अन्तर्राष्ट्रिय

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन्। युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उनले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन्।

साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन्।  साउदी अरब आफूहरुको मुख्य सत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरुले बताएका छन्।

यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरुले मुख्य सत्रु मान्ने गरेका हुन्। सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ। यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबीच संघर्ष चल्दै आएको छ।

विश्लेषकहरुले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन्। उनले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्व गृहमन्त्री तथा उनकै सल्लाहकार रशद अल अलिमिले गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७८ ०९:१२ बिहीबार

यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडी नयाँ परिषद् गठन