्राउ गरियो । यो खबर पूरै सप्तरी जिल्लामा आगोझैँ फैलियो । यो कुराको खबर हनुमाननगरका स्थानीय व्यक्ति बुनीलाल पाण्डेले बरसाइनमा गएर रामेश्वर बाबुलाई सुनाए । खबर पाउनेबित्तिकै उहाँले सप्तरीको पश्चिमी इलाकाको कुशाहा नजिकको सुरुगा जंगलमा कार्यरत आजाद दस्ताका जवानलाई सूचना पठाए । त्यहाँबाट आजाद दस्ताका जवानहरू राति–राति बरसाइनस्थित रामेश्वर बाबुको घरमा आइपुगे ।
    त्यहाँ हनुमाननगर जेलमा राणाशासकद्वारा बन्दी बनाइएका भारतीय नेतालाई कसरी निकाल्ने विषयमा व्यापक छलफल भयो । त्यसपछि रामेश्वर बाबुले आफ्नो भतिजा तारिणीप्रसाद सिंहको नेतृत्वमा सरदार नित्यानन्द सिंह, सुरजनारायण सिंह, अबधसिंह, गुलाबी सोनार लगायतका क्रान्तिकारीहरूसँगै सप्तरीका युवाले रातारात हनुमाननगर गोश्वारामाथि आक्रमण गर्न आइपुगे । हनुमाननगर गोश्वारा र कारागारमाथि अन्धाधुन्ध गोली फायरिङ भयो । गोश्वारामा रहेको टेलिफोन तार काटियो । बडाहाकिम निवासको सञ्चार सम्पर्क विच्छेद गरियो । ड्युटीमा रहेका सेन्ट्री प्रहरी जर्नादन झाको घटनास्थलमै गोलीबाट मृत्यु भयो । क्रान्तिकारी चारैतिरबाट घेरा हाली फायरिङ गर्न थाले । बडाहाकिमको निवासको बलिरहेको लालटेनमाथि फाइरिङ गरी टुक्राटुक्रा पारियो ।
    बडाहाकिम आत्तिएर लुके । उनको सुरक्षार्थ खटिएका प्रहरी जवान ज्यान जोगाउन भागे । क्रान्तिकारीले कारागारको ढोका फोरी भारतीय नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहियालाई मुक्त गर्दै जय नेपालको गगनभेदी नारा लगाए । तिनीहरूलाई सप्तरीबासीले रातारात कोसी नदीमा नाउबाट भारततिर पठाए ।
    यसरी सप्तरीबासीले भारतीय नेतालाई सकुशल उद्धार गरी ज्यानको रक्षा गरे । राणा शासकविरुद्ध पहिलो पल्ट सप्तरीको हनुमाननगरमा गोली चलेको थियो । हनुमाननगर गोश्वारामाथि आक्रमण गरेको अभियोगमा एक सय २७ जनालाई गिरफ्तार गरी मुद्दा चलाइयो । गिरफ्तारमध्ये अधिकांशलाई राजविराज जेल र २२ जनालाई काठमाडौं केन्द्रीय कारागार चलान गरियो । केन्द्रीय करागार पर्नेमा रामेश्वरप्रसाद सिंह, तारिणीप्रसाद सिंह, रामजी सिंह, कमानन्द मिश्र, शत्रुघ्नप्रसाद सिंह, विन्देश्वरी सिंह, रामदत्त कोइराला, वैद्यनाथ उपाध्याय, आनन्दीप्रसाद सिंह, चन्दप्रसाद सिंह, देवनारायण सिंह, समरबहादुर प्रजापति, विष्णुध्वज श्रेष्ठ, सेवक माझी र कृष्णवीर कामी थिए । तीमध्ये तारिणीप्रसाद सिंह र कृष्णवीर कामीको केन्द्रीय कारागारमै मृत्यु भयो । यसरी दुई जना भारतीय स्वतन्त्रता आन्दोलनका लागि सहिद भए ।
भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीका वीर सपुतले आफ्नो ज्यानको बाजी लगाएर शहादत दिए । हनुमाननगर जेल तोडी वि.सं. २००० साल जेठ ९ गते भारतीय नेतालाई निकालिएको थियो । सप्तरी जिल्लामा हरेक वर्ष त्यो दिनको सम्झना गरिन्छ तर स्वतन्त्र भारत सरकारले यति वर्ष बित्दा पनि ती नेपाली सेनानीको उचित सम्मान गरेको छैन ।

 

प्रकाशित: ५ असार २०७३ ०७:२६ आइतबार

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी