अन्तर्वार्ता

‘पर्यटनकर्मीलाई सहुलियत ऋण चाहियो’

टिकाराम गुरुङ, सचिव, नेपाल पर्वतारोहण संघ

कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्र थला परेको छ । लाखौं जनशक्ति बेरोजगार बनेका छन् । वित्तीय संस्थाबाट ऋण लिएर पर्यटनमा लगानी गरेका व्यवसायीमा निराशा छाएको छ । समग्र पर्यटन उद्योगकै भविष्य अनिश्चित देखिन्छ । यिनै विषयमा नागरिककर्मी अमृत भादगाउँलेले नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङसँग गरेको कुराकानी:        

कोरोना भाइरसले पर्यटनमा कस्तो प्रभाव पारेको छ ?

पर्यटनको मुख्य सिजनमै कोरोना भाइरसको महामारी आएकाले यसबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित छ । पर्यटकीय चहलपहल शून्य छ । यसबाट ठूलो आर्थिक क्षति पुगेको छ । साथै पर्यटन व्यवसायी, पर्वतारोही, मजदूर, पथप्रर्दशक, उद्यमी लगायत सबै बेरोजगार बन्न पुगेका छौं । यो समग्र पर्यटन उद्योगकै लागि ठूलो क्षति हो । पर्यटन क्षेत्रले अहिलेसम्मकै ठूलो क्षति व्यर्होनु परिरहेको छ । हिजो माओवादी द्वन्द्व र १२ वैशाखको भुइँचालोमा पनि पर्यटन क्षेत्रले आजको जस्तो चर्को समस्या झेल्नु परेको थिएन ।  

चैतदेखि जेठसम्म पर्वतारोहणको सिजन हो तर यसपाला आरोहण ठप्प हुँदा कत्तिको क्षति भयो ?  

यही सिजनमा पर्वतीय पर्यटनमा हजारौंको सहभागिता हुन्थ्यो । पदयात्रा र आरोहण नहुँदा धेरैको रोजीरोटी खोसियो । व्यवसायीले आम्दानी गर्न पाएनन् । मजदूर बेरोजगार बने । त्यस्तै राज्य कोषमा राजस्व पनि उठ्न सकेन । यसबाट चौतर्फी क्षति पुगेको छ ।    

सरकारले पर्यटनकर्मीको लाइसेन्स, नागरिकता वा प्रमाणपत्रका आधारमा कम्तीमा २५ लाख रुपैयाँ सहुलियत ऋण दिएमा मात्र हामी व्यवसायमा टिकिराख्ने वातावरण बन्न सक्छ ।  

कोभिड–१९ कहिले नियन्त्रणमा आउँछ भन्ने अनिश्चित छ, अब पर्यटन कहिले लयमा फर्केला ?  

पर्यटन क्षेत्र पुरानै लयमा फर्कन कम्तीमा दुई वर्ष लाग्छ होला ! कोभिड–१९ को खोप र ओखती पत्ता नलागेसम्म घुमफिरको वातावरण बन्दैन । पर्वतारोहण पनि हुँदैन । त्यसैले अब दुईतीन वर्ष व्यवसायमै टिकिराख्नु हाम्रो लागि सजिलो छैन ।  

सरकारसँग तपाईँहरूका माग केके छन् ?  

सरकारले हामी व्यवसायीलाई सहुलियत दरमा ऋण सुविधा दिनु प¥यो । व्यवसायी, पर्वतारोही, गाइड तथा मजदूरलाई राहत व्यवस्था हुनुप¥यो । हाम्रो लाइसेन्स, नागरिकता वा प्रमाणपत्रका आधारमा कम्तीमा २५ लाख रुपैयाँ सहुलियत ऋण दिएमा मात्र हामी व्यवसायमा टिकिराख्ने वातावरण बन्न सक्छ ।  

टिकाराम गुरुङ

अब दक्ष जनशक्तिलाई पेशाबाट पलायन हुनबाट कसरी रोक्न सकिएला ? 

दालभातै खान समस्या प¥यो भने स्वाभाविक रूपमा मान्छेले विकल्प खोज्छ । वर्षौंको अनुभवबाट खारिएको जनशक्ति अर्को पेशामा वा विदेशमा पलायन हुनु भनेको राष्ट्रकै लागि क्षति हो । त्यसैले यस्तो बेलामा उनीहरूलाई पर्यटकीय पूर्वाधार विकास, हिमाल सरसफाइ अभियान, प्रोडक्ट ब्राण्डिङ तथा प्याकेजिङ र तालीम सञ्चालनमा संलग्न गराउनु पर्छ । त्यसैगरी आन्तरिक पर्यटन प्रर्वद्धन र उद्धार तालीम सञ्चालनमा समेत उनीहरूलाई परिचालन गर्न सकिन्छ । त्यसो भए मात्र उनीहरूलाई पलायन हुनबाट रोक्न सकिन्छ ।  

हिमाल सरसफाइ अभियान चलाउने विषयमा के हुँदैछ ?  

पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत सरोकारवालाहरू मिलेर सरसफाइ अभियान चलाउन हामी पहल गर्दैछौं । हाम्रा हिमालहरूको सरसफाइमा पर्वतारोही र गाइडका साथै अन्य पर्यटन मजदूर तथा व्यवसायीलाई संलग्न गराउन सकिन्छ । सरसफाइ आजको आवश्यकता पनि हो । त्यसैले ५ हजार ८ सय मिटरभन्दा अग्ला हिमालमा सरसफाइ अभियान चलाउँछौं । यसले रोजगारी पनि सिर्जना गर्दछ ।  

नेपालका सबै हिमाल पर्वतारोहणका लागि खुला गरिनु पर्छ । हाम्रा ५ हजार ८ सय मिटरदेखि ६ हजार ५ सय मिटरसम्मका हिमाल नेपाल पर्वतारोहण संघबाटै अनुमति लिएर पर्वतारोहण गराउने व्यवस्था हुनुपर्छ । 

मुलुकमा नयाँ पर्यटन ऐन आउँदैछ, यसको मस्यौदामा केकस्तो सुधारको आवश्यकता देख्नुभएको छ ?  

राज्यले नेपाल पर्वतारोहण संघलाई एउटा एन्जिओका रूपमा होइन, जिम्मेवार अल्पाइन क्लबका रूपमा सम्मान गर्नुपर्छ । एनएमएको सिफारिस विना कुनै पनि हिमाल आरोहणको अनुमति दिन नपाइने व्यवस्था पुरानो पर्यटन ऐनमा छ । अब जारी हुने ऐनमा पनि यो व्यवस्था कायमै हुनुपर्छ । त्यस्तै नेपालका ५ हजार ८ सय मिटरदेखि ६ हजार ५ सय मिटरसम्मका हिमाल संघबाटै अनुमति लिएर पर्वतारोहण गर्ने व्यवस्था हुनुपर्छ । अर्को कुरा, नेपालका सबै हिमाल पर्वतारोहणका लागि खुला गरिनुपर्छ । र, दक्ष जनशक्ति उत्पादन गर्ने र उद्धार गर्ने आधिकारिक संस्थाका रूपमा एनएमएलाई अधिकार दिइनु पर्छ ।

राज्यले आन्तरिक पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने बेला भएन र ?

आन्तरिक पर्यटनको विकासले सिंगो पर्यटन उद्योगमा टेवा पुग्छ । त्यसैले पर्यटन ऐनमार्फत् नै सरकारले आन्तरिक पर्यटकको सम्मान गर्नुपर्छ । अहिलेको महामारी साम्य हुनेबित्तिकै मुलुकभित्र डुल्ने भनेका पनि आन्तरिक पर्यटक नै हुन् । यो सत्यलाई बुझेर सरकारले अभियान चलाउन जरुरी देखेको छु ।  

हाम्रा पर्यटन सम्बद्ध संस्थाको नेतृत्वमा राजनीति हावी हुँदै जाँदा पर्यटनमा कस्तो असर परिरहेको छ ?  

पर्यटन सम्बद्ध संस्थामा राजनीति हावी हुँदा व्यावसायिक हितका कामभन्दा राजनीतिक भागबण्डामा समय बितिरहेको छ । खासमा पर्यटनलाई राजनीतिभन्दा माथि राखेर अघि बढे मात्र परिणाममुखी काम हुन सक्छ । त्यसैले अबका दिनमा विशुद्ध पर्यटन व्यवसायी वा अनुभवी मजदूरले मात्र यस्ता संस्थाको नेतृत्व हाँक्ने वातावरण बनाउनुपर्छ ।   

पर्यटन सम्बद्ध संस्थामा राजनीति हावी हुँदा व्यावसायिक हितभन्दा राजनीतिक भागबण्डामा समय बितिरहेको छ । अबका दिनमा विशुद्ध पर्यटन व्यवसायी वा पर्यटन मजदूरले मात्र यस्ता संस्थाको नेतृत्व हाँक्ने वातावरण बनाउनुपर्छ ।    

तपाइँ नेतृत्वमा रहनु भएको नेपाल पर्वतारोहण संघलाई अबका दिनमा कसरी अघि बढाउनु पर्ला ?

हाम्रो संघले अन्तर्राष्ट्रिय अल्पाइन क्लबहरूसँग मिलेर नेपालको पर्वतीय पर्यटनलाई उचाइमा पु¥याउन योगदान गर्नुपर्छ । कुमार खड्ग विक्रम शाह र डा. हर्क गुरुङको सक्रियतामा ४६ वर्ष अघि स्थापित एनएमएले धेरै काम गरिसकेको छ । हामी आजसम्मका कामहरूको समीक्षा गरेर, कमिकमजोरी सच्याउँदै नयाँ ढंगले अघि बढ्नुपर्छ । संघले मुलुकभित्रका सबै हिमालको पिक प्रोफाइल बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा मार्केटिङ गर्नुपर्छ ।  

तपाईं पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा पनि क्रियाशील हुनुहुन्छ, पूर्वको पर्यटकीय संभावना कस्तो देख्नुभएको छ ?  

पूर्वमा प्रचुर पर्यटकीय संभावना छ । आजसम्म सगरमाथा, मकालु र कञ्चजनजंघा क्षेत्रमा मात्र पर्यटकीय चहलपहल देखिन्छ । यसबाहेक पनि हाम्रो पूर्वमा धेरै सम्पदा छन्, कतिपय आन्तरिक पर्यटकका केन्द्र बनेका छन् भने कतिपय विदेशीका । प्रदेश नं १ मा रहेका हिमाल, पहाड र तराई सबैतिर प्रशस्तै पर्यटकीय संभावना छ । हाम्रो पूर्वमा पूर्वाधार विकास र प्रचारका धेरै काम गर्न बाँकी छ । यसका लागि प्रदेश सरकारको समन्वयमा हामी पर्यटन गुरुयोजना निर्माण, पूर्वाधार विकास र डिजिटल मार्केटिङका काम गर्दैछौं । भर्खरै आएको प्रदेश सरकारको बजेट नीति तथा कार्यक्रममा यी कुरा समाबेश छन् । आशा गरौं, अबका केही वर्षमा पूर्वी नेपाल हाम्रो प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्नेछ । यो काममा हामी निरन्तर लागिरहनेछौं ।  

टिकाराम गुरुङ

प्रकाशित: ६ असार २०७७ ००:४५ शनिबार

घुमफिर पर्यटन राहत कोभिड १९ पर्यटन ऐन पर्वतीय पर्यटन आन्तरिक पर्यटन