विचार

उत्साहहीन निर्वाचनका सन्देश

निर्वाचनपूर्व मतदातामा उत्साह देखिएको थिएन। परिणामले पनि मतदाता निरुत्साहित भएको प्रमाणित गर्‍यो। अघिल्लो पटक २०७४ मा ६८ प्रतिशत मतदान भएकामा यो पटक ६१ मा खुम्चियो। बहुदलकालमा २०५१ को निर्वाचनलाई छाडेर यो नै कम मतदान हो। स्थापित पुराना दलप्रति अविश्वास तथा भरपर्दो विकल्प अभावमा मतदातामा आशा जाग्न सकेन। अब निर्वाचन परिणाम अन्तिम चरणमा छ। पहिलो र दोस्रो स्थान नेपाली कांग्रेस र एमालेले लिने निश्चित भएको छ। यो परिणाम हेर्दा यथास्थिति जस्तै लाग्छ। तर यो पटकको निर्वाचनमा मतदाताले केही महत्त्वपूर्ण सन्देश दिएका छन्। यो सन्देशलाई सम्बन्धित दलले गम्भीरताका साथ ग्रहण गरे भने भविष्य आशालाग्दो हुन सक्छ।

नेकाको गतिहीनतालाई थप्पड

लोकप्रिय मतका आधारमा हेर्दा अहिलेसम्मका आम निर्वाचनमध्ये यो नै कांग्रेसको कमजोर प्रदर्शन हो। २०५१ सालको आमनिर्वाचनमा कांग्रेस पार्टीभित्रको अत्यधिक आन्तरिक तिक्तताका बाबजुद पनि ३४.४७ प्रतिशत लोकप्रिय मतका आधारमा पहिलो दल थियो। यद्यपि सिट संख्यामा एमाले भन्दा पाँच सिट कम थियो। अहिले २६ प्रतिशत लोकप्रिय मत प्राप्त गर्न पनि कठिन देखिन्छ जबकि एमालेले २७ प्रतिशत मत प्राप्त गर्दैछ। पाँचदलीय गठबन्धन गर्दा पनि कांग्रेसको प्रत्यक्षतर्फ सिट संख्या एमाले भन्दा केही बढी हाराहारीकै तहमा छ। समानुपातिकमा एमालेभन्दा २–३ सिट कम प्राप्त गर्दैछ। कांग्रेसका लागि यो भन्दा लज्जाजनक अवस्था अरू के हुन सक्ला? कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कंग्रेस जस्तै हालतमा पुग्ने थियो। मानिसले आफ्नो अनुहार हेर्न ऐना हेर्नुपर्छ। नेता तथा राजनीतिक पार्टीका ऐना जनता हुन। जनताले कांग्रेसलाई ऐना देखाइदिएका छन्। कांग्रेस नेतृत्वको गतिहीनता, भ्रष्टाचारीप्रति सहिष्णुता, जनआवाज तथा सुशासनप्रति बेवास्ताको परिणाम अहिलेको निर्वाचनले देखाइदिएको छ। कांग्रेसलाई एकपटक सुध्रने अवसर पनि मतदाताले दिएका हुन। बुझ्नेलाई इशारा काफी छ भने जस्तै यो मतदाताले कांग्रेसलाई दिएका मीठो सन्देश हो।

एमाले अहंकार अस्वीकार

ओली नेतृत्वको एमाले प्रचण्डलाई अस्थिरताको कारक मान्छ तर विगत पाँच वर्षको राजनीतिक दृष्य हेर्ने हो भने अस्थिरताका कारक ओली हुन्। आफैँ अध्यक्ष र प्रधानमन्त्री हुँदा दुई तिहाइको बहुमत जोगाउन नसक्नु, भर्खर एकता गरी निर्माण भएको पार्टीलाई छिन्नभिन्न पारी तीन दल बनाउन बाध्य पार्नु, आफ्नो अहंकारका लागि संविधानका व्यवस्था विपरित दुईपटक संसद् भंग गर्ने जस्ता जघन्य राजनीतिक अपराध गर्दा पनि जनताले अपेक्षाकृत दण्ड नदिइ सावधान मात्र गराए। तर उनका कोर टिमका दुईजनाबाहेक अरूलाई पराजित गरेर मतदाताले राम्रै सवक सिकाएका छन्। ओलीको अहंकारमा सब भन्दा ठूलो चोट माधव नेपालसहित एकीकृत समाजवादीका दसजना निर्वाचित हुँदा लागेको हुनुपर्छ। ओलीसँग बस्न नसकी अलग भएकालाई जनताले राजनीतिक स्वीकृति दिएका छन्। निर्वाचनमा अरू मुद्दा नभएपछि ओलीले चुच्चे नक्सा र दक्षिणपन्थी राष्ट्रवादको चर्को नारा दिएका थिए। ओलीलाई खुम्चाउनु भनेको लोकतन्त्र भर्सेस राष्ट्रवाद हुन सक्दैन भन्ने हो। अहंकार त्याग, लोकतन्त्रको सम्मान गर, राष्ट्रियतालाई पार्टी राजनीतिको हतियार नबनाऊ भन्ने सन्देश पनि हो।

