अन्तर्वार्ता

विकासका निम्ति स्रोतको अभाव छ: नगरप्रमुख गच्छदार

दुहवी नगरपालिकामा वेदनारायण गच्छदार २०७४ सालमा निर्वाचित भएर पहिलो पाँच वर्षे कार्यकाल सकेर फेरि २०७९ मा भएको निर्वाचनमा दोस्रो पटक विजयी भए। उनले दोस्रो पटक विजयी भएर कार्यभार सम्हालेको पनि दुई वर्ष बिती सकेको छ। गच्छदारले दुहवीको नेतृत्व सम्हालेपछि गरेका कामबारे नागरिक दैनिकका संवाददाता अमर खड्कासँग गरिएको कुराकानी: 

तपाईँले दुहवी नगरपालिकामा दोस्रो पटक नेतृत्व गरी रहनुभएको छ । २०७४ सालमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल पुरा गरी फेरि दोस्रो पटक नेतृत्व सम्हालेको पनि दुई वर्ष बिती सकेको छ । सुरुवातको पहिलो कार्यकाल र अहिलेको दुई वर्षलाई तपाईँ कसरी लिनुहुन्छ ?

पहिलो पटक मेयर हुँदा २०७४ मा एउटा नीति(विधान तयार गरी कामहरू गर्नुपर्ने अवस्था थियो ।  त्यसको लागि कानुनहरू निर्माण  गर्ने एउटा पाटो  छँदै थियो, त्यो सकियो । त्यसैगरी, स्थानीय तहको सन्दर्भमा कुनै पनि विकासका पूर्वाधारहरू दूरगामी लक्ष्यलाई लिएर पालिकाको बृहत्तर र समष्टिगत विकासको सन्दर्भमा कुनै किसिमको त्यस्तो योजना थिएन् ।  योजनबद्ध रुपमा अगाडि बढ्नका लागि पहिलो दायित्व आइयूडिपी इनटिग्रेटेड अर्गन डेभलपमेन्ट प्लान अथवा कम्प्रियसिभ टाउन डेभलपमेन्ट प्लान बनाउनु आवश्यक थियो । जुन हामीले २०७४ र २०७५ मा निर्माण गरेर सोही अनुसार नगरपालिकाको विकासको पूर्वाधारहरू शिक्षा, खेलकुद, स्वास्थ्य, हाटबजार, सुकुम्वासीहरूको व्यवस्थापन, बाटोहरूको निर्माण, कृषि तथा पशु विकास क्षेत्रको विकासको लागि पूर्वाधार तथा स्रोत साधनहरु जुटाउने सन्दर्भमा प्लानिङ गरेर अगाडि बढ्यौँ । 

पहिलो कार्यकालमै विद्यालयको क्षेत्रमा विद्यालयको भवनहरूको निर्माण, नमुना विद्यालयको स्थापना देखि लिएर प्रविधिसँग जोड्ने कुराहरु शिक्षा क्षेत्रमा धेरै काम भए । अहिले सम्म नगर क्षेत्र भित्र कक्षा १२ अध्ययन पुरा गरेपछि स्नातक तह अध्ययन गर्ने विद्यार्थीका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

स्नातकोत्तरसम्म यही ठाउँमा विद्यार्थीलाई पढाउने योजना छ । हाम्रो दुहवी औद्योगिक कोरिडोर क्षेत्र भएकाले प्राविधिक शिक्षा विशेष गरी यो कृषि औद्योगिक कोरिडोरसँगै एउटा ठूलो कृषिको सम्भावना बोकेको हुनाले कृषि सम्बन्धी एग्रो इन्जिनियरिङ , एग्रो प्रोसेसिङ, एग्रो मेकानिक र औद्योगिक प्रशिक्षार्थी विषयमा  प्राविधिक शिक्षालयको पनि स्थापना गर्न प्लान तयार भइरहेको छ । तीन वटै सरकारले लगानी गरेर अगाडि बढाउने सन्दर्भमा त्यो पहल गरी रहेका छौँ ।

शिक्षातर्फ नै २०७६ सालबाट नगरप्रमुख छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक धारको शिक्षामा प्रोत्साहन गर्न ३ वर्षे कोर्समा प्रति विद्यार्थी १ लाख ८५ हजार प्रदान गरेर पढाई रहेको छ। अहिलेसम्म १८ जना पढ्दै छन्। यस्तै, प्राविधिक सीप सिक्नका लागि १० महिनाको  तालिम पुरा गर्न प्रति विद्यार्थी ८४ हजार खर्च हुन्छ। यो तीन वर्षदेखि हामीले सहयोग गरेर विद्यार्थी पढी रहेका छन्। जसमा सुरुको वर्ष २० जना, दोस्रो वर्ष ४० जना र यस वर्ष ६० जनाले सीप सिकिरहेका छन्। उनीहरुले बिल्डिङ इलेक्ट्रिसीयन तालिम, प्रोफेसनल एलमुनिया फ्याब्रिकेटर र  हाडवेर कम्प्युटर नेटवर्किङ  सकेका छन् । यसपालि हामीले पुनः हाडवेर कम्प्युटर तालिम सञ्चालन गर्नेछौँ। अर्को वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या  पनि यहाँ धेरै छ। वैदेशिक रोजगारको लागि पनि हामीले दक्ष युवा जनशक्ति उत्पादन गर्नुपर्छ भनेर कुक, प्लम्बर र हाडवेर कम्प्युटर सञ्चालन गर्न आह्वान गरी सकेका छौँ। 

खेलकुद क्षेत्रमा राष्ट्रिय स्तरको रंगशाला २२ करोडको  लागतमा २०७७ बाट निर्माण कार्य सुरु ग¥यौँ। अहिलेसम्म७० प्रतिशत काम सकिएको छ। त्यसैगरी, हाटबजार कोशी हाइवेमा नै लाग्ने गर्दथ्यो। आवतजावतमा पुरै अप्ठ्यारो हुने सबैलाई महशुस भएकै कुरा हो। त्यो हाटबजारलाई व्यवस्थित ग¥यौँ। ५ बिघा  क्षेत्रफलमा वडा नं ४ मा  झन्डै १३ करोडको लागतमा २०७७ सालबाटै हामीले निर्माण कार्य सुरु ग¥यौँ। अहिले आठ करोड भन्दा बढी खर्च भइसकेको छ। 

हाट बजारमै खुद्रा व्यापारीहरू, साना व्यावसायीहरु र कृषि क्षेत्रको उपजलाई संरक्षित गर्ने गरी कोल्ड स्टोर पनि सञ्चालन गरी सकेका छौँ। वडा नं  १० मा पनि सय टनको कोल्डस्टोर निर्माण भइसकेको छ।  

त्यसैगरी फोहोर व्यवस्थापनको क्षेत्रमा फोहोरहरू प्रशोधन हुने गरी संरचना निर्माण  गरेर सञ्चालनमा आइ सकेको छ। स्वास्थ्यको क्षेत्रमा १२ वटै वडामा स्वास्थ्य चौकीहरूको निर्माण बर्थिङ् सेन्टरसहितको र नगर अस्पतालको सञ्चालन पनि हामीले २०७८ सालबाटै अस्थायी रुपमा सुरु गरी सकेका छौँ। यो आर्थिक वर्षमा स्थायी रुपमा साँढे १६ करोडको लागतमा भवन निर्माण भएर अहिले  फिनिसिङको कामहरू भइरहेको छ। 

सकुम्बासीहरुलाई उचित व्यवस्थापनको लागि वडा नं ११ मा २ बिघा क्षेत्रफलमा ८० वटा घर निर्माण गरी हस्तान्तरण गरेका छौँ। ती घरहरू सुविधासम्पँन छन्। अन्य सकुम्बासीहरुको हकमा १२ वटै वडाबाट सकुम्बासीहरुको पहिचान गरी सकेका छौँ र ऐलानी पर्ती जमिनहरूको काम पनि सँगै खोजी गर्दै ती स्थानमा सकुम्बासीहरुलाई व्यवस्थित गर्दै जाने योजनामा छौँ। 

सडक बाटोको हकमा ३० किलो मिटर भन्दा बढी हामीले पिच बाटो निर्माण गरी सकेका छौँ। अब  नगरपालिकाको पूर्व, पश्चिम, उत्तर र दक्षिण ७० वर्ष देखि केही मान्छेहरुले अतिक्रमण गरेर बसेको चार वटा प्लटलाई खाली गराइ सकेका छौँ। अब एउटा प्लटमा झन्डै ४२ करोडको लागतमा व्यापारिक भवन टिडीएफसँग सम्झौता गर्ने क्रममा चाहिँ अन्तिम चरणमा छौँ।  अर्को प्लोटमा सिटी हल निर्माण गर्ने उद्देश्य लिइएको छ। तेस्रो प्लटमा जनतासँग मिलेर पिपी मोडलमा व्यावसायिक सेमी व्यावसायिक भवन निर्माण गर्ने योजनामा छौँ । चौथो प्लटमा वडा नं. ४ को  वडा कार्यालय पनि हुनेछ। अन्य  कार्यालय मालपोत पनि  निकट भविष्यमा प्रत्येक स्थानीय तहबाट हुने भएको त्यसलाई पनि व्यवस्थापन गर्ने योजनामा छौँ।

२०७४ सालबाट नै विभिन्न कार्यक्रमहरू रोजगारीसँग जोडेर हामीले चलाएका थियौँ तर  त्यति प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन। २०७७ बाट हामीले व्यावसायिकतातिर कसरी युवाहरूलाई लिएर जाने सिपसहितको दक्ष जनशक्तिको रुपमा रुपान्तरण गर्ने भनेर लघु उद्यम कार्यक्रम सञ्चालन ग¥यौँ। जसको कारणले गर्दा खेरी आजको मिति सम्म आइपुग्दा खेरी ४ सय २९ जना महिलाहरु उद्यमी भइसकेका छन्। त्यसो भन्दा एडभान्स उद्यमी  गाउँघरमा जो माटो गोबरको काम गर्ने महिलाहरु अहिले घुम्ने कुर्सीमा बसेर आफ्नो व्यवसाय सञ्चालन गरी रहेका छन्। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई पनि हामीले बङ्गुर पालन, बाख्रा पालन, तरकारी खेतीलगायतमा आकर्षित गरिरहेका छौँ। केही युवाहरू अगाडि बढ्दै छन्।

विगत ४ वर्ष देखि मैले जनतासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत विपन्न नागरिकले पाँच सय रुपैँया मात्रै तिर्ने गरी बाँकी ३ हजार नगरपालिकाले तिरेर सबैको स्वास्थ्य बिमा गराउने अभियानमा छौँ। धेरै सङ्ख्यामा भइरहेको छ । हाम्रो नगर अस्पताल पनि सञ्चालनले सुविधा भइरहेको छ। हामीले स्कुलहरूमा पनि आँखाको जाँच गराउने काम गरिरहेका छौँ। यदि मोतियाबिन्दु, जल बिन्दु र आँखामा मासु पलाउने समस्यासँग कोही जुधिरहेको छ भने देखि नगरपालिकाले निःशुल्क उपचार गरी दिने गरेका छौँ। 

अपाङ्गता भएकालाई चाहिने अनुसारको हामीले सहायक समग्री देखि लिएर उपचार सम्म पनि गरिहरेका छौँ । मानवीय संसाधन पनि हामीले धेरै कामहरू गरिरहेका छौँ। आगामी दिनमा नगरपालिकाले पुरा गर्ने योजनाहरुतर्फ ध्यान केन्द्रित गरेर अघि बढ्नेछौँ।

तपाईँले काम गर्दा के कस्ता चुनौतीहरू सामना गर्नु परेको छ ?

काम गर्दै जाँदा खेरी चुनौती र अवसर दुई वटै आइहाल्छ। जस्तो सडक विस्तार गर्ने सन्दर्भमा कुनै कुनै बेला ऐलानीमा बसी रहेका हुन्छन्। त्यस्तो बेलामा उनीहरुलाई सम्झाउने कार्य चुनौती मानिन्छ। कतिले  मुद्दा हाल्छन्। हाम्रोमा चाहिँ सबै भन्दा  ठुलो चुनौती भनेको स्रोतको  अभाव हो। अब  सङ्घीय सरकारले कुल बजेटको ७० प्रतिशत र बाँकी ३० प्रतिशत तपाईँको प्रदेशले दिन्छ। अहिलेको खस्कँदो अर्थतन्त्रले गर्दा खेरी अर्थतन्त्र खस्किएर चुनौती थपिएको छ। 

नागरिकको अपेक्षा त असीमित हुन्छ। जनताको समर्थन राम्रै छ। तपाईँले दुहवी नगरपालिकाको दुई कार्यकाल नेतृत्व सम्हाल्ने सौभाग्य पाउनुभएको छ। अब दोस्रो कार्यकाल पुरा गर्दा दुहवीलाई कस्तो बनाएर छाड्ने लक्ष्य राख्नुभएको छ ?

अब काम हुने कुरा स्रोत साधनमा भर पर्छ। साँढे ५ अर्ब लागतमा ५० किलोमिटर बाटो बनिसकेको छ। अब लिङ्क रोडहरू तीन(चार वर्ष भित्रै सम्पन्न हुन्छन्। लिङ्क रोडहरू बनिसके पछाडि त्यसको सहायक बाटोहरू हुन्छ, त्यसरी हामी केन्द्रित हुन्छौँ। अन्य पूर्वाधारहरू अहिलेभन्दा धेरै परिवर्तन भई सक्नेछ। त्यो जनताको आवश्यकता, क्षमता , चाहना, समय र प्रविधिको विकाससँगै अघि बढ्छन्।

जस्तो यो दुहवी चाहिँ औद्योगिक कोरिडोर क्षेत्र हो। कृषिमा हाट बजार व्यवस्थापन गर्ने देखि लिएर कोल्ड स्टोर सञ्चालनलगायतका विषयमा प्रस्ट पारि सक्नुभएको  छ। अन्य कृषिमा केही महत्त्वपूर्ण कामहरू भएका छन् ?

हाम्रो दुहवीको प्रत्येक वडालाई तरकारीको एउटा पकेट क्षेत्र  रुपमा बिकास गरेर अघि बढी रहेका छौँ। च्याउ झन्डै १२ वटै क्षेत्रमा फैलिएको छ। वडा नं. ८ मा बङ्गुर पालन एकदमै राम्रो छ ।वडा नं. ७ मा बाख्रा पालन छ। यस्तै वडा नं.१० मा तरकारी खेती राम्रो भइरहेको छ। वडा नं. ११ मा  मकै खेतीको रुपमा अगाडि बढेको छ । वडा नं १ र ९ धान खेतीको रुपमा अगाडि बढाएका छौँ। १५ सय बिघामा मकै लगाउने किसानलाई सहयोग गरेका छौँ। सबै नगरपालिकाको आन्तरिक स्रोतबाट किसानका निम्ति सहयोग गरी रहेका छौँ।  संघीय सरकारबाटै किसानका निम्ति विद्युत्मा सहुलियत दिने व्यवस्था गर्नुपर्छ। 

दुहवी नगरपालिकाले पर्यटन क्षेत्रमा चाहिँ के कस्ता कामहरू गरिरहनुभएको छ ?

पर्यटन क्षेत्रमा दुहवीमा कुनै त्यस्तो ऐतिहासिक  र पौराणिक महत्वको क्षेत्र छैन। तापनि वडा नं ६ मा रहेको काली मन्दिर, कृष्ण मन्दिर, त्यसै गरी वडा नं १० मा रहेको शिव मन्दिर र वडा नं ५ मा रहेको दुहवी सुहवी थान छन्। यिनीहरूको विकासमा हामीले काम गरिरहेका छौँ। काली मन्दिरमा दसैँमा छिमेकी पालिकाहरूबाट ठुलो सङ्ख्यामा भक्तजनहरु आउँछन्।  शिवरात्रिको बेला वडा नं १० मा रहेको शिव मन्दिरमा पनि भक्तजनहरु आउँछन्। कृष्ण मन्दिरमा कोशी प्रदेशकै सबै भन्दा नमुनाको राम्रो मन्दिर बनिरहेको अवस्था छ। त्यसै गरी निजी क्षेत्रबाट पनि वडा नं. ६ मा एउटा राम जानकी मन्दिर निर्माण भएको अवस्था छ। 

तपाईँले दुहवी नगरपालिकाको विकास  गर्न संघीय सरकार र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि बढी रहनुभएको छ ?

संघीय सरकार र प्रदेश सरकारले पालिकाहरूलाई सर्पोट गर्ने भनेको एउटा राजस्व बाँडफाँड तथा अर्को वित्तीय सामान्यीकरण हो। राजस्व बाँडफाँड थोरै हुन्छ, वित्तीय सामान्यीकरणको पैसा प्राय सशर्त हुँदो रहेछ। त्यो सशर्त चाहिँ लागु नगर्नु हुने हामीले हाम्रो पालिकाहरूको सङ्घहरूको फोरममा त्यो  कुरा राखेका छौँ। सशर्त नभनेर खुल्ला रुपमा दियो भने अझ सहज हुन्थ्यो भन्ने मलाई लागेको छ।

अर्को संघ र प्रदेशबाट आउने भनेको समपूरक अनुदान र विशेष अनुदान हो।  समपूरक अनुदान र विशेष अनुदानमा कन्डिसन चाहिँ तोकिन्छ, त्यो हुनु  हुँदैन। मैले राष्ट्रिय योजना आयोगमा पनि भनेको छु। विभिन्न  फोरममा पनि मैले भनेको छु। सशर्त अनुदान जति दिन सक्नु हुन्छ एउटै डालोमा दिनुहोस्। विशेष अनुदान जति दिन सक्नु हुन्छ एउटै डालोमा दिनुहोस्। त्यसको आधारमा हामीले पालिकाहरूको आवश्यकता अनुसार प्राथमिकता अनुसार काम गर्न सक्छौँ। एउटा मन्त्रीका पालामा अथवा एउटा प्रधानमन्त्रीको पालामा सह लगानीको कुरा आउँछ त्यो सरकार परिवर्तन हुने बित्तिकै अनि सह लगानीको त्यो सूत्र नै हराउँछ। त्यस कारण कतिपय योजनाहरू त्यसरी पनि अलमल्लमा परिरहेको हुन्छ त्यो चाहिँ समस्या छ। 

प्रकाशित: २१ कार्तिक २०८१ १८:२६ बुधबार