अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार नेपालका लागि नयाँ राजदूतमा डीन थम्पसनलाई मनोनित गरेका छन्। उनी हालका अमेरिकी राजदूत रेन्डी बेरीको कार्यकाल पछिका नेपालस्थित अमेरिकी राजदूत हुनेछन।
ह्वाईहाउसद्धारा मंगलबार जारी विज्ञप्ति अनुसार बिडेनले डीन आर.थम्पसनलाई राजदूतका रुपमा सेवा गर्न मनोनयन गरेका हुन्।
थम्पसन हाल दक्षिण र मध्य एसियाली मामिलाका लागि राज्य विभाग प्रमुख तथा उप–सहायक सचिवको रुपमा सेवा गरिरहेका छन्। उनी सन् २०२०–सन् २०२१ सम्म कार्यवाहक सहायक सचिव पनि थिए। थम्पसन वरिष्ठ विदेश सेवा, मन्त्री–सल्लाहकार वर्गका करियर भएका सदस्य हुन्।
यसअघि, थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासको मिसन उपप्रमुख र रोमानियाको बुखारेस्टस्थित दूतावासका उप्रमुख तथा चार्ज डी अफेअर्स पनि थिए। उनी भारतको कलकत्तास्थित अमेरिकी महावाणिज्य दूतावासका महावाणिज्य दूत पनि थिए।
उनले राज्य विभागको कार्यकारी सचिवालय स्टाफको निर्देशक, राज्य विभाग अपरेशन सेन्टरको उपनिर्देशक, अपरेशन सेन्टर क्राइसिस म्यानेजमेन्ट स्टाफको निर्देशक र कार्यकारी सचिवालयका लागि सूचना स्रोत व्यवस्थापनका लागि उपनिर्देशकको रुपमा पनि काम गरिसकेका छन्।
प्रकाशित: १६ चैत्र २०७८ ०६:२५ बुधबार