अन्तर्वार्ता

२०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ: अध्यक्ष अन्सारी (अन्तर्वार्ता)

सुनसरीको हरिनगर गाउँपालिका पिछडिएको क्षेत्रमा पर्छ। यो गाउँपालिकामा २०७४ सालमा गफार अन्सारी निर्वाचित भएर पाँच वर्षे कार्यकाल सकेसँगै २०७९ पनि फेरि उनै अध्यक्ष निर्वाचित भएका छन्। उनले नेतृत्व सम्हालेपछि गरेका महत्त्वपूर्ण काम बारे नागरिक दैनिकका संवाददाता अमर खड्काले गरेको कुराकानी: 

तपाईँ २०७४ सालमा निर्वाचित भएर गाउँपालिकाको पहिलोपल्ट नेतृत्व गर्नुभयो र दोस्रो पटक फेरी तपाईँले नेतृत्व गरेर दुई वर्ष बिताइ सक्नुभएको छ। पहिलो कार्यकाल र अहिलेको दोस्रो कार्यकालमा के के महत्त्वपूर्ण कामहरू गर्नुभयो? 

सबै भन्दा पहिला यो दक्षिण क्षेत्र एकदमै बिग्रिएको क्षेत्र थियो। यो क्षेत्रबाट २०१५ सालमा वीपी कोइरालाले चुनाव लड्नुभएको थियो र ३० वर्ष पञ्चायतकालमा यही  क्षेत्रबाट विभिन्न व्यक्तिहरू चुनाव जितेर जानुभयो। जस्तो दिलबहादुर श्रेष्ठ, श्याम प्रसाद गुप्तालगायतले पञ्चायत कालमा यही क्षेत्रबाट चुनाव जितेर जानुभएको थियो। २०४६ पछि २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट चुनाव लड्नुभयो र जित्नु पनि भयो। २०६२(६३ को जनआन्दोलन अनि मधेस आन्दोलन भयो। मधेस आन्दोलनबाट मधेसका नेता उपेन्द्र यादव यही क्षेत्रबाट दुई पटक चुनाव जित्नुभयो।  बिचमा एक पटक एमालेको जगदिस कुसियत पनि यही क्षेत्रबाट चुनाव जित्नुभएको थियो।  यही क्षेत्रबाट डाक्टर खलिल सहाब पनि चुनाव जित्नुभयो । तर यो क्षेत्र भनेको पूर्व पश्चिम राजमार्ग देखि दक्षिणमा पर्छ।

हरिनगर गाउँपालिका ८ किलोमिटर भारतीय सीमा क्षेत्रसँग जोडिएको छ। यहाँको जनतालाई सबै भन्दा कठिनाइ बाटोको थियो। कुनै पनि बाटोमा पिचको नामै थिएन। २०७४ सालमा जब संविधान सभाको चुनाव भएपछि संघीयता भयो। अनि पहिलो सङ्घीयताको पहिलो गाउँपालिकाको अध्यक्षमा म निर्वाचित भए। त्यसपछि मैले सबै भन्दा पहिला बाटो बनाउने सोच बनाए। मैले एकै पटक सात वटा बाटोको डिपिआर गरे। जुन ३२ किलोमिटर पर्छ। त्यो ३२ किलोमिटर पिच गर्नुपर्छ भन्ने किसिमको एउटा अवधारणा मैले ल्याए। सबै वडालाई जोड्ने बाटो निर्माणका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाए। ३२ किलोमिटर मैले २०७४ सालबाट सुरु गर्दा खेरी २०७९ सम्ममा पूरा गरे। त्यो बाटो पुरा भई सकेपछि त्यसमा पुलहरूको आवश्यकता प¥यो र त्यसमा नववटा पुल स्थापना गरिएको छ।

सुरुवातमा यहाँको मान्छेहरुले  एउटा वडाबाट अर्को हेल्थ पोस्ट जानको लागि बाटो थिएन्।  विद्यार्थीलाई विद्यालय जान निकै समय लाग्थ्यो। किसानहरूलाई उत्पादित सामान विक्री गर्नका लागि बाटैका कारण सहज हुन पुग्यो। हरिनगर गाउँपालिकाको सबै वडामा वडा कार्यालयहरू पनि थिएन्।  सात वटा वडा कार्यालयमध्ये पाँच वटा नयाँ निर्माण गरी सकिएको छ। त्यस्तै स्वास्थ्य चौकी एउटा नयाँ भवन बनाए। स्कुलहरूमा भवनहरु बनाए। हरिनगर गाउँपालिकामा २०७४ साल भन्दाअघि र पछि पुरै फेरिएको छ।

दोस्रो पटक २०७९ मा निर्वाचित भएपछि चाहिँ के के काम गर्नुभयो? 

अब दोस्रो कार्यकाल २०७९ मा निर्वाचित भएपछि हामीले हामीसँग प्रशासनिक भवन थिएन्।  हामीले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। २ वटा स्कुल, २ वटा वडा कार्यालय र प्रशासनिक भवनका लागि १ बिघा ३ कट्ठा जग्गा चन्दा दाताबाट प्राप्त गरी सकिएको छ। जस मध्ये गाउँपालिकाको मात्रै ९ कट्ठा जग्गा मैले प्रशासनिक भवनको लागि प्राप्त गरेर त्यो प्रक्रिया अगाडि बढाए। प्रशासनिक भवनको पहिलो तल्ला  ढलान भइसकेको छ। शिक्षामा अहिले नयाँ विद्यालयका भवनहरु थप्नेछौँ। स्वास्थ्यको लागि २४ औँ घण्टा सेवा दिन हामीले व्यवस्थापन गरेका छौँ।  दुई जना एमबिबिएस डाक्टरहरू राखेर बिरामीलाई सेवा दिई राखेका छौँ। विद्यालयमा विद्यार्थीको चापले गर्दा शिक्षकहरूको कमी थियो।

शिक्षकहरूलाई गाउँपालिकाको बजेटबाट व्यवस्थापन गरेका छौँ। केही बाटोहरू पनि अहिले नयाँ रुपमा १५ किलोमिटर नाला सहित बन्ने क्रममा छ। यो वर्ष र आगामी वर्ष थप कालोपत्रे सडक बन्नेछ। संघीय सरकारले पैसाको पनि अहिले अभाव छ।  देशको सङ्कट अवस्था छ।  बजेट अहिले थोरै आइरहेको छ। पहिलाको तुलनामा बजेट कम भएको छ। त्यस कारण अब अहिले हामीले अबको किसानहरूका लागि मेसिन औजारहरू व्यवस्थापन गरेका छौँ। अनुदान उपलब्ध गराइ रहेका छौँ। किसानहरूका लागि बिउँ विजनहरू अनुदान दिएका छौँ। यो वर्ष देखि अब छात्रवृत्ति हामीले व्यवस्थापन गरेका छौँ। त्यसैगरी शिक्षामा पनि नयाँ किसिमको एउटा टे«निङ्ग दिने भन्ने सोच भएको छ।

त्यस्तै स्वास्थ्यमा हामीले प्रत्येक वडामा अब हामीले स्वास्थ्य शिविर कायम गरेर जनताको हरेक बिरामीहरू घरघरमा गएर हाम्रो डाक्टरहरूले चेक गर्ने योजना छ। हामीले प्रशासनिक भवन पनि यो वर्ष तयारी गर्ने पोजिसनमा छौँ। 

यो दक्षिण क्षेत्र कृषिमा आधारित क्षेत्र भएको कारणले गर्दा खेरी कृषिमा केही काम भएको त बताउनु पनि भयो । अरु थप के के गर्ने योजना छ? 

यहाँका किसानहरूका लागि हामीले कोल्ड स्टोर व्यवस्थापन गर्नेछौँ। बजेटको कारणले गर्दा खेरी अलिकति अभाव भएको छ। २०८१ मा नै कोल्ड स्टोर सुरुवात गछौँ। यहाँ किसानहरूले जुन तरकारी उत्पादन गर्छन् , बाली उत्पादन गर्छन्। उनीहरुले राम्रो सँग बजार पाउँदैन र त्यो बजार नपाएर किसानहरूले घाटामा जान्छन् त्यसलाई पूर्ति गर्नका लागि कोल्ड स्टोरमा हामीले व्यवस्थापन गरेर जब बजारमा मालको अभाव हुन्छ, त्यतिखेर हाम्रो किसानहरूले त्यो कोल्ड स्टोरबाट न्यून पैसा तिरेर त्यो हामीले अब बजारमा उपलब्ध गराउँछौँ। त्यसो गर्दा किसानहरूले बढी भन्दा बढी लाभ लिन सक्छन्। किसानहरूका लागि अहिले पनि औजारहरू हामीले व्यवस्थापन गरेका छौँ। मेसिनहरू व्यवस्थापन गरेका छौँ। अब २०८१ बाट विद्युतीय प्रणालीबाट सिचाइ गर्ने किसानहरूका लागि हामीले योजना ल्याएको छु। 

शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि चाहिँ अरु के के काम गर्नुभएको छ?

शिक्षामा हरिनगर बहुमुखी क्याम्पस स्थापना गरेका छौँ। क्याम्पस स्थापनाका लागि गाउँपालिकाले धरौटी रकम प्रदान गरेको छ। अब जग्गा दाता खोज्दैछौँ । जग्गा भेट्नासाथ कलेजको भवन पनि बनाउनेछौँ। शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूलाई तालिम दिएका छौँ।  कसरी अब नयाँ प्रविधिको हिसाबले शिक्षा अगाडि बढाउने सवालमा तालिम दिएका हौँ। प्रविधिको हिसाबले विद्यालयलाई अगाडि बढाउन ३२ वटा स्कुलहरूलाई सामान उपलब्ध गराएका छौँ।

पहिलो पटक पुरा नभएका अधुरा कामहरू दोस्रो पटक पुरा गर्ने महत्त्वपूर्ण अवसर पनि हो। अब दोस्रो पटक नेतृत्व गरेर छाड्दा हरि नगरलाई कस्तो बनाउने योजना बनाउनुभएको छ र ती के के काम चाहिँ पुरा गरेर छाड्नु हुन्छ? 

मेरो लक्ष्य सबै बाटा निर्माण पुरा गर्ने छ।  सबै वडामा वडा कार्यालय बन्नेछ। सात वटा वडामा ६ वटा वडाको हाम्रो स्वास्थ्य चौकी पुरा भइसकेको छ। एउटा वडाको बाँकी छ, त्यसलाई हामीले पुरा गर्ने लक्ष्य लिएका छौँ। आफ्नै गाउँपालिकाको प्रशासनिक भवन पनि पुरा गर्ने अठोटमा छौँ।  त्यस्तै गरेर अब शिक्षालाई शिक्षाको कतिपय स्कुलहरूमा भवनको अभाव छ, तिनीहरूमा भवन बनाउने तयारीमा छौँ। त्यसैगरी१५ बेडको हस्पिटल बन्दैछ।  बजेटको अभावले गर्दा खेरी बन्न सकेको छैन त्यो बजेट आयो भने पूर्ति गरेर सबै सुविधाहरू आँखा, कान, नाक, दाँतदेखि सबै डाक्टरहरू व्यवस्थापन गर्नेछौँ। अब कृषिमा हामीले अझै आमूल परिवर्तन गर्ने हाम्रो सोच छ। संघीय सरकार र प्रदेश सरकारले सोचे अनुसार बजेट उपलब्ध गराइ दियो भने हरिनगर गाउँपालिका २०८४ सम्म हराभरा र समृद्धि बनाएर जिम्मा लगाउनेछु भन्ने अठोट गरेको छु। 

प्रदेश र संघीय सरकारले अपेक्षा गरे अनुसार बजेट उपलब्ध गरायो भने  प्रसङ्ग उठाउनु भयो संघीय सरकार र प्रदेश सरकारले अहिले सम्म अपेक्षा गरेअनुसार बजेट प्रदान गरेको छ? तपाई कतिको सन्तुष्ट हुनुहुन्छ? 

