अन्तर्वार्ता

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।

तपाईले राजीनामा दिन लाग्नु भएको हो?

हो, मैले आफूलाई बिबादमा राख्न चाहेन, ममाथि लागेका जुन खालका ब्लेमहरु छन्, आरोप र आलोचनाले म आफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ। अब खाना खाईसकेपछि मैले प्रधानमन्त्रीसमक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो।

तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो?

हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो। मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन। मेरो राजीनामाको कारण मेरो व्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन।

तपाई माथि लागेको कुन आरोपले तपाईलाई बदनाम महसुस गराएको हो?

पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो, मलाई राजनीतिमा निकष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो। यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महसुस भयो। अनि यो बाहेक अरु कुराहरु पनि छन् नि मेरो बारेमा आएका। तपाईलाई पनि थाहै छ होला नि।

तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि? हैन र?

हो, यसको मूल्यांकन जनताले गरिरहेका छन्। मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा। म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ। तर त्यो बेला सुशील दाई (सुशील कोइराला) ले जिल्ला समिति भंग गर्नुभयो।

तपाईको राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त?

हैन, यो कुरा जनताले बुझ्नु हुन्छ। मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु? मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन्। मैले जे गरे ठीक गरेको छु। यसले म माथि लागेको आरोपको पुष्ट्याईँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ।

प्रकाशित: २४ आश्विन २०७८ ०४:२१ आइतबार

उद्योग मन्त्री गजेन्द्र हमाल राजीनामा