अन्तर्वार्ता

'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?'

दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा रोचक भिडन्त हुने लख काटिएका छन्।

गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकी शर्मा गठबन्धनको मत आफ्नो जीतका लागि काफी हुने बताउँछिन्। गठबन्धनको मतका आधारमा आफ्नो जीत सुनिश्चित गर्न खोजेकी उनै शर्मासंग नागरिककर्मी देवेन्द्र बस्नेतले गरेको कुराकानी:-

चुनावी दौडका क्रममा यहाँले मतदाताहरुको अपेक्षा के पाउनु भयो?

हामीहरु लामो राजनीतिक प्रकृयाबाट यहाँसम्म आइपुग्यौँ। जुन रुपमा मतदाताहरुले अपेक्षा राख्नु भयो, स्वाभाविकै रुपमा विकास निर्माणको अपेक्षा रहने नै भयो। यसर्थ अहिले पनि विकास निर्माणको अपेक्षा पहिलो छ। अनि मतदाताहरुको अर्को भनोभाव भनौँ र सुझाव भनौँ, सक्ने कुराहरु मात्रै गर्नुस्, सकिँदैन भने सक्दैन भन्नुस् भनेर सुझाव पनि दिनु भएको छ।

समग्रमा मतदाताहरुका अपेक्षा त्यति ठूला छैनन्। सामान्य जीवन याापनका कुराहरु, दैनिक जीवनसँग जोडिएका विषयहरु माथि नै उहाँहरुको अपेक्षा केन्द्रित छ। यी दैनिक समस्याका कुराहरु कसरी समाधान हुन्छ भन्ने नै उहाँहरुको चिन्तन छ। र अर्को कुरा उम्मेदवारसँगको पहुँचको विषय अर्को महत्वपूर्ण विषयका रुपमा रहेको मैले पाएँ। भोली जितेर गएपछि यो मान्छेसँग मेरो पहुँच पुग्छ कि पुग्दैन भन्ने चिन्तन पनि मतदाताहरुमा छ। यसर्थ उम्मेदवारहरुमा सरलता,सामिप्यता, सजिलै ढंगबाट पहुँच कायम गर्न सक्ने व्यक्ति हुँदा हामीहरुलाई सहज हुन्छ भन्ने मनोभाव मतदाताहरुमा छ।

मतदाताको नजरमा त्यो उपयुक्त पात्र तपाई हो?

मेरो पुरानो राजनीतिक इतिहासलाई हेर्ने हो भने मैले २०५० सालसम्म दाङमै रहेर काम गरेँ। तर त्यसपछि पार्टीमा मेरो राष्ट्रिय स्तरको जिम्मेवारी रह्यो। राष्ट्रिय महिला संगठनको केन्द्रीय नेतृत्व सम्हाल्ने परिस्थतिमा म बढी काठमाडौँमै केन्द्रीत भएँ। र, जनयुद्धका बेलामा पनि म दाङमा हुन पाएँन। र त्यसपछि ०७० देखि ०७४ सम्म मैले जनप्रतिनिधि बनेर काम गर्ने अवसर पाएँ।

तर, त्यो पनि प्रत्यक्ष निर्वाचित नभएर समानुपातिक तर्फबाट जनप्रतिनिधि बनेँ। यसर्थ म आम नागरिकसम्मको समिपमा हुन पाएँन। त्यो नभएपछि मतदाताहरुले प्रत्यक्ष भेटघाट गर्न नपाएको अवस्था बन्यो। तर अहिले पछिल्लो अवधिसम्म आइपुग्दाखेरी म आम मतदाताको नजिक बन्न सक्रिय छु। म जहाँ–जहाँ पुगेको छु त्यहाँ मैले म प्रति असाध्यै सकारात्मक ‘रेस्पोन्स’ पाएको छु।

