अन्तर्राष्ट्रिय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन,दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

फाइल तस्बिर

बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ। सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष थिइन्।

उनले ७० वर्षसम्म शासन गरेकी थिइन्। उनको निधनपछि जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बन्दै छन्। चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताए। साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ। यसअघि हिजो उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो। 

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताए । महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन्।

प्रकाशित: २४ भाद्र २०७९ ०२:०१ शुक्रबार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो