अहिले तपार्इँंको स्वास्थ्य कस्तो छ ?
भगवानको कृपाले राम्रो छ । क्यान्सर जुन प्रकारको भइसकेको थियो, डाक्टरले तीन वर्षभित्र पुनः फर्किन सक्ने सम्भावना ९० प्रतिशत हुने बताएका थिए । तिनले तीन वर्षसम्म अलि होसियार हुन भनेका थिए । तीन वर्ष बित्यो । त्यसैले केही राहत महसुस गरेकी छु । अर्को सात वर्ष अलि बढी नै स्वास्थ्यमा ध्यान दिनुपर्ने र सचेत रहनुपर्नेछ ।
त्यत्रो बिरामीपछि तपाईँंमा जीवन र जगतलाई हेर्ने दृष्टिकोण र सोचाइमा ल्याएको परिवर्तन के हो ?
आफूमा व्यापक परिवर्तन आएजस्तो लाग्छ । पहिले मैले आफ्नो स्वास्थ्य र जीवनलाई खासै महत्व दिएकी थिइन । त्यसैअनुसारको जीवनशैली पनि थियो । म आफ्नो स्वास्थ्यबारे भयभीत र चिन्तित भएर बसेँ । आफ्नो जीवनसँग यति धेरै माया थियो भने आफ्नो जीवनशैलीलाई किन राम्रोसँग राखिन ? धेरै कुरा मैले सोच्न थालेँ । मरँे भने पनि कुनै प्रकारको आत्मग्लानिबिना नै मर्न सकियोस् भन्ने सोचँे । मृत्यु नै आयो भने पनि मैले आफ्नो जीवन व्यर्थ गरेँ भन्ने बोध मलाई नहोस् भन्ने लाग्यो । त्यसयता मैले जीवन पूर्णरूपमा बाँचिरहेकी छु ।
म कुनै अलौकिक शक्ति भएको व्यक्ति वा भगवान होइन । म मानव हुँ । मबाट गल्ती हुन सक्छ तर के गल्ती भयो भन्ने बुझ्ने क्षमता भने ममा छ ।
त्यसले जीवनलाई हल्कारूपमा लिन हुने रहेनछ भन्ने बोध गराएको हो ?
निश्चय नै । यो एउटा अनुपम उपहार हो । पाएको कुरा हो । यसलाई कसरी राम्रोसँग जिउने भन्ने हो । मेरो विधि सबैका लागि ठीक छ भनेको होइन । आआफ्नो बाटो र विधि चुन्नुपर्छ । सबैका लागि फरकफरक कुरा हुन्छ । आफूले के गर्नसक्छु, उत्प्रेरित गर्ने विषय के हो ? खोज्नुपर्छ ।
पहिले जीवन अन्त्यहीनरूपमा चल्छ भन्ने लाग्थ्यो । पहिले म यो गरेपछि खुसी, सुरक्षित हुन्छु भनेर प्रोजेक्सन हुन्थ्यो । भविष्यबारे धेरै कुरा हुन्छ । अहिले त्यसतर्फ ध्यान जाँदै जाँदैन ।
भविष्यको पनि योजना नहुने भन्ने होइन तर अहिले आजकै दिन मेरा लागि बढी महत्वपूर्ण हो भन्ने लाग्छ । अर्को कुरा, जीवनको एउटा समयावधि हुन्छ र मृत्यु निश्चित छ भन्ने बोध गराउँछ । त्यसले तपाईंलाई आजै राम्रोसँग बाँच्नुपर्छ भन्ने कुरातर्फ बढी ध्यान जान्छ । त्यसमा अर्जेन्सी गराउँछ । आज हो कि भोलि जानु छ भन्ने लागेपछि आजैलाई बढी महŒव दिने कुरामा चेतना आउने रहेछ ।
अहिले जीवनलाई बढी बुझ्न थाल्नुभएको हो कि आध्यात्मिक कुरा बढी आएको हो ?
पहिले पनि अध्यात्मको अभ्यास गर्थें । तर त्यो धेरै जस्तो सिद्धान्तमा थियो । जब आफूले अनुभव गरिन्छ, त्यसले धेरै कुरा परिवर्तन गराउने रहेछ । म अहिले त्यही चेतनामा बाँचेकी छु । फेरि पनि म भन्छु– म पूर्ण छैन । मानिस हुँ र सीमा छन् । तर के थाहा छ भने मैले परिवर्तन हुनुपर्छ । यो स्थिति अनुभवले नै ल्याएको हो ।
मानिसलाई चेतना निकै पछि आउँछ तर तपाईँंले समयमै पाउनुभयो ?
ठीक हो ।
अब योजना के छ ?
धेरै प्रकारका इच्छा छन् । मेरो सबैभन्दा प्राथमिकताको विषय स्वास्थ्य नै हो । मानसिक र शारीरिक स्वास्थ्यमा बढी ध्यान छ । पौष्टिक आहार, औषधिको मात्रै होइन, कसरी खुसी भएर बाँच्ने, पूर्ण जीवनका लागि कस्तो प्रकारका गुण हुनुपर्छ भनेर आफूले बुझ्ने र आफ्नो जीवनलाई राम्रो राख्ने र अरुलाई भन्ने, ताकि जीवनको मूल्यबोध हुनका लागि क्यान्सर नै हुनुपर्ने अवस्थामा नआओस् । कुनै प्रकारको रोग नलाग्दै जीवनको मूल्यबोध होस् र आनन्दित जीवन बाँच्न सकियोस् । यो नै मेरो जीवनको इच्छा हो ।
कलाकार हुँ । त्यसैले सिनेमा र कलाको क्षेत्रमा काम गर्ने मन छ । कला आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो । फिल्म, पेन्टिङ र लेखनको माध्यमबाट आफूलाई अभिव्यक्त गर्न चाहन्छु ।
त्यसको अर्थ के किताब लेख्दै हुनुहुन्छ ?
एक/डेढ वर्षदेखि किताब लेख्ने कुरा भइरहेको छ । पहिलेदेखि यो विषय मेरो दिमागमा थियो तर काम भइरहेको थिएन । अचेल मैले ब्लग सुरु गरेकी छु– मनिषाकोइरालाडटमी । त्यसमा आफूलाई लागेको कुरा लेख्ने गरेकी छु । मुम्बईमा पेन्गुइन र अर्को एउटा प्रकाशन गृहसँग कुरा भइरहेको छ र यहाँ पनि कुरा भइरहेको छ ।
पहिलो प्रकाशन नेपाली कि अंग्रेजी भाषामा हुन्छ ?
नेपाली भाषामै हुन्छ जस्तो छ । सत्य घटनामा प्रभावित भएर एउटा राम्रो फिक्सन लेखनमा काम गर्दैछु । यो १०–१५ वर्ष पुरानो आइडिया हो । त्यो समयमा मैले गम्भीररूपमा लिएकी थिइन । अहिले काम गरिरहेकी छु किनभने नेपाली समाजमा निकै बढी परिवर्तन देखेकी छु । परम्परागत र आधुनिक दुवै विषयलाई छुने कुरा यो फिक्सनमा हुनेछ । यो मेरो एउटा सपना हो, त्यो पूरा हुने चरणमा छ ।
कोइराला परिवारको सदस्य हुनुहुन्छ । राजनीतिमा आउने चाहना छ कि छैन ?
म सक्रिय राजनीति गर्न सक्दिनँ जस्तो लाग्छ । अलिकति कलाकारहरु निर्दोष प्रकृतिका हुन्छन् । त्यसैले पनि गर्न सक्दिनँ जस्तो लाग्छ । राजनीतिमा चासो नभएको भने होइन । ममा अलि बढी नै कलाकारको प्रवृत्ति छ । यो गर्दा राम्रो हुन्छ कि त्यो गर्दा राम्रो हुन्छ कि भन्ने लाग्छ ।
राजनीतिमा सोच्न सक्ने, योगदान दिनसक्ने क्षमता पनि छ । विश्व राजनीतिको विषयमा चासो छ । राजनीतिक पृष्ठभूमिमा हुर्किएँ । साना केटाकेटीदेखि नै राजनीति सुन्दासुन्दा यो मेरो रगतमै छ ।
घरमा पनि राजनीतिक विषयमा कुरा हुन्छ ?
घरमा बस्दा पनि राजनीतिक कुरा हुन्छ । धेरैजस्तो सुशीला आमासँग हुर्किएको हो । आन्दोलन र अन्य कुराले गर्दा बिपी बासँग त्यति धेरै सम्पर्क हुँदैनथ्यो । तर झुन्डका झुन्ड नेपाली र भारतीय राजनीतिज्ञहरु भेट गर्न आउँथे । म त्यस्तो वातावरणमा हुर्किएकी हुँ । राजनीतिसँग मलाई छुट्टाउन पनि सकिँदैन तर आफूले गरेर पनि हुँदैन । सक्रिय राजनीतिमा आउँछु भन्ने कुरामा आफँंैभित्र शंका छ । किनभने म आधारभूतरूपमा कलाकार हुँ ।
भाइ (सिद्धार्थ) राजनीतिमा आउँछन् ?
उनी राजनीतिमा आउनेछन् । युवा पुस्ता अघि आउनुपर्छ । युवा पुस्ता एउटा आदर्शबाट आउने गर्छ । उनीहरुमा समर्पणको भाव पनि हुन्छ र केही गरेर देखाउनेछु भन्ने चाहना पनि हुन्छ । उनीहरुमा केही गर्न साहस र सपना हुन्छ, त्यसलाई बाटो दिनुपर्छ । त्यसलाई मान्यता पनि दिनुपर्छ । कुनै पनि क्षेत्रमा युवाले योगदान दिन सक्छन् । उनीहरुलाई उत्साहित गर्नुपर्छ । किनभने उनीहरुसँग जत्तिको उत्साह हुन्छ, हामी जस्तो उमेरमा पुग्दा हराइसकेको हुन्छ । जीवनसँग लड्दा लड्दा लड्दा हराइसकेको हुन्छ ।
कांग्रेसको १३ औं महाधिवेशन भएको छ । यसको गतिविधि र नेतृत्वलाई कसरी हेर्नुभएको छ ?
शेरबहादुरजी र शशाङ्कजी दुवै मिलेर जानुभयो भने केही न केही राम्रो होला भन्ने लाग्छ किनभने यो परिवर्तन हो । दुवैमा नेपाली कांग्रेसलाई फरक आयाम र उच्च स्थानमा पु¥याउने चाहना छ । बिपी कोइरालाको सिद्धान्तका आधारमा अघि बढ्नेछन् भन्ने आशा लिएको छु । नेपालमा अहिले जे भइरहेको छ, नेताहरुले त्यसलाई अन्त्य गरी परिवर्तन ल्याउनेछन् ।
दुवै नेताले नेपाली कांग्रेसभित्र के नयाँ कुरा गर्न सक्छन् ? दुवै फरकफरक प्यानलबाट आएका हुन् । आन्तरिक कलह पनि निकै बढी छ । कसरी परिवर्तनको अपेक्षा गर्न सकिन्छ ?
नेपाल गाह्रो समयबाट अघि बढिरहेको छ । भूकम्प आयो, त्यसपछि तराईको आन्दोलन भयो । विभिन्न कारणले जीवनशैलीमै परिवर्तन भएको छ । पेट्रोलको कमी छ, बिजुली छैन । अर्थतन्त्रको अवस्था थाहा छँदैछ । हामी यस्तो अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छौं । यो समय हामीले एकजुट भएर अघि बढेनौं भने कहिले बढ्ने ? यस्तो अवस्थामा विभाजित भएर काम गर्न थाल्यौं भने देश टुक्रिन बेर लाग्दैन ।
फरकफरक विचार, एउटा समूह वा अर्को समूह भन्ने अनेक कुरा छन् । तर हामी सबैले सोच्नुपर्ने पार्टीका बारेमा हो । कांग्रेसका बारेमा सोच्नुपर्छ । त्योभन्दा पनि ठूलो देशको बारेमा सोच्नुपर्नेछ । अहिले पनि एकजुट भएर काम गरेनौं भने यसबाट आउने परिणामहरु निकै गम्भीर हुनेछ । आआफ्नो राजनीतिक एजेन्डा, पार्टीको एजेन्डा लिएर हिँड्नुभन्दा पनि राष्ट्रलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा सोचिनुपर्छ । यस्तो दुःख परेको समयमा धेरै विभाजित भएर सानो चित्त, विचार, स्वार्थ हेरेर अगाडि बढ्न पनि सुहाउँदैन ।
अहिलेको अवस्थामा कांग्रेस नेतृत्व संकट पार लगाएर कसरी अघि बढ्ला र कांग्रेसको आन्तरिक सहकार्य कस्तो होला ?
