अन्तर्राष्ट्रिय

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्। प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन्।

देशमा आर्थिक सङ्कट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले सङ्कटकाल लागू गरेको छ। सङ्कटकालसँगै राजनीतिक सङ्कट बढ्न थालेपछि उनीहरूले राजनीतिक सङ्कट न्यूनिकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन्।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गरेका छन्। उनका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उनले जानकारी दिए।

विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय सङ्कट उत्पन्न भएको छ। अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन्।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्‌र्यु घोषणा गरेको छ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले सङ्कटकाल घोषण गर्दै कफ्‌र्यु आदेश जारी गरेको हो।

कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ। त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०६:३२ सोमबार

श्रीलङ्कामा आर्थिक सङ्कट राजनीतिक सङ्कट मन्त्रिपरिषद्का राजीनामा