अन्तर्वार्ता

नेपालको क्रिकेट र सोझो हवाइ सेवामा पाकिस्तानको चासो (भिडियो)

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका विदेश मामिला सल्लाहकारसमेत रहेका विदेशमन्त्री सरताज अजिज अर्थशास्त्रीसमेत हुन्। अजिज पोखरामा बिहीबार सकिएको ३७ औं सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल आएका थिए। स्वदेश फर्कनुअघि उनले शुक्रबार नागरिकका गुणराज लुइँटेल, सुभास घिमिरेटेकनारायण भट्टराईले गरेको विशेष अन्तर्वार्ता:

भिडियोः 

यो तपाईंको पहिलो पोखरा भ्रमण हो? सहर कस्तो लाग्यो?
मलाई पोखरा मन पर्यो। सहर र हिमाली दृश्यले लोभ्यायो।

३७ औं सार्क मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ। बैठकको उपलब्धि के रह्यो?
सार्क अजेन्डा अत्यन्तै बृहत छन्। यो शिखर सम्मेलनअघि आयोजित मन्त्रीस्तरीय बैठक हो। यो बैठक सफल भयो र केही विषयमा हामी सहमतिमा पुग्यौं। अजेन्डा अगाडि बढेका छन्। सहयोगको बृहत क्षेत्र छनोट भएको छ। संयुक्त राष्ट्रसंघीय दिगो आर्थिक विकास (एसडिजी) लक्ष्यलाई सार्क मुलुकले आफ्नो राष्ट्रिय लक्ष्यअनुरुप निर्धारण गरी एकअर्कालाई सहयोग गर्ने संयन्त्र निर्माण गर्न सक्नेछन्। पहिलो लक्ष्य राष्ट्रिय लक्ष्यअनुरुप दिगो आर्थिक विकास हासिल गर्नु हो। प्रत्येक देशका निम्ति अनुगमन संयन्त्र आवश्यक छ र हामी सबैको साझा लक्ष्य २०३० सम्म त्यो हासिल भइसक्नुपर्छ।

यो क्षेत्रका निम्ति विपत्ति व्यवस्थापन र वातावरण महत्वपूर्ण छन्। हामी कृषि, खाद्य सुरक्षा, जलवायु परिवर्तन, शिक्षा र स्वास्थ्य क्षेत्रको सहयोगका निम्ति काम गरिरहेका छौं। हामी प्राप्त उपलब्धि मूल्यांकन तथा थोरै क्षेत्रमा केन्द्रित हुन र उपलब्धिमूलक काम गर्न सहमत भएका छौं।

सार्क प्रक्रिया सुरु भएको तीन दशक भए पनि यो क्षेत्र प्रभावकारी हुन नसक्नुको कारण के हो?
सन् २०१४ मा सम्पन्न काठमाडौं शिखर सम्मेलनले तीन समझदारी गरेको थियो। पाकिस्तानमा अर्को शिखर सम्मेलन हुनुअघि यातायात मन्त्रीहरूको बैठकले क्षेत्रीय सम्पर्कबारे विस्तृत छलफल गर्नेछ भन्नेमा हामी आशावादी छौं।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको तपाईंको बैठकबाट के–कस्ता उपलब्धि हासिल भएका छन्?
बैठकको प्रमुख उद्देश्य पाकिस्तानमा हुने १९ औं सार्क शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री नवाज सरिफको निमन्त्रणा उहाँलाई दिनु हो। मैले सातै विदेशमन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरेँ। यसबाहेक हामीबीच स्लामाबादमा डिसेम्बर ९ मा आयोजित हार्डर एसिया कन्फरेन्समा बृहत द्विपक्षीय संवाद थालनी गर्न सहमति भएको थियो। यो लामो समयदेखि रोकिएको थियो। संवाद कसरी सुरु गर्ने भन्नेमा हाम्रो छलफल केन्द्रित भयो। (पठानकोट, भारत) दुर्घटनाले विदेश सचिव बैठक ढिलो हुन गयो। (त्यसअघि) त्यो प्रक्रिया धेरै राम्ररी अघि बढिरहेको थियो। अब संयुक्त अनुसन्धान टोली २७ मार्चमा नयाँ दिल्ली जाँदैछ, त्यसले २८ बाटै काम सुरु गर्नेछ।

नेपाल–पाकिस्तान सीमा जोडिएका देश नभए पनि हामीबीच निकटता छ। हामीबीच सहयोगका क्षेत्र के के हुन सक्छन्?
सबैभन्दा ठूलो कुरा हामीबीच सद्भावको सरोवर छ। दुवै पक्षबीच सशक्त इच्छाशक्ति पनि छ। तर, हामीबीच यातायात समस्या छ। हामीले सांस्कृतिक सहयोग, पर्यटन, खेल र शिक्षामा ध्यान दिनुपर्छ। हामीले शिक्षा क्षेत्रमा प्रत्येक वर्ष २५ भन्दा बढी छात्रवृत्ति दिँदै आएका छौं र आवश्यकता परे यसलाई बढाउन पनि तयार छौं। पाकिस्तानमा अध्ययन गरेका विशेष गरी इन्जिनियर र डाक्टरका ६ हजार अल्मुनाई नेपालमा क्रियाशील छन्।

हामीबीच धार्मिक पर्यटनको ठूलो सम्भावना छ। हामीकहाँ बौद्ध गुम्बा र ग्रन्थहरूको भव्य उपस्थिति छ। केही समूहहरूले हामीकहाँ आएर हेरिसकेका छन्, तर थप भ्रमण बढाउन सकिन्छ। हिमाली पर्यटनका लागि पाकिस्तानी नेपाल आउन सक्छन्।

हामीबीच क्रिकेटको प्रभावकारी सम्बन्ध बन्न सक्छ। दुवै देशमा क्रिकेट र फुटबल दुवै लोकप्रिय छन्। यी दुवैमा हामीले विस्तार गर्न सक्छौं भन्ने मलाई लाग्छ। तर यी सबैका निम्ति राम्रो सम्बन्ध आवश्यक छ। हामी पाकिस्तानबाट नेपालमा सिधा उडानका निम्ति सक्रियतापूर्वक काम गरिरहेका छौं।

हामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नोभेम्बर ९ र १० मा हुने १९ औं सार्क शिखर सम्मेलनमा स्वागत गर्न प्रतीक्षारत छौं। यसले हामीलाई उच्चस्तरको समझदारी प्रदान गर्छ जुन अनेकन सहयोगनिम्ति अत्यावश्यक हुन्छ।

हामीले यसअघि भएका सम्झौताहरूको कार्यान्वयनलाई तिव्रता दिनु आवश्यक छ। हामी सन् २०१३ मा हस्ताक्षर भएको संयुक्त आर्थिक आयोगसम्बन्धी समझदारीपत्रको कार्यान्वयनलाई तीव्रता दिन चाहन्छौं। हामीबीच व्यावसायिक परिषद सम्झौता भइसकेको छ जसअनुसार व्यापारीलाई भेटघाट र व्यवसाय विस्तार गर्न सहयोग पुर्या।उँछ। व्यावसायिक परिषदले व्यावसायिक सम्बन्ध आदानप्रदानको काम चाँडै सुरु गर्छ भन्ने आशा हामीले गरेका छौं। हामीबीच संस्कृति र पर्यटनसम्बन्धी अन्य सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ। त्यसको कार्यान्वयन हुनुपर्छ।

सार्क क्षेत्रका बासिन्दालाई दक्षिणपूर्वी एसियाली सहयोग संगठन (आसियान) र युरोपेली संघ (इयु) जस्तै अघि बढ्न नसकेको महसुस भइरहेको छ। सार्कलाई थप अगाडि बढाउन के गर्नुपर्ला?
आसियान र इयुबारे तपाईंले अध्ययन गर्नुभयो भने प्रभावशाली मुलुकले त्यसलाई गति दिने गरेका छन्। दुवै संगठनमा ठूला मुलुकले आफ्नो प्रभाव फैलाउन खोज्दैनन्। उनीहरूले साना देशहरूको चासोलाई उदारतापूर्वक सम्बोधन गर्छन् र उनीहरूको सार्वभौम सत्तालाई सम्मान गर्दै सँगै लिएर हिँडेको देखिन्छ। आसियान मुलुकले आर्थिक सहयोगमा असर पार्ने गरी राजनीतिक असमझदारी हुन नदिन सफल व्यवस्थापन गरेका छन्। आसियान युरोपेली संघपछि सबैभन्दा सफल उदाहरण बनेको छ।

सार्कको सम्भावना पनि उत्तिकै छन्। हाम्रो मानवस्रोत पनि उनीहरूको भन्दा कमजोर छैन। हामीलाई आवश्यक भने राजनीतिक असमझदारी बढ्न नदिन र यस क्षेत्रका असमझदारीलाई व्यवस्थापन गर्ने राजनीतिक इच्छाको खाँचो छ। यसो भयो भने हामी अघि बढ्न सक्छौं। संसारले हामीलाई पर्खनेछैन। क्षेत्रीय सहयोगबेगर, क्षेत्रीय बजारबेगर हामीले बाँकी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने छैनौं।

युरोप र संयुक्त राज्य अमेरिकाका बजारमा अहिले समस्या छ। हामीले आफ्नै क्षेत्रीय बजारतिर ध्यान दिनुपर्छ। हाम्रा मुलुकहरूबीचको क्षेत्रीय व्यपार ज्यादै सानो छ, तर सम्भावना अनन्त छन्।

सार्क सदस्यता विस्तारमा पाकिस्तानको अडान के हो?
हामीले अफगानिस्तानको प्रवेशका निम्ति समर्थन गरेका थियौं र ऊ सार्क सदस्य भइसकेको छ। अहिले चीन पर्यवेक्षकका रुपमा छ। उनीहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन्। दक्षिण एसियाको मध्य एसियासँगको एकीकरण धेरै अर्थमा महत्वपूर्ण हुन्छ। पाकिस्तान र चीनले चाइना–पाकिस्तान आर्थिक करिडोरमा हस्ताक्षर गरेका छन्, यसले पूर्व र पश्चिमलाई अफगानिस्तान र भारततर्फ विस्तार गर्छ। संगठनको गतिशीलताका निम्ति क्षेत्रीय खेलाडीहरूको संलग्नता महत्वपूर्ण हुन्छ।

यस क्षेत्रका साना मुलुकले सामूहिक रुपमा आफ्नो हितरक्षा कसरी गर्न सक्छन्?
उल्लेख्य विकास सहयोग हुने हो भने साना तथा ठूला सबै मुलुकलाई यसले सहयोग पुर्यांउनेछ। नेपालसँग उल्लेख्य मात्रामा विद्युत र जलस्रोत सम्भावना छ। विद्युत र जलसम्पदा व्यववस्थापनमा यो मुलुकको आर्थिक भविष्य निर्भर छ। त्यसैगरी, पाकिस्तान पनि जलस्रोतमा धनी र यस क्षेत्रमा अनुभवी छ। हामीबीच सहकार्य सम्भव छ। सम्पूर्ण दक्षिण एसियामा ऊर्जाबजार सिर्जना गर्ने हो भने यसको माग अरु बढ्नेछ र प्रतिस्पर्धात्मक बजारमा बढी मूल्य पनि प्राप्त हुनेछ। त्यसो भए यसले नेपाललाई सहयोग पुग्नेछ।

हामीले यस क्षेत्रभित्र एकीकृत बजार विकास गर्नु आवश्यक छ। हामीसँग उर्जासम्बन्धी सम्झौता पहिल्यै छ। हामीले 'कनेक्टिभिटी' बढाउने हो भने त्यसले हामीलाई सहयोग पुर्यााउनेछ। हामीले अहिले ताजकिस्तान र किर्गिजिस्तानबाट बिजुली आयात गरिरहेका छौं, यी दुवै मुलुक नेपाल र पाकिस्तानबीचको दुरीभन्दा धेरै टाढा छन्। हामीकहाँ तुर्कमेनिस्तान र इरानबाट ग्यास पाइपलाइन ल्याएका छौं। पाकिस्तान मध्य एसियाको उर्जा बजारसँग पहिल्यै जोडिइसकेको छ। यसै गरी हामीले दक्षिण एसियामा 'इनर्जी पुल' को विकास गर्न सक्यौं भने ऊर्जाउत्पादक मुलुकले बढी आम्दानी गर्न सक्छन्।

