अन्तर्वार्ता

क्रिकेटमा जिम्मेवार र उत्तरदायी अधिकारी आउनुपर्छ: पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियामाथि दुई खेलमा विजय हासिल गरेको एक साता नवित्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको छ। नेपाली क्रिकेटमा भएको निरन्तरको विवाद, समानान्तर संघ, संघको स्वायत्ततामाथि सरकारी हस्तक्षेप, अपारदर्सिता, कुसासनजस्ता वेथितीका कारण १९८८ मा आइसिसीको एफिलिएट सदस्य भएको नेपाल पहिलो पटक निलम्बनमा परेको छ।

च्याम्पियनसिपमा सात विपक्षीसँग दुई/दुईका दरले कुल १४ खेल खेल्नुपर्ने नेपाली टोलीले ६ खेल खेलिसकेको छ। त्यसमध्ये स्कटल्यान्ड र पपुवा न्युगिनीविरुद्धका चार खेलमा नेपालले पराजय भोगिसकेको छ । नामिबियासँगका दुई खेल जितेर टिमले शीर्ष चारमा रहेर प्रतियोगिता अन्त्य गर्ने सम्भावना कायम राखेको थियो । मैदानभित्र टोलीले लगातार सफलता हासिल गरिरहँदा मैदानवाहिर नेपाली क्रिकेट प्रत्येक दिन बदनाम भइरहेको छ । यही सेरोफेरोमा नागरिकका अजय फुयालले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासँग गरेको कुराकानीको संक्षेप:

क्यानलाई निलम्बन गर्ने आइसिसीको निर्णयलाई कसरी हेर्नुभएको छ ?
एउटा खेलाडीलाई निलम्बनको सव्द सुन्न पक्कै राम्रो लाग्दैन । निलम्बनमा पर्नु क्रिकेट र नेपाली खेल जगतका लागि राम्रो समाचार होइन । तर नेपाली क्रिकेट जसरी चलेको थियो, त्यसले यो अवस्था आउने पक्का थियो । निर्वाचित संघले आफ्नै पारामा चुनाव गरेर वैधानिकता नवीकरण गर्‍यो । त्यसमा कतिपय खुसी थिएनन । सरकारले निर्वाचन प्रक्रिया ठिक भएन भनेर तदर्थ समिति बनायो । त्यो पनि काम गर्न सक्ने अवस्थामा थिएन । अदालतमा मुद्धा पर्‍यो । आइसिसीले मिलेर काम गर्न मौका दिएको हो । नत्र धेरै पहिला प्रतिवन्ध लगाउन सक्थ्यो । तर दूर्भाग्य कसैले पनि त्यो मौका उपयोग गर्न खोजेन । हामी अहिले निलम्बनमा छौं भन्दा दुख लाग्छ । आइसिसीले खेल निलम्बन गरेको छैन, आइसिसीका इभेन्ट खेल्न पाइन्छ । यो सकारात्मक कुरा हो । तर यही २०/२५ जनाले मात्र खेलेर नेपाली क्रिकेट थेगिदैन । क्रिकेट देशभर पुगिसकेको छ । अव आइसिसीले यही आएर पदाधिकारी नियुक्त गरेर अघि बढने भनेको छ । आइसिसी आएर नयाँ र फ्रेस अनुहार छानेर अघि बढोस । सबै परिवर्तन एकैपटक सम्भव छैन । तर सबैसँग छलफल गरेर नयाँ तरिकाले अगाडि चाँही बढ्नै पर्छ ।

यो अवस्था आउनुमा दोषी को हो ?
सबभन्दा बढि दोष क्यान प्रशासनकै हो । अहिलेमात्र होइन, क्यानको निर्वाचित कार्यसमिति हुँदा पनि पछिल्लो दुई वर्षदेखि आइसिसीले आर्थिक सहयोग रोकेको हो । तदर्थ समिति आएको त केही महिनामात्र भयो । तर हाम्रो बजेटिङ, मार्केटिङ लगायतका पोलिसी नभएको कारण २०१४ देखि नै फन्ड रोकिएको थियो । नेपाल डिभिजन १ को टोली भएर पनि आइसिसीले बाध्यकारी बनाएका व्यवस्थामा ध्यान दिएन । दुई वर्ष अघि पनि निलम्बन हुन सक्थ्यो । हामीले धेरै 'इजी' लिएका कारण यस्तो भयो ।

सरकारको भुमिका कस्तो भयो ?
सरकारले आइसिसीसँग छलफल गरिरहेको थियो । सरकारले अधिकारहिन तदर्थ समिति बनायो । अदालतमा मुद्धा गयो । कानुनी रुपमा बुझेर गरेको भए ठिक हुन सक्थ्यो । तर, त्यसरी गर्दा सबैलाई समेट्न सक्ने अवस्था थिएन ।

अव नेपालको क्रिकेट के होला ?
डब्लुसिएल (विश्व क्रिकेट लिग च्याम्पियनसिप) आफ्नो ठाउँमा छ । तर टिमले राम्रो गर्नु–नगर्नु र क्रिकेट विकास पूरा फरक कुरा हुन् । नेपाल क्रिकेट टिमले राम्रो गरेकै कारण नेपाली क्रिकेट विकास भयो भन्ने म मान्दिन । टिमले राम्रो गर्दै जाँदा माथि पुग्नु स्वभाविक हो । तर घरेलु क्रिकेट संरचना र खेलाडीको अवस्था हेर्ने हो भने सन् २००० र २०१६ मा कुनै फरक छैन । खेलाडीले गरेको मिहिनेतले नेपाल डिभिजन १ सम्म पुगेको छ । सेन्ट्रल कन्ट्रयाक्ट सिस्टम पनि २०१५ मा मात्र पाएइको हो । त्यो २०१४ मा विश्वकपलाई छनोट भएवापत आएको ५० हजार डलर अतिरिक्त पैसा १४ खेलाडीमा बाढ्ने भनेको थियो । तर हामी प्रशिक्षक र खेलाडीले क्यानलाई त्यही पैसाबाट कन्ट्रयाक्ट सिस्टम सुरु गरौ भनेर प्रस्ताव गर्‍यौं । त्यसैलाई क्यानले मानेकोमात्र हो । नत्र त्यसअघि त क्यानले राष्टिय टिममा भएका खेलाडीलाई भएको बेलामात्र मासिक ५ हजार र १० हजार दिने गरेको थियो । एउटा प्रतियोगितामा टिममा परेन भने तलब पनि छैन ।

नामिबियासँग जितेको खुसी मैदान वाहिरको घटनाले एक हप्ता पनि टिक्न पाएन नी ?
हामीले जितेको एक हप्ता पनि नभइकन यस्तो समाचार आयो । सायद नयाँ सुरुआतका लागि यसले बाटो खोलेको पनि हुन सक्छ । फेरी पनि त्यही मानिस र त्यही प्रशासनमा जाने हो भने कही पनि पुग्दैनौं । उहाँहरुले क्रिकेट विकासमा केही गर्नुभएको छैन । जित–हार आफ्नो ठाउँमा छ । हामीले गर्न सक्ने मैदान भित्र मात्र हो । मैदानभित्र ज्यान दिएर खेलेर नेपाललाई जिताउन सक्छौं । तर हामीले जिताएर नेपाली क्रिकेट यहाँ पुग्यो भन्ने अवस्था छैन । कीर्तिपुर मैदानको कुरा गर्ने हो भने पनि त्यही प्रमाणित हुन्छ । बल्ल पछिल्लो एक वर्षमा राखेपको लगानीमा स–साना घर बने, आइसिसीको मान्छे आएर मैदान तैविसेक बनाए । मैले क्रिकेट खेल्न थालेदेखि पहिलो पटक नयाँ रोलर देखेँ । सबभन्दा खुसी त्यसमा लागेको छ । अव अली 'हेभी' रोलरले पेल्दा पिच ब्याटिङका लागि राम्रो होला की भन्ने आशा छ । धेरै वर्षदेखि हामी कभर र रोलरको पछि दौडिरहेका थियौं । यसापली आइसिसीका मानिस आएकाले त्यो आयो । जित आफ्नो ठाउँमा छ । मेरो विचारमा यो वर्षको हाम्रो उपलब्धी रोलर आउनु नै भयो होला । यो हाम्रो लाजमर्दो वास्तविकता हो ।

