मुख्य समाचार

उपत्यकामा लेन मिच्ने धेरै

उपत्यकाभित्र सवारी साधन चलाउनेले सबैभन्दा बढी कुन ट्राफिक नियम मिच्लान् ? तपाईंको अनुमान मापसे (मादक पदार्थ सेवन गरेर सवारी चलाउनु) हुन सक्छ।

त्यसो हो भने तपाईं गलत हुनुहुन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार उपत्यकामा सबैभन्दा धेरै उल्लङ्घन हुने ट्राफिक नियम लेन मिच्नु हो।

चालू आर्थिक वर्षको १० महिनामा उपत्यकाभित्र लेन मिचेर १ लाख १० हजार १ सय ८१ जना सवारी चालक कारवाहीमा परेका छन्। महाशाखाका अनुसार हरेक महिना करिब १० हजार चालकले यो नियम मिचेर कारबाही भोगेका छन्।

लेन मिच्नेपछि लापरवाही गरेर सवारी चलाउने चालक उपत्यकामा धेरै छन् । १० महिनामा लापरवाही गरेर सवारी चलाउने ६९ हजार ७ सय ६९ जना कारबाहीमा परे । उपत्यकामा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट हुने मृत्यु बढ्दो छ ।

महाशाखाका अनुसार लेन मिच्ने र लापरवाही गर्नेपछि लाइसेन्स र ब्लु बुक नबोकी चलाउने, पार्किङ निषेध गरिएका क्षेत्रमा पार्किङ गर्ने, लाइसेन्स नलिने, मापसे गरेर सवारी चलाउने, ट्राफिक संकेत उल्लंघन गर्ने, बिग्रिएका सवारी चलाउने, छतमा यात्रु बोक्ने, वान–वेमा चलाउने, बढी भाडा लिनेलगायत नियम धेरै मिचिन्छन् ।

महाशाखा प्रमुख डिआइजी मिङमार लामा सवारी चालकलाई नियम थाहा नहुँदा समस्या भएको बताउँछन्। ‘अधिकांश सवारी चालकले ट्राफिक नियम नै जान्दैनन्, त्यसले नियम मिच्नेको संख्या बढी देखिन्छ,’ उनी भन्छन्, ‘अहिले मापसे गर्ने सवारी चालक संख्या भने घटिरहेको छ।’

ट्राफिक इन्जियिर आशिष गजुरेल नियम मिच्नेलाई कारबाही र जरिवाना गरेर मात्रै सुधार्न नसकिने बताउँछन् । ‘सवारी चालकको व्यवहार नै परिर्वतन नगरेसम्म सुधार्न सकिने रहेनछ,’ उनी भन्छन्, ‘विद्यालय तहमा ट्राफिक जनचेतनासम्बन्धी पाठ समावेश गरेर सानैदेखि नियम सिकाउनु पर्छ ।’

उनी ट्राफिक नियमबारे चेतना जगाउन सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘पूर्वाधार बनाएर ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम गर्न जरुरी भइसक्यो,’ उनी भन्छन्, ‘जरिवाना र कारबाहीले व्यवहार परिर्वतन हुन सकेन ।’

लामा पनि जनचेतनाका लागि पर्याप्त बजेट नभएको र त्यसका लागि नयाँ तरिका अपनाउनुपर्ने बताउँछन्। विद्यालयको पाठ्यक्रममा नै नियम राख्दा त्यसले भविष्यलाई समेत फाइदा पुग्ने उनको धारणा छ।

नियम मिच्नेलाई ट्राफिकले कसुर हेरी ५ सयदेखि एक हजार पाँच सय रूपैयाँ जरिवाना गर्दै आएको छ।

 

प्रकाशित: ५ असार २०७४ ०३:४० सोमबार