नेपाल–पाकिस्तान दुवैले भूकम्पको पीडा भोगेका छन्। पाकिस्तानले समुदायको पुनर्निर्माणमा एकदमै राम्रो गरेको छ। हाम्रो पुनर्निर्माण प्रक्रियामा कसरी तपाईंहरूको ज्ञान र अनुभव लिन सकिएला?
नेपाल अत्यन्तै पीडादायी दुर्घटनाबाट गुजि्रएको छ। भूकम्पको २४ घन्टाभित्र पाकिस्तानको पहिलो अस्पताल यहाँ आइपुगेपछि सर्जरी र अन्य सेवा प्रदान गर्न सफल भएकोमा मलाई खुसी लागेको छ। पुनर्निर्माणको चरण अझ जटित हुन्छ। हामीले २००५ को भूकम्पपछि एउटा संस्था निर्माण गरेका छौं। विपत्ति व्यवस्थापन र भूकम्प पुनर्निर्माणसम्बन्धी आफ्नै एजेन्सी स्थापनाका निम्ति नेपाललाई सघाउन पाए पाकिस्तान अत्यन्तै खुसी हुनेछ। यस क्षेत्रमा काम गर्ने विशेषज्ञहरूको ठूलो संख्या हामीकहाँ छ।

आतंकवादलाई परास्त गर्न पाकिस्तानले कसरी काम गरिरहेको छ? तपाईंहरूको अनुभवबाट नेपालले यस दिशामा केही सिक्न सक्छ?
सोभियत युनियन (रसिया) ले आफगानिस्तानमा हस्तक्षेप गरेयताका ३० वर्षमा पाकिस्तान विश्व भूराजनीतिक असरबाट पीडित हुँदै आएको छ। आतंकवादलाई नियन्त्रण गर्न बितेका तीन वर्षमा हामीले केही निर्णायक कदम चालेका छौं। त्यसका निम्ति सेप्टेम्बर २०१३ मा कराँचीमा, त्यसपछि २०१४ मा उत्तरी बजिरिस्तानमा अपरेसन गरेका छौं र २०१५ मा राष्ट्रिय कार्ययोजनालाई अंगीकार गरेका छौं। बृहत कार्ययोजनाका कारण सन् २०१५ मा आतंकवादी गतिविधि ५० प्रतिशतले घटेको छ। यस क्षेत्रमा हामीले अमूल्य अनुभव हासिल गरेका छौं र नेपालसँग त्यसलाई बाँड्न हामी तत्पर छौं। यस क्षेत्रमा हामी सँगै काम गर्न सक्छौं।

राजनीतिक अस्थिरता हुँदाहुँदै पनि आर्थिक गतिविधिलाई कसरी तीव्रता दिन सकिन्छ?
पाकिस्तानले सिकेको सबैभन्दा महत्वपूर्ण पाठ राजनीतिक अस्थिरतालाई प्रजातन्त्रको सुदृढीकरणले मात्र हटाउन सक्छ भन्ने हो। हाम्रा दुई मुख्य दलले सन् २००६ मा प्रजातन्त्रको बडापत्रमा हस्ताक्षर गरे। त्यसको परिणामस्वरुप २००८ र २०१३ मा सत्ताको सहज हस्तान्तरण भयो। अहिले हामीबीच 'सिनर्जी' पैदा भएको छ र संघीयतालाई सशक्तिकरण गर्न सफल भएका छौं। नेपालले प्रजातान्त्रिक संक्रमण पूरा गरेको छ र नयाँ संविधान सहमतिबाट जारी गरेकोमा मलाई खुसी लागेको छ। संविधानका यी सबै तत्व एकसाथ आएका छन्। यो स्थिर राजनीतिक सहमतिका साथसाथै स्थिरताको आधार हो। हाम्रो अनुभवमा आतंकवाद नियन्त्रण र प्रजातान्त्रिक प्रक्रिया अघि बढेपछि आएको लगानीले अर्थतन्त्रमा विस्तार भइसकेको छ। तपाईंकहाँ राजनीतिक स्थितरता र सशक्त नीति भयो भने आर्थिक विकास हुनेछ। नेपालमा यो भइरहेको देखेर मलाई खुसी लागेको छ। नेपालमा स्थिर सरकार र राम्रो आर्थिक विकासका निम्ति म कामना गर्छु।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको नेपाल भ्रमण हुन सक्ला?
एकदमै। नेपाली प्रधानमन्त्रीको १९ औं सार्क शिखर सम्मेलनमा भ्रमण हुँदा यो अजेन्डालाई पनि हामीले राख्नेछौं।

प्रकाशित: ५ चैत्र २०७२ १९:५४ शुक्रबार