अहिलेको अवस्थामा नेपाली जनता धेरै सहनशील भएर बसेका छन् । यत्रो समस्या पर्दा पनि आफ्नो मनोबल गिर्न दिएका छैनन् । जनताको आस राजनीतिक नेताहरुमा छ । त्यसैले नेपाली राजनीतिज्ञहरुको दायित्व जनताका आकांक्षा पूरा गर्न र त्यसलाई तोड्न नदिने हो । राजनीतिज्ञहरुले आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपाली जनताको मनोबल तोड्न दिनुहुँदैन । उनीहरु आफू र पार्टीभन्दा पनि जनताको समस्या समाधान गर्न र देशलाई मजबुत बनाउन नमिली हुँदैन ।
यति धेरै समस्यामा रहेका नेपाली जनताले नेताप्रति धेरै आशा गरेका छन् । देशलाई कस्तो बनाउने, नेताहरुकै हातमा छ । उहाँहरुले राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ । मार्गनिर्देशन गर्न सक्नुहोस् । परेका समयमा आफ्नो पार्टीको वा व्यक्तिगत स्वार्थ मात्रै नहेरेर पूरै देशका जनताको स्वार्थ हेर्नुहोस् ।
देशमा भइरहेको राजनीतिक र सामाजिक परिवर्तनलाई पनि हेर्र्दै आउनुभएको छ । अबको दस वर्षमा हामी कहाँ पुग्छौं होला ?
नेपालमा धेरै नै राम्रो हुन्छ भन्ने अपेक्षा लिएकी छु । मलाई क्यान्सर भयो । करिबकरिब मर्न लागेकी थिएँ तर अहिले पहिलेभन्दा राम्रो भएको ठानिरहेकी छु । किनभने मैले के–के गल्ती गरेकी थिएँ त्यसबाट पाठ सिकें । त्यसप्रति मैले क्षमा मागें र त्यो गल्ती दोहो¥याउँदिन भनेर दृढ प्रतिज्ञा गरँे । त्यसपछि राम्रो जीवन जिउँदै आएकी छु । त्यस्तै, संकटले नै राम्रो अवसर दिन्छ । यसले हाम्रो कमजोर र राम्रो पक्ष के छ भनेर जान्ने अवसर पनि दिन्छ । संकटले नै त्यो देखाउँछ । हामीले कमजोरी हटाउने र पहिले गल्ती कहाँकहाँ भएको थियो, त्यसलाई हटाउँदै जाने हो । देश अघि बढिहाल्छ । संकटमा विकास गर्ने सम्भावना पनि हुन्छ तर आफूलाई परिवर्तन गर्न क्षमता पनि चाहिन्छ ।
मैले गल्ती गरेको छु भन्ने बोध पनि हुनुपर्छ । गल्तीबाट पाठ सिक्यौं भने विकास हुन्छ । होइन झनै विभाजित हुने, टुक्रिने र झनै बिलाउँदै जाने सम्भावना हुन्छ ।
यस्तो हो भने नेपालले अघि बढ्ने राम्रो अवसर छ ?
निश्चितरूपमा । अहिले विश्वको आँखा नेपालमाथि छ । सबैतिरबाट नेपाललाई हेरिरहेका पाएकी छु । नेपाली नेतृत्वबाट धेरै अपेक्षा लिएको समेत देखँे । अहिले नै देखाउने, काम गर्ने, निर्णय लिने समय आएको छ । नेपाली नेताहरुले त्यो आशा पूरा गर्नेछन् भन्ने धेरै आशा लिएकी छु ।
प्रसंग बदलौं । लामो समय बलिउडमा सक्रिय रहनुभयो । अहिले के गर्दै हुनुहुन्छ ?
यो वर्ष दुई तीनवटा सिनेमामा काम गर्छु । एउटा साउथ, एउटा बंगाली र एउटा हिन्दी । यो वर्ष नै नेपाली सिनेमाको स्क्रिप्टको काम पनि सुरु हुन्छ । म अभिनय र फिल्म करिअरलाई निरन्तररूपमा लैजानेछु । नेपाल–भारत दुवैतिर बसाइ बराबरी जस्तो हुन्छ ।
भारतमा लामो समय बस्नुभयो । भारतको नेतृत्व र प्रगतिलाई पनि हेर्नुभएको छ । नेपाल र भारतबीच तुलना गर्दा के पाउनुहुन्छ ?
