अन्तर्वार्ता

थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो

राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य

सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ गर्ने निर्णय गरेको छ। यो निर्णयबारे तपार्इंको धारणा के छ?

२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।

हामी २ नम्बर प्रदेशका लागि मात्र नभई मधेस, थरुहट तथा लिम्बुवानको  अधिकारका लागि लडेका हौं । त्यसैले मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा पनि चुनाव सर्नुपर्छ।

चारवटै प्रदेशमा असोज २ मा चुनाव गर्नुपर्छ भन्नुभएको हो?

हामी अरू जान्दैनौं। थरुहट, मधेस तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ ।

संविधान संशोधन भएन भने असोज २ मा हुने चुनावमा तपार्इंहरू सहभागी हुनुहुन्छ?

संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने, तराईमधेसमा भएको आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, मृतकलाई सहिद घोषणा हुनुपर्ने लगायतका माग हामीले उठाएका छौं। यी माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं। यसैगरी झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चपुरको समस्या समाधान हुनुपर्छ।

असोज २ को चुनावमा पनि जाने–नजाने प्रस्ट छैन, होइन?

हाम्रो माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं।

तपार्इंहरूले यसअघि घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिनुहुन्छ कि हुँदैन?

हामी आन्दोलनका कार्यक्रम फिर्ता लिन्नौं। झनै सशक्त आन्दोलनका कार्यक्रम ल्याउँछौं।

 तपार्इंहरूसँग सल्लाह गरेरै सरकारले चुनाव मिति सार्ने निर्णय गरेको थियो, होइन?

चुनाव मिति सार्नेबारे हामीसँग सल्लाह भएको थिएन। त्यसैले यसमा हाम्रो सहमति छैन। कतै सार्ने कतै नसार्ने निर्णय हामीलाई मान्य छैन।

असार १४ गतेको चुनावमा तपाईंहरूले भाग लिनुहुन्छ कि हुँदैन?

असार १४ गतको चुनावमा किन भाग लिने? भाग नलिने प्रस्ट भनिसकेका छौं।

प्रकाशित: २ असार २०७४ ०१:४८ शुक्रबार

थरुहट मधेस लिम्बुवानमा गते चुनाव राजेन्द्र महतो