अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार बढी संक्रमित

दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९ बाट संक्रमित भएका छन्। सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन्। स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।

ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको संख्या बढेको हो। मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट संक्रमित हुनेको संख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ। त्यसैगरी गम्भीर अवस्थाका बिरामीको संख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई  पुगेको छ।

सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ। यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार  सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएको मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन्। मंगलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना संक्रमणमुक्त भएका छन्। योसँगै रोगलाई परास्त गर्ने मलेसियालीको संख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ।

हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय संक्रमित छन्। न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै कोभिड–१९ को महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ। सन् २०२० को सुरुमा न्युजिल्याण्डमा महामारी फैलिएपछि १६ लाख ५७ हजार सात सय ४३ जना कोरोनाबाट पीडित भएका छन्। 

प्रकाशित: २५ श्रावण २०७९ ०८:३० बुधबार

दक्षिण कोरिया कोभिड–१९