अन्तर्वार्ता

सस्तो संरचनाले ठूलो दुर्घटना निम्त्याउँछ

डा. सिनिची किताओका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का हालै नियुक्त अध्यक्ष हुन् । उनी दुइ दिने भ्रमणमा नेपाल आएका थिए । सोमबार सखारै ६ बजे उनी भुकम्पको क्षति आंकलन गर्न सिन्धुपाल्चोक भ्रमणमा निस्के । फर्केर उनी तत्कालै भूटानका निम्ति उडे । डा. किताओका जापानका प्रख्यात इतिहासविद् तथा अनुभवी कुटनीतिज्ञ हुन् । नागरिकका गुणराज लुइँटेलरिपब्लिकाका सुभाष घिमिरेसँग डा. किताओकाले दुई देशबीचको सम्बन्ध तथा जाइकाको नेपाल विकासमा योगदानबारे गरेको अन्तर्वाता ।


तपाईं भर्खर सिन्धुपाल्चोकबाट फर्कनु भयो । भूकम्पपछि तपाईको यो नेपालको दोस्रो भ्रमण हो, के फरक पाउनु भयो ?

– म मध्य मार्चमा काठमाडौं आएको थिएँ । त्यतिखेर विभिन्न ठाउँंको भ्रमण गर्न असमर्थ थिएँ । त्यसैले म तुलना नै त गर्न सक्दिनँ । तर काठमाडौंको क्षति हामीले सोचेको भन्दा थोरै रहेछ । म यसमा खुसी छु । पहिलो भ्रमणमा मैले काठमाडौंका ऐतिहासिक स्थलहरुको भ्रमण गरँे । मैले त्रिभुवन विश्व विद्यालयमा विद्यार्थीहरुसँग पनि कुरा गरेँ । तर, म सिन्धुपाल्चोक तथा यस वरिपरिको क्षति देखेर भने दुखी छु ।

जापान क्षति न्यूनिकरण विश्वमा नै प्रसिद्ध छ । जापानले कसरी नेपालको बलियो र भरपर्दो पुन निर्माणमा योगदान गर्न सक्छ ?

– हामीले सेन्डेइ फ्रेमवर्क फर डिजास्टर रिस्क रिडक्सन २०१५–२०३० बनाउन ठूलो योगदान ग¥र्यौ । 'बिल्ड ब्याक बेटर' सिद्धान्त क्षति पछिको समुदायको पुन निर्माणका लागि आवश्यक छ । हामीले बलियो तथा भरपर्दो संरचना पुन निर्माण गर्नु आवश्यक छ । सस्तो र सरल संरचना बनाउनतिर लाग्यौँ भने त्यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने खतरा हुन्छ ।

त्यसको अर्थ नेपालको विकासमा जाइकाको भूमिका बढ्ने अपेक्षा गर्न सकिन्छ ?

यो नेपाल सरकारमा भर पर्छ । हाल नागरिकलाई सहयोग र साथ चाहिएको छ । ठीक ढंगले सहायता वितरण भएन भने समुदायको बलियो र भरपर्दो पुन निर्माण सिम्भव छैन । यस्तै हामी सरकारलाई आदेश दिन सक्दैनौ । हामी यहाँं सरकारलाई सहायता गर्न आएका हौं । त्यसैले हामी जहिले पनि नेपाल सरकारसँग छलफल गर्दै समन्वयका साथ काम गर्न उत्सुक छौं ।

हाल नेपाल आर्थिक नाकाबन्दी भोगिरहेको छ । नागरिक पीडित छन् । जापानले यो अवस्थालाई कसरी हेरिरहेको छ ?

– कहीँ समस्या छन् भने त्यहाँ समाधानका उपायहरु पनि हुन्छन् । हामी अवस्था सहज हुने प्रतिक्षामा छौँ । र मलाई लाग्छ विस्तारै अवस्था सहज हुँदै छ । यस्तो अवस्थामा धैर्यको ठूलो आवश्यकता हुन्छ ।

