अन्तर्राष्ट्रिय

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत संवैधानिक अदालतद्वारा निलम्बित

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ। विपक्षी दलहरुले उनीविरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो।

उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो। विपक्षीले दिएको मुद्दा हेर्न बसेको ९ जनाको इजलासमा ५ जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए। उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका थिए। उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए।

सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउँदै उनले निरंकुशतामा लागेका विपक्षीहरुको आरोप छ। विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन्। त्यो भन्दा अगाडि उनको अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७९ ११:४१ बुधबार

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चान