श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ।
आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो। स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको हो। कफ्र्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन्।
त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन्। कफ्र्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ। अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन्।
राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन हुन लागेको हो। श्रीलंकाको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ।
उनीहरुले आर्थिक संकट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ। दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ। उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ। आर्थिक संकटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो।
प्रकाशित: २५ असार २०७९ ०८:३८ शनिबार