भारत धेरै अघि बढिसकेको छ । भारतको विकासको दर निकै उच्च छ । नेपाल अहिले पनि राजनीतिक स्थायित्वका लागि संघर्षरत् छ । स्थायित्व नहुन्जेल केही हुँदैन । नेपाली कांग्रेस होस् वा नेकपा एमाले वा अन्य कुनै दललाई पूरै अवधि सरकार चलाउन दिनुपर्छ । एउटा दलले केही काम गर्न खोजेको हुन्छ, अर्को सरकार आउँछ, त्यो टुक्रिन्छ । त्यसले नै गन्जागोल भइरहेको छ । स्थायित्व प्राप्त नहुन्जेल नेपालको वृद्धिदर निकै सुस्त हुनेछ ।
प्रजातन्त्रलाई संस्थागत गर्न केचाहिँ कमी भयो जस्तो लाग्छ ?
हामीले केही विषयलाई विचार गर्नुपर्ने हुन्छ । हाम्रो प्रजातन्त्र भर्खरको हो । यसमा समस्या छ, ठूला दुई देशबीच सानो देश छ । नेपालीले असंख्य समस्या सामना गर्दै आएका छन् ।
नेपालमा नराकात्मक कुरा मात्रै छैनन्, सकारात्मक कुरा पनि छन् । नेपाली जनताले अग्रगामी सोचका छन् । त्यसलाई अभिवृद्धि गर्न र संस्थागत गर्न आवश्यक छ । परम्परागत मान्यतालाई कायम राख्दै समाजका सबै पक्षलाई स्थान दिने र युवा पुस्तालाई अघि बढाउनु आवश्यक छ । नयाँ आइडियालाई स्थान दिनुपर्छ । तर सबैभन्दा महŒवपूर्ण विषय राजीतिक स्थायित्व नै हो ।
स्थायित्वका लागि कसबाट समस्या देख्नुहुन्छ ?
जनताबाट होइन, नेताहरुबाटै समस्या हो ।
चीन र भारत जस्ता ठूला देशबीच रहेको नेपालले दुवैतिर सम्बन्धलाई सन्तुलन गर्न नजानेको कुरा आउने गरेको छ । नेपालले नजानेकै हो त ?
नेपालीले नजानेको होइन । यो विषयमा विज्ञहरु पनि जानकार छन् । सन्तुलनमा जान सजिलो पनि छैन । हामीले एक÷दुईवटा कुरा ध्यान दिनैपर्छ– छिमेकी परिवर्तन गर्न सकिँदैन । त्यसैले कसरी उनीहरुसँग आत्मसम्मानसाथ अघि बढ्ने भन्ने विषयमा नेपालीले केही गर्न सक्छौं भन्ने लाग्छ ।
यो विषयमा हाम्रा छिमेकीले पनि सहयोग गर्नुपर्छ । सानो र गरिब छ भन्दैमा दबाउन खोज्नु पनि भएन । हामीले पनि छिमेकीलाई कसरी खुसीसाथ रहन सक्छौं, त्यो खोज्नुपर्छ । किनभने हामीसँग विकल्प पनि छैन ।
भारतसँगको सम्बन्ध जहिले पनि शंकाको अवस्थामा रहन्छ । त्यस्तो अवस्थाबाट पार पाउने उपाय के हो जस्तो लाग्छ ?
म यो विषयको विज्ञ होइन । लामो समय भारतमा बस्दै आएकी छु । भारतीय जनता सधैँ नेपालको पक्षमा रहँदै आएका छन् । भूकम्प गएको समयमा हजारौं मानिसले व्यक्तिगत स्तरमा मलाई एप्रोच गरे, कसरी सहयोग गर्न सकिन्छ भनेर । उनीहरु मायाले आएका हुन् ।
नेपालको नेतृत्वले पनि परेका बेला भन्न सक्नुपर्यो– कृपया हाम्रो सम्मान, प्रतिष्ठा, स्वतन्त्रतालाई ओभरराइट नगरिदिनूस् भनेर । तपार्इंँहरुलाई हामी सम्मान गर्छौं, माया गर्छौं र हाम्रोमा ठाउँ पनि दिन्छौं । तर हामी आत्मसम्मानका साथ बाँच्न चाहन्छौं । किनभने आत्मसम्मान जीवनको सबैभन्दा आधारभूत कुरा हो । दबेर बस्न सकिँदैन । तर यस्तो कुरा राम्रोसँग सञ्चार गर्न आवश्यक छ । यसरी भन्न सक्नुपर्छ कि अर्को पक्षले त्यसलाई त्रासका रूपमा नलिओस् ।
प्रकाशित: १ चैत्र २०७२ २२:०३ सोमबार