अन्तर्वार्ता

‘तस्बिर हेर्दा त यति पीडा हुन्छ भने भोग्दा कस्तो होला ?’

उज्जवल विक्रम थापा सामाजिक अभियन्ता हुन् । जसले ६ वर्षदेखि एसिडपीडितको आवाज उठाइरहेका छन् । अदालतको आदेश कार्यान्वयन नगर्दा यस्ता खाले अपराध बढिरहेको उनी बताउँछन् । सर्वाेच्च अदालतले एसिड बिक्री वितरण नियन्त्रण गर्न सरकारलाई आदेश दिइसकेको छ । तर यसबमोजिम कडाइ नगर्दा एसिड आक्रमणजस्तो अपराध निम्त्याएको उनको ठम्याइ छ । यसै विषयमा केन्द्रित रहेर थापासँग नागरिकन्युजकर्मी पवन बराइलीले गरेको कुराकानी गरेका छन् । प्रस्तुत छ- त्यसकाे सम्पादित अंश :

तपाईंका दिन कसरी बितिरहेका छन् ?  

जीवनलाई सामाजिक काममा समर्पित गरेको छु । यसैमा आफ्नो समय खर्च गरिरहेको छु । दैनिक एसिड आक्रमणका मुद्दा र पीडितका फोन आउँछन् । पीडितलाई भेट्न पुग्छु । न्यायका लागि उनीहरूसँगै हुन्छ । उपचारका लागि सहयोग जुटाउन लाग्छु । यसरी नै मेरा दिन बितिरहेका हुन्छन् ।    

तपाईंले एसिड आक्रमणका थुप्रै घटना नजिकबाट नियाल्नुभएको छ, कस्ता मानसिकताका मानिसले यस्तो अपराध गरेको पाउनुभएको छ ?  

हामी घटना भइसकेपछि सबैभन्दा पहिले त्यसको कारण खोज्छौं । ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्ड थियो/थिएन ? सम्बन्ध असफल भएका कारण पो एसिड आक्रमण भएको हो कि ? यस्ता कुरा केलाउन थाल्छौं । वास्तवमा महिला होस् वा पुरुष, यस्ता आक्रमणमा कारण खोजिरहनु आवश्यक छैन ।  

कुनै पुरुषले महिलालाई वा महिलाले पुरुषलाई एसिड छ्याप्छ भने त्यसको मानसिक सन्तुलन ठीक छैन । त्यो अपराधीको कारण खोजिरहनु पर्दैन । यस्ता जघन्य अपराध मानसिक रूपमा सन्तुलित मानिसले गर्नै सक्दैन । मैले सधैं भन्ने गरेको छु, एसिड आक्रमणको ‘केस’मा चोटअनुसार होइन, अपराधीको सोचअनुसार सजाय दिनुपर्छ । किनभने त्यो व्यक्ति समाजमा बस्न योग्य छैन । त्यसकारण उसको सोचलाई सजाय दिनैपर्छ ।  

समाजमा पुरुषभन्दा महिला बढी एसिडपीडित भइरहेका छन् । तपाईंको विचारमा किन महिलालाई एसिड आक्रमण गरिन्छ ?  

नेपाल मात्रै नभएर दक्षिण एसियाली समाजको कुरा गर्दा जस्तै : पास्कितान, बंगलादेश, भारत र नेपालमा कसैले एसिड आक्रमण गर्‍याे भने पुरुष र महिलाको सम्बन्ध बिग्रँदा आक्रमण भयो भन्ने गरिन्छ । यसकारण पनि पुरुषले महिलाविरुद्ध यो हतियार प्रयोग गरेको देखिन्छ । विश्वव्यापी रूपमा कुरा गर्दा एसिड आक्रमणबाट ८३ प्रतिशत महिला पीडित छन् भने १७ प्रतिशत पुरुष पीडित छन् ।  

एसिड आक्रमण किन भयो भन्ने प्रश्न गर्नु नै मूर्खता हो । कारण जेसुकै होस्, एसिड छ्याप्न पाइँदैन । अपराधीले अदालतसामु अपराध स्वीकार गर्छ भने त्यसको कारण खोज्नु आवश्यक छैन ।

सम्बन्ध असफल तथा प्रेम प्रस्ताव अस्वीकार हुँदा यस्ता आक्रमण भएको समाचार सञ्चारमाध्यममा आएपछि एसिड, एसिडलाई हतियार भन्छु, उठाउने गल्ती पुरुषले मात्रै बढी गरेको छ । अपराध दुवैमा बराबरी भएको छ । समस्या हाम्रै समाजको हो । मूलतः हाम्रो हुर्काइमा समस्या छ । पुरुषप्रधान समाजमा पुरुषले आफू असफल भएको स्वीकार गर्न सक्दैन । किनभने हाम्रो हुर्काइ नै यसरी भएको छ । यस्ता (एसिड आक्रमण) घटनाको पृष्ठभूमि बुझ्दा उसको परिवारभित्रै महिलालाई बढी शोषण गर्ने गरेको पाइन्छ ।  तसर्थ छोराको सोचमै परिर्वतन ल्याउन जरुरी छ । अनि मात्रै परिर्वतन हुन्छ ।  

तपाईंको विचारमा यस्ता घटना न्यूनीकरण गर्न कस्तो कानुन आवश्यक छ ?  

एसिड आक्रमण किन भयो भन्ने प्रश्न गर्नु नै मूर्खता हो । कारण जेसुकै होस्, एसिड छ्याप्न पाइँदैन । अपराधीले अदालतसामु अपराध स्वीकार गर्छ भने त्यसको कारण खोज्नु आवश्यक छैन । हामीले एसिड आक्रमणलाई ‘फास्ट ट्रयाक कार्ड’ गर्नुपर्‍याे भनिरहेका छौं । ऐन/कानुनअनुसार सजाय दिनुपर्छ । अहिले अवस्था के छ भने एसिड आक्रमण भएको १ वर्ष बितिसक्दा पनि मुद्दै दर्ता हुँदैन । दर्ता भइहाले पनि बहससम्म पुग्दैन । एसिड आक्रमणका अपराधीलाई सजाय तोकिएको कुरा सुन्ने मौका जनताले पाउँदै पाउँदैनन् । सात दिनभित्रै फैसला सुनाउने परिपाटी बनाउनुपर्छ । त्यसो गरियो भने मात्र अर्काे अपराधीले त्यस्तो अपराध गर्ने हिम्मत हम्मेसी गर्दैन ।  सजाय दिने परिपाटी भयो भने यस्ता अपराध अन्त्य नै त नहोला, तर न्यूनीकरण पक्कै हुन्छ भन्ने विश्वास छ ।  

अन्य मुलुकमा एसिड बिक्री वितरण तथा नियन्त्रणसम्बन्धी  कस्ता कानुन छन् ?  

बेलायतमा घरमा एसिड भेटियो मात्रै भने पनि १० वर्षको सजाय हुने कानुन छ । छ्याप्ने त परको कुरा । अन्य मुलुकमा पनि यसविरुद्ध बलियो कानुन छ । त्यसकारण नेपालमा पनि यस्तै कडा कानुन बनाउन हामीले बारम्बार घचघच्याइरहेका छौं । मिडिया र अन्य संघ/संस्थाले पनि यसमा उत्तिकै साथ दिइरहेका छन् । एसिड आक्रमणको जुन पीडा छ, त्यो अकल्पनीय छ, शब्दमा व्यक्तै गर्न सकिन्न ।  

सात दिनभित्रै फैसला सुनाउने परिपाटी बनाउनुपर्छ । त्यसो गरियो भने मात्र अर्काे अपराधीले त्यस्तो अपराध गर्ने हिम्मत हम्मेसी गर्दैन । 

पछिल्लो सयम परिवर्तनका केही संकेत देखिएका छन् । यससम्बन्धी कानुन निर्माणको माग राखेर हामी संसदीय समितिसम्म पुग्यौं । समितिलाई ४ वटा अजेन्डासहित माग पेस गरेका छौं । ती माग लगभग सम्बोधन हुने भएका छन् । एसिड बिक्री वितरणमा नियन्त्रण, औषधि उपचार, रोजगार, जसले आक्रमण गर्छ, उसलाई जन्मकैद सजाय माग गरेका छौं । यो पूरा हुनेमा झिनो आशा गरिएको छ ।  

तपाईं ६ वर्षदेखि एसिड आक्रमणपीडितको न्यायका लागि आवाज उठाइरहनुभएको छ, यस अवधिमा के कस्ता परिर्वतन पाउनुभयो ?  

दिनमा कैयौं मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । त्यसको खासै समाचर आउँदैनन् । तर दुई जना मात्र सवार हावईजहाज दुर्घटना भयो भने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आउँछ । एसिड आक्रमण पनि हावईजहाज दुर्घटनाजस्तै हो । किनभने यो अनुहारमा छ्यापिन्छ । एसिड आक्रमणको केसमा विश्वले के बुझ्न जरुरी छ भने अहिले हाम्रो समाज खुला छ । जहाँ गर्लफ्रेन्ड, ब्वाईफ्रेन्ड हुनु नौलो होइन । आजको युवा पुस्ताले स्वतन्त्र जीवन बाँच्छन्, त्यो उनीहरूको अधिकारको कुरा हो । उनीहरूको सम्बन्ध व्यक्तिगत कुरा हो । तर यस्ता घटनाले युवा पुस्तामै त्रास फैलिन्छ । समाजमा यसबारे सचेतना फैलाउन आवश्यक छ ।  

उसोभए राज्यको भूमिका कस्तो हुनुपर्छ त ?  

जबसम्म फास्ट ट्रयाक कोड लागू हुँदैन, तबसम्म एसिड आक्रमणजस्तो जघन्य अपराध न्यूनीकरण हुँदैन । एउटा अभियन्ताका नाताले भन्छु– एसिड आक्रमणको कारण खोज्दिनँ । यो अपराध हो, कसैले कुनै बहानामा गर्न पाउँदैन । पुरुषले महिलालाई वा महिलाले पुरुषलाई । कुनै व्यक्ति आफूले एसिड छ्यापेको स्वीकार गर्छ भने त्यसमा अदालतले कारण खोजिरहनु पर्दैन । किनभने जस्तोसुकै कारण होस्, जस्तोसुकै सम्बन्ध होस्, एसिडको सिसी बोकेर सके मार्ने, नसके जीवन तहसनहस पार्ने छुट कसैलाई छैन/हुँदैन । हामीले कारण खोजी गरिबस्यौं भने यो अपराधको अन्त्य हुँदैन ।  

पीडितप्रति समाजको दृष्टिकोण कस्तो पाउनुभएको छ ?  

मैले पीडितहरूलाई के भन्ने गरेको छु भने तपाईंहरू घाउचोट लुकाउनुहुन्छ भने म आउँदिनँ । एसिडले जलेको मानिस कस्तो हुन्छ, कसैले देखेको हुँदैन । उनीहरूले रोजगार पाएका हुँदैनन् । उनीहरूले बन्द कोठामा मात्रै लुक्न नपरोस् । हिम्मत भएका चेलीहरूका लागि रोजगारीको सिर्जना गरिदिनुस् । योग्यताका आधारमा काम दिनुस्, कठैबरा ! भन्नुपर्दैन ।

जुन पवित्रा बैनी, अहिले कीर्तिपुर अस्पातालको शैयामा छिन् । पहिले उनी क्यासिनोमा काम गर्थिन् । अब साहुले उनलाई काममा  नबोलाउन सक्छ । उनलाई रोजगारी दिनु पर्याे नि । मुस्कान खातुन, ९ कक्षा पढ्दापढ्दै एसिड आक्रमणमा परिन् । उनले पढ्ने इच्छा व्यक्त गरेकी छन् । आजसम्म कुनै निजी वा सरकारी कुनै पनि स्कुलले उनलाई निःशुल्क पढाउने घोषणा गरेका छैनन् ।  

एसिडले जलेको मानिस कस्तो हुन्छ, कसैले देखेको हुँदैन । उनीहरूले रोजगारी पाएका हुँदैनन् । उनीहरूले बन्द कोठामा मात्रै लुक्न नपरोस् । हिम्मत भएका चेलीहरूका लागि रोजगारीको सिर्जना गरिदिनुस् । योग्यताका आधारमा काम दिनुस्, कठैबरा ! भन्नुपर्दैन ।

सरकारले त्यस्ता पीडितलाई यो समाजमा घुलमिल गर्ने अवसर नै प्रदान गरेको छैन । सरकारमा भएका मानिसले आफ्ना कार्यकता भर्ती गर्न सक्छन्, तर एसिडपीडितलाई रोजगारी दिन किन सक्दैनन् ? जम्मा २०÷२२ जना केटाकेटी (एसिडपीडित) लाई रोजगारी दिन सकिन्न र ? चाहनै नभएर मात्रै हो । समाजमा घुलमिल मात्रै गराउने हो भने पनि उनीहरूप्रतिको दृष्टिकोण परिवर्तन हुन्थ्यो होला । एसिड आक्रमणले उहाँहरूलाई आर्थिक रूपमा कमजोर बनाउँछ । भएका जायजेथा सबै सकिन्छ, तर उपचार सकिँदैन ।  

समाजमा जनचेतना बढाइदिनुपर्छ । यो रोग होइन, यो कसैलाई सर्दैन । यो त एसिडको दाग मात्र हो भन्ने चेतना विकास हुनुपर्छ । सरकारले रोजगारीसहित शिक्षा व्यवस्था गरेर उहाँहरूलाई घरबाट बाहिर निस्किन सहयोग गर्नुपर्छ ।  

यस्ता घटनाविरुद्ध छलफल र बहस त भइरहकै छन् । तपाईं आफैं पनि विभिन्न छलफलमा सहभागी भइरहनुहुन्छ । तर पनि यस्ता घटना बढिहरेका छन् नि ?  

हाम्रो समाज निकै क्रूर छ । मैले सामाजिक सञ्जालमा एसिडले जलेको मानिसको फोटो पोस्ट गर्दा धैरेल गाली गर्नुहुन्छ । यस्तो फोटो पोस्ट नगर्नुस्, भन्नुहुन्छ । मैले उहाँहरूलाई भन्छु– फोटो हेर्दा त यस्तो पीडा हुन्छ भने भोग्दा कस्तो होला ? यो भोगाइलाई सबैले उजागर गर्नुपर्छ । उहाँहरूलाई पुनः पुरानै जीवनशैलीमा फर्किन सहज होस् । त्यस्तो तस्बिर कसैलाई तर्साउन हालिएको होइन । राम्रो वा नराम्रो देखाउन राखिएको पनि होइन । मैले धेरैलाई- मरेको कोमलता जगाउन पनि त्यस्ता तस्बिर सामाजिक सञ्जालमा हाल्ने गरेको पनि भनेको छु ।  

पीडितलाई सहयोग गर्ने परिपाटी कस्तो पाउनुभएको छ ?

मुस्कान खातुनलाई वीरगन्ज महानगरपालिकाले ३ लाख, केन्द्रीय सरकारले ३ लाख र प्रदेश सरकारले ५ लाख सहयोग गरेका छन् । रौतहटकी सम्झना दास र संगीता दासको उपचारका लागि प्रदेश २ का मुख्यमन्त्रीले ४ लाख दिनुभएको हो । जेनी खड्काका लागि केन्द्रीय सरकारले ३ लाख रुपैयाँ प्रदान गरेको हो । जति पनि पीडित छन्, उनीहरूको उपाचरका लागि कोमल मन भएका मानिसले सहयोग गरेका छन् । नेपाली समाजमा मानवता छ, कोमलता छ । एसिडपीडितले सरकारको मात्र मुख ताकेका भए उपचारसम्म पाउने थिएनन् ।  

तपाईं घटना हुनेबित्तिकै पीडितकहाँ पुग्नुहुन्छ । उपचारमा पनि संलग्न हुनुहुन्छ । यसको उपचार पद्धति कस्तो हुन्छ ? 

सबैभन्दा पहिले एसिड आक्रमण भएपछि एउटा सरल तरिका छ, जब कसैको अनुहारमा एसिड छ्यापिन्छ, तब उसले कराउँदै पानी माग्छ । एसिड पर्नेबित्तिकै सफा चिसो पानीले अस्पताल नपुग्दासम्म पोलेको ठाउँमा निरन्तर पानी खन्याउँदै लगियो भने ४० प्रतिशतसम्म घाउ कम हुन्छ । यो अध्ययनले पुष्टि गरेको कुरा हो । यति साधारण जनचेतनाको कार्यक्रम पनि स्वास्थ्य मन्त्रालयले ल्याउँदैन । यसमा सरकार गम्भीर भएको देखिँदैन ।  

पानी हाल्ने कुरा त अस्पताल नपुग्दासम्मका लागि हो । त्यहाँ पुगेपछि अन्य कुरा त डाक्टरले हेरेपछि थाहा हुन्छ । यसको उपचार अति नै महँगो र संवेदनशील छ । पीडासँगै खर्चिलो छ । हामीले भनेको उपचार त साधारण जीवन जिउन सक्नेसम्म मात्रै  हो । पहिलेजस्तै बनाउन त खर्चले भ्याउँदै भ्याउँदैन । नेपालका एक जना त्यस्ता पीडितको उपचारमा १ करोड १४ लाखसम्म खर्च भइसकेको छ । अझै उहाँको उपचार जारी नै छ । नेपालका ती डाक्टर र नर्सप्रति कृतज्ञ छु, जो एसिडको पीडामा छटपटाइरेहकाहरूको उपचारमा खटिइरहनुभएको छ । एसिडले जलेकाहरूलाई पुनर्जीवन दिनुहुन्छ ।  

एसिडका दागसँग लड्दै बाँचिरहेकाहरूलाई तपाईंको सन्देश के छ ?  

अपराधीले दिएको दाग बोकेर बाँचिरहेको तपाईंभन्दा बहादुर मान्छे कोही छैन, यो संसारमा । तपाईं हामीभन्दा धेरै साहसी मान्छे हुनुहुन्छ । बाहिर खत अनि भित्र असह्य पीडा बोकेर पनि तपाईं हाँस्न सक्नुभएको छ । संसारमा यस्तो साहस कमै मान्छेले मात्र गर्न सक्छन् । उहाँहरूले सरकारसँग बाँच्ने आधार मात्रै बनाइदेऊ भनिरहनुभएको । यो माग सरकारले सम्बोधन नगर्दा आफूलाई पनि असफल ठान्छु ।  

यो अभियानमा कसरी लाग्नुभयो ?  

६ वर्षअघिको कुरा हो । एसिड आक्रमणमा परेका एकजना बिरामीलाई भेट्न म वीर अस्पताल पुगेको थिएँ । त्यही बिहान संगीता मगर र सीमा बस्नेत बहिनीहरूलाई एसिड आक्रमण भएर वीर अस्पतालकै आकस्मिक कक्षामा ल्याइएको रहेछ । अस्पतालको शैयामा एसिडको पीडाले छटपटाइरहेको देखें । मान्छेले यस्तो जघन्य अपराध कसरी गर्न सक्छ ? निकै सोंचमा परें । यो मेरो सीमाभन्दा  माथिको कुरा भयो ।  

एसिड पर्नेबित्तिकै सफा चिसो पानीले अस्पताल नपुग्दासम्म पोलेको ठाउँमा निरन्तर पानी खन्याउँदै लगियो भने ४० प्रतिशतसम्म घाउ कम हुन्छ । यो अध्ययनले पुष्टि गरेको कुरा हो । यति साधारण जनचेतनाको कार्यक्रम पनि स्वास्थ्य मन्त्रालयले ल्याउँदैन । यसमा सरकार गम्भीर भएको देखिँदैन ।  

तर यस्ता अपराधीलाई कडा सजाय दिनैपर्छ । यस्ता घटनाविरुद्ध किन नबोल्ने भन्ने सोच आयो । त्यसपछि भोलिपल्टदेखि नै एसिडपीडितको सहयोगका लागि जुटें । केही सहयोग पनि गरें । यस अभियानमा लागेको अहिले ६ वर्ष भइसक्यो । यो कामले जीवनमा आत्मसन्तुष्टि मिलेको छ । जब म साँझ घर पुग्छु, तब म कति भाग्यमानी छु, अरूले भन्नैपर्दैन । मैले पाउने मीठो निद्रा अरू कसले पाउला र ! आत्मसन्तुष्टि धनभन्दा धेरै माथि हुँदोरहेछ । एसिड पीडितहरूसँगै जीवन यात्रा गर्दा जीवनमा आउने अन्य अप्ठेरा र पीडा त केहीजस्तो लाग्दैन । जब जीवनमा कुनै कठिन चुनौती आउँछन्, तब उहाँहरूको जीवनलाई सम्झिन्छु, पीडा हल्का भइहाल्छ ।  

प्रकाशित: २२ श्रावण २०७७ ०९:४१ बिहीबार

अपराध एसिड प्रहार