संविधान, लोकतन्त्र यसको पक्ष विपक्ष, हिँजोका घटनाक्रम, गणतन्त्र प्राप्तीको आन्दोलन, त्यसपछि भएको अहिलेको खतरा, अहिलेको गठबन्धनको विश्लेषण गरेर हेर्ने र एजेण्डागत रुपमा कसको एजेण्डा बलियो छ भन्ने ढंगले हेर्ने मतदाता पनि हुनुहुन्छ। र यो विश्लेषणसँगै आगामी निर्वाचनका लागि उपयुक्त पात्रका रुपमा मलाई हेरिरहनु भएको छ। यससँगै म सँगको सहजै पहुँच कायम हुन सक्छ, पहुँच कायम हुन सके दैनिक समस्या समाधान सहज हुन्छ भन्ने मतदाताको भावले पनि मलाई रोजेको अवस्था छ।

मतदाताहरुका गुनासालाई राजनीति प्रतिको वितृष्णा भन्न मिल्छ?

यसलाई राजनीति प्रतिको वितृष्णा भन्दा पनि यो राजनीतिकर्मी प्रतिको वितृष्णा हो भन्न मिल्छ। राजनीतिकर्मीहरु बढी इमानदार बन्नु पर्ने अवस्था आएको छ भन्ने सन्देश मतदाताहरुले व्यक्त गरिरहेको भन्न मिल्छ। जो सुकै आएपछि केही भएन भन्ने गुनासो कायमै छ। तथापि यसमा केही भ्रमहरु पनि छन् नै। तर अहिलको अपरिहार्य के हो त भन्दा राजनीतिक दलप्रति, राजनीतिकर्मी प्रति गुनासाहरु छन्, र यी गुनासा अन्त्यका लागि राजनीतिकर्मी बढी जिम्मेवार भएर लाग्नु पर्ने टड्कारो आवश्यक्ता छ।

र, सत्य के पनि हो भने जहिल्यै राजनीतिक आन्दोलन भन्दा पनि नागरिकका दैनिक समस्या समाधानका लागि पनि राजनीतिक दल वा राजनीतिकर्मीहरुले भूमिका खेल्नुपर्छ। यो अभियान कहिलेदेखि सुरु गर्ने, यो काम कसरी सुरु गर्न सकिन्छ? भन्ने विषयलाई समेत केन्द्रमा राखेर राजनीतिक नेतृत्व सम्हाल्नु पर्ने रहेछ भन्ने चेतको विकास पनि हुन जरुरी छ। यसर्थ दलहरु, नेताहरु सचिन्नुपर्छ भन्ने ठाउँसम्म आम नागरिकको मनोभाव पुगेको छ। तर यो राजनीतिक दल र हामी राजनीतिकर्मीका लागि सकारात्मक कुरा हो।  

मतदाताहरुले दलहरुलाई बाटो सिकाइरहेका छन् भन्न मिल्यो?

बाटो पहिल्याउने दलहरुले हो। तर यो बाटोमा यसरी हिँड भनेर आम नागरिकबाट आउने सुझावलाई मार्गनिर्देशन मान्न सकिन्छ। मतदाताहरुले यसो गर, यदि गरेनौ भने राजनीतिक दलको पनि भविष्य छैन र राजनीतिकर्मीको पनि भविष्य छैन भन्नु दलहरु र हामीहरुका लागि खवरदारी पनि यो हो। र यसबाट हामीले बुझ्नु पर्ने कुरा के हो भने हिँजो सम्म जुन निष्ठाको राजनीति थियो, त्यो निष्ठा अहिले राजनीतिमा ओझेलमा पर्दै गएको छ।

निष्ठाको राजनीतिलाई कसरी जोगाउने? भन्ने चिन्तन अब राजनीतिमा जरुरी भैसकेको छ। एक साता सम्म भ्रममा पार्ने र पाँच वर्षसम्म भ्रमको सावित गरिदिने जुन गलत परिपाटीको विकास भएको छ, यसले आम मतदाताहरुलाई निराश बनाउँदै लगेको छ। यसर्थ मतदाताहरु पनि राजनीतिक दल र राजनीतिकर्मी प्रति थप सचेत बन्दै गइरहेको पाईन्छ।

राजनीतिमा कसरी यो विचलन आयो? यहाँको राजनीतिक अनुभवले के भन्छ?

मैले अघि पनि भनेँ, हिँजोको जस्तो निष्ठा, हिँजोको जस्तो आदर्श, मुल्यमान्यता जुनसुकै क्षेत्रमा हेर्नुस् आ आफ्ना कामहरु प्रति समर्पित हुने कुरामा समस्याहरु छन्। जुनसुकै क्षेत्रमा पनि जुनबेला सकारात्मक प्रवृत्ति हाबी भयो, त्यो सकारात्मक भएरै जाँदो रहेछ, जुनबेला नकारात्मक प्रवृत्ति हामी भयो, त्यो बेला नकारात्मकै भएर जाँदो रहेछ। यसर्थ राजनीति सही बन्दा सबै पाटो सहज भएर जान्छ, तर राजनीति गलत भयो भने सबै क्षेत्रले बाटो बिराउँछन्।

यसर्थ सकारात्मक बाटोलाई सबै राजनीतिक दलहरुले स्थापित गर्ने र नकारात्मक पाटोलाई किनारा लगाउने काम गर्न सकिएन भने यो बढेर जान्छ। यति भन्दै गर्दा राजनीतिमा सकारात्मक पाटाहरु छैनन् भन्न खोजेको हैन। हरेक पार्टीमा इमानदार, निष्ठावान राजनीतिकर्मीहरु पनि हुनुहुन्छ। यस्ता राजनीतिक पात्रहरुलाई अगाडि ल्याएर निष्ठाको राजनीतिलाई स्थापित गर्नु जरुरी छ।

यसो हुन सक्यो भने फेरी राजनीति प्रतिको आकर्षण बढेर जाने छ। र यो सचेतता जरुरी छ र यसका लागि मतदाताहरुले नै मार्ग निर्देश गरेको अवस्था छ। मतदाताहरुको सुझावलाई दलहरुले आत्मसाथ गर्दै गइरहेको अवस्था पनि छ। तथापि समाजलाई राजनीति प्रति पुरापुर विश्वस्त राख्नका लागि केही समय त लाग्छ नै यसका लागि हामी जत्तिका व्यक्तिहरु अगाडि आउन जरुरी छ।

तपाईलाई ‘हेभिवेट’ नेतासँग भिडेको ‘सामान्य’ उम्मेदवार भन्छन् नि?

अहिले निर्वाचनमा आउँदा खेरी हेभिवेटको कुरा गरिरहेका छन्, बाहिर विश्लेषण पनि चलिरहेको छ। मेरो एउटा प्रश्न छ हेभिवेट केलाई मान्ने हो? हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्छ। हाम्रो एजेण्डालाई हेभिवेट मान्ने हो कि, व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो? व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो भने म हेभिवेटसँगै प्रतिस्पर्धा गर्दैछु, म ‘लो’ प्रोफाइलकै मान्छे हो, म सामान्य परिवारको मान्छे हो।

धन सम्पत्ति, कस्तो परिवारमा, कस्तो कुलमा जन्मियो भनेर हेभिवेट मान्ने हो भने म लोवेट हो, म हेभिवेट हैन। तर हिँजो गणतन्त्र प्राप्तीको आन्दोलनमा भूमिका निर्वाह गरेको हिसाबले हेर्ने हो कि, संविधान निर्माणमा भूमिका निर्वाह गरेको हिसाबले हेर्ने हो कि, उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि गरेका हाम्रा योगदानको हिसाबले हेर्ने होे भने म हेभिवेट हो। हेभिवेट के लाई मान्ने भन्ने कुरा आ-आफ्नो ठाउँमा छ जस्तो लाग्छ मलाई। यसर्थ मैले यसलाई असहज रुपमा लिएको पनि छैन।

मेरो प्रतिस्पर्धी हेभिवेट भनिएका शंकर पोख्रेलसंग मेरो कुनै आग्रह पूर्वाग्रह नै छैन, उहाँलाई म अहिले पनि सम्मान गर्छु। तर हेभिवेटको प्रश्न जुन छ, संविधानको पक्षमा उभिने मान्छे हेभिवेट हो कि, संविधानको विपक्षमा उभिने मान्छे हेभिवेट?, संविधान च्यात्ने मान्छे हेभिवेट कि संविधान जोगाउने मान्छे हेभिवेट? आम मतदाताले फैसला गरेपछि बल्ल हेभिवेट के हो र को हो भन्ने परिणाम आउँछ। जहाँसम्म सहजता असहजताको कुरा छ, मैले यसलाई अत्यन्तै सहजता पूर्वक लिएको छु। म एजेण्डामा स्थापित हुन खोज्ने व्यक्ति हुँ, म एजेण्डा केन्द्रित नै छु। फलतः यो हेभिवेट,लो वेटको असहजता मैले महशुस गरेकै छैन।

पुरुष उम्मेदवारसँग महिला भिडेको भनेर पनि भनिन्छ, महिलालाई कमजोर पात्रका रुपमा प्रस्तुत गरिए जस्तो लाग्दैन?

हो यहाँले भने जस्तै मलाई यो महिला हो, पुरुष उम्मेदवार त्यो पनि हेभिवेट पुरुष उम्मेदवार संग भिडेको भनेर मलाई मिनिमाईज गर्न खोजिएकै छ। यो मैले हेरिरहेकी छु। अझ हाम्रो प्रतिष्पर्धी नै छैन। रेखाले जित्दैन, फलतः जीत भैसक्यो भन्ने खालको धारणाहरु पनि आउँछन्, यो भनेको मलाई महिला, अनि लो वेटको दृष्टिकोणले हेरेर गरिएको व्यक्त धारणा नै हो। तर उहाँ (एमाले) हरुले मलाई किन कमजोर देख्नु भएको छ? चार राजनीतिक दलको सिंगो गठबन्धन हामी एकै ठाउँमा छौँ।

गठबन्धनको मतलाई हेर्ने हो भने त चुनावी परिणामको तस्वीर क्लियर छ नि त। यस्तो स्थिति हुँदा पनि हाम्रो प्रतिस्पर्धी नै छैन भन्नु त्यो पितृसत्तात्मक सोँच बोलिरहेको छ, त्यो सामन्तवाद बोलिरहेको छ भन्ने मलाई लाग्छ। र अर्को कुरा उहाँहरुले महिलाहरुलाई हेर्ने दृष्टिकोणको समस्या पनि हो। महिलाहरुलाई कमजोर रुपमा हेर्ने जुन दृष्टिकोणमा समस्या छ, यो समस्याका विरुद्ध पुरुष महिला सबै एक हुनु जरुरी छ। र यसको जवाफ पुरुष महिलाहरु सबै हामी मिलेर दिनेछौँ। यसर्थ मैले मेरो कुरा मात्रै गर्दैन, महिला भएकै कारण जो कसैलाई पनि मिनिमाईज गर्न खोजिनु जायज हैन। र महिला असक्षम नै हुन् भन्ने कुराको म जहिल्यै विरोध गर्छु।

महिलाहरुले पनि जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्छन् भन्ने तमाम उदाहरण देखेर पनि महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने उहाँहरुको सोँचकै उपज मेरो उम्मेदवारीलाई मिनिमाइज गर्न खोजिएको हो। र मैले हिजो संविधान बनाउने, कानुन बनाउने कुरामा महत्वपूर्ण भूमिका खेलेको छु। यसलाई के सक्षमता नमान्ने? फलतः अहिले पनि म एजेण्डा प्रति पूर्ण रुपमा सचेत, प्रतिवद्ध र जिम्मेवार छु।

चुनावी अंकगणितको सम्भावित आँँकलन कसरी गरिरहनु भएको छ?