 अव क्रिकेट शुन्यबाटै सुरु हुने हो त ?
आशावादी हुनुपर्छ । आइसिसीले यहाँका सबै सरोकारवालासँग कुरा गरेर फेरी सुरु गर्न सक्छ । आइसिसीको निर्णय आउनुअघि पनि प्रशासनको कुरामा हामी जिरोमै थियौं नि । मेची देखि महाकालीसम्म खेल्न लायक मैदान छैन । हामी विश्वकपमा पुग्यौं, क्रिकेट पनि पहाडदेखि तराईसम्म घर–घरमा पुग्यो । तर क्रिकेटको विकास कहाँ छ, खेलाडीको स्थिति के छ भन्ने कुरा कसैले बुझेको छैन । अव नयाँ ढंगबाट सुरु नभई सुखै छैन ।

 तपाई यसअघिका पदाधिकारीबाट विकास सम्भव छैन भन्नुहुन्छ । सबै नयाँबाट व्यवहारिक विकल्प सम्भव छ ?
मसँग पनि यसको प्रष्ट जवाफ छैन । तर अव प्रशासनमा कसैलाई ल्याउने भए त्यो व्यक्ति क्रिकेटप्रति जवाफदेही हुनुपर्छ । किनकी हामीले कोही मानिस गलत भनेका छैनौं । क्रिकेट चल्ने पद्दतिमात्र गलत भनेको हो । राष्टिय प्रतियोगिता खेल्दिन भन्नुपर्ने अवस्था आयो । अख्तियारमा हामी गएको होइन, उहाँहरुले बोलाएको हो । तर त्यसमा पनि हामीलाई दोष दिइयो । विभिन्न कालखण्डमा क्रिकेट हाँक्ने पदाधिकारीकै कारण त्यस्तो अवस्था आएका हुन् । उहाँहरु कसैको लागि पनि खेलाडीको जस्तो पहिलो प्राथमिकतामा क्रिकेट परेन । खेलाडीका लागि क्रिकेट पहिलो प्राथमिकता हो । हामीलाई क्रिकेटले नै परिचय दिएको छ, जीवन धानेको छ । तर त्यो सबथोक त्यही २०÷३० जनाले पाएको हो । पछिल्लो ५÷६ वर्षमा हामीले धेरै सफलता हासिल गरेका छौं । त्यसमा प्रत्यक्ष रुपमा सहभागि २०÷३० जनामात्र खेलाडीको समुह रहयो । खेलाडीले जित्दामात्र केही पाउने संस्कार भएको अवस्थामा ति खेलाडीवाहेक अरुको अवस्था दयनीय छ । विश्वकप खेल्दाको टोलीका सदस्य प्रदीप ऐरीलाई अहिले सबले विर्सिसके । उ टिममा आउन संघर्ष गरिरहेको छ । एकेडेमी चलाइरहेको छ। तर कुनै पदाधिकारीले उसको मतलब राखेको छैन । आगामी दिनमा नेपाली क्रिकेटको पूरा संरचना फेरिनुपर्छ । पछिल्लो समय हेर्ने हो भने खेलकुदको राम्रो माहोल बनेको छ । फुटबल, बास्केटबल, भलिबल, क्रिकेट वा जुनसुकै खेल हेर्न पनि समर्थकले रंगशाला थालेका छन् । फ्यान फलोइङ बढेको छ । प्रायोजक आकर्षित छन् । राम्रो व्यवस्थापन हुने हो भने प्रायोजक क्रिकेटमा लगानी गर्न आतुर छन् । तर हाम्रो व्यवस्थापनको सोच सानो छ । सबैलाई स–साना स्वार्थले गाँजेको छ । व्यवस्थापकहरुको स–साना स्वार्थको पछि लाग्ने बानीले देशले ठूलो अवसर गुमाएको छ ।

डब्लुसिएलमा आठ खेल बाँकी छन् । त्यसमा आइसिसीको निर्णयले कस्तो अशर पार्छ ।
आइसिसीले चाँडो भन्दा चाँडो मान्छे पठाएर यहाँको क्रिकेट चलाउन अधिकारी नियुक्त गर्नुपर्‍यो । डब्लुसिएल नेपाली क्रिकेटको भविश्यको 'पाथ वे' हो । तर त्योमात्र होइन । महिला क्रिकेटको गुनासो छ । राष्ट्रिय प्रतियोगिता दुई वर्षदेखि भएको छैन । २० जनामात्र होइन । देशभरका सबै खेलाडीले राष्ट्रिय टिमसम्म आउन सक्ने बाटोसहितको संरचना हुनुपर्छ । अहिलेको संरचनाअनुसार हो भने म पनि जिल्लादेखि खेल्दै आएर राष्ट्रिय टिममा पर्न गाह्रो छ ।

त्यो संरचना कस्तो हुन्छ ?
जिल्ला र क्षेत्रमा कस्ता प्रतियोगिता भइरहेका छन् । फन्डिङको अवस्था के छ । छनोट कसरी भइरहेका छन् । सबलाई र्‍याडकिङ हुनुपर्छ । आइसिसीबाट क्यानलाई बजेट आउने अनि त्यही बजेट क्षेत्र र जिल्लामा जाने, त्यतिकै भरमा जति भयो काम गर्ने भन्ने होइन । यसमा प्रशासनिक र प्राविधिक दुवै पक्षको मुल्यांकन हुनुपर्छ । जिल्ला र क्षेत्रका पदाधिकारीले नेपालको क्रिकेट अगाडि बढाउछु भन्नुहुन्छ । तर कसैले पनि आफ्नो जिल्ला वा क्षेत्रलाई अघि बढाउछु भन्नुहुन्न । सबैले आफ्नो क्षेत्रलाई अघि बढाए नेपालको क्रिकेट आफै माथि जान्छ । सबै आइसिसी र क्यानको बजेट हेरिरहेका छन् । क्रिकेटमा काम गरेरै अधिकारीहरुले आफूलाई प्रमाणित गरेको भए यस्तो दिन आउदैनथ्यो ।

अनि घरेलु क्रिकेट कस्तो हुनुपर्छ ?
नेपालमा वर्षको तीन महिनावाहेक ८/९ महिना क्रिकेट खेल्न सकिन्छ । त्यसैले क्यानसँग ढंगको क्यालेन्डर हुनुपर्‍यो । लिग पद्दतिमा प्रतियोगिताहरु हुनुपर्‍यो । दुई दिने र चार दिने प्रतियोगिताहरु हुनुपर्‍यो । होम एन्ड अवे खेल हुनुपर्‍यो । विश्वकप छनोट हुँदा सरकारबाट आठ क्षेत्रमा आठ रंगशाला बनाउने कुरा भएको थियो । तर क्रिकेटलाई त खेल्ने मैदान र राम्रो पनि छैन । त्यती भए पनि ठूलो हुने थियो । क्लब क्रिकेट, क्षेत्रीय क्रिकेट हुनुपर्छ । ग्रासरुटमा एकेडेमीहरु हुनुपर्छ । एनसिए छ क्यानको तर त्यसको कुनै अधिकार छैन । विनोद दाई (दास) ले त्यसलाई हेर्नुहुन्छ । तर उहाँले कुनै निर्णय गर्न सक्नुहुन्न । म क्यानाडा जादा उनीहरु डिभिजन १ मा थिए । त्यो बेला त्यहाँ यु–१२, यु–१४ का पनि लिग हुन्थे । त्यहाँ पाकिस्तानी, भारतीय र श्रीलंकालीले मात्र क्रिकेट खेल्छन् । तर नेपालमा लिग भयो भने हरेक नेपालीले क्रिकेट खेल्छ । त्यसका लागि सबै क्षेत्र र जिल्लाले काम गर्नुपर्‍यो । तर अहिलेसम्म कसैले गरेका छैनन्, गरिहाले पनि झारो टार्ने खालका मात्र छन् ।

प्रशंग फेरौ, तपाईको कप्तानी विवाद कहाँ पुग्यो ।
म कप्ताान हुनु वा नहुनु ठूलो कुरा होइन । त्यो टिमको प्रदर्शनमा भर पर्ने कुरा हो । त्यसको निर्णय गर्ने काम क्यानको हो । तर कति मानिसले त्यसमा राजनीति गरे । मेरो पोजिसनलाई लिएर विवाद गरे । कप्तान भइरहनुपर्ने केही छैन । सकेसम्म राम्रो खेल्ने हो । म कप्तान भए पनि नभए पनि नेपालको क्रिकेट माथि जानु पर्‍यो । नेपालको क्रिकेट माथि जान्छ भने म भोली नै राजीनामा दिन तयार छु । क्रिकेट विकासका लागि खेलाडीमा जस्तै जोश पदाधिकारीमा पनि हुनुपर्‍यो ।

                                                        सबै तस्बिरहरु: प्रतीक रायमाझी
कप्तानका रुपमा अब कति समय निरन्तर हुनुहुन्छ ?
 त्यस्तो केही छैन । कप्तानी भनेको खेलको एउटा पाटो हो । मेरो कप्तानी राम्रो भएन भने कसैले मलाई स्थानान्तरण गर्छ । पहिलो प्राथमिकता नेपाल क्रिकेट टिम हो । टिमले कस्तो गर्छ भन्ने हो ।

खेलाडीका रुपमा कति खेल्नुहुन्छ ?
कुनै योजना छैन । मेरो विचारमा कम्तिमा ५ वर्ष त सजिलैसँग खेल्न शरिरले साथ दिन्छ । तर नेपालको क्रिकेट कहाँ छ भन्ने कुराले पनि त्यसमा अर्थ राख्छ । टिम माथि गइरहयो, प्रगति भइरहयो भने निरन्तरताको अर्थ हुन्छ । कुनै ठाउँमा गएर स्थिर भयो भने त्यही ठाउँमा बसिराख्नु सही हुँदैन । राम्रो गर्दै जान्छु । सकेसम्म खेलिरहन्छु ।

तपाई सफल कप्तान । तपाईपछिको कप्तानका रुपमा कसैलाई देख्नुभएको छ ?
मलाई सफल कप्तान भन्छन् । हामीले पछिल्लो समय राम्रो गरेका छौं । तर मुख्य कुरा मभन्दा पनि टिम हो । हाम्रो टिम अत्यन्तै संगठित छौं र राम्रा खेलाडीहरु छन् । हाम्रो स्ट्रेन्थ नै टिम हो । हामीबीच अन्त्यन्तै पारदर्सिता छ । कसैसँग तपाइले केही कुरा गर्नुभयो भने बाँकी सबै खेलाडीबीच त्यो सर्कुलर हुन्छ । हामी नेपालको सफलताका लागि मैदानमा ज्यान दिएर खेल्छौं । जहाँसम्म टिम लिडरको कुरा छ पृथु (बास्कोटा) राम्रो थियो । तर दूर्भाग्य, पछिल्लो समय चोटले उसलाई धेरै सतायो । राजुले पनि यु–१९ मा राम्रो गरेको छ । तर कसरी उनीहरु हुर्कन्छन् भन्ने कुरा हो । म पहिला खेल्दा राजु खड्का कप्तान हुनुहुन्थ्यो । त्यसपछि यु–१९ मा शक्ति गौचन दाई, त्यसपछि विनोद दास दाईको कप्तानीमा मैले खेले । परेश लोहनी दाईको कप्तनीमा पनि खेले । मैले उहाँहरु चारै जनाबाट राम्रा गुणहरु सिके । उहाँहरुबाट सिक्दै गएर मैले आफूलाई विकास गरेको हो । भाइहरु पनि कसरी हुर्कन्छन भन्ने मुख्य कुरा हो ।

