अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्। उनी एसिया भ्रमणको सिलसिलामा ताइवानमा पुगेकी हुन्।  

ताइवानमा पछिल्लो दशकमा भएको यो नै पहिलो अमेरिकी उच्च अधिकारीको भ्रमण हो। चीनले आफ्नो भूमि दाबी गर्दै आइरहेको ताइवानमा उच्च अमेरिकी अधिकारीको भ्रमणले चीन आक्रोशित भएको छ। चीनले पेलोसीको भ्रमणको कडा निन्दा गर्दै अमेरिकाले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन गरेको जनाएको छ।  

चीनको विदेश मन्त्रालयले यो भ्रमणले दुई देशबीचको सम्बन्धको राजनीतिक आधारलाई नराम्रो असर पार्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको बयानमा पेलोसीको भ्रमणबाट चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लंघन भएको जनाएको छ। साथै विदेश मन्त्रालयले अमेरिकालाई ताइवान कार्ड नखेल्न चेतावनी दिँदै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र तथा गलत तथा खतरनाक बाटोतर्फ अघि नबढ्न भनेको छ। पेलोसीले ताइवान भ्रमण गरेसँगै चीनले बुधबारदेखि तीन दिनसम्म ‘लाइभ फायर एक्सरसाइज’ सुरु गर्दै छ। साथै चीनले मंगलबारदेखि विभिन्न ३५ वटा ताइवानी वस्तुको आयातलाई पनि रद्द गरेको छ।  

चीन र रुसले पेलोसीको भ्रमण उत्तेजित बनाउने र अस्थिरता सिर्जना गर्ने उद्देश्यले भएको भन्दै अमेरिकालाई चेतावनीसमेत दिएका छन्। पेलोसी ताइवान पुगेसँगै उनी बस्ने भनिएको होटलबाहिर चीनसमर्थकहरूले उनीविरुद्ध प्रदर्शनसमेत गरेको बिबिसीले जनाएको छ। पेलोसीले बुधबार बिहान ताइवानको संसद्मा जानुभन्दा पहिले ताइवानी राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको छ।    

प्रकाशित: १८ श्रावण २०७९ ०१:२६ बुधबार

नेतृ नान्सी पेलोसी