अन्तर्राष्ट्रिय

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ।

पाकिस्ताका उद्धार अधिकारीहरुले दिएको समाचार अनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन्।

त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ। सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन्। उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरु जारी गरेको छ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ। उक्त निकायले गएको २४ घन्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानैदेखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ।

विवणहरु आउन बाँकी रहेको सो निकायले जनाएको छ। पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् ।यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ। यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ। 

प्रकाशित: ५ भाद्र २०७९ ०६:२७ आइतबार

पाकिस्तानमा बाढी पाकिस्तानमा बाढी ३६ जनाको मृत्यु