मुख्य समाचार

चेपाङ बस्तीमा ठडियो स्कुल

चितवन- भूकम्पले लोथर गाविसको चेपाङ बस्ती सोतर पार्योथ। स्थानीयका घरसँगै विद्यालय भवन पनि बाँकी राखेन। दुङबाङ राष्ट्रिय प्राविका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भए। उनीहरू कहिले झरीले रुझे त कहिले चर्को घामले पिरोलिए। पुसको ठिहीमा खुला स्थानमा बसेर पढ्न कम्ती सकस थिएन।तर, यस वर्ष उनीहरूले त्यो नियति भोग्नुनपर्ने भएको छ। मनकारी युवाले रकम जुटाएर उनीहरूका लागि विद्यालय भवन बनाइदिएका छन्। चेपाङबहुल लोथर गाविसको स्यामराङस्थित विद्यालयभवन बनाउन उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत थालेको अभियान साकार भएको हो।

अघिल्लो वैशाखको भूकम्पपछि चितवनका चार सञ्चारकर्मी र बैंकका एक कर्मचारीले राहत संकलन र वितरणका लागि फेसबुकबाट 'हामीले नगरे कसले गर्ने' अभियान थालेका थिए। सोही अभियानअन्तर्गत संकलित राहत सामग्री लिएर टोली गत जेठमा भूकम्पप्रभावित स्यामराङ पुगेको थियो। राहत बाँड्न गएको टोलीले भूकम्पले भत्काएको दुङबाङ राष्ट्रिय प्राथमिक विद्यालयमा रात बिताएको थियो।

'राहत बाँड्ने क्रममा स्कुल पनि भत्किएको देखेपछि त्यो पनि बनाउने निधो गर्यौं ,' हामीले नगरे कसले गर्ने अभियानका अध्यक्ष विनोदबाबु रिजालले भने। स्यामराङ लोथर गाविस–७ मा पर्छ। भरतपुरबाट स्यामराङ पुग्न गाडीमा करिब साढे तीन घन्टाको यात्रापछि पैदल दुई घन्टा हिँड्नुपर्छ।

अभियानले चेपाङ बस्तीमा भूकम्पले भत्काएको विद्यालय भवन बनाउन सहयोग गर्न फेसबुकबाट अपिल गरेपछि सहयोग ओइरिएको हो। विद्यालय बनाउन १५ लाख रुपैयाँभन्दा धेरै लाग्ने अनुमान शिक्षा कार्यालयका अधिकारीले गरेपछि संस्थाका तत्कालीन अध्यक्ष राजेश घिमिरेले फेसबुकबाट सहयोग आह्वान गरिएको बताए। गत साउनमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको 'हामीले नगरे कसले गर्ने' संस्था समाज कल्याण परिषद्मा पनि आबद्ध छ।

शिक्षा कार्यालय र शिक्षा विभागसँग समन्वय गरेर विद्यालय निर्माण अभियान सुरु गरिएको अध्यक्ष रिजालले जानकारी दिए। अभियानका अनुसार प्रकृति विद्यालय भवन बनाउन इन्टरनेसनल, जापानबाट ३१ हजार, बेल्जियम बस्ने चितवनका व्यक्तिको संस्था चितवन सहायता कोष (क्याट) मार्फत प्रभा न्यौपाने र रेणुकान्त न्यौपानेबाट एकमुष्ट सात लाख ५० हजार रुपैयाँ प्राप्त भएको थियो। त्यस्तै संस्थाका जापान प्रतिनिधि दीपक नेपाललेे ५ लाख २७ हजार १ सय ८१, अमेरिका प्रतिनिधि रामचन्द्र बस्ताकोटीले १ लाख ६ हजार ८ सय ४८, फ्रान्स प्रतिनिधि किशोर आचार्यले १ लाख २ हजार ४ सय ५५ रुपैयाँ सहयोग जुटाएका थिए। छोरी परियोजना बेल्जियमले १ लाख, महेन्द्र सुवेदीले ६० हजार र कुशल श्रेष्ठले ४० हजार रुपैयाँ सहयोगस्वरूप उपलब्ध गराएको संस्थाकी कोषाध्यक्ष कल्पना बस्ताकोटीले बताइन्।

त्यस्तै रिसेन्द्र भुसालले २७ हजार, सिरियाली नागरिक मोहम्मद जोहाले १३ हजार ४ सय ३५, माया कार्कीले १० हजार रुपैयाँ सहयोग गरेको बस्ताकोटीले बताइन्। त्यस्तै देशविदेशमा अभियानको लोगो अंकित टिसर्ट बिक्रीबाट २ लाख ८ हजार ५ सय ४७ रुपैयाँ संकलन भएको थियो। करिब १८ लाख रुपैयाँ लागतमा स्कुल भवन तयार भएको अध्यक्ष रिजालले बताए।

'हामीले राहत वितरण गरेका तस्बिर फेसबुकमा राख्थ्यौं। त्यसैबाट प्रभावित भएर सहयोग गर्न दाता तत्पर भए,' संस्थाका सचिव अनिल ढकालले भने।

'यो विद्यालय २०२६ सालमा स्थापना भएको हो। अहिले पनि प्रावि नै छ। जिल्ला सदरमुकामबाट ठूला मान्छे यहाँ कहिल्यै आएनन्। धन्न, अहिले यो स्कुलको नयाँ भवन उद्घाटन गर्न प्रमुख जिल्ला अधिकारी यो गाउँ आउनुभयो,' विद्यालय व्यवस्थापन समिति अध्यक्ष झ्यापुराम चेपाङले भने। उनका अनुसार ३७ वर्षपछि सरकारका ठूला मान्छेले यो गाउँ टेकेको यो पहिलोपटक हो। देशविदेशमा रहेका नेपाली र अन्य दाताको सहयोगमा निर्माण गरिएको स्कुल भवनको शनिबार प्रजिअ विनोदप्रकाश सिंहले उद्घाटन गरेका हुन्।

प्रकाशित: २ जेष्ठ २०७३ १९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App