नागरिक खोज

आयल निगम जग्गा डुबानमा

.... डुबानमा परेको नेपाल आयल निगमले भैरहवाको रोहिणी नदी किनारमा किनेको जग्गा। तस्बिर :  रेखा भुसाल

भैरहवा- दलालमार्फत करोडौं रुपैयाँ कमिसन लिएर नेपाल आयल निगमले पेट्रोलिमय पदार्थ भण्डारण डिपो बनाउन भैरहवाको रोहिणी नदी किनारमा किनेको जग्गा डुबानमा परेको छ। ओमसतिया गाउँपालिका– ४ र ५ पर्ने रोहिणी नदी किनारमा किनेको जग्गा शुक्रबारको वर्षाले डुबानमा परेको हो।

भैरहवादेखि करिब पाँच किलोमिटर पूर्व भैरहवा–परासी सडकखण्ड नजिकै नदी किनारमा पर्ने सो जग्गा एक दिनकै झरीले डुबानमा परेपछि जग्गा खरिदमा निगमले गरेको अनियमितता उदांगो भएको छ। निगमले चल्नचल्तीको दरभन्दा निकै बढी मूल्यमा सो स्थानमा १४ बिघा ७ कठ्ठा १४ धुर जग्गा किनेको थियो।

डिपो बनाउन किनेको जमिन डुबानमा परेको भैरहवाकै सांसद अब्दुल रज्जाक गद्दीले बताए। 'डुबान हुने जग्गालाई प्रतिकठ्ठा १० लाख ९३ हजार रुपैयाँ पैसा निगमले तिरेको छ,' निगमको अनियमितता छानविन गर्न बनेको अर्थ समितिमा उपसंयोजक रहेका गद्दीले भने, 'अनियमितताका लागि यहाँभन्दा प्रमाण के चाहिन्छ। निगमले किनेको जग्गामा खोला अहिले बगेको छ।'

सो जग्गाको मूल्य जग्गाधनीले प्रतिकठ्ठा डेढदेखि तीन लाख रुपैयाँसम्म पाएका थिए। तर, निगमले तीन गुणा बढी महंगोमा किनेको थियो। जग्गा एजेन्टले स्थानीय तहका कर्मचारीलाई समेत प्रलोभनमा पारेर नदी किनारको जग्गा सरकारी दररेट एक लाख रुपैयाँ र चलनचल्तीको दररेट करिब ११ गुणा बढी ११ लाख रुपैयाँ सिफारिस गराएका थिए।  निगमले  असार २८ गते सो जग्गा ३१ करोड ४० लाख ७९ हजार २० रुपैयाँमा खरिद गरेको थियो। 

शुक्रबार डुबान क्षेत्र निरीक्षण गरेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले खोलाको बहाव पसेकाले निगमले किनेको जग्गा नदेखिएको बताए। उनले सो जग्गा निगमको डिपो वा अन्य कुनै स्थायी भौतिक संरचना निमर्णका लागि उपयुक्त नदेखिएको बताए।

निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा निगमको डिपो नजिक पानी आवश्यक भएकाले खोला किनारको जग्गा भए पनि असर नपर्ने प्रस्टीकरण दिएका थिए।

बर्सेनि पस्ने रोहीणीको बाढीका कारण त्यहाँको खेतीयोग्य जमिन बाझो छ। हरेक वर्ष रोहीणीको कटान र डुबानले आसपास गाँउका स्थानीय हैरान छन्। पेट्रोलियम डिलर्स एसोसियसन लुम्बिनीका एक पूर्वअध्यक्षले डिपो बनाउन सो जग्गा कुनै पनि हालतमा उपयुक्त नभएको बताए।

प्रकाशित: २१ श्रावण २०७४ ०२:१० शनिबार

#आयल #निगम #जग्गाखरिद #घोटाला #गोपालखड्का