खेल्न छोडेपछि नेपालका हस्ती हरुले पनि महत्व नपाउने गुनासो छ नी ?
नामिबियासँगको खेलमा पनि त्यही भयो । दशकौं नेपाली क्रिकेटमा सेवा गरेका पूर्व खेलाडीहरुले नेपालको खेल रंगशालामा बसेर हेर्न पनि नपाउने अवस्था आयो । यहीनेरी समस्या छ। पूर्व कप्तानहरु, छनोटकर्ताहरु, प्रशिक्षकहरु, भविश्यका सम्भावित छनोटकर्ताहरुको समुह त्यहाँ हुनैपर्छ । तर हाम्रो प्रशासनलाई भुतपूर्व खेलाडीवारे नै थाहा छैन । विगतमा पनि यस्तो भइरहन्थे । क्रिकेट विकास गर्ने हो भने यस्ता प्राविधिक मानिसहरुको ठूलै समुह तयार गर्नुपर्छ र उनीहरुलाई सबैखालका खेल (टोल कपदेखि राष्टिय टिमले खेल्ने ठूला अन्तर्राष्ट्रिय खेल)सम्ममा उपस्थित गराउनुपर्छ । प्राविधिक मानिसहरुको स्थायी प्यानल चाहिन्छ । नेपालको व्यवस्थापन मुल्यांकन गर्ने हो भने हामी डिभिजन १ सम्म पुग्नु प्राविधिक रुपमा सम्भव थिएन । तर हामीले इमान्दारीपूर्वक खेल्यौ । हामीसँग रोए डायस र पुबुदु दासानायके जस्ता दुई प्रशिक्षक हुनुहुन्थ्यो । त्यसकै कारण यहाँ आइपुगेका हौं । हामीसँग भौतिक पूर्वाधार र प्रशासन कहिल्यै थिएन । अब अगाडी बढ्न चाहने हो भने प्रशासनमा सुधार अत्यावस्यक छ ।

खेल्न छोडेपछि के गर्ने ?
मौका पाए पक्कै पनि क्रिकेट प्रशासनमा आउने हो । तर चुनावी प्रक्रियाबाट गए म कहिल्यै पनि त्यहाँ नपुग्न सक्छु । लोकतन्त्रमा त्यसको विकल्प छैन । पोजिसनमा आएँ भने सँगै खेलेका साथीहरुलाई समेटेर नेतृत्व गर्छु । त्यसो भए हामीले अहिलेका मानिसले भन्दा सयौं गुणा बढि गर्न सक्छौं । राम्रो काम गर्नका लागि क्रिकेटमा सम्भावना धेरै छन् । तर म कुनै पद नपाए पनि यहाँको क्रिकेट विकासका लागि लागिरहने छु ।

अरु एसोसिएट टोलीका खेलाडीहरु आइपिएल, काउन्टी, पिएसएल जस्ता प्रतियोगितामा देख्दा कस्तो लाग्छ ?
एकदमै दुख लाग्छ । हामीसँग उनीहरुजस्तो क्षमता छ । तर यसका लागि अवसर जुटाउने काम व्यवस्थापनकै हो । हामीसँग नेपालमा खेलाडीको मार्केटिड एजेन्ट छैन । क्यानले हामीलाई उत्पादन मानेर बेच्न सक्नुपर्छ । वातावरण मिलाउनुपर्छ । प्रशासनले अन्तर्राष्ट्रिय लविड गर्नुपर्छ । अहिले सन्दिप लामिछानेजस्तो सानो उमेरको प्रचुर क्षमतावान खेलाडीका लागि क्यानले भारतको कुनै स्टेट, क्लब वा अन्यत्र लविड गरे राम्रो हुन्छ । स्कटल्यान्डका खेलाडी काउन्टी खेल्छन्, अफगानीहरु पिएसएल खेल्छन्, हामी धनगढी क्रिकेट लिग, कलेज लिग खेल्छौं । फरक त्यहीँ छ ।
 

अवको समाधान के त ?
आइसिसीले अस्थायी नर्मलाइजेसन कमिटी बनाओस । नेपालको समस्या र सम्भावना सबैकलाई थाहा छ । त्यहीअनुसार क्षेत्रलाई स्वायत्त बनाउनुप¥यो । लागनीको कमी छैन । व्यवस्थित क्रिकेटिङ स्ट्रक्चर बनायो भने सिस्टमबाट दुई वर्षमा यसको फल आफै आउँछ । तर यसका लागि जिम्मेवार र उत्तरदायी अधिकारी आउनुपर्छ । खेलाडीले जुन लगावमा खेल्छन् त्यही लगाव प्रशाशकमा नभएसम्म सफलता क्षणिक जस्तो हुन्छन् ।

प्रकाशित: १५ वैशाख २०७३ ०३:३१ बुधबार