मैले अघि पनि भनेँ, हामी गठन्धनमा आवद्ध चार राजनीतिक दलका मतदाताहरुको संख्या मात्रै जोड्यौँ भने हाम्रो जीत सुनिश्चित छ। यो चुनावी गणितका हिसाबले गरिएको आँकलन हो। तर चुनाव गणितका हिसाबले मात्रै हुँदैन, चुनाव कला पनि हो। चुनावमा अरु पक्ष पनि हुन्छन्। यसर्थ अरुले भने जस्तो चुनावमा प्रतिस्पर्धा छैन, म यसो भन्दैन। म अरुले जस्तो कसैलाई मिनिमाइज गर्ने पक्षमा छैन। तर के हो भने हामीले हाम्रो मतलाई बदर हुनबाट जोगाउन सक्नु पर्छ।

हिँजो स्थानीय तहको निर्वाचनमा मत बदरका कारणले घोराही, तुलसीपुर उपमहानगरमा हारेको तितो यथार्थता हाम्रा सामु छ। र अहिले त्यो बेलाको मतदानको जस्तो भन्झट र अलमल छैन, फलतः त्यो मत बदरको दुर्भाग्य हामीले बेहोर्नु पर्ने छैन। र यसका लागि हामीहरुले अहिले मेहनत गरिरहेका छौँ। अहिले सचेत मतदाताहरुमा मैले के पनि देखिरहेको छु भने यो त कुनै व्यक्तिलाई हराउने जिताउने भन्दा पनि यो त संविधानलाई हराउने कि जिताउने? लोकतन्त्रलाई हराउने कि जिताउने? गणतन्त्रलाई हराउने कि जिताउने भन्ने चुनाव पनि हो भन्ने बुझाइ विकसित छ।

यसर्थ व्यक्तिगत रुपमा रेखा शर्मा जित्छ कि हार्छ भन्ने कुरा मात्रै ठूलो हैन, हाम्रो एजेण्डा ठूलो कुरा बन्यो, संविधान ठूलो कुरा बन्यो, लोकतन्त्र, गणतन्त्र ठूलो कुरा बन्यो यसर्थ हाम्रो जीत निर्विकल्प नै हो। एकातिर हामीहरु संविधानका रक्षकहरुको गठबन्धन बनेको छ, अर्कोतिर संविधान माथि कुठाराघात गरेका र हिँजो यो संविधान र गणतन्त्रलाई मन नपराउनेहरुको गठबन्धन छ, यसर्थ मतदाताहरुले यसलाई पनि अध्ययन गरिरहेको अवस्था छ। गणितका हिसाबले हामी जीतको धेरै नजिक छौँ, तर निर्वाचनमा अन्य पक्ष पनि हुन्छन् ति पक्षदेखि हामी सचेत भएर लाग्नु पर्छ, लागिरहेका छौँ।  

गठबन्धन कार्यान्वयनको पाटो कति बलियो बन्ला?

मैले गठबन्धन कार्यान्वयनमा कुनै असहज देखेको छैन। राष्ट्रिय स्वार्थका निम्ति हामीहरुले दलीय स्वार्थ त्याग गरेको कुरा हो। नत्र अहिले गठबन्धनमा भएका सबै पार्टीका अलग अलग उम्मेदवार हुने थियौँ होला नि त। पार्टीभित्रकै केही साथीहरुका गुनासा पनि सम्बोधन हुन्थे होला। धेरै आकांक्षीहरु उम्मेदवार बन्ने अवस्था आउने थियो। तर हिँजोको प्रतिगमन कुनै एउटा पार्टीले मात्रै रोक्न सकेन, त्यो कांग्रेसले मात्रै पनि सकेन।

माओवादी मात्रैले पनि सकेन। अन्य पार्टीले पनि एक्लै सक्ने कुरा थिएन। यसर्थ मिलेर त्यसलाई रोकियो। मुल कुरा त संविधान,लोकतन्त्र रहे न हामी रहने होला भन्ने कुराको बुझाइ राम्रोसँग भएको छ। राष्ट्रिय स्वार्थका निम्ती गठबन्धन गरेका छौँ भन्ने कुराको राम्रो बुझाइ भैसकेको हुनाले हाम्रा मतदाताहरु प्रभावित नहुनेमा म ढुक्क छु।

प्रकाशित: ११ कार्तिक २०७९ ११:२८ शुक्रबार

एमाले महासचिव शंकर पोख्रेल र पूर्व मन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा