अन्तर्वार्ता

यौन स्वास्थ्य बिग्रिए डिप्रेसन र एन्जाइटी

यौन स्वास्थ्यमा देखिने समस्या तथा यौन स्वास्थ्य राम्रो भएन भने अन्य स्वास्थ्यमा यसले पार्ने असरलगायत विषयमा नागरिककर्मी पवित्रा सुनारले मेट्रो अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डा. विनय भट्टराई र मानसिक तथा यौनरोग विशेषज्ञ डा. आलोक झासँत गरेको कुराकानीको सारसङ्क्षेप ः

यो सेवामा संलग्न हुनुभएको कति वर्ष भयो ?
डा.विनय भट्टराई : १४ वर्ष भयो । हर्मोन रोग विशेषज्ञकै रूपमा चाहिँ डेढ वर्ष भयो । हर्मोन रोगसम्बन्धी अध्ययन गरेर बंगलादेशबाट आएपछि भने निरन्तर सेवामा छु ।  

डा.आलोक झा : यो सेवामा अढाइ वर्षदेखि संलग्न छु । जानकी मेडिकल कलेजबाट एमबिबिएस र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मनोचिकित्सक विशेषज्ञ तहको अध्ययन सकेपछि सेवा सुरु गरेको हुँ । हाल मेट्रो क्लिनिकमा यौन स्वास्थ्य विशेषज्ञको रूपमा काम गरिरहेको छु।

–मानिसको जीवनमा चार आधारभूत कुरामध्ये यौन पनि पर्छ । यौन स्वास्थ्यमा गडबडी भयो भने मानिसले जीवनमा पूर्णताको अनुभूति गर्दैन ।

यस अस्पतालमा यौन स्वास्थ्य क्लिनिक भर्खरै स्थापना भएको हो ?
हो, यो क्लिनिक नेपालमै पहिलो हो ।

यौन स्वास्थ्य भनेको के हो ?
शरीरका सबै अंगको आआफ्नो काम हुन्छ । शरीरको यौन व्यवस्था सामान्य हुनु प¥यो अर्थात् यौन अंगले इच्छाको आवश्यकता महसुस गर्नुप¥यो । त्यसैगरी यौन अंगहरू विभिन्न रोगका कारण निष्क्रिय हुने अवस्था यौन समस्या हो भने स्वस्थ रूपमा सक्रिय हुनु यौन स्वस्थ भएको अवस्था हो ।

– यौन अंगहरू विभिन्न रोगका कारण निष्क्रिय हुने अवस्था यौन समस्या हो भने स्वस्थ रूपमा सक्रिय हुनु यौन स्वस्थ भएको अवस्था हो ।

कुन हर्मोनको समस्याले यौन स्वास्थ्यमा असर पर्छ ?
पुरुषमा टेस्ट्रोल भन्ने हर्मोन कमी भएमा यौन उत्तेजना हुँदैन । महिलाको हकमा फरक कुरा छ । उनीहरूमा महिनावारी कम भएमा, शरीरमा प्रोजेस्टोन र स्ट्रेजन हर्मोनको कमी हुँदा यौन स्वास्थ्यमा समस्या देखिन्छ ।

कुन उमेरपछि यौन इच्छा नहुँदा पनि स्वस्थ मानिन्छ ?
मानिसको यौन इच्छा तीस वर्षसम्म बढी हुन्छ । त्यसपछि केही कम हुँदै जान्छ । तर घट्दै जानुलाई समस्या मानिँदैन । यौन इच्छा पूरै निष्क्रिय हुने अवस्थाचाहिँ अस्वस्थ अवस्था हो ।

– मानिसको यौन इच्छा तीस वर्षसम्म बढी हुन्छ । त्यसपछि केही कम हुँदै जान्छ । तर घट्दै जानुलाई समस्या मानिँदैन ।

कस्तो अवस्थालाई स्वस्थ भएको मानिन्छ ?
महिनामा कति पटकसम्म यौन सम्पर्क भएमा स्वस्थ भएको मानिन्छ भन्ने विषयमा एउटा अध्ययन भएको थियो । अध्ययनले महिनामा कम्तीमा तीनपटक र धेरैमा आठदेखि १२ पटक यौन सम्पर्क हुनुलाई स्वस्थ मानिन्छ । महिनामा एक पटक वा दुई पटक मात्र यौन सम्पर्क हुनु भनेको यौन चाहना कम भएको अवस्था हो ।

यो क्लिनिकमा यौनसम्बन्धी कस्ता कस्ता समस्या लिएर आउँछन् ?
मधुमेह तथा थाइराइडको अस्पताल पनि भएकाले सुरुमा मधुमेहको समस्या लिएर आउँछन् । खोज्दै जाँदा यस्ता बिरामीमा यौन समस्या आइसकेको हुन्छ । मधुमेहले यौन समस्या हुन्छ । जस्तो कि महिलामा यौन इच्छामा कमी आउनु र पुरुषमा यौन उत्तेजनामा कमी आउने समस्या हुन्छ । कुनै औषधि खाइरहेको छ भने त्यसले पनि यौन इच्छामा कमी ल्याउँछ । कुनै रोगका कारण या हर्मोनका कारणले हो भने रोगअनुसारको उपचार गरिन्छ । जस्तो कि मधुमेह उच्च छ भने मधुमेह नियन्त्रण भएपछि सामान्य अवस्थामा फर्किन्छ, हर्मोनको कमीले हो भने हर्मोन दिएर उपचार गरिन्छ ।

– कुनै पनि अंगजन्य या हर्मोनजन्य कारण छैन भने मानसिक तथा भावानात्मक गडबडीले यौन स्वास्थ्य बिग्रिन्छ ।

यौन स्वास्थ्य बिग्रिनुमा अन्य के कस्ता कारण हुन सक्छन् ?
कुनै पनि अंगजन्य या हर्मोनजन्य कारण छैन भने मानसिक तथा भावानात्मक गडबडीले यौन स्वास्थ्य बिग्रिन्छ । साथै नेपाली समाज पितृसत्तात्मक समाज भएकाले ५० प्रतिशत यौन समस्या मनोसामाजिक समस्याले हुने गरेको छ ।

कस्तो मनोसामाजिक समस्या लिएर बिरामी आउँछन् ?
प्रायः यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने र यौन चाहना नहुने समस्या लिएर बिरामी आउँछन् । त्यस्तै महिलामा अन्कन्समेटिभ म्यारिज (विवाहपछि यौनको डर हुने) को समस्या देखिन्छ । यस्तो समस्यामा यौन सम्बन्धका बेला महिलाको यौन अंग कडा हुने, दुख्ने र यौन क्रिया पूरा नहुने समस्या हुन्छ ।

–शरीरमा विभिन्न प्रकारका रोग हुनु, रक्सी, चुरोट तथा खैनी खानु, मधुमेह तथा रक्तचाप हुनु, कुनै औषधि खाइरहनु र हर्मोनको गडबडी हुनुजस्ता समस्या पुरुषमा यौन दुर्बलता हुने कारण हुन् ।

कुनै पनि यौन समस्याले अन्य स्वास्थ्यमा कस्तो असर पार्छ ?
कुनै व्यक्तिमा यीमध्ये कुनै पनि समस्या छ भने ऊ चिन्ताको चक्रमा फस्छ । म अब यो यौन क्रिया गर्न सक्दिनँ, म बेकार भएँजस्ता शंका मनमा उत्पन्न हुन्छन् । यस्तो शंकाले मनमा एन्जाइटी तथा डिपे्रसनको समस्या हुन्छ । यी रोग छिप्पिँदै गएपछि दम्पतीको सम्बन्धविच्छेद हुने, व्यक्ति डिपे्रसनमा जानेजस्ता समस्या हुन्छ । कतिपयले पछि गएर आत्महत्याको बाटो पनि रोज्न सक्छन् ।

यौन जीवनमा असफल व्यक्तिको अन्य कुन पक्षमा असर पर्छ ?
पुरुष हर्मोन कम भएमा बढी मात्रामा थाक्ने, हड्डीमा अस्ट्रियोपोरसिस भन्ने रोग लाग्ने, हड्डी खिइने जस्ता रोग लाग्छन् ।

– ५० प्रतिशत यौन समस्या मनोसामाजिक समस्याले हुने गरेको छ

पुृरुषमा यौन दुर्बलता हुनुको कारण ?
पहिलो कारण शरीरमा अन्य प्रकारका रोग हुनु, मुटु तथा नसाको रोग हुनु, रक्सी–चुरोट–खैनी खानु, मधुमेह तथा रक्तचाप हुनु, कुनै औषधि खाइरहनु र हर्मोनको गडबडी हुनाले पुरुषम यौन दुर्बलता हुन्छ । यीबाहेक ५० प्रतिशत कारणचाहिँ मनोसामाजिक समस्या हो ।

मनोवैज्ञानिक विकार किन हुन्छ ?
आजको आधुनिक जीवनशैलीमा मानिस तनावग्रस्त छ । साथै दम्पतीबीच भावनात्मक समस्या छ र कसैकसैमा सोचको पनि समस्या हुन्छ । जस्तो कि कुनै कारणवश एक पटक यौन दुर्बलता भयो अनि त्यही आधारमा मानिसले आफूलाई अक्षम सोच राखेमा पनि यौन मनोवैज्ञानिक दुर्बलता बढ्छ ।

– महिनामा एक पटक वा दुई पटक मात्र यौन सम्पर्क गर्न सक्नु भनेको यौन चाहना कम भएको अवस्था हो ।
यौन जीवन स्वस्थ नहुँदा डिपे्रसन र एन्जाइटी हुन्छ

यस्तो समस्या पुरुषमा कि महिलामा बढी ?
सैद्धान्तिक अध्ययनअनुसार यस्तो समस्या महिलामा बढी हुन्छ तर हामीकहाँ समस्या लिएर पुरुष बढी आउँछन् । महिलाहरू समस्या लिएर उपचारमा पुग्नै नसकेको अवस्था छ । यौनप्रतिको डरका कारण यौन सम्पर्कको बेला यौन अंगहरूमा विपरीत क्रिया हुन्छ । यसले यौन सम्पर्कको बेलामा महिलामा दुखाइको समस्या हुन्छ ।

महिनावारी बन्द भएका महिलाको यौन कमजोरीको उपचार के त ?
हर्मोनको कमीले उनीहरूमा यौन इच्छाको कमी हुन्छ । यसका लागि मनोवैज्ञानिक उपचार गरिन्छ साथै हर्मोनजन्य उपचार पनि गरिन्छ । यो यौन इच्छा कमी हुनुचाहिँ मनोवैज्ञानिक कारण नै हो ।

मनोवैज्ञानिक समस्या किन हुन्छ ?
यौनका चारवटा चक्र हुन्छन् । ती चक्रमा आ–आफ्नै समस्या हुन्छ । जसमा पहिलो चाहना, दोस्रो उत्तेजना, तेस्रो सम्भोग र स्खलन । जस्तै कसैकसैलाई यौन क्रियाकलाप सम्झिनै मन नलाग्ने हुन्छ यो चाहनाको समस्या हो । यस्तो बेलामा शरीरमा रोग नभएर पनि चाहना नहुने हुन्छ ।

यौन चाहनाको कमी हुनुको कारण ?
चाहनै नहुनु भनेको मनोवैज्ञानिक कारण हो । यसको खास कारण भन्न गाह्रो हुन्छ । कतिपय अवस्थामा शरीरमा कडा तथा दीर्घरोग छ भने पनि यौन चाहना कम हुन्छ ।

यौन स्वास्थ्य स्वस्थ भएन भने मानिसको जीवनमा कस्तो असर पर्छ ?
मानिसको जीवनमा चार आधारभूत कुरामध्ये यौन पनि पर्छ । यौन स्वास्थ्यमा गडबडी भयो भने मानिसले जीवनमा पूर्णताको अनुभूति गर्दैन । जुन यौन सन्तुष्टि हुनुपर्ने हो त्यो नभए ऊ जीवनमा अधुरो अनुभूति गर्छ ।

आफ्नै जीवनप्रति अधुरो अनुभूति गरेको मानिसको अन्य पक्षमा कस्तो प्रभाव पार्छ ?
त्यस्तो व्यक्तिले सधैं संकटको अनुभूति गरिरेको हुन्छ । तसर्थ पेसामा राम्रो कार्य सम्पादन गर्न नसक्ने, तनाव व्यवस्थापन गर्न रक्सीको सहारा लिने, डिपे्रसनमा जाने, शारीरिक रूपमा  विभिन्न रोग लाग्ने, दाम्पत्य र अन्य सम्बन्धमा दरार आउनेजस्ता असर पर्छन् ।

यौन समस्या नेपाली समाजमा मात्र छ कि विकसित राष्ट्रमा पनि छ ?
यो समस्या मानव सभ्यताको विकास भएका ठाउँ संसारभर नै छ ।

नेपालमा उपचारको अवस्था कस्तो छ ?
नेपालमा आयुर्वैदिक औषधिको नाममा ठगीको धन्दा भइरहेको देखिन्छ । जुन अप्रमाणित उपचार हुन् । यस्ता उपचारले पूर्ण समाधान दिँदैन । अहिले पनि नेपालमा यो पहिलो यौन स्वास्थ्य क्लिनिक हुन सक्छ । यो क्लिनिकमा यौन स्वास्थ्यको समग्र उपचार हुन्छ । मनोवैज्ञानिक र शारीरिक समस्या दुवैको संयुक्त उपचार हुन्छ ।

यौन दुर्बलताको औषधि अन्य स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?
हरेक औषधिको केही न केही साइड इफेक्ट हुन्छ । यस्ता औषधिबाट हुने असर सामान्य प्रकारका हुन्छन् । तापनि उपचार गर्दा पहिल्यै बिरामीसँग अनुमति लिन्छौं ।

प्रकाशित: ४ आश्विन २०७६ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App