अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन्।

उनका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घीय प्रमुख गुटर्रेसले अफगानिस्तानको राजधानी काबुल र यस देशको उत्तरी क्षेत्रमा अवस्थित सहर मजार इ सरिफमा भएका नागरिक हत्याका घटनाको निन्दा गरेको बताएका छन्।

त्यस विज्ञप्तिमा ती हमलाहरुमा परेर ज्यान गुमाएकाहरुप्रति प्रमुख गुटर्रेसले श्रद्धाञ्जली व्यक्त गरेका छन् भने मृतकका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। गत बुधबार अफगानिस्तानको मजार इ सरिफमा भएको हिंसात्मक विस्फोटमा परी १४ जनाको ज्यान गएको थियो भने अरु ३२ जना घाइते भएका थिए।

त्यस्तै बुधबार नै राजधानी काबुलमा भएको यस्तै आक्रमणमा परेर पाँच जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए। पछिल्ला दिनहरुमा अफगानिस्तानका कतिपय स्थानमा सर्वसाधारण नागरिकलाई नै लक्ष गरेर हिंसात्मक हमलाका घट्ना बढ्न थालेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७९ ०७:२८ शुक्रबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस अफगानिस्तान