अन्तर्वार्ता

‘रविजीले आफ्ना दुष्कर्म बचाउन राजनीतिक सहारा लिनुभयो’

विभिन्न सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा यो बेला पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको नियन्त्रणमा छन्। उनलाई कास्की अदालतले अनुसन्धानका लागि ६ दिनको म्याद दिएको छ। यो बुधवार सकिनेछ। उनको पक्राउको विषयलाई लिएर अहिले पक्षविपक्षमा बहसहरु भइरहेका छन्। सभापतिको पक्राउको विरोधमा यो बेला रास्वपाले पोखरालाई नै मुकाम बनाएको छ। बाँकी सबै २० जना सांसदहरु अहिले पोखराका सडकमा प्रदर्शन गरिरहेका छन्। पदाधिकारीसहितका नेतहरुमात्र हैन विभिन्न जिल्लाका कार्यकर्ता पनि पोखरा पुगेका छन्। दैनिकजसो हुने प्रदर्शनले अहिले पोखरा अस्तव्यस्त बनेको छ। कास्की प्रशासनले आफ्नो कार्यालय आसपासको क्षेत्रमा अनिश्चितकालीन निशेधाज्ञा नै लागु गरेको छ। रास्वपा सभापति लामिछानेको पक्राउलाई लिएर संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग नागरिक न्यूजले गरेको कुराकानीको सम्पादित अंशः

रास्वपा सभापति रवि लामिछानेको पक्राउबारे तपाईंको धारणा के हो ?

कानुनसम्मत तरिकाबाट राज्यले गरेको कामप्रति हामी कसैको पनि विरोध र समर्थन छैन। अदालतको अनुमति लिएर गरिएको छ। अदालतले उहाँमाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ। रवि जी चुनाव जितेर आउँदा अत्यन्तै उत्साह पनि लागेको थियो। युवा साथी, टेलिभिजनमा काम पनि गरेको, केही जानकारी राख्ने भनेर मलाई उत्साह पनि लागेको हो।

शपथग्रहणका क्रममा उहाँले मलाई संसद्कै सबैभन्दा अग्ला सांसद भनेर जिस्काउनु पनि भएको थियो। पाँच वर्षसँगै काम गरौंला न, अग्लो होचोको के कुरा भयो र भनेर भने पनि। अहिले भने अलि बढी स्टेनबाजी गरिरहनु भएको छ। कानुनलाई सहयोग गर्छु भन्ने अनि कानुनको धज्जी उडाउने काम भइरहेको छ। यसलाई मैले अन्यथा लिएको पनि छैन। कानुनसम्मत रुपमा सरकारले गरेको निर्णय हो। जो सुकै होस् गलत गर्ने मान्छे सजायको भागेदार हुनुपर्छ। रविमात्र हैन रविभन्दा ठुलो पदमा कोही छन् र अन्य पार्टीमा पनि छन् भने कारबाही हुनुपर्छ, त्यसलाई अहिले हामीले सडकमा गएर ढुंगामुडा वा चक्काजाम गरेर देशमा अस्थिरता ल्याउने पक्षमा कोही पनि जानु हुँदैन भन्ने पक्षमा म छु।

रवि निर्दोष रहेको दाबीसहित पोखरामा प्रदर्शन भइरहेको छ। यसले के सन्देश दिन्छ ?

रवि जीलाई धेरै पहिला देखिनै म पक्राउ पर्छु भन्ने अनुमान नै रहेछ। पार्टी अफिसमा पनि धेरै पटक गएर बस्नु भएको छ। चीन गएका साथीहरुलाई पनि विदेश भ्रमण गर्न नदिएर नेपाल बोलाउनुभयो। उहाँलाई भित्रैदेखि डर रहेछ। पुलिसले पक्राउ गर्छ गर्दैन थाहा थिएन। पक्राउ गर्नुपूर्व नै राष्ट्रिय झण्डासहितको भिडियो तयार पारेर राख्नु भएको रहेछ, जुन पक्राउ परेलगत्तै सार्वजनिक गर्नुभयो। उहाँलाई मनमा के लागेको रहेछ भने म पक्राउ पर्दैछु भन्ने। किन लागेको थियो थाहा छैन। गल्ती हुनुहुन्थ्यो वा थिएन ? केही नभइकन भिडियो तयार पारेर कोही पनि मान्छे बस्दैन। उहाँ चै विद्रोही समूह हमासले झै पहिलाबाटै भिडियो तयार पारेर बसिरहनु भएको रहेछ। किन गर्नुभयो? हामीले त के भनेका थियौं भने उहाँलाई जुन समयमा हुन्छ, पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री हो पोखरा लैजादाँ एकदमै सुरक्षितसाथ लैजानु पर्छ भनेर। लैजाँदा उत्शृंखलता र उदण्डता प्रदर्शनपनि गर्नुहुँदैन उहाँले जस्तो भनेर पनि भन्यौं।

एकदिन उहाँले संसदमा के भन्नुभयो भने, वा अदालतले अनुमति लिएर कारवाही गरेको मान्छेकोमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति जाने ? मैले कानुनसम्मत हुँदैन भने तपाईंलाई पक्राउ गरेको दिनपनि म जान्छु भनेर भनेको थिएँ। मेरै समितिको सदस्य पनि हो उहाँ अब उहाँको लागि म जान मिलेन। मैले पाएको जानकारी अनुसार, उहाँलाई हेलिकप्टर, प्लेन र सडकबाट पोखरा जाने भनेर सोधिएको थियो। उहाँले चितवनका जनतासँग भेटेर सडकबाट जाने भन्नुभएछ। त्यहीँ भएर उहाँले एकदुई दिन अघि नै चितवनबाट जितेको सांसदलाई चितवन र तनहुँबाट जितेको सांसदलाई तनहुँ पठाउनु भएको रहेछ। 

उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने मुग्लिनमा १० हजारजति मान्छे उतार्ने। सम्बोधन गर्ने र फूलमाला लगाएरमात्र पठाउने। मानिसहरुको उपस्थिति ढेड दुईसयमात्र भयो। आफूले भोट हालेका मान्छेबारे जानकारी लिन उपस्थित हुनु स्वभाविक थियो। मैले अन्यथा लिन पनि। दुवै सांसदहरु बाटामा उपस्थित पनि भएका थिए। मध्यराति ती ठाउँमा प्रदर्शन भएका छन्। दुवै पक्षका नारावाजी पनि सुनियो, सरकारी ठग मुर्दावाद भनेको पनि सुनियो, रवि दाइ हाइहाइ, हामी ज्यान दिन तयार छौं भनेको पनि। उहाँसँगै श्रीमति जानु भएको थियो। पार्टीका सबै नेताहरुलाई गाडीको व्यवस्था गरेर पोखरा पुर्याइएको थियो। उहाँबाहेकका २० जना सांसदहरु पनि पोखरा पुगेका थिए। पोखरामा सांसदहरुले हामी ज्यान दिन तयार छौं, सहीद हुन तयार छौं भनेको पनि सुन्दै थिए। 

कस्तो अचम्म, ठगीका लागि सहीद हुन तयार छौं भनेर भन्ने। फेरि ती सांसदहरु जनमतमा प्रत्यक्ष निर्वाचित भएर आएको जस्तो मलाई लागेन। निगाहाबाट आएका केही साथीहरु हुनुहुन्छ। संसदीय व्यवस्था अलिकति नबुझेको। म पनि रवि जी र रास्वपालाई गाली गर्न चाहान्न तर अनुरोधमात्र गर्न चाहान्छु। कानुन सबैका लागि लागु हुन्छ। हिजो खुमबहादुर खड्का, बालकुष्ण खाँण, टोपबहादुर रायमाझीलाई पक्राउ गरेको मुलुक हो। बरु हाम्रा नेपाली कांग्रेसका मान्छेहरु खाँणलाई पक्राउ गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन पुगेका छन्।

गलत छ भने कारवाहीको दायरामा आउनुहुन्छ, यदि गलत हुनुहुन्न भने दुईचार दिन कति हुन्छ सफाइ पाउनुहुन्छ। किन आत्तिनु पर्यो ? देशभरीका साथीहरु पोखरा आऊ, खाउ बस भन्नलाई हो कि ? पिकनिक मनाउन गएको हो कि ? यो उर्दी लगाउने पद्यती ठिक भएन। पञ्चायतकालमा जस्तो रास्वपाले उर्दी लगायो। भरखर बनेको पार्टी हो अलिकति अनुभवको कमी होला तर संसदीय प्रजातन्त्र, लोकतन्त्र र संसदीय पद्यतीमात्र हैन नेपालको लोकतन्त्रलाई बलियो बनाउन कानुन उहाँहरुले यस्ता हर्कत बन्द गर्नुपर्छ।

कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको सहकारीकै अर्को प्रकरणमा तपाईंकै अर्का शीर्ष नेताले उहाँको संलग्नता देखिएन भनेर भन्नुभएको छ। आखिर आफ्ना नेतालाई बचाउने प्रयास त जहाँ पनि हुने रैछ नि हैन ?

हैन, मेरो कुरा के हो भने हाम्रा नेतापनि संलग्न हुनुहुन्छ भने जोगाउन लाग्नु हुँदैन भन्छु। सबैलाई बचाउन नलाग्दिनुहोस् भनेर भन्छु। धनराज जीले २०७४ सालतिर संयुक्तरुपमा सहकारीबाट ऋण लिएको देखिन्छ। २०७६ मा डिभोर्स हुँदा बाँडिएको थियो कि, यति मैले तिर्ने यति तैले भनेर ? यदि यस्तो हो भने धनराज जीले भन्नुपर्छ। हैन भने २०७९ मा निर्वाचन हुँदा श्रीमतिको नाम के लेखिएको थियो धनराज जीलाई सोध्नु पर्छ। मैले प्रहरीसँग सम्पर्कगर्दा थाहा पाएको छु, उहाँकी श्रीमतिलाई रेडकर्नर नोटिस जारी भएको छ। त्यसैले हामी कसैलाई बचाउने पक्षमा छैनौै। औंलामा घाउ भयो भने पुरै हात काट्नु पर्छ भन्ने छैन, औंलाको उपचार गर्ने हो।

तपाईं सभापति रहनु भएको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य पनि हुनुहुन्छ रास्वपा सभापति लामिछाने। केही प्रभाव पार्छ उहाँको पक्राउले ?

उहाँ उपस्थिति हुँदा र नहुँदा कुनै असर हुँदैन। समिति आफ्नै प्रकारको हुन्छ। दलीयरुप दिन चाहाँदैनौं हामी समितिमा। समिति सबैको हो। त्यहाँ रास्वपा, कांग्रेस, एमाले, माओवादी सबै दलभन्दा पनि सुशासन समितिको कुरा गरिन्छ। संसद सचिवालयका महासचिवले रवि लामिछाने पक्राउ परिएको जानकारीसहित लेखेको पत्र समितिलाई प्राप्त भएको छ। अब प्रक्रियाअनुसार निलम्बनको कुरा अघि बढ्ला, अहिले त पक्राउ परेको कुरामात्र छ।

रवि लामिछानेले पक्राउ पर्दै गर्दा र आइतबार अदालतमा उपस्थित हुँदै गर्दा, राजनीतिक पूर्वाग्रह साँधेको भनेका छन्। तपाईंहरु पूर्वाग्रही हुनु भएको हो ?

मेरो प्रधानमन्त्री ज्यूसहित सबैलाई आग्रह छ, हामी कोहीसँग प्रतिशोध, इर्शा, द्वेषपूर्ण भावना लिएर राजनीति गर्न चाहादैनौं। हामी उत्साहित भएर अरु साथीहरु पनि राजनीतिमा आउनुहोस् भन्ने वातावरण बनाउन चाहान्छौं। तर राजनीतिका नाममा भएका बदमासीहरु छोप्ने पद्यति भने गलत हो, चाहे रवि जीको होस् वा मैले गरेको होस्। बदमासी गर्ने अनि राजनीतिक आड दिने काम गर्नु हुँदैन। एउटा पार्टी सभापति र पूर्वगृहमन्त्री, उहाँले आफूले गरेको गल्ती म पार्टी सभापति भएका कारणले, म राजनीतिज्ञ भएका कारणले मैले माफी पाउनु पर्छ भन्ने नाउमा राजनीतिक मुद्दा बनाउन जानु हुँदैन। ठगी, भ्रष्टाचार, बदमासी, बलात्कार, हत्याका आ¬आफ्नै मुद्दा हुन्छन्। 

उहाँले यसलाई राजनीतिक मुद्दा बनाउन चाहानु भयो। किन प्रतिशोध लिने ? हामी प्रतिशोधको राजनीति गर्दैनौं र त्यसमा विश्वास पनि गर्दैनौं। यो प्रतिस्पर्धी राजनीति हो, यसमा त हामीलाई खुशी लाग्छ। उहाँहरु आएर लोकतन्त्रलाई बलियो बनाउन, प्रजातनन्त्रिक पद्यतिलाई बलियो बनाउन, संसदीय पद्यतिलाई बलियो बनाउन लाग्दा त त्यसको फाइदा त नेपाली जनताले लिन्छन् नि। अनि किन हामीले प्रतिशोधको राजनीति गर्ने ? उहाँले आफ्ना दुष्कर्महरु बचाउन राजनीतिक सहारा लिनुभयो। यो कानुनी प्रक्रियामा राजनीतिक सहारा नदिन मेरो आग्रह छ।

यो विषय अब अदालतमा गयो। राजनीतिक तहबाट रवि लामिछाने सम्बन्धी मुद्दामा न्यायालय स्वतन्त्र छ ?

हामी न्यायपालिका प्रति विश्वास गर्छौं। न्यायपालिका देशको लोकतन्त्रको मेरुदण्ड हो। कहिले काँही प्रधानन्यायाधीशमाथि पनि गलत काम हुँदा नेपालमा हटेका छन्। मनमोहन अधिकारीले गलत तरिकाले संसद विघटन गर्दा पुर्नवहाली भएको उदाहरण छ। दक्षिण एसियामै नेपालको न्यायपालिका कसैको दबाब र प्रभावमा पर्दैन भन्ने अनुभव छ। केपी ओली दुईतिहाई नजिक पुगेर, उहाँले नियुक्ति गरेका, आफ्नै पार्टीको सांसद बनाएका, आफ्नै महान्यायाधिवक्ता बनाएका मान्छेले पनि उहाँका निर्णयहरु नमानेका इतिहास छन्। 

राजाको पालामा पनि नियुक्ति भएका पञ्चायतले फाँसी दिनु पर्छ भनेर निर्णय गर्दा सर्वोच्च अदालतले हुँदैन भनेर फैसला गरेको छ। त्यसैले न्यायपालिकाप्रति हाम्रो विश्वास छ। हामी न्यायपालिकालाई कसैको दबाब र प्रभावमा राख्न चाहादैनौं। त्यो नाममा विभिन्न बहानामा यिनीहरुले राख्न खोजे भन्ने आवाज दिन खोज्छ भने त्यो पनि गलत छ र न्यायपालिकालाई प्रभावमा पार्ने काम पनि नगरौँ। न्यायपालिकाले कसैको प्रभावमा परेर काम पनि गर्दैन। त्यायपालिका सही निर्णय गर्छ तर संसारमा मानवीय गल्ती र कमजोरी हुन सक्छ। त्यसैले जिल्ला, उच्च र सर्वोच्च अदालत गरेर नेपालमा तीन तहको न्यायालयको परिकल्पना भएको हो।

एउटा उदाहरण दिउँ, एउटा छोराका लागि बाबुआमा जत्तिको नजिक कोही पनि हुँदैन तर अंश पाएन भने तिनै बाबुआमाविरुद्ध ऊ अदालत जान्छ। यो भनेको न्यायालयप्रतिको विश्वास हो। मानवीय त्रुटि र कमजोरी हुनसक्छन् तर न्यायालयप्रतिको विश्वास राजनीतिक दल र प्रतिस्पर्धामा हुँदैन। न्यायपालिकाको आफ्नै प्रक्रिया हुन्छ । देशको प्रधानन्यायाधीशले कुनै दिन बसेर पार्टी र व्यक्तिलाई भोट हाल्न सक्छ तर न्याय दिँदा मैले यो पार्टी र व्यक्ति भनेर दिएको भन्ने इतिहास छैन र दिदैन भन्ने विश्वास मलाई  छ।

रवि लामिछाने जोडिएको मुद्दालाई टुंगोमा पुर्याउन अब राजनीतिक दलहरुको पहल के हुन्छ ?

रविजी जोडिएका धेरै कागजपत्रहरु आएका छन्। रस्साकस्सीका बीच बनेको संसदीय छानविन समितिले धेरै कागजपत्र जुटाएको छ। आक्रोशको राजनीतिले कहीँ पुर्याउँदैन। संसदीय छानविन समिति गठनको विषयलाई लिएर रोष्ट्रममा अमर्यादित भाषणहरु पनि भएका छन्। युक्रेनको राजनीतिलाई उदाहरण बनाउन सकिन्छ। लिडर अत्यन्तै पपुलर हुन् तर छिमेकी र जनताको भावनालाई राम्ररी पढ्न नसक्दा अहिले देश नै तहसनहस बनेको अवस्था छ। नेतृत्व परिपक्क नहुँदाको परिणाम हो यो। केही मान्छेलाई घिउमा आगो लगाउन सकिन्छ तर त्यसलाई निभाउन भने निकै समय लाग्छ। त्यसैले परिपक्क कुरा गर्नुपर्छ। अपरिपक्क कुरा गरेर राजनीतिलाई अर्को विन्दुमा लाने काम गर्नुहुँदैन। आगोमा घिउ थप्ने काम गर्नु हुँदैन। नेताहरुले नै जुन यो काम गरिरहनु भएको छ यो काम राम्रो भइरहेको छैन।

कुनै पनि राजनीतिक दलले एउटा व्यवसायीसँग करोडौं रुपैयाँ पर्ने जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउन मिल्छ कि मिल्दैन ?

दान लिन र दिन हामीले उल्लेख गरेका छौं तर समय हुन्छ। तपाईंले संकेत गरेको नेकपा एमालेले बनाउँदै गरेको भवनको बारेमा हो। यो ठिक थिएन भनेर मैले आफ्नो कुरा राखेको छु। यसले प्रधानमन्त्री र मिन बहादुर गुरुङ जीको पनि उचाई बढाएन भनेर भनेको छु। मिन भवन बनाएको भए अन्तै बनाएको भए हुने थियो। नेकपा एमालेको कार्यालयलाई मिन भवन नबनाएको भए हुने थियो भन्ने मेरा धारण हो। यद्यपि यो विषय प्रधानमन्त्री ज्यूले आफैंले निर्णय गर्ने विषय भयो। नेकपा एमालेका कार्यकर्ता पनि स्वाभिमान कार्यकर्ता छन्। यो विषयमा सही निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ।

प्रकाशित: ६ कार्तिक २०८१ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App