अन्तर्राष्ट्रिय

केन्याको तटीय क्षेत्रमा दुर्घटना, १५ जनाको मृत्यु

केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्। मोम्बासा–नैरोबी राजमार्गमा मिनिबस र ट्रक एक आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने स्थानीय प्रहरीले जनाएको छ। केन्यामा लापरवाहीपूर्ण ढङ्गले सवारी साधन चलाउने, जोखिम मोलेर सडकमा गुडिरहेका सवारीलाई उछिन्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन हाँक्ने, हेलमेट नलगाउने प्रवृत्तिले घातक सडक दुर्घटना हुने गरेका छन्।

राष्ट्रिय यातायात सुरक्षा प्राधिकरणका अनुसार सन् २०२० मा सडक दुर्घटनामा परी तीन हजार चार सय ७८ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा चार हजार एकसय २१ जनाले ज्यान गुमाएका थिए।  

प्रकाशित: २५ असार २०७९ १०:४६ शनिबार

सडक दुर्घटना केन्या