अवसर खोज्ने संगठन नबनाउने प्रचण्ड

प्रचण्डमा गतिशीलता छ, चतुर छन्, समयको पदचाप बुझ्छन्, संघर्ष तथा सम्झौता गर्न पनि जान्दछन्। तर लोकतान्त्रिक व्यवस्थामा संगठन विस्तारको प्रयत्न गरेको देखिएन। हिंसात्मक संघर्ष गर्दा उनको नेतृत्वमा माओवादीको विस्तार भयो। तर लोकतान्त्रिक संसदीय राजनीतिमा हिंसात्मक कालखण्डको स्कुलिङले काम गर्दैन। आफ्नो पार्टीको जनाधार विस्तार नगरी केबल राजनीतिक गोटी चालले मात्र सधैँ काम गर्दैन। प्रचण्डलाई व्यक्तिगत अर्थोपार्जनको दोष लगाउनु उचित नहोला तर सुशासनमा कमजोर रहेको प्रभाकर काण्डले देखायो। यस मानेमा उनी पनि ओली भन्दा पृथक देखिन सकेनन्। गठबन्धनले मात्र हुँदैन, स्वच्छ छवि र लोकप्रिय संगठन आवश्यक छ भन्ने सन्देश प्रचण्डले पक्कै बुझेको हुनुपर्छ।

रवीन्द्र मिश्रको कुतर्क

बिबिसीको पत्रकारिता तथा २०७४ सालमा वैकल्पिक राजनीतिको नाराले लोकप्रिय बनेका रवीन्द्र उच्च  महत्त्वाकांक्षा र अस्थिर मनोगत चिन्तनका कारण ‘विचारभन्दा माथि देश’ भन्ने कुतर्क गर्दै यो निर्वाचनमा होमिए। यो २०१७ सालका राजा महेन्द्रको राजनीतिक पार्टीहरूलाई अराष्ट्रिय बनाउने नारा थियो जुन असफल भैसकेको थियो। देश न विचार भन्दा माथि हुन्छ न त तल। देश भन्ने अवधारणा मानिसको विचार उत्पादन हो। विचारको सार्वभौमिकता अनन्त हुन्छ तर देश निश्चित सीमाभित्र बाँधिएको हुन्छ। विचारले नै देश जन्माउँछ, विस्तार गर्छ, कहिलेकाहीँ खण्डित पनि गर्छ। विचार नभएको कुनै देश हुँदैन। देश माटो ढुंगा मात्र होइन। देशका लागि मानिस होइन, मानिसका लागि देश हो। देशको प्रमुख तत्त्व मानिस हो। विचारबिहीन मानिस पाषाण हो। पत्रकारितामा ख्याति कमाएका तर सांगठनिक कौशल, वैचारिक सुस्पष्टता र कार्ययोजना नभएका कारण कहिले साझा पार्टी खोल्ने, विवेकशीलसँग गाँसिने, अट्न नसकेपछि अलग भै राजावादी पूर्वपञ्च पार्टीमा हुत्तिन पुगे। अबको केही समयपछि रवि लामिछानेको घण्टी बजाउन पुगे भने आश्चर्य मान्नुपर्ने छैन। रवीन्द्र मिश्रमा देश बनाउने हुटहुटी छ होला, उनको नियत पनि असल नै होला तर उनमा धैर्य, संयम र कार्ययोजना देखिएन। आफ्नो कुनै स्पष्ट विचार नभएपछि विचार भन्दा माथि देश भन्न पुगे। यो व्यक्ति रवीन्द्र मिश्र भन्दा पनि विचार शून्यतालाई पोषण गर्ने पश्चगामी विचारको पोषणकर्ता बन्न पुगेका रवीन्द्र मिश्रको असफलता र जनताको अस्वीकार्यता हो।

ढ्यांग्रो बन्यो घण्टी

गम्भीर बहस र चिन्तन भन्दा हल्का र सतही टिप्पणीमा रम्न रुचाउने सहरिया मध्यम वर्गको प्रिय पात्र बन्न पुगेका रवि लामिछानेको रास्वपाले पहिलो प्रयासमा नै स्थापित पार्टीहरूको मुटुमा ढ्यांग्रो ठोकिदिएको छ। छ महिना पहिला मात्र दर्ता गराएको असंगठित रास्वापा ले दश प्रतिशत बढी मत प्राप्त गर्न सक्ला भन्ने कसैको अनुमान थिएन। यो पार्टीको न कुनै प्रष्ट राजनीतिक विचार थियो न त देश निर्माणको स्पष्ट कार्ययोजना र खाका नै। यथार्थमा यो पार्टी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नाम भन्दा रवि लामिछानेको घन्टी भनेर जनताले चिनेका थिए। टेलिभिजनमार्फत अन्यायमा परेका, पारिएका केही पीडित मानिसका समस्या प्रस्तुत गर्नु र पीडित र पीडकसँग प्रत्यक्ष सम्वाद गराउनु उनको लोकप्रियताको आधार थियो। रविको पत्रकारिता मानिसलाई सोच्न विश्लेषण गर्न गम्भीर बनाउने विचारोत्तेजक भन्दा पनि आमसर्वसाधारणले बुझेको र मनमा गाँजिएर बसेको सरकारको कुशासनप्रति ठाडो आक्रमणको झर्रो प्रस्तुति थियो। स्थापित ठूला पार्टी विशेष गरेर नेपाली कांग्रेसप्रति निरास भएको जनमत रास्वपातर्फ आकर्षित भएको निर्वाचनको तत्काल पूर्वदृष्टिगोचर भएको थियो। रास्वपाको मत यो पार्टीले आफ्नै संगठनको बलमा, विचारको आधारमा, कुनै रचनात्मक कामको आधारमा भन्दा पनि ठूला पार्टीप्रति जनताको विद्रोहका रूपमा स्वतस्फूर्त प्राप्त भएको असंगठित मत हो।

रविलाई आफ्नो पार्टीले दस प्रतिशत बढी जनमत प्राप्त गर्छ भन्ने आंकलन थियो वा थिएन, त्यो बेग्लै र अहिले अर्थहीन कुरा हो। रास्वपाले संसद्मा चौथो स्थान प्राप्त गरिसकेको छ। रास्वपाकै लागि यो ठूलो चुनौती हो। संसद्मा रास्वपाले भ्रष्टाचार, अकर्मण्यतालगायतका कुशासनविरुद्ध जबर्जस्त आवाज उठाउने निश्चित छ तर यो सार्वजनिक खपतका लागि मात्र गर्छ कि परिणाममूलक हुन्छ, यो परीक्षणमा नै छ। रास्वपाले चाहेमा उच्च ओहोदाका नेता तथा प्रशासकका नीतिगत भ्रष्टाचार र अहिले नेपथ्यमा प्रशस्त आवाज निस्किएका तर वास्तविक अनुसन्धानको दायरामा नआएका केही ठूला भ्रष्टाचारका मुद्दाको छानबिन गर्न बाध्य पार्न सक्ने संसदीय शक्ति उसले प्राप्त गरिसकेको छ। यस्तो गर्न सक्यो भने रास्वपाले सडकबाट पनि सहयोग प्राप्त गर्नेछ, रास्वपाप्रति जनविश्वास बढ्नेछ। रास्वपा मन्त्रिमण्डलमा सामेल भै वा नभै सत्ताको साझेदारी गर्न रुचाउँछ या जनताका अपेक्षा पूरा गर्न क्रियाशील हुन्छ, आगामी दिनमा देखिने नै छ। यसका साथै अहिले प्राप्त असंगठित मतलाई वैचारिकी प्रदान गरी देशको राजनीति र शासनतन्त्रमा सकारात्मक हस्तक्षेप गर्न योग्य पार्टी बन्ने चुनौती तथा अवसर रास्वपाका लागी खुला छ।

निर्वाचनको सन्देश

निर्वाचनमार्फत जनताले केही महत्त्वपूर्ण सन्देश प्रवाहित गरेका छन्। पहिलो सन्देश हो, जनता अब कुनै पनी राजनीतिक दलका झोले मात्र बन्न तयार छैनन्। उनीहरूले कार्य सम्पादन हेरेर मूल्यांकन गर्न सुरु गरेका छन्। निर्वाचनपूर्व पार्टीहरूले मेरा पक्षमा यति संख्याका मतदाता छन् भनी विगत निर्वाचनमा प्राप्त मतलाई आफ्नो पेवा सम्झेका थिए। त्यसै आधारमा सिट पनि बाँडफाँट भयो। तर परिणाम त्यस्तो आएन। कतिपय स्थानमा मतदाताले पार्टी मात्र नहेरी उम्मेदवारको पनि मूल्यांकन गरे। अहिले मतदाताको बिनापूर्वाग्रह मत परिवर्तनको आकार त्यति ठूलो नभए तापनि, भविष्यका लागि शुभ संकेत हो। पार्टीका नाउँमा मतदातालाई विवश बनाउने मठाधीशहरूको व्यापार अब निश्चय नै खस्कनेछ। दोस्रो सन्देश हो–साम्यवाद र समाजवादका अनेक सूत्र र निरस व्याख्याको शब्दजाल प्रयोग गरी जनतालाई भ्रमित तुल्याउने र ‘सबै समान हुन, केही बढी समान हुन’ भन्ने कम्युनिस्टहरूको वास्तविकता जनताले बुझ्दैछन्। २०७४ मा करिब ४९ प्रतिशत रहेको समग्र कम्युनिस्ट जनमत अहिले ४२ प्रतिशतमा झर्नु पनि कम्युनिस्ट मतदातामा आएको नवचेतनाको द्योतक हो। अब साम्यवाद र समाजवादका पुराना, असफल भइसकेका लफ्फाजीको प्रयोगले हुँदैन, लोकतान्त्रिक आचरण र परिणाममूलक काम गर्नुपर्छ भन्ने दबाब कम्युनिस्ट नेतृत्वलाई पर्नेछ। यो पनि देश तथा लोकतन्त्रका लागि शुभ संकेत हो। तेस्रो लोकतन्त्रको एक्लो पहरेदार म मात्र हुँ र लोकतान्त्रिक मत अन्यत्र सर्दैन भन्ने कांग्रेसको अहंकारमा यो निर्वाचनले डण्डा चलाइदिएको छ।  

बहुदलकालका सबै आमनिर्वाचनमा ३४ प्रतिशत भन्दा माथि रहेको कांग्रेसको जनमत पहिलोपटक २६ प्रतिशत भन्दा पनि तल झरेको छ। त्यो पनि कम्युनिस्टतर्फ नसरिकन। आठ दशक पूरा गर्नतर्फ अग्रसर कांग्रेसका केही नेतालाई त यसको चिन्ता नहोला तर त्योभन्दा तलका, आफूलाई नयाँ पुस्ता भन्न रुचाउने, जो केन्द्रीय समितिमा बहुसंख्यामा छन्, नेताहरूलाई यो देवालयमा बज्ने घण्टी नभएर निकट भविष्यको खतराका लागि सचेत गराउने साइरन हो। अबको नयाँ पुस्ताको मतदाता कांग्रेस कहिले सुध्रेला भनेर पर्खेर बस्दैन, उसले विकल्प खोज्छ र विकल्प दिने क्षमता राख्छ भन्ने सन्देश पनि हो। चौथो अनि अन्तिम सन्देश स्थापित ठूला दलहरू सच्चिन तयार होऊ भन्ने पनि हो। विकल्पमा राम्रै मत दिए पनि करिब ७० प्रतिशत मतदाताले स्थापित दललाई नै मत दिएका छन्। यसले के बुझिन्छ भने स्थापित दलप्रति निरास हुँदाहुँदै पनि एकपटकलाई सच्चिने मौका दिएका छन्। दलहरू सुध्रिएमा,आफ्नो कार्यशैलीमा परिवर्तन ल्याइ जनताको अपेक्षा सम्बोधन गर्न लागेमा दलहरूका लागि यो राम्रो अवसर हो। अन्यथा यो अन्तिम चेतावनी हुन सक्छ। सच्चिने कि सक्किने भन्ने आफ्नै हातमा छ।

प्रकाशित: १९ मंसिर २०७९ ०१:०० सोमबार

उत्साहहीन निर्वाचनका सन्देश