अन्तर्राष्ट्रिय

बेलायतका प्रधानमन्त्रीद्वारा युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन्। बुधबार भएको वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलाइतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन्।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका छन्।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलाइत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए।

'रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएको तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,' युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलाइतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ। 

प्रकाशित: १० कार्तिक २०७९ ०२:१२ बिहीबार

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनक युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की