तपाईंको अनुभवमा नेपाल जस्तो देशले विकासमा 'लिपफ्रग' (फड्को) मार्न सम्भव छ ।

– म इतिहासकार हु । मैले जापान तथा दक्षिण पूर्व एसियाको आधुनिकिकरणको अध्यायन गरेको छु । तपाईले केही पनि कुरा शुन्यबाट सुरु गर्न सक्नु हुन्न । सम्बधित देशका नागरिकहरु नै महत्वपुर्ण हुन् । अन्तर्राष्ट्रिय विकास साझेदारहरु त सहयोगी मात्र हुन् । जापानले दक्षिण पुर्वी एसियामा उनीहरुलाई विकासको सहज बाटो पहिल्याउन मद्दत ग¥यो । यसले दक्षिण पूर्वी एसियाको विकासमा सहयोग भयो । क्षेत्रीय शान्ति र स्थायित्व महत्वपूर्ण हो । त्यसपछि हामीले भौतिक संरचनामा लगानी गर्यौ । त्यसपछि जापानको निजी क्षेत्रले त्यस क्षेत्रमा लगानी गर्यो । जापान तथा अन्य राष्ट्रको लगानीले एउटा बलियो मध्यम वर्ग सिर्जना भयो । त्यसपछि विस्तारै त्यस क्षेत्रका देशमा प्रजातान्त्रिकरण सुरु भयो । त्यस क्षेत्रका केही देशमा १९५० ताका २०० अमेरिकी डलरभन्दा पनि कम प्रतिब्यक्ति आय थियो । त्यतिबेला अफ्रिकी देशहरुको प्रति व्यक्ति आय ५०० डलरको हाराहारी थियो । आज अवस्था ठ्रयाक्कै उल्टो भएको छ । दक्षिण पूर्वी एसियाका देशहरुले आज उन्नति गरिरहेका छन् र उनीहरु चलायमान प्रजातान्त्रिक देश हुन् । त्यसैले यो प्रक्रिया हो । 'भ्यागुते उफ्राइ अत्यन्तै गारो कुरा हो । तर, यस प्रक्रियालाई छिटो गर्न सकिन्छ । नेपाल जस्ता देशहरुले अन्य देशको गल्तीबाट सिक्न सक्छ । जस्तै, केही देशले एकात्मकताको पक्षपोषण गरे तर जब बजारको संरचना परिवर्त भयो ती देश आर्थिकरुपमा ध्वस्त भए । त्यसैले आर्थिक विकासको केन्द्रमा स्थिर र जिम्मेवार सरकार रहेको हुन्छ ।

'इन्डिपेन्डेन्स एण्ड सेल्फ रेस्पेक्ट' नामक पुस्तकको पनि लेखक भएको नाताले तपाईं नेपालीले आफनो आत्म स्वाभिमान कसरी प्राप्त गर्न सक्छन् भन्ने ठान्नु हुन्छ ?

– सन् १९४५ मा जापान धेरै संकटमा थियो । मानिससँग भोक लाग्दा खाना पनि थिएन । एक प्रकाशकले दर्शनका पुस्तकहरु बेच्ने घोषणा गरे । धेरै मानिसहरु महँगा पुस्तक किन्न लाम लागे । पहिचान र परम्परागत मान्यता कुनै पनि देशको गर्व हो । अपनत्व पनि महत्वपूर्ण हुन्छ । गर्व गर्न तपाईंले आफनो सभ्यता र संस्कृतिलाई सम्मान गर्नुपर्छ । त्यसैले सांस्कृतिक सम्पदाको पुनर्निर्माण महत्वपूर्ण हुन्छ । यिनीहरु नागरिकका पहिचान र आत्मा हुन् ।

नेपालबाट के अनुभव लैजाँंदै हुनुहुन्छ ?

– म क्षति देखेर दुखी छु । साथसाथै नेपालमा अर्को खतरा पनि छ । यस्ता प्रकोपका दुर्घटनाको लागि अग्रिम तयारी महत्वपूर्ण हुन्छ । सस्तो पुनर्निर्माणले भविश्यमा ठूलो दुर्घटना निम्त्याउँंछ । त्यस्तो हुन दिनुहुन्न । त्यसैले मेरो विचारमा यस्ता दुर्घटनाबाट पाठ सिक्नु महत्वपूर्ण हो । जापानमा हामी यस्ता प्राकृतिक प्रकोपको लागि तयार छौ भन्ने सोच्थ्यौ । तर, २०११को सुनामीले हामीलाई हाम्रो तयारी यथेष्ट नभएको प्रमाणित गरिदियो । हामी गल्तीबाट सिक्दै अझ बलियो र भरपर्दो तयारी गर्छौं ।

तपाईंले नेपालका उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्नु भयो । नेपालको वर्तमान अवस्था कसरी अगाडि बढ्ने अपेक्षा गर्नुहुन्छ ?

– उहाँहरू एकदम सक्षम हुनुहुन्छ र नागरिकको दुःखबारे जानकार पनि । नेपाल केही समयदेखि असहज परिस्थितीबाट गुज्रिरहेको छ । अब नयाँ थालनी गर्ने बेला भएको छ । तपाईंहरुले राजनीतिक स्थायित्व प्राप्त गर्नासाथ नेपालमा धेरै काम हुनसक्छन् । राजनीतिक स्थायित्वका लागि सम्झौता महत्वपूर्ण हो । राजनीतिक दलहरु आ–आफ्ना कुरामा अडिग रहेभने सहमति र स्थायित्व हुँदैन । सबैले स्थायित्वका लागि सम्झौता गर्नु पर्छ ।

प्रकाशित: ७ पुस २०७२ २१:५२ मंगलबार