राष्ट्र बैंकले नयाँसहित एकपटक प्रयोग भइसकेको सफा तथा सुकिला नोट पनि वितरण गर्ने छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकारअनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने योजना बनाएको छ।
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउने छन् भने विकास बैंक, फाइनान्स कम्पनीले योभन्दा कम नोट पाउने छन्। गत वर्ष बैंक तथा वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो। गत वर्षको गुनासोलाई पनि सम्बोधन गर्ने गरी राष्ट्र बैंकले नोट वितरण गर्ने योजना बनाएको जनाएको छ।
राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र राजधानीको थापाथली बैंकिङ कार्यालयबाट ग्राहकलाई मागे जति नयाँ नोट वितरण गरिने ज्ञवालीले जानकारी दिए। राष्ट्र बैंकले थपाथलीमा आधा दर्जन हाराहारी सटही काउन्टरबाट नोट वितरण गर्ने छ।
ग्राहकबाट बढी माग हुने ५, १०, २०, ५० र १०० का नोट बढी वितरण गरिने छ। यसमध्ये २० र ५० का नोटको माग बढी छ। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरका नोटमध्ये ६० प्रतिशतभन्दा बढी नयाँ हुने छन्। बाँकी नोट सुकिला र सफा तर चल्तीमा आइसकेका छन्।
राष्ट्र बैंकले पोहोर दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो। राष्ट्र बैंकका अनुसार, अहिले बजारमा दुई खर्ब १७ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा छ। साउन मसान्तसम्मको विवरण अनुसार, राष्ट्र बैंकको बैंकिङ कार्यालयमा चार अर्ब रुपैयाँ नोट मौज्दात छ।
पोहोर नयाँ नोट वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबर नोट चलनचल्तीमा थिए। राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गर्ने जनाएको छ।
चार वर्षअघि राष्ट्र बैंकले कम नोट निष्कासन गर्दा सर्वसाधारणले अभाव झेल्नु परेको थियो। त्यसयता पनि राष्ट्र बैंकबाट नोट ल्याएर वितरण गर्ने जिम्मा लिएका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई मागे जति नयाँ नोट दिन सकेका थिएनन्। गत वर्ष बैंकहरुले ग्राहक र सर्वसाधारणमा फरक व्यवहार गरेको र राष्ट्र बैंकले आफूले प्रतिबद्धता गरेजस्तो आवश्यकताअनुसार थप नोट बैंकलाई नदिएकाले सर्वसाधारणले दुःख पाउनुपरेको गुनासो आएको थियो।
राष्ट्र बैंकले पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ। सुकिलो नोट प्रयोग गर्ने बानी विकास गरी राष्ट्रको खर्च बचाउन ज्ञवालीले आग्रह गरे। 'जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ,' उनले भने, 'यसले देशको खर्च बढाउँछ।'
पर्वमा पानीले नोट नभिजाउने, रङ नलगाउने र नपट्याई जतन गर्न उनले अनुरोध गरे। नोट नपट्याए मात्र पनि ८ महिना आयु बढ्ने अनुमान छ। नोटको बन्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ। 'चाडबाडपछि बैंकमा नोट फर्कंदा सफा भए देशलाई नै फाइदा हुनेछ,' ज्ञवालीले भने। हजार र पाँच सयको एक नोट छपाइमा दुई रुपैयाँभन्दा बढी खर्च हुन्छ।
प्रकाशित: २२ भाद्र २०७० २१:०४ शनिबार