अन्तर्वार्ता

‘बंगलादेशको संकेत नेपाली नेताले बुझ्न जरुरी छ’

आरक्षणका लागि छुट्ट्याइएको कोटा खारेजीको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको आन्दोलनले बंगलादेशमा राजनीतिक उथलपुथल ल्याएको छ। १५ वर्ष लामो सत्ता यात्राको बिट मार्दै शेख हसिना देश छाड्न बाध्य भइन्।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। एउटा विषयबाट सुरु भएको बंगलादेशको यो आन्दोलनले कालान्तरसम्म विश्वका धेरै देशमा आन्दोलनको वीजारोपण हुने अनुमान गरिएको छ। नेपाल, भारतसहित दक्षिण एसियाली देश भने यसको असर उच्च हुने देखिएको छ। बंगलादेशको आन्दोलनले नेपालसहितका मुलुकमा पार्ने राजनीतिक, सामाजिक र आर्थिक प्रभावबारे नागरिककर्मी तेजेन्द्र काफ्लेले परराष्ट्रविद् प्राडा जनार्दन आचार्यसँग कुराकानी गरेका छन्। त्यसैको सम्पादित अंश:

बंगलादेशमा भएको आन्दोलन र सत्ता परिवर्तनले नेपाललाई दिएको राजनीतिक सन्देश के हो?

सत्ता उन्मादले निम्त्याएको नतिजा हो– बंगलादेशको घटना। अब त्यसबाट प्रभावित र आक्रान्त हुने समूह धेरै हुन्छन् र पछि फैलिँदै जान्छ। जस्तो– पहिलो आरक्षणको कारणले विद्यार्थीहरूमा प्रभाव पर्‍यो। सन् १९७१ को बंगलादेशको आन्दोलनमा लागेका परिवारलाई जुन आरक्षणको कोटा छुट्याइएको थियो, त्यसलाई बढाउँदै लगेर ५६ प्रतिशतसम्म पुर्‍याइएको थियो। अब बाँकी प्रतिशतमा अन्यले प्रतिस्पर्धा गर्दा कति नै बच्छ र? त्यसमा पनि दक्षिण एसियाका देशहरूको स्वभाव छ नि तेरो, मेरो, भनसुन, नातागोता। जुन एउटा वर्ग छ नि जो सक्षम छ, ऊ स्वाभिमानी पनि हुन्छ। भनसुनमा हतपत भर पनि गर्दैन। ऊसँग आत्मविश्वास पनि हुन्छ। अहिलेसम्मको अभ्यासमा त्यो हुबहु नेपालमा देखिइरहेको छ, चाहे त्यो समानुपातिकका कुरा गर्नुहोस्, चाहे बजेट विनियोजनका कुरामा हेर्नुहोस्।

नेपालको केसमा त नेताहरू भाग्यमानी छन् किनकि जनता धेरै छिटो उत्तेजित भएको देखिँदैन। मैले बंगलादेश छुट्टिने बेला पनि देखें, सिक्किम विलय हुने बेला पनि देखें, त्यहाँ विद्यार्थी मुभमेन्ट थियो। हामी पनि विद्यार्थी नै थियौं। उतिबेला के थियो भने भारतले सुस्तामा सीमा मिच्यो, झापामा यस्तो भयो भन्दा विद्यार्थी इन्टेक्ट हुन्थे, तर २०४६ सालपछि विद्यार्थीलाई न महँगीको चासो छ, न कतै कुनै घटना भयो भने चासो लिन्छन्।

पहिला राजनीतिमा आस्था राख्नेमा नेतृत्व थियो, अब अहिले आएर अवसरमा आस्था राख्नेहरूको नेतृत्व भयो। ज्ञान नभएकाले अहिलेका विद्यार्थी नेताले देखाउँदै सक्दैनन्। विद्यार्थी नेताहरूमा अहिले ६० प्रतिशतभन्दा बढी उरन्ठेउलो वर्ग छ। जोसँग सामान्य अर्थमा आफ्नो भविष्यको पनि ख्याल छैन। तत्कालीन रूपमा ऊ कीर्तिपुरमा पढ्दै छ। यहीबिचमा कसैलाई पट्याएर काठमाडौंमा घडेरी किन्ने हो कि ? विदेश उड्ने हो कि? भन्ने मात्र सोच राख्छ। हिजोका विद्यार्थी यी कुरा सोच्दैनथे। ऊ देशलाई कहाँ दुख्यो? देशको अर्थतन्त्र कहाँ बिग्रियो? विश्वविद्यालयमा कहाँ पढाइ भएको छैन ? भन्ने सोचेर बस्थ्यो।

अहिलेका विद्यार्थी नेताहरूमा न भिजन छ न त कहाँसम्म जाने भन्ने लक्ष्य नै। यो भनेको उरन्ठेउलो वर्ग नै नेतृत्वमा पुगेको छ। यसको परिणाम के हो भने जहिलेसम्म चल्छ चल्छ, नचलेको दिनको परिणाम त्यही बंगलादेश हो यहाँ पनि। यो कुराको महसुस अहिले जनताले गरिरहेका छन्। यो कुरा जुन दिन विस्फोट हुन्छ नि त्यो आउने दिन हाम्रा नेताहरूको पनि बंगलादेशकै जस्तो दिन नआओस्।

भनेपछि बंगलादेशमा पनि त्यही विस्फोट भएको हो?

हो, त्यही भएको हो। त्यो अचाक्लिपना धेरै दिनसम्म टिक्दैन। तपाईंले अर्कालाई छलेर, झुक्याएर हुने भए त धेरै व्यवस्था टिकिरहन्थे त आजसम्म। संकेत बुझ्नुपर्छ के नेताहरूले। नेताहरूमा भिजन के हुनुपर्छ भने नि जतिबेला व्यवस्थामा संकट देखिन्छ नि त्यसले केही रोगको संकेत गर्दै छ भनेर बुझ्नुपर्छ। पोलिटिक प्याथोलोजीको परीक्षण त गर्नुपर्‍यो नि। त्यो सिस्टमभित्र क्रेक डाउन सुरु हुन्छ के यस्ता कुराले। जब भत्किँदै जान्छ नि त्यसलाई प्याचअप गर्न जरुरी हुन्छ। बंगलादेशमा पनि संकेत देखिएको थियो। विद्यार्थीहरूले आरक्षण खारेज गर भनेका थिए। सर्वोच्च अदालतले ६ प्रतिशतमा सीमित पनि गरिदिएको हो तर फेरि अघि बढाएपछि आन्दोलनले उग्र रूप लियो। त्यो कमीकमजोरीको निदान गर्न सकेनन्। हाम्रो देशमा पनि त्यस्तै गति देखिइसकेको छ, मात्र विस्फोट हुन बाँकी छ। नेतृत्वले कति छिटो संकेत पकड्छ र औषधि गर्छ हेर्न बाँकी छ।

बंगलादेशसँग नेपालको उच्च कूटनीतिक सम्बन्ध छ। त्यहाँ भएको सत्ता परिवर्तनले नेपाललाई राजनीतिक, आर्थिक र सामाजिक प्रभाव के पार्छ?

पहिलो कुरा त बंगलादेश मुख्यरूपमा परिवर्तनको अवस्थामा छ। ऊ एकदमै कमजोरको अवस्थामा छ। त्यहाँको जुन अन्तरिम सरकार बनेको छ, मोहम्मद युनुसको नेतृत्वमा। यद्यपि उनी स्वच्छ छविका छन् तर नेतृत्व भनेको बेग्लै क्षमता हो। उनी जति जानकार भए पनि त्यो क्षमता छ कि छैन ? पहिलो कुरा यो हो। अर्को कुरा त्यहाँ विभिन्न इन्ट्रेस समूह छन्।

 पाकिस्तानले खेल्ने नै भयो किनभने उसलाई आफूबाट छुट्टिएको रिस छ। भारत पनि खेल्ने नै भयो। नजिकमा कस्तो नेतृत्व आउँछ भन्ने चासो उसमा छ। भारतलाई त झन् यो अवस्थाको मुख्य दोषीको आरोप लगाइरहेका छन्। चीन पनि बीआरआईमार्फत बंगलादेशमा प्रवेश गर्न खोजिरहेको छ। बंगलादेशको पनि आफ्नो भूमिका छँदै छ। यो कुरालाई जबसम्म उनीहरूले ठोस र कंक्रिट रूपमा देशमा स्थापित गर्न सक्दैनन् नि त्यो बेलासम्म त नेतृत्वमा कस्तो मान्छे आउँछ भन्ने कुरा मात्र रह्यो। अब सच्चा छिमेकीको हिसाबले व्यवहार गर्ने मान्छे आउने हो कि अलिकति राजनीतिक झुकाव भएको मान्छे आउने हो त्यसले अर्थ राख्ने भयो।

अर्कातर्फ परम्परागत सम्बन्ध जो छ, त्यसलाई समयसमयमा पुनरावलोकन गर्न जरुरी छ। त्यो भनेको के हो भने आदानप्रदान कुन रूपमा र कति भइरहेको छ ? दूतावास खोलेर मात्र पुग्दैन। विद्यार्थीहरू त गइरहेकै छन् तर त्यो भनेको त कमाउने स्रोत मात्र न हो। त्यसले सम्बन्धलाई निर्देश गर्दैन। यो भनेको एकअर्काले पाउने कुरा हो। जस्तो– जलस्रोतका कुरामा, दिने कुरा भएको थियो। यसमा भारत पनि सकारात्मक भएको थियो। अब आउने सरकारसँग भारतको सम्बन्ध कस्तो हुन्छ? तर आशा के गरौं भने हाम्रो नेतृत्वले पनि राम्रो गरोस् र उसले पनि यो क्षेत्रमा राम्रो गरोस्।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गर्दैछन्, नेपालसँगको आगामी सम्बन्ध कस्तो होला?

सम्बन्ध त राम्रो नै होला किनभने बिग्रने आधार छैन। योभन्दा खराब भने पक्कै हुँदैन। योभन्दा राम्रो हुनका लागि त बंगलादेशका नेसनल एक्टर र हाम्रा एक्टरको ट्युनिङ कत्तिको मिल्छ त्यसमा पनि सम्बन्ध भर पर्छ। त्यसमा अन्तर्राष्ट्रिय राजनीतिले पनि अहिलेको परिप्रेक्षमा प्रभाव पार्छ। त्यसले बंगलादेशको अवस्था कता जान्छ भन्ने निर्धारण भइसकेको छैन। त्यसैले अन्तर्राष्ट्रिय सम्बन्धलाई कुनै एउटा विषयका आधारमा यस्तै हुन्छ भन्न सकिने अवस्था पनि हुँदैन।

कतिपय मुलुकमा खराबभन्दा पनि खराब मान्छे नेतृत्वमा आउँदा पनि सम्बन्धहरू सुमधुर भएका छन्। आआफ्नो इच्छा मिल्यो भने अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय सम्बन्ध राम्रो हुने हो। यसमा हाम्रो पनि उत्तिकै दायित्व छ। युनुसले अन्तर्राष्ट्रिय परिवेश बुझेका हुनाले दक्षिण एसियाको सवालमा भारतभन्दा बाहिर गएर स्वतन्त्र निर्णय गर्लान् भन्ने त मलाई लाग्दैन। तर दक्षिण एसियाली मुलुकमा नेपालमा बाहेक कुनै पनि देशले राष्ट्रिय इन्ट्रेसलाई बेवास्ता गरेर गएको देखिँदैन।

बंगलादेशमा सत्ता सञ्चालन कत्तिको सहज हुन्छ त्यहीअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम होला?

बिल्कुल। नयाँ मान्छे आएपछि केही दिन चल्छ। आशा आशामै जान्छ केही गर्लान् कि भन्ने कुराले। अब उनले केही मान्छे हटाउँछन्। कसैलाई जेलबाट छाड्लान्। त्यो सामान्य प्रक्रिया चल्ने भयो। गरिबी र महँगीले बंगलादेश पनि आक्रान्त छ। भ्रष्टाचार त्यहाँको पनि मुख्य विषय छ। यी सबैमा काम गर्न टिम पनि चाहियो। त्यो टिम कस्तो ल्याउँछन्। जेलमा हुने धार्मिक नेताहरूलाई पनि ठाउँ दिनुपर्ने होला। त्यसमाथि विद्यार्थी, सेना र प्रहरीको चुनौती पनि छ। त्यसैले सुरुमा यिनले सबैलाई समझदारीमा ल्याएर राष्ट्रिय मुद्दालाई हेरेर काम गरे भने राम्रै होला, हैन भने उनलाई पनि ठूलो चुनौती छ। त्यसैले किताब पढेर मात्र मुलुक चल्दैन। मुलुक चल्न योजना, इच्छाशक्ति र नेतृत्वमा क्षमता चाहिन्छ।

शेख हसिनाको १५ वर्ष लामो सत्ता यात्रालाई कसरी विश्लेषण गर्ने ? सकारात्मक कि नकारात्मक?

अलिकति त सकारात्मक त लिनैपर्छ। उनले पूर्वाधारका क्षेत्रमा भने राम्रै काम गरेकी छन्। यसले के सन्देश दियो भने एकातिर उनले आलिशान भवन त बनाइन्, तर आडैमा रहेको झोपडीमा हुन आक्रोश यथावत् छ त। दिल्लीमा पनि यस्तै छ। एकपछि अर्को भव्य सहर छ तर सुकुम्बासी बस्ती पनि उत्तिकै छ। त्यसभित्र आक्रोश त पलाउँछ नै। त्यो आक्रोशलाई नेतृत्वमा हुने व्यक्तिले लियो भने त आगो ल्याउँछ नै। हो, बंगलादेशमा हसिनाले त्यही गरिन्। पूर्वाधारको विकास त गरिन् तर भ्रष्टाचार नियन्त्रण र रोजगारी निर्माण गर्ने कुरामा उनले चासो राखिनन्। यद्यपि टेक्सटाइलमा विकास गरिन्। जिडिपी भारतको भन्दा माथि पुर्‍याइन्, तर पारिवारिक जुन पकड उनले कायम राखिन्, यसले भने बद्नाम गरायो। यसैको परिणाम हो– शेख मुजिबुर रहमानको सालिक तोडफोड हुनु। त्यो भनेको उनीप्रतिको आक्रोश व्यक्त भएको हो। ठ्याक्कै त्यस्तै नेपालमा पनि सहिदलाई भजाएर जुन खाने प्रचलन चलिरहेको छ, यो खराब छ। राज्यको स्रोत समानान्तर रूपमा बाँडफाँट हुनुपर्छ। यहाँ उत्पादनभन्दा बाँडफाँटले महत्व राख्छ। बाँडफाँट राम्रोसँग गर्नुभएन भने उत्पादन जतिसुकै गर्नुहोस् न, के मतलब भयो र?

बंगलादेशमा अझै पनि पूर्णरूपमा आन्दोलन शान्त भएको अवस्था छैन। आगजनी, तोडफोड अझै पनि जारी छ। बंगलादेशमा बस्ने र अध्ययन गर्ने नेपालीको भविष्य के हो?

केही दिनलाई त अप्ठेरो होला, तर लामो समय यस्तै नरहला। बंगलादेशमा भएको आन्दोलनको भुक्तभोगी म आफैं पनि हुँ। म एमबिबिएस पढ्न ढाका जान छनोट भएको थिएँ। तर त्यही बेलामा मुजिबुर रहमानको हत्या भएपछि त्यो कोटा गयो। एकदुई वर्ष रोकियो। अनि म एमएतिर लागेको हुँ। अब त्यहाँको सरकारले यो कुरालाई आफ्नै समस्या ठूलो भयो र सम्हाल्न नसक्ने भयो भने त उनीहरू एकदुई वर्ष पछाडि परे। त्यसको असर त पर्ने नै भयो, तर शान्त भएपछि उनीहरू ट्र्याकमा फर्किए, ल एन्ड अर्डर कायम भयो भने उनीहरूलाई खासै असर पर्छ जस्तो मलाई लाग्दैन। उनीहरूलाई पनि विदेशी पैसा आइरहेको छ, काम पाइरहेका छन्, कलेज चलिरहेका छन् भने त्यसमा ध्यान दिन्छन् नै। विद्यार्थीमा केही न केही अस्थिरता त ल्याउला तर एकेडेमिक हिसाबमा धेरै प्रभाव नपार्ला। छिटपुट घटना त भइ नै रहन्छ। आन्दोलनमै सहभागी केही समूह नै यो काममा लागेकै हुन्छन्। चिन्न र जोगिन सक्नुपर्छ। बंगलादेशमा आक्रोश उच्च तहमा पुगेको छ शान्त हुन त समय लाग्छ नै।

प्रकाशित: २५ श्रावण २०८१ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App