मैले पाएको खबर त मतदाता भोट हाल्न आतुर छन् । निर्वाचनको वातावरण पूर्णरूपमा तयार भएको छ ।
निर्वाचनमा बाहिर रहेको 'शक्ति' ले आह्वान गरेको बहिष्कारबाट मतदाता कता–कता तर्सिएको जस्तो देखिन्छ नि ?
नेपालको चुनावमा कहिले कसैलाई देखाउने, कहिले कसैलाई देखाएर त्रास देखाउने रोग छ । यो निर्वाचनको सन्दर्भमा हुने पक्षहरू हुन । पहिलो चुनावमा पनि त्रास देखाइयो । चुनाव सफल भयो । यस पटक फरक किसिमको त्रास देखाइएको छ । सबै दल, उमेदवार, मतदाता हामी कसैलाई रोक्न सक्दैन । जबकि राष्ट्र पुरै चुनावमा होमिएको छ । चुनाव बिथोलिन्छ भनेर कसैले सोचेको छ भने त्यो गलत सोचाई हुनेछ ।
मतदाता मतदान गर्न आतुर देखिएको बताउनुहुन्छ तर फोटोसहितको मतदाता परिचयपत्र अहिलेसम्म छापिसकिएको छैन । मतदाता यसमा अलमल देखिन्छन् नि ?
यो महत्वपूर्ण विषय हो । हामीले के सोच्नुपर्यो भने नेपालमा पहिलो पटक २४० निर्वाचन क्षेत्रमा परिचयसहितको नामावली संकलन गरेका छौं । परिचय दुई किसिमले तयार भएको छ । एउटा, मतदाता नामावलीमै फोटोसहितको परिचय छ । यसैले पनि हुने हो । त्यसमा हामी सबैको परिचय खुल्छ । यो नामावली मतदान केन्द्रमा पुगिसकेको छ । दोस्रो कुरो, भोट हाल्न जाँदा खल्तीमा केही परिचयपत्र भइदिए हुन्थ्यो भन्ने हो । यो हाम्रो प्रतिबद्धता र मतदाताको चाहना हो । परिचयपत्र छापिसकेका छौं । आज (बिहीबार) सम्म छापिसक्यौं । यो सबै मतदाताको हातमा पु¥याउँछौं । अहिले देशै निर्वाचनमय छ । सबै गाउँमा छौं । दल, उम्मेदवार, हाम्रा ३० हजारभन्दा बढी कर्मचारी गाउँमा छन् । हामीले फेरि के गर्दैछौं भने २ लाख १५ हजार 'पुलिङ्ग स्टाफ' गाउँमा जाँदैछन् । आउने हप्ता ४ लाखभन्दा बढी सरकारी कर्मचारी, सुरक्षा निकाय, हामी, सबै दलका १७ हजार उमेदवार, १२२ दल सबै देशै लागिरहेको छ । यस्तो बेलामै परिचयपत्र बाँड्ने हो । सबैको सहयोगमा सबै मतदाताको हातमा पु¥याउँछौं । परिचयपत्र प्रिन्ट गरेर प्लास्टिकको इन्भेलभमा राखेर बन्द गरेर हात–हातमा पु¥याउँछौं । मंसिर ४ को चुनाव हिजोअस्तिको भन्दा फरक हुन्छ अथवा प्रत्येक मतदाताले आफ्नो मत आपूmले मात्रै खसाउन पाउँछ । र, एक जनाको नाम देशभरमा एक ठाउँमा मात्रै हुन्छ । यसरी मतदान हुनु नै निर्वाचन स्वस्थ, निश्पक्ष हुने आधार हो । अब अन्यौलमा जानुहुँदैन । मतदाताले परिचयपत्रसहित मतदान गर्न पाउँछन् । यसमा सबै ढुक्क भए हुन्छ ।
आज (बिहीबार) सम्म छापिँदैछ परिचयपत्र । हुम्ला, जुम्ला, रसुवा जस्ता जिल्लाका विकट गाविस भएका ठाउँमा परिचयपत्र कहिले पुग्छ त ?
अन्यत्र सबै ठाउँमा पुग्यो आजसम्म । एउटा मात्रै बाँकी छ दार्चुला । तराईका जिल्लामा सबै पुग्यो । आज (बिहीबार) तपाईंले मेरो अन्तर्वार्ता लिँदै हुनुहुन्छ । भोलि यो प्रकाशन हुँदै गर्दा २४० क्षेत्रमा परिचयपत्र पुग्छ । परिचयपत्रमा मात्रै हैन, चुनावका लागि आवश्यक पर्ने बाँकी सरसामान सबै पुग्छ ।
एक सातामा घरघरमा मतदाता परिचयपत्र पुर्याउने काम अलिक अव्यावहारिक कुरा भएन र ?
एक जनालाई एउटा काम गर्न ३६५ दिन लाग्छ । त्यही काम ३६५ जनाले गर्दा एकै दिनमा सम्पन्न हुन्छ । १ करोड २१ लाख ४७ हजार हाम्रा मतदाताले एकै दिन काम गरेर मत खसालेपछि सकिन्छ नि, त्यस्तै हो परिचयपत्र बाँड्ने काम पनि । हामी सबै बाहिर निस्केर काम गरे हुन्छ । मतदाताहरू जसरी मतदान गर्न लाम लागेर जान्छन् त्यसरी नै मतदाता परिचयपत्र लिन निस्किएपछि बाँड्नमा कुनै अप्ठेरो छैन । घर–घर, व्यक्ति–व्यक्तिभन्दा पनि परिचयपत्र बाँडने केन्द्रमा मतदाताहरू आइदिनुपर्यो।
चुनावकै दिन परिचयपत्र बाँड्ने तयारी हो कि पहिल्यै ?
हामीले मंसिर ४ गतेअघि नै बाँडने तयारी गरेका छौं । निर्वाचनका दिनमा बाँडने भनेका छैनौं । नगरपालिकाको वडामा बाँड्छौं । जुन जिल्लामा नगरपालिका छैन, त्यहाँ निर्वाचन कार्यालयबाट बाँड्छौं । अरु सबै मतदान हुने स्थलमा बाँड्ने तयारी गरेका छौं । पहिले मतदान गर्न जान एक दिन, २–४ घन्टा लाग्थ्यो । अहिले २ दिनअघि आइदिनूस् । तपाईंको मतदान गर्ने अधिकार सुरक्षित गर्न एक पटक २ दिन दुःख पाउनूस् भनेर मतदातालाई भन्छौं । मतदाताले ढुक्कसँग गोजीमा मतदाता परिचयपत्र हालेर आउनुहुन्छ । त्यसका लागि हामीले मतदातालाई विशेष आह्वान गरेका छौं । यसले उहाँहरूको मत कसैले खसाल्न पाउँदैन । उहाँहरूले आफ्नो मतदान गर्ने अधिकार सुरक्षित राख्न पाउनुहुनेछ ।
मतदाताको परिचयपत्र पहिल्यै गाउँमा कुनै समूहले लुटने, कब्जा गरिदिने डर त यथावत् रह्यो नि ?
त्यसका लागि पनि वैकल्पिक व्यवस्था गरेका छौं । लुट्ने, कब्जाबाट बचाउने मुख्य पक्ष भनेको सुरक्षा हो । वातावरण निर्वाचनमय बन्ने र सुरक्षा मजबुद बनेपछि गौंडा कुरेर मतदातालाई रोक्ने, परिचयपत्र खोस्ने काम हुँदैन भन्ने विश्वास गर्छु । कसैले परिचयपत्र लग्यो भने उसको मतदान गर्ने अधिकार वञ्चित नभई मतदान गर्ने व्यवस्था मिलाउँछौं । कसैले परिचयपत्र लगिदियो भने त्यसको ब्याकअपसमेत तयार छ । परिचयपत्र खोसिएका मतदाताले कसरी मतदान गर्ने भन्ने व्यवस्था गरेका छौं ।
जिल्ला निर्वाचन आयोगलाई स्थानीय तहमा राजनीतिक दलहरूले कत्तिको सहयोग गरेका छन्, आचारसंहिता पालनालगायत् विषयमा ?
देशव्यापीरूपमा खटेका छौं । कति खटेका छौं भने १७ हजार उमेदवार, १२२ दल, १८ हजार मतदान केन्द्रमा खटिइरहेका छौं । यस्तो अवस्थामा १०÷१५ ठाउँमा आचारसंहिता उल्लंघन भयो भने त्यसलाई देशैभर आचारसंहिता उल्लंघन भयो भनेर हल्ला गर्ने कुरा भएन । केही ठाउँमा भएका छन् । त्यस्ता दल, उमेदवारलाई कारबाई अघि बढाएका छौं । त्यति मात्रै नभएर दैनिकरूपमा निर्वाचन आयोग, गृह मन्त्रालय फ्लाइङ स्क्वार्ड भन्छौं हामीले सुरक्षासहितको निर्वाचन आयोगका अधिकृत गएर उल्लंघन भएका काम रोकेका छौं । हुन लागेकालाई गर्न दिएका छैनौं । आचारसंहिता उल्लंघन गरेर राखेका सामग्रीलाई समेत हटाएका छौं । हटाउन नपरोस् भन्ने हाम्रो चाहना हो । हामीले दलहरूलाई पनि त्यही आह्वान गरेका हौं । कस्तो हुँदोरहेछ भने लुकिछिपी भए पनि जे गरेर हुन्छ, जनतालाई प्रभाव पारिहाल्ने । जित्नैपर्ने । आफ्नो प्रचार÷प्रसार अघि हुनैपर्ने भन्ने दल र उमेदवारमा हुँदोरहेछ । रंगीन अनुहार, नाम देखाउनैपर्ने भन्ने हुँदोरहेछ । त्यस्ता प्रचारका लागि निर्वाचन आयोग अलिकति आँखा चिम्लिदिए हुन्थ्यो भन्ने दल र उमेदवारको चाहना हुँदोरहेछ । दलहरुको अलिकति बल मिचाई हुँदोरहेछ । यो बल मिचाई लोकतन्त्रमा अलिक नराम्रो कुरा हो । यसलाई मतदाता, राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले मूल्यांकन गर्नेछन् ।
निर्वाचन आयोगमा तपाईंको लामो अनुभवका आधारमा अहिलेको चुनावी माहोलबारे कस्तो अनुभूति गर्नुभएको छ ?
तडकभडक पहिलेभन्दा धेरै कम भएका छन् । केही प्रयोग नगर्न भनिएका प्रयोग भएका छन् । अलिअलि गन्जी, टि–सर्ट, टोपी नबाँड्न भन्दाभन्दै बाँडिएको छ । पोष्टर रंगीन नबनाउनूस् भन्दाभन्दै बनाइएको छ । सार्वजनिक स्थलमा नगर्नूस् भनिएको काम पनि गरिएको छ । फ्ल्याक्स ब्यानरहरू टाँगिएको छ । हाम्रो जस्तो लोकतान्त्रिक देशमा अलिकति तडकभडक नहोस् भन्ने हो । तर हुनेखानेले गर्दारहेछन् । हामीले सबैको बराबरी प्रचार–प्रसार होस् लोकतन्त्रमा भन्ने मान्यता राखेका थियौं । खेल मैदान समथर बनाउन खोजिएको हो । अलिकति बलियाले बल मिच्याइँ गरेका छन् । नकारात्मक पक्ष हुँदाहुँदै चुनावी माहोल बनाउनका लागि झण्डा, ध्वजापटका लिएर घरदैलो, आमसभा गर्दा चुनावी ज्वरो आउँदो रहेछ । त्यो सकारात्मक ज्वरो हो । त्यसले निर्वाचनको माहोल बढाउँदो रहेछ । पहिला–पहिलाको निर्वाचनभन्दा अहिले निर्वाचन आचारसंहिता धेरै उल्लंघन भएको छैन ।
पहिलेका चुनाव भन्दा यो निर्वाचन धेरै फरक छ । त्यो फरक किन छ भन्दा यो २०७० सालमा चुनाव हुन लागेको छ । राष्ट्रको जीवनमा ४÷५ वर्ष भनेको लामो मान्नुपर्छ । हिजो नाम नभएकाहरु अहिले थुप्रै मतदाता बनेका छन् । ८÷१० लाख मतदाता थपिएका छन, त्यसकारण पनि यो चुनाव फरक छ । निर्वाचनमा प्रविधिको नयाँ प्रयोग गरेका छौं । हिजोको अवस्थामा जस्तो अर्काले मत खसालेपछि पुग्ने अवस्था आउँदैन । आफ्नो फोटोसहितको परिचयपत्र देखाएर मतदान गर्ने पहिलेको भन्दा फरक प्रयोग हो । यो अन्तिम चुनाव हुनुपर्छ । यो राष्ट्रमा फेरि संविधान सभा चुनाव सम्भव नभएकाले यो चुनाव फरक छ । अर्को फरक इतिहासमा १२२ दल चुनावमा होमिएका छैनन् । यसले पनि यो चुनाव फरक छ । यति धेरै उमेदवार भएको पनि यही चुनाव भएकाले पनि फरक छ । फरक भएकाले नकारात्मक कुरा मात्रै होइन । यी विभिन्न फरक कारण भएकाले धेरै मतदाताले मतदान गर्नेछन् । पहिलेको भन्दा बढी मत खस्छ भन्ने लागेको छ । ८० प्रतिशतभन्दा बढी पुलआउट हुन्छ भन्ने अनुमान गरेको छु । र, निर्वाचन स्वच्छ, धाँधलीरहित हुने सबै आधार, वातावरण तयार भइसकेको छ । अब दलहरुले लोकतान्त्रिक पद्धतिमा गएर एक आपसमा भैmझगडा, लडाइँ नगरेर प्रतिपर्धा गरुन् भन्ने हो । मानसिक र वैचारिक लडाइँ हुन्छ, त्यो स्वाभाविक हो । भौतिक लडाइँ हुनुभएन । त्यो कुरा बारम्बार दलहरूलाई निर्वाचन आयोगले आग्रह गरिरहेको छ । दलहरुले सहयोग गर्छन् भन्नेमा छु । पहिलेको भन्दा यो चुनाव राम्रोसँग सम्पन्न हुन्छ भन्नेमा विश्वस्त छु ।
मुख्य गरी चार दलको 'रिमोट' मा आयोग चलेको छ भन्ने छ नि ?
परिस्थिति विषम हो । चुनाव पनि विषम हो । निर्वाचनका लागि यस्तो सरकार कहिल्यै बनेको थिएन । सरकारको नामै निर्वाचन सरकार भएकाले निर्वाचन आयोग र सरकार नजिक छ । सरकारले जे भन्छ त्यही आयोगले मानेको भन्ने होइन । आयोगले भनेको सरकारले पनि मानेको छ । अर्थात् हामी मिलेरै काम गरिरहेका छौं । चुनाव गराउन गठन भएको सरकार, चुनावकै लागि गठित निर्वाचन आयोग यी दुईवटाको तादात्म्य त असाध्यै हुने नै भयो । त्यसपछि सबभन्दा नजिकको सरोकारवाला राजनीतिक दलहरूसँग बस–उठ हुनु आवश्यक छ । फेरि वातावरण बनाउन सरकारले मात्रै सक्दैन । दलहरूले गाउँमा कार्यकर्तालाई सुरक्षित अवतरण गराएनन् भने चुनावी माहोल बन्दैन । आफ्ना मतदातालाई मतदान केन्द्रमा पु¥याएनन् भने चुनाव सफल हुन सक्दैन । त्यही कारणले हामी तीन पक्षको राम्रो सम्बन्ध हुनु स्वाभाविक हो । यसो भनिरहँदा कुनै दलले यसो गर भन्दैमा हामीले आफ्नो विवेक गुमाएका छैनौं । विवेक प्रयोग गरेर निर्णय गर्छ आयोगले । संवैधानिक र कानुनभित्र रहेर आयोगले निर्णय गर्छ । विषम परिस्थितिको यो विषम चुनावमा केही नकारात्मक पक्ष हुँदाहुँदै हामीले सकारात्मकरूपमा चुनाव सम्पन्न गर्दैछौं । कोही कसैलाई त्यस्तो लागेको छ भने त्यो भ्रम हो । हामी संविधान र कानुनभित्रै रहेर निर्णय गरिरहेका छौं । आयोग आफ्नो मूल्य, मान्यता विपरित कहीँ कतै विचलित नभई निर्वाचन सम्पन्न गर्ने दृढ अडानमा छ ।
प्रकाशित: २१ कार्तिक २०७० २३:०२ बिहीबार