अन्तर्राष्ट्रिय

अफगानिस्तानमा किशोरीलाई माध्यमिक शिक्षामा रोकः विश्व बैंकद्वारा प्रस्तावित चार परियोजना रद्द

अफगानिस्तानको तालिवान सरकारले किशोरीलाई माध्यमिक शिक्षा हासिल गर्न रोक लगाएपछि विश्व बैंकले अफगानिस्तानमा प्रस्तावित चार परियोजनालाई रद्द गरेको छ। यी परियोजनामा बैंकले ६० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने तयारी थियो। रद्द गरिएका परियोजना शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित छन्।

यी परियोजनाअन्तर्गत किशोरी तथा महिलाको सहभागिता र फाइदालाई सुनिश्चित पार्ने व्यवस्था गरिएको बैंकले बताएको छ। गत साता तालिवानले आफ्नो यसअघिको प्रतिबद्धता त्याग्दै किशोरीहरूका लागि माध्यमिक शिक्षा हासिल गर्न तत्कालका लागि बन्देज लगाउने घोषणा गरेको थियो। अफगानिस्तानमा विगत धेरै महिनादेखि विद्यालय बन्द थिए।

तालिवानले शारिया कानुन तथा अफगानी परम्पराअनुसार किशोरीहरूका लागि स्कुल युनिफर्मको निर्णय भएपछि मात्रै विद्यालय खुल्ने बताएको छ। तालिवानको यो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। उता राजधानी काबुलमा शनिबार यो निर्णयविरुद्ध प्रदर्शनसमेत भएको छ। प्रदर्शनकारीले तत्काल विद्यालय खोल्न माग गरेका छन्।

विश्व बैंकले सहयोग गर्ने भनिएका यी परियाजनाले विभिन्न आधारभूत सेवामा पुरुषहरूकै हाराहारीमा किशोरी तथा महिलाको पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ। यी परियोजनालाई अफगानिस्तानको पुनर्निर्माण ट्रस्ट फन्डले वित्तीय सहयोग गरेको थियो। गत वर्ष तालिवानले सत्ता सम्हालेयता ट्रस्ट फन्ड रोक्का (फ्रिज) भएको छ।

यही महिनाको सुरुमा बैंकको कार्यकारी समितिले यही ट्रस्ट फन्डमा रहेको १ अर्ब अमेरिकी डलरबराबरको रकमको उपयोग गरेर शिक्षा, स्वास्थ्य तथा कृषि सम्बन्धी आवश्यक परियोजनालाई सहयोग गर्ने निर्णय गरेको थियो। यो योजनाअन्तर्गत उपलब्ध गराइने रकम तालिवान अधिकारीलाई नभई संयुक्त राष्ट्र संघ र दातृ समूहलाई उपलब्ध गराइने तयारी थियो।

‘पहिलो चरणमा ट्रस्ट फन्डमा सहभागी दाताहरूले ६० करोड अमेरिकी डलरबराबरको सहयोग शिक्षा, स्वास्थ्य, कृषि तथा समुदायको जीवनयापनमा सहयोग गर्ने क्षेत्रमा उपलब्ध गराउने भन्ने थियो,’ बैंकले मार्च १ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ। बैंकले ट्रस्ट फन्डलाई दिने सहयोग सन् २०२२ मा थप्नेसमेत बताएको थियो। ‘चरणबद्ध रूपमा उपलब्ध गराइने यो सहयोगलाई स्थानीय आवश्यकता अनुरूप लचक पारिएको थियो,’ बैंकले भनेको छ।

परियोजनाको लक्ष्य हासिल हुने सुनिश्चित भएपछि मात्र बैंकले यी परियोजनामा सहयोग गर्ने देखिएको छ। यसैबीच गत शुक्रबार अमेरिका र बेलायतलगायत विश्वका १० राष्ट्रले एक वक्तव्य प्रकाशित गरी तालिवानको यो निर्णय अत्यन्त चिन्ताजनक रहेको बताएका छन्। यसैगरी अमेरिकाका स्टेट डिपार्टमेन्टले तालिवानसँग कतारमा गर्ने भनिएको वार्तालाई रद्द गरेका छन्।

प्रकाशित: १७ चैत्र २०७८ ००:४७ बिहीबार

तालिवान सरकार विश्व बैंक