होइन।  सन्तुष्टि छैन। किन भनेदेखि प्रदेश सरकार र संघीय सरकारले काम गर्ने ठाउँमा बजेटको अभाव हुन्छ। जहाँ काम गर्दैन, त्यहाँ बजेट थुपारेको हुन्छ। हामी काम गछौँ, हाम्रोमा अनुगमन गरियोस्। हामीले काम गरेको मूल्याङ्कनको आधारमा हामीलाई बजेट थपी दियोस्। हामी काम गरेर देखाउँछौँ। हरिनगर गाउँपालिकाको सम्पूर्ण काम गरिएको छ, बजेटको तुलना अनुसार मूल्याङ्कन होस्। त्यही भएर संघीय र प्रदेश सरकारसँग हामीलाई बजेट अझै थपी दिन आग्रह गर्दछु। हरिनगर गाउँपालिकाकाले २०७४ सालको पृष्ठभूमि र अहिले २०८० मा आएर हामी कुर्न अवस्थामा छौँ  त्यो आएर मूल्याङ्कन गरियोस्। २०८४ सम्म हरिनगर भौतिक संरचनामा धेरै हामी अगाडि बढ्नेछ। करिब ५५(६० किलोमिटर सम्म सडक कालोपत्रे हुनेछ। 

अहिले कतिपय जनप्रतिनिधीहरुबीचमा कसले राम्रो काम ग¥यो भनेर तुलना पनि हुने गर्छ। अलिक बढी चर्चा चाहिँ काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र धरान उपहानगरपालिकाका मेयर हर्क सम्पाङ्गको चर्चा हुने गर्छ। तपाईँले यो चर्चाको विषयलाई कुन रुपमा लिनुहुन्छ? 

मसँग ५२ करोडको बजेट छ।  काठमाडौँ महानगरपालिकाको ६ अर्ब ७ अर्ब बजेट छ।  बजेटको तुलना गर्नुस् र विकासको तुलना गर्नुस्। अब हामी सँग मिडिया छैन। शहरी केन्द्रित जनता छैन। भिडियो अपलोड गरेर मिडियामार्फत मैले प्रचार गरेको छैन। त्यस कारण अब बालेन्द्र शाहको तुलना गर्नु भन्दा पनि हाम्रो कामको तुलना गर्नुहोस्। अब चर्चा मात्रै ल्याउने हो भने देखि रातदिन हामी खटिरहेका छौँ। जनताको काम गरिरहेको छौँ। जनताको सेवा गरिरहेका छौँ। विकास गरिरहेका छौँ। काठमाडौँ सहरमा पहिले देखि नै विकास भएको थियो, पहिले नै बाटोघाटो बनिएको थियो, तर यहाँ त केही थिएन। यहाँको तुलना काठमाडौँका मेयर बालेनसँग तुलना गर्दा खेरी त मलाई लाग्छ उचित हुदैँन्। एउटा मात्रै मिडियाले बढी भन्दा बढी फोकस गरेर त्यसलाई ठुलो काम गरेको छ।

अब उहाँ पनि स्वतन्त्रबाट जित्नुभएको छ, हामी एउटा पार्टीबाट जितेको छु र हाम्रो पार्टीको पनि लाइन हुन्छ। पार्टीको सिस्टम पनि हुन्छ। पाटीको सबै कुरा हुन्छ, तर कामको तुलनामा मलाई लाग्छ काठमाडौँ र धरान मेयरको तुलनामा हामीले जति काम गरेका छौँ, त्यो तुलनामा उहाँहरू भन्दा बढी चर्चामा आउनुपर्ने हाम्रो हुनु पर्थ्यो। तर त्यो चर्चामा आएको छैन। 

अन्त्यमा हरिनगर गाउँपालिकाका जनतालाई के भन्न चाहनु हुन्छ ? 

हाम्रा हरिनगर गाउँपालिकाका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई र सम्पूर्ण पार्टीका जनप्रतिनिधीहरुलाई सबैलाई मिलाएर काम गरी राखेको छु। यहाँ हाम्रोमा मन्दिर , मस्जिद या कब्रस्थान, मसानघाट सबै कुरालाई मिलाएको छु। सबैलाई हामी एकरूपताका साथ सबै पार्टीका जिम्मेवार साथीहरूसँग सल्लाह बिचार गरेर काम गरिराखेको छु। मलाई आशा भरोसा छ, जसरी पनि यहाँ मलाई सहयोग गरी रहनुभएको छ यसरी सहयोग मलाई २०८४ सम्म सबैले गरी दिनुहोस्। म हरिनगर गाउँपालिकाको जो बाँकी कामहरू छन्, त्यसलाई पुरा गर्छु। मलाई विश्वास छ यहाँका जनताले मलाई साथ दिन्छन् र साथ दिइराखेको छन्।
 

प्रकाशित: १३ जेष्ठ २०८१ १८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App