राजदूतका रूपमा नेपालमा बिताएको आफ्नो कार्यकाललाई कसरी व्याख्या गर्नुहुन्छ ? केही अविस्मरणीय क्षण वा उपलब्धि भए बताइदिनुस् न ?
मैले कूटनीतिज्ञका रूपमा ३५ वर्ष बिताएँ। त्यसमध्ये पछिल्ला साढे तीन वर्ष सबैभन्दा खुसी, सन्तोषजनक र व्यावसायिक रूपमा पुरस्कृत वर्षहरू भएका छन्। नेपाल मेरो करियरको उच्चतम विन्दु भएको छ। अस्ट्रेलिया र नेपालबिचको सम्बन्ध सकारात्मक र सुमधुर रहेकाले मैले यसलाई एउटा उच्चतम विन्दु भनेकी हुँ। यसैगरी एक लाख ८० हजार नेपालीले अस्ट्रेलियालाई आफ्नो घर बनाएकाले पनि दुई देशबिचको एउटा असाधारण मानवीय सम्बन्ध स्थापना भएको छ। अस्ट्रेलियामा लगभग ५६ हजार नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्दैछन्। उनीहरूमध्ये धेरैले नेपालको विकासमा योगदान पुर्याउनेछन् भन्ने मैले आशा राखेकी छु। वार्षिक ४० हजार अस्ट्रेलियाली पर्यटकका रूपमा नेपाल आउँछन्। यसले दुई देशबिच न्यानो सम्बन्ध स्थापना गरेको छ। यसबाहेक पछिल्ला वर्षहरूमा कूटनीतिक भ्रमणमा पनि धेरै प्रगति भएको छ। गत वर्ष मे २०२३ मा अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले पहिलोपटक नेपाल भ्रमण गर्नुभएको थियो। लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा यो एक ऐतिहासिक भ्रमण थियो।
यो अवधिमा मलाई गहिरो सन्तुष्टि दिने काममध्ये एक हो–अस्ट्रेलियाबाट पहिलोपटक नेपालबाट चोरी भएको वस्तु फिर्ता गर्नु। सन् १९७० को दशकमा तेह्रौं शताब्दीको टुन्डाल रत्नेश्वर मन्दिरबाट अस्ट्रेलिया पुर्याइएको थियो। विभिन्न माध्यम हुँदै अन्ततः यो न्यु साउथ वेल्सको आर्ट ग्यालरीमा पुगेको थियो। सहायक परराष्ट्रमन्त्रीको गत वर्ष सम्पन्न नेपाल भ्रमणका क्रममा यो महत्वपूर्ण कला सामग्री फिर्ता गरिएको थियो। उक्त समारोहको साक्षी हुन पाउँदा म अत्यन्त खुसी भएकी थिएँ। चोरी भएका बहुमूल्य सम्पदा फिर्ता गर्नुले नेपालसँग सहकार्य गर्ने अस्ट्रेलियाको गहिरो प्रतिबद्धता झल्काउँछ। यसले सही काम गर्न प्रोत्साहनसमेत दिन्छ।
सन्तुष्टिको अर्को ठूलो क्षेत्र भनेको सीमान्तकृत समुदायको उत्थानमा गैरसरकारी संस्थाहरू मिलेर कार्य गर्नु हो। यी समुदायको अधिकार र हितलाई सहयोग र समर्थन गर्ने हाम्रो चाहना रहिआएको छ। विशेषगरी लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धनमा योगदान गर्नु मेरो कार्यकालको महत्वपूर्ण अनुभव रहे।
तपाईं परम्परागत कूटनीतिक प्रोटोकलभन्दा फरक हिसाबले नेपाली जनतासँग प्रत्यक्ष सम्बन्ध राख्नेमा परिचित हुनुहुन्छ, यस हिसाबले तपाईंसँग केही विशेष अनुभव छन्, जसले दिगो प्रभाव छाडेको छ ?
मलाई कुनै पनि नेपाली साधारण छन् भन्ने लाग्दैन। मैले भेटेका हरेक नेपालीले मलाई न्यानो आतिथ्य भाव दिएका छन्। विदेशबाट आएका म जस्तालाई असाधारण हिसाबले स्वागत गरेका छन्।
नेपालको सांस्कृतिक र धार्मिक प्रचलनका बारेमा गहिरो ज्ञानविना नेपाल आएका पाहुनाप्रति नेपालीहरू यति धेरै सहिष्णु देखिनु अचम्म लागेको एउटा विषय हो। ‘पाहुना ईश्वर हुन्’ भन्ने भनाइ र वाक्यांशलाई मैले हरेक दिन अनुभव गरेकी छु। यो धेरै ठूलो विनम्रता हो। विभिन्न जातजाति, संस्कृति, सामाजिक र धार्मिक पृष्ठभूमि तथा भाषाहरू भएका कैयन् नेपालीले मसँग आफ्नो संस्कृति साझा गरेका छन्। यसले मेरो नेपाल अनुभवलाई अविश्वसनीय रूपमा समृद्ध बनाएको छ।
मसँग कैयन् नेपालीसँग काम गरेको गहिरो अनुभव छ। केही योगदान गरेका दुई युवा महिलाको सम्झना अहिले पनि मसँग छ। पत्रकार र डकुमेन्ट्री निर्माता पिंकी श्रीस रानासँग काम गर्ने र उनको व्यावसायिक स्तरलाई परिस्कृत गर्ने अवसर मैले पाएँ। यसैगरी सुमना लावती एक असाधारण प्रतिभा भएकी युवती हुन्। उनका लक्ष्य र आकांक्षालाई प्रोत्साहित गर्न पाउँदा मलाई ठूलो सन्तोष मिलेको छ। नेपालका उच्च पहाडदेखि तराईसम्म र काठमाडौंका हरेक स्थानमा भ्रमण गर्ने क्रममा जीवनका हरेक क्षेत्रका असाधारण नेपालीलाई भेट्ने अवसर पाएकी छु। अस्ट्रेलियनहरू धेरै प्रोटोकल–सञ्चालित वा तहगत हुँदैनन्। जुनसुकै पृष्ठभूमि भए पनि हामी सबैलाई समान ठान्छौं र अर्थपूर्ण सम्बन्ध स्थापना गर्न लालायित हुन्छौं।
यहाँको कार्यकालमा दुई देशको व्यापारिक सम्बन्ध सुदृढ बनाउन के–के प्रगति भए ? भविष्यमा सहकार्यका लागि सबैभन्दा बढी सम्भाव्यता भएका कुन–कुन क्षेत्र देख्नुहुन्छ ?
यो वर्ष, हामीले आपसी व्यापार सम्बन्धमा एक महत्वपूर्ण कोसेढुंगा हासिल गरेका छौं। अनेक क्षेत्रमा दुई देशबिच सम्बन्ध फस्टाउँदै गएको सन्दर्भमा हामीले व्यापारिक सम्बन्ध बढाउने दिशामा उपलब्धि हासिल गरेका छौं। विशेषगरी नेपाल र अस्ट्रेलियाबिच व्यापार र लगानी प्रवद्र्धन गर्ने दिशामा औपचारिक संयन्त्रको आवश्यकता थियो। त्यही उद्देश्यले दुई देशबिच ‘व्यापार र लगानी ढाँचा व्यवस्था’ अर्थात् फ्रेमवोर्क एरेन्जमेन्ट (टिफा) स्थापना भएको छ। धेरै वर्षको गृहकार्यपश्चात् सहमतिमा व्यापार तथा लगानी समिति गठन भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा रहेको यो समितिमा भने अस्ट्रेलियाका प्रतिनिधिसमेत रहने व्यवस्था छ। यो समितिले हरेक वर्ष व्यापार प्रवद्र्धन, नयाँ अवसर पहिचान, अवरोध न्यूनीकरण र व्यवसायी तथा लगानीकर्तासँग गहन सहकार्य गर्ने विषयमा कार्य गर्ने छ।
यसै वर्ष फेब्रुअरीमा पर्थमा टिफासम्बन्धी हस्ताक्षर भएको हो। नेपालका पूर्व परराष्ट्रमन्त्री एनपी साउद हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन अस्ट्रेलिया भ्रमणमा रहेका बेला हामीले यो सहमतिमा हस्ताक्षर गरेका थियौं। नेपालका तर्फबाट राजदूत कैलाश पोखरेल र अस्ट्रेलियाका तर्फबाट हाम्रा सहायक परराष्ट्रमन्त्रीले सो सहमतिमा हस्ताक्षर गरेका थिए। टिफा समितिको पहिलो बैठक आगामी अक्टोबरको अन्त्यतिर काठमाडौंमा हुने तय भएको छ। बैठकमा अस्ट्रेलिया र नेपालमा महत्वपूर्ण स्थान लिएको कृषि र कृषि व्यवसाय जस्ता प्रमुख क्षेत्रहरूमा छलफल गर्न अस्ट्रेलियाका प्रतिनिधिमण्डल नेपाल आउने तयारी छ। यसैगरी जलविद्युत्, हरित हाइड्रोजन र सौर्य ऊर्जामा सहकार्य, नवीकरणीय ऊर्जा अन्य सम्भावनाका क्षेत्र हुन्। नेपालको दक्ष युवा जनसंख्या र अस्ट्रेलियाका लागि आवश्यक रहेको सूचना प्रविधिको क्षेत्र सहकार्यको अर्काे आकर्षक क्षेत्र हो।
अस्ट्रेलियामा बसोवास गर्ने नेपालीको संख्या एक लाख ८० हजार पुगेको छ, यो संख्या बढ्दै गएको छ। यसले द्विपक्षीय सम्बन्धलाई कसरी प्रभाव पारेको छ ? र अस्ट्रेलिया सरकारले नेपाली समुदायलाई सहयोग गर्न के गरिरहेको छ ?
अस्ट्रेलियामा रहेका नेपाली समुदाय सबैभन्दा छिटो बढिरहेको आप्रवासी समुदाय हो। यो संख्या पछिल्लो पाँच वर्षमा दोब्बर भएको छ। यो हाम्रो नवौं ठूलो आप्रवासी समुदाय बनेको छ। नेपाली संस्कृति, चाडपर्व र खानामा पनि साझेदारी गर्दै यो समुदाय अस्ट्रेलियाली समाजमा सक्रिय र एकीकृत छ। अस्ट्रेलियामा वर्षौं बिताएर फर्कंदा यो समुदायका सदस्यले नेपालमा लगानी र विकासमा योगदान गरेका छन्। यो समुदायले व्यापार र लगानीमा महत्वपूर्ण भूमिका खेलेको छ।
अस्ट्रेलिया सरकार आप्रवासी समुदायसँग धेरै हिसाबले संलग्न छ। उदाहरणका लागि–गत वर्ष सहायक विदेशमन्त्री टिम वाट्स नेपाल भ्रमणमा आउनुअघि आफ्ना निर्वाचन क्षेत्रमा रहेका कैयन् नेपालीसँग परामर्श गरेका थिए। यसैगरी नेपाल भ्रमणपछि उनले आफ्नो भ्रमणको उपलब्धिका बारेमा उनीहरूलाई अवगत गराएका थिए। यो हिसाबले हाम्रो सरकारी नेतृत्व र नेपाली समुदायबिचको घनिष्ट सम्बन्ध प्रमाणित हुन्छ।
काठमाडौंमा अस्ट्रेलियाको भिसा सेवा सुरु गर्न माग बढेको छ, यस क्षेत्रमा केही प्रगति भएको छ ?
काठमाडौंमा भिसा कार्यालय स्थापनाको मागका विषयमा म अवगत छु। हाम्रो गृह मामिला र अध्यागमन सेवा विभागसँग भएको कुराकानीका आधारमा भन्ने हो भने नेपालमा भिसा सेवा पुनः खोल्ने विषयमा तत्काल कुनै योजना छैन। यो नेपालका लागि मात्र विशेष रहेको विषय होइन, यो अस्ट्रेलियाको दक्षताको विश्वव्यापी दृष्टिकोणको अंश हो। केही वर्षपहिले गृह विभागले विश्वव्यापी रूपमा केही प्रमुख स्थानहरूमा मात्र भिसा प्रक्रिया केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका लागि नयाँदिल्लीमा रहेको भिसा कार्यालय तोकिएको हो। हामीलाई भिसा आवेदनहरूको कुशलतापूर्वक व्यवस्थापन गर्न यही ‘हब–एन्ड–स्पोक मोडेल’ ले अनुमति दिन्छ।
महत्वपूर्ण कुरा के हो भने अधिकांश सेवा अनलाइनमै व्यवस्थित गरिएको छ। त्यसैले राहदानी कतै पठाउन आवश्यक हुँदैन। खास स्थानमा कार्यभार अत्यधिक भएको अवस्थामा अन्यत्रबाट काम गरेर भए पनि शीघ्र र कुशल राहदानी सेवा दिइँदै आएको छ। त्यसैले तत्कालका लागि नेपालमा भिसा कार्यालय खोल्ने सम्भावना छैन। विद्यमान केन्द्रीकृत मोडेल धेरै प्रभावकारी साबित भएको छ।
नेपाल र अस्ट्रेलियाबिच सीधा उडान सुरु गर्न नेपाली पक्षले लामो समयदेखि माग गर्दै आएको छ, यसलाई यथार्थमा परिणत गर्न के–कस्ता प्रगति भएका छन् ?
अस्ट्रेलिया र नेपालले सन् २०१९ मा हवाई सेवा सम्झौता (एएसए) मा हस्ताक्षर गरेका थिए। तर वायु सेवा उद्योगले यो सेवा सञ्चालन गर्ने अनुमति लिने दिशामा यो वर्ष मात्रै प्रगति भएको हो। सुरुमा एएसए हस्ताक्षर भएको वर्षमा कोभिड १९ महामारी सुरु भएकाले खास प्रगति हुन सकेन, तर यो दिशामा हाल केही प्रगति भएको छ। नेपाल वायु सेवा निगम (एनएसी) गत मे महिनामा अस्ट्रेलियाका सरकारी अधिकारीहरूलाई सेवा सुरुवातका लागि आवश्यक सबै कागजात बुझाएको छ। एनएसीको एक प्रतिनिधिमण्डलले अस्ट्रेलियाको भ्रमणसमेत गरेको छ। यो विषय सकारात्मक रूपमा अघि बढेको छ।
हो, नियामक प्रक्रियाले केही समय लिन्छ। यो प्रक्रियासँग सुरक्षा, यातायात सुरक्षा र अन्य विषय जोडिएका हुन्छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सञ्चालन दुवै कार्य गर्ने वर्तमान कानुनी व्यवस्थामा समीक्षा गर्न नेपाल अघि बढ्यो भने यो हवाई सुरक्षाका लागि उपयोगी हुने छ। यसले हवाई क्षेत्रलाई अझ सुरक्षित राख्न सहयोग गर्ने छ।
तपाईं एक प्रशंसित लेखक पनि हुनुहुन्छ, नेपालमा तपाईंको अनुभवले लेखनमा कुनै प्रभाव पारेको छ ? अथवा तपाईंको भावी साहित्यिक कृतिहरूमा नेपालको प्रतिबिम्बको आशा गर्न सक्छौं ?
नेपालको अनुभवले मेरो लेखनलाई दुई किसिमले प्रभाव पारेको छ। पहिलो– राजदूतका रूपमा मेरो भूमिका यति व्यस्त हुन्छ कि मसँग लेख्ने समय नै हुँदैन। अर्काे हिसाबले मेरो बसाइ अनुभव यति घनीभूत र दिमाग बढाउने खालको छ, त्यसले मलाई भविष्यमा लेखन परियोजनाका लागि धेरै विचार दिएको छ। परराष्ट्र सेवामा ३५ वर्ष व्यतीत गरेर नेपाल छाडेपछि मेरो अवकाश लिने योजना छ। अवकाशपछि मेरो दोस्रो करियर लेखन हुने छ।
नेपालको अनुभवमा आधारित आख्यान र गैरआख्यानमा आधारित दुईवटा पुस्तक लेख्ने मेरो योजना छ। यो योजना कार्यान्वयनका लागि पनि म प्रत्येक वर्ष केही महिना काठमाडौं आउँछु।
स्वदेश फर्कने तयारी गर्दा नेपालमा के विरासत छाड्ने आशा गर्नुहुन्छ ?
केही प्रमुख क्षेत्रमा गरेका कार्य सम्झने छु। एउटा विषय सामाजिक समावेशीकरणसँग सम्बद्ध छ। अस्ट्रेलिया र नेपाल दुवै देशले सामाजिक समावेशीकरणका क्षेत्रमा बलिया र साझा मूल्य स्थापना गरेका छन्। यी मूल्यमा नेपालको संविधान र हाम्रो विकास कार्यक्रम प्रतिविम्बित छन्। विभिन्न जाति, जनजाति तथा सीमान्तकृत समुदायसँग मिलेर काम गर्न अस्ट्रेलियाले प्रयास गरेको छ। सामाजिक समावेशीकरणलाई अस्ट्रेलियाली दूतावासले नेपालसँग सहकार्यका आधारभूत पक्ष मानेको छ।
लैंगिक समानता, अपांगता भएका व्यक्ति तथा महिला तथा अन्य विपन्न समुदायप्रतिको सम्मान र सहिष्णुता हाम्रा लागि महत्वपूर्ण रहँदै आएका छन्। यदि मलाई ती सिद्धान्त र मान्यतामा योगदान गरेकोमा सम्झिएमा म खुसी हुनेछु। यसैगरी अस्ट्रेलिया र नेपालबिचको व्यापार र लगानी सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिले हाम्रो व्यावसायिक सम्बन्धलाई अझ गहिरो बनाउने छ। यसले अस्ट्रेलिया र नेपालका पूरक चासो, अवसर र आकांक्षा भएका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने मैले विश्वास गरेकी छु। नेपालबाट चोरी भएका टुँडाल फिर्ता गर्नु मेरा लागि अर्काे सम्झनालायक कार्य हो। यसले अस्ट्रेलिया र नेपालबिचको आपसी विश्वासको भावनामा मलजल गरेको छ। मलाई विश्वास छ यो भविष्यमा पनि जारी रहने छ।
नेपालका राजनीतिक नेता, नीतिनिर्माता र जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?
नेपालले भर्खरै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक संसदबाट पारित गरेको छ अब यो प्रक्रिया अगाडि बढ्ने छ। यसका लागि नेपालको राजनीतिक नेतृत्व, सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई बधाई दिन चाहन्छु। यो प्रगति हासिल गर्न सबै दलहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। निस्सन्देह, कार्यान्वयनको महत्वपूर्ण कार्य अझै बाँकी छ। यो ऐतिहासिक प्रगति हासिल गर्ने प्रमुख श्रेय सरकारलाई जानुपर्छ। यो ऐनको प्रभावकारी कार्यान्वयनमा विशेष आवश्यकता परेमा अस्ट्रेलियाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसको सफल कार्यान्वयनले नेपालको शान्ति र समृद्धिको यात्रा अगाडि बढ्ने मैले विश्वास गरेकी छु।
सँगसँगै म सरकार, व्यवसाय, नागरिक समाज, शिक्षाविद् तथा अन्य सरोकारवालालाई युवाहरूलाई यथेष्ट अवसर प्रदान गर्ने दिशमा काम गर्न अनुरोध गर्न चाहन्छु। यसैगरी राजनीतिक स्थिरता, थप आर्थिक समृद्धि, पारदर्शिता, जवाफदेहिता र सुशासन नेपालका लागि महत्वपूर्ण विषय हुन्।
यति गर्न सकेमा नेपालमा आर्थिक वृद्धि र प्रत्यक्ष विदेशी लगानीका अवसर र आधार तयार हुने छन्। युवासहित सबैका लागि अवसर सिर्जना हुनेछन्। यसले समग्र क्षेत्रमा आशा र आत्मविश्वास बढाउने छ।
प्रकाशित: ५ भाद्र २०८१ १४:०२ बुधबार