नागरिक खोज

‘गोपाल खड्कालाई कुनै जिम्मेवारी नदिनु’

काठमाडौँ – इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई  तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। 

खड्काको नेतृत्वमा भएको जग्गा खरिद प्रकरणमा अनियमितता भएको विभिन्न संसदीय समितिहरूले ठहर गरेकाले उनलाई कुनैपनि जिम्मेवारी नदिन समितिले निर्देशन दिएको हो। 

खड्कामाथि विभिन्न निकायले अनुसन्धान गरिरहेकाले  विवादको टुङ्गो नलागेसम्म जिम्मवारी नदिन निर्देशन गरिएको सुशासन समितिका सचिव मुरारी महतले बताए । समितिको यसअघि बैठकमा आरोपित खड्कालाई कारबाहीको दायरा ल्याउन सरकारलाई निर्देशन दिइएको थियो। 

चितवन, भैरहवा ,झापा र सर्लाहीमा जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै सार्वजनिक लेखा समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कारबाहीका लागि यसअघि नै सिफारिस गरिसकेका छन् । आपूर्ति मन्त्रालयले पनि आफ्नो प्रारम्भिक छानविनमा अनियमितता देखिएको भन्दै कारबाहीको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्रचार गरिसकेको छ।  

जग्गा खरिदमा कैफियत देखिएकाले आगामी मन्त्रीपरिषद्को बैठकबाट ठोस निर्णय लिने आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताएका छन्। 

 

प्रकाशित: ३० भाद्र २०७४ ०८:१९ शुक्रबार

#अायलनिगम #घोटाला #संसद #समिति #